प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव खेल्ने भएका छन्। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा विभागिय टोली नेपाल आर्मीले पश्चिमाञ्चललाई चार विकेटले हराउँदै उपाधि नजिक पुगेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले ४९ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउदै २ सय ३५ रन बनाएको थियो।
६ रन हुँदा दुई विकेट गुमाएको पश्चिमाञ्चलले ३६ रन बनाउदा तीन विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । पारीको सुरुवातमा आर्मीका बलर सामु निरीह देखिएको पश्चिमाञ्चलले ६६ रन हुँदा सात विकेट गुमाइसकेको थियो । तर, आठौ विकेटका लागि पुछारका खेलाडी सौरभ खनाल र कृष्ण कार्कीले १ सय ४५ रनको उत्कृष्ट साझेदारी गर्दै सम्मानजनक स्कोरमा पुर्याएको हो।
सौरभले ८६ बलमा ८२ रन बनाएका थिए। उनले दुई चौका र आठ छक्का प्रहार गरे। यस्तै कृष्ण कार्कीले पनि दुई चौका र ६ छक्काको मद्दतले ७५ रन बनाएका थिए। नुरद्धोज सेनले २६ र प्रकाश केसीले १३ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन्।
बलिङ तर्फ आर्मीका सोमपाल कामी, जितेन्द्र मुखिया, सागर पुन र साहव आलमले दुई दुई विकेट लिए।
जवाफी ब्याटिङमा आएको आर्मीले ४८ ओभर दुई बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १६ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि दोस्रो विकेटका रुपमा सागर पुन र अनिल मण्डलले एक सय आठ रनको साझेदारी गर्दै टिमलाई जित तर्फ अगाडि बढाए। अनिलले ४८ रन बनाए भने सागर पुनले ६५ रन बनाए। यस्तै राजु रिजालले २६ र कप्तान विनोद भण्डारीले १७ रन बनाए।
४८ औ ओभरमा सौरभ खनालको बलमा राजेश पुलामी मगरले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुर्याए। राजेशले अविजीत ५५ रन बनाए ।
पुलिसले यसअघि नै सशस्त्रलाई हराउदै फाइनलमा पुगिसकेको छ। अब उपाधिका लागि आर्मीले भोलि नेपाल पुलिसको सामना गर्नेछ।