हजुरी विष्ट ६४ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्, अचार बनाउँछिन्।
बनाउने कामदार नभएका होइनन्। तर 'उनका हातले बनाएको जस्तो कहाँ हुनु!' ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ।
अचार भन्नासाथ गोलभेँडा, लप्सी, मुला लगायतका सम्झनुहोला। तर उनले बनाउने अचारका प्रकार यति मात्रै होइनन्। हजुरीले यी सामान्यदेखि मौसमी फल र तरकारीको अचार पनि बनाउँछिन्।
उनीकहाँ मासुको पनि अचार बन्छ– बफ र चिकेन। सुरूआती दिनमा त खसीको मासुको पनि बन्थ्यो रे।
अहिले करिब ४५ स्वादमा हजुरीले बनाएका अचार बजारमा पाइन्छन्। हजुरीका अनुसार उनले बनाउने अचारमा कुनै रसायन (प्रिजर्भेटिभ्स) प्रयोग हुँदैन। तरकारी र चाहिने सामान सधैं ताजा र आफूले चिनेका ठाउँबाट मात्रै ल्याउनु यसको विशेषता भन्छिन्।
झन्डै तीन दशकअघि अचार व्यवसायमा लागेकी हजुरीलाई 'अचार आमा' भनेर चिन्नेहरू धेरै छन्।
'कर्मचारी र चिनेका मान्छेले मुवा भनेर पनि सम्बोधन गर्छन्,' उनले भनिन्,' अरू धेरैले अचार आमा नै भन्छन्।'
हजुरीको बिहे १७ वर्षमा भएको थियो। बिहेपछि उनी सात वर्ष फ्रान्स बसिन्। एसएलसी पास गरेकी उनले त्यसपछिको पढाइ निरन्तरता दिन सकिनन्, तर फ्रेन्च भाषामा 'डिप्लोमा' गरिन्।
करिब २५ वर्षकी भएपछि बल्ल नेपाल फर्किएकी हजुरी केही काम गर्ने सोचमा थिइन्। सन्तान र घरपरिवार रेखदेखमा मात्र सीमित हुन चाहिनन्। उनलाई नर्सरी व्यवसाय चाख रहेछ। सन् १९९३ तिर यसबारे तालिम लिन खोजिन्। भनेजस्तो तालिम केन्द्र फेला पारिनन्।
'त्यही साल महिला उद्यमी संघ नेपालले ४५ गृहिणीका लागि तीन हप्ते तालिमको विज्ञापन निकाल्यो,' उनले सम्झिइन्, 'मजस्ता गृहिणीलाई उद्यमी बनाउने त्यो तालिमको उद्देश्यले मलाई तान्यो।'
हजुरी तालिममा सहभागी भइन्। तालिमक्रममा कसरी खाना बनाउने र बनाइएका खाना कसरी संरक्षण (प्रिजर्भ) गर्नेबारे ज्ञान पाइन्।
तालिममा धेरै खानेकुराको ज्ञान पाए पनि उनको मन अचारमा केन्द्रित भयो। अनि अचारकै बजार सर्वेक्षण गर्न थालिन्।
सन् १९९० तिर नेपाली बजारमा अचार घरमा मात्र सीमित थियो, बजारमा व्यापकता पाइसकेको थिएन।
आयातित भारतीय र चिनियाँ केही अचार भेटिन्थे। नेपाली अचार त्यति हुन्थेन। हजुरीले निधो गरिहालिन्, अचारकै व्यवसाय गर्ने।
तालिमपछिको केही समय संस्थाका लागि समूहमा रहेर काम गर्नुपर्थ्यो। समूहका ४५ मध्ये केही अचार बनाउनेतिर लागे, जसमा हजुरी पनि सामेल भइन्। बजारमा अचार जान थाल्यो, अरूको तुलनामा उनकै अचार मन पराइएको उनी बताउँछिन्।
सुरूका दिनमा स्वादलाई लिएर केही टिकाटिप्पणी नभएका होइनन्। हजुरीले हरेस नखाइ बनाइरहिन्। अन्ततः उनका हातले बनेका अचारको स्वाद धेरैको जिब्रोमा टक्क बस्यो।
'मलाई खाना बनाउन एकदमै मनपर्छ। मिठो बनाउँछु भन्ने प्रशंसा पनि आउँछ,' आत्मविश्वासी हजुरी भन्छिन्, 'त्यही भएर होला, बजारमा मेरो अचार निकै रुचाइयो।'
अचार व्यवसाय सुरू गर्दा हजुरी ३९ वर्ष भइसकेकी थिइन्। काम गर्न उमेरले छेक्दैन भन्ने बुझेकी हजुरीले तालिमपछि धोबीघाटस्थित आफ्नै घरमा अचार बनाउन थालिन्। झन्डै तीन वर्ष बिहान–बेलुका घरधन्दा सकेर दिउँसो अचार बनाउँथिन्।
