‘आमा’ अर्थात् आफूलाई भन्दा आफ्ना छोराछोरीलाई बढी माया गर्ने भगवानको अर्को रूप । जब तिनै आमालाई एकैचोटी छोराछोरीको वियोगको पीडा थपिन्छ, तब ती आमाको धैर्यता टुट्छ र आफूलाई सम्हाल्न सक्दिनन्।
यस्तै एउटी आमाको धैर्यता टुटेको छ, बाँकेको कोहलपुर नगरपालिका सिद्धनगरकी ५४ वर्षीया डिलकुमारी पौडेलको । तीन महिनाको अन्तरालमा आफ्नो मुटुको टुक्रा दुवै छोरा गुमाएर एकाएक कोख रित्याउन विवश ती आमाले सोमबार साँझ आत्महत्या गरिन् । आमाको आत्महत्यापछि पौडेल परिवारमा तीन महिनाको अन्तरालमा तीन जनाको ज्यान गएको छ । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
तीन महिनाको अन्तरालमा आफ्ना (२८ र २६ वर्षीय) दुवै छोरा गुमाउनु पर्दा आमा डिलकुमारीको धैर्यताले काम गरेन र पुत्रवियोगमा रोइरहेकी ती आमाले सोमबार साँझ विष सेवन गरी आत्महत्या गरेको डिलकुमारीकी भतिजी विमलाकुमारी पौडेलले राजधानीलाई बताइन् । एकैघरमा तीन जनाको मृत्यु भएपछि पौडेल परिवारमा यतिखेर ठूलो बज्रपात परेको छ र कहिल्यै नमेटिने घाउ लागेको छ भने आफन्त, नातेदार र उनीहरूलाई चिन्ने सबैका आँखा आँसुले भिजेका छन् ।
आत्महत्याबारे प्रहरी अनुसन्धान र पोस्टमार्टमपछि मंगलबार अपराह्न कोहलपुरको अर्गैया घाटमा एकातिर जन्म दिने आमा डिलकुमारी र अर्कोतिर उनकै कोखबाट जन्मेका छोरा राजुको शवको दाहसंस्कार गरियो, जुन अत्यन्तै वियोगान्त दृश्य थियो ।
गत १३ फागुनमा महाशिवरात्रिको साँझ नेपालगन्जनजिकै खजुरा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा २६ वर्षीय कान्छो छोरा हरि पौडेललाई घटनास्थलमै गुमाएकी डिलकुमारीले सोही दुर्घटनामा गम्भीर घाइते भई उपचारमा रहेका जेठा छोरा राजुलाई पनि सोमबार साँझ गुमाउन पुगेकी थिइन्।
जेठा छोरा राजुकी सालीको विवाहमा गएर घर फर्किने क्रममा राजु र हरि दाजुभाइ चढेको मोटरसाइकल सोही साँझ खजुरामा दुर्घटना भएको थियो । घटनास्थलमा भाइ हरिको मृत्यु भएपछि सख्त घाइते भएका दाइ राजुको भने तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि राजुलाई भारतको लखनउस्थित रेवन्ता अस्पतालमा उपचार गरिएको थियो ।
हात खुट्टा भाँचिनुका साथै शरीरको आन्तरिक भागमा रक्तस्राव भएका कारण करिब तीन महिनासम्म लखनउमा उपचार हुँदा पनि ठीक नभएपछि केही दिनअघि राजुलाई घरमा फिर्ता ल्याइएको थियो । पछिल्ला केही दिनमा उनको अवस्था नाजुक हुँदै गएपछि आमा डिलकुमारीको चिन्ताले सीमा नाघिसकेको थियो । कोहलपुर अस्पतालमा लगिएका छोराको सोमबार साँझ ४ बजे मृत्युको खबर सुनेदेखि नै छट्पटिएकी आमाको मन त्यसको करिब पाँच् घण्टापछि शान्त भयो, जतिखेर उनले आत्महत्या गरिन् ।
मोटरसाइकल दुर्घटनामा घाइते भई उपचार गराउन आर्थिक अभाव भएपछि उपचार खर्च जुटाउन घाइतेका ठूलोबुबाकी छोरी (दिदी) विमला र स्थानीय समाजसेवी हर्क चन्दले सहयोगका लागि स्वदेश र विदेशमा हारगुहार गरेका थिए । सबैतिरबाट गरी ५ लाखजति उठेको थियो, तर त्यसले उपचार खर्च पुगेको थिएन । आफ्नो घरखेतसमेत सकेर भए पनि घाