सरकार र मोर्चाबीच शनिबार साँझ बालुवाटारमा गरेको सहमतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ। मोर्चासँग सहमति गर्दा आफूहरूलाई कुनै जानकारी नदिइकन सरकारले अध्यारोमा राख्ने काम गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सेतोपाटीलाई बताए।
‘हामीले मधेसी मोर्चासँग कुनै सहमति हुने अवस्थामा हामीलाई छलफलका लागि बोलाउनु हामी सहयोग गर्न तयार छौ भनेका थियौ,’नेम्बाङले भने,‘तर सरकारले भने एकलौटी रूपमा हामीलाई थाहै नदिइ यत्रो निर्णय लिएछ। त्यो पनि हामीले सञ्चार माध्यमबाट थाहा पायौ।’
सरकारले के के सहमति गरेको छ भन्ने कुरा सबै बाहिर नआएकोले सबै कुरा हेरेर मात्रै यस विषयमा पार्टीले धारणा बाहिर ल्याउने उनले बताए।
आजै सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने र सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएको छ। यो सँगै मोर्चाले आन्दोलनका कार्यक्रम छोडेर निर्वाचनमा जान तयार भएको छ।