'मन भए जसरी पनि काम गरिने रहेछ। घरको काम सकेर बाँकी समय अचार बनाउनु एक हिसाबमा समय सदुपयोग पनि थियो,' उनले भनिन्।
एकपटक उनका श्रीमानले घरमा अचारको बासना थाहा पाएछन्। घरभरि अचारको बासना आएपछि भान्साको दराज उघारे। हजुरीले बनाएको भन्ने थाहा पाएपछि अचार घरबाहिर ल्याउन सल्लाह दिए।
हजुरीको घरको माहोल राम्रै थियो। त्यही माहोलले उनको व्यवसाय फराक पार्यो, घरमा सीमित व्यवसाय बाहिरियो।
'घरमा बनाउन्जेल खर्च त्यति लाग्दैनथ्यो, बाहिर बनाउने भएपछि खर्च लाग्ने भयो,' उनले भनिन्, 'अनि मैले बाहिर टहरा बनाउने खर्चको प्रस्ताव घरमा राखेँ। दुई लाख लगानीमा व्यवसाय सुरू भयो।'
उनले लामो समय टहरामै अचार बनाइन्। २०६८ सालतिर अचार व्यवसाय दर्ता गराइन्, 'हजुरी खाद्य उद्योग'। 'नवरस ब्रान्ड'बाट अचार बजारमा पुग्न थाल्यो।
करिब तीन दशक अचारमै बिताइरहँदा उनका छोराछोरीले समेत व्यवसायमा ध्यान दिन थालेका छन्। आफूले कुनै दबाव नदिए पनि छोराछोरीले आफ्नो व्यवसायमा चासो देखाउँदा खुसी सुनिन्छिन् हजुरी।
'मेरो व्यवसाय कसैले सम्हाल्न पर्छ नै। छोरी–ज्वाइँले चासो देखाए र यसो गरौं भनेर सल्लाह दिन थाले,' उनले भनिन्।
२०७४ सालतिर छोरी–ज्वाइँकै सल्लाहमा हजुरीले 'अचार घर' रेस्टुरेन्ट खोलिन्। यहाँ प्राथमिकतामा हजुरीकै अचार छ। पुलचोकस्थित 'अचार घर'मा 'किचेन–रेसेपी' ब्रान्डका अचार पाइन्छ।
हजुरीको नवरस र किचेन रेसेपीमा भिन्न–भिन्न स्वादका अचार छन्। सबैभन्दा बढी रूचाइने लप्सी, आँप, बफ (मासु), लसुन पर्छ भने अरु अचारको पनि राम्रो बजार रहेको उनी बताउँछिन्।
एक सय ५० देखि १ हजार दुई सय रुपैयाँसम्मका अचार एक वर्षसम्म नबिग्रिने उनी बताउँछिन्।
'केको अचार हो भन्नेमा पनि भर पर्छ है। तर प्रायः अचार एक वर्षसम्म केही हुँदैन,' उनले सुनाइन्।
सुरूका दिनबारे सम्झँदै फेरि भनिन्, 'मसलाको अड्कल नभएकाले पहिलेपहिले चाहिँ धेरै अचार बिग्रिन्थ्यो। अहिले त सबै कुरा अड्कल हुन्छ। आफूले बनाएको अचार कस्तो र कति टिक्छ सबै थाहा पाउँछु। सबै कुरा गर्दागर्दै जानिने त रहेछ।'
अचार प्याकेजिङका लागि हजुरी पहिले टेकुमा कवाडीवालासँग किनेका पुराना खाली सिसी प्रयोग गर्थिन्। स्थापित भएपछि पुनः प्रयोग गर्न सकिने सिसाका डब्बा प्रयोगमा ल्याइन्।
हजुरीको अचार नेपालमा मात्र बिक्ने होइन। अन्तर्राष्ट्रिय बजारमा पनि प्रख्यात छ। उनका अनुसार बेलायत, अमेरिका, अस्ट्रेलिया, दुबई जस्ता देशमा आफ्नो अचार पुगेको छ। देशभित्र र बाहिर पनि लोकप्रियता पाएकी हजुरीले महिनामा ६ हजार बोतलसम्म अचार बनाएको बताउँछिन्।
अहिले पनि उनको घर धोबीघाटमै यो व्यवसाय चल्दैछ। दस जना नियमित र अन्य गरेर समग्रमा २२ कामदार उद्योगमा आवद्ध छन्। यी सबै गृहिणी महिला हुन्।
हजुरीलाई लाग्छ– कुनै काम ठूलोसानो हुँदैन। इच्छा भए जे पनि गर्न सकिन्छ।
उनले व्यवसाय सुरू गर्दा अहिलेजस्तो फराकिलो बजार थिएन। उनले धैर्य भने गुमाइनन्। अहिलेका युवामा धैर्य कम भएको उनले महशुस गरेकी छन्।
'व्यवसायमा लागेपछि धैर्य हुन जरुरी छ र आत्मविश्वासले सकारात्मक दृष्टिकोण दिन्छ,' उनी भन्छिन्, 'यिनै कुरालाई सिद्धान्त मान्ने हो भने सफलता अवश्य मिल्छ। अहिलेका युवालाई त धेरै अवसर छ नि।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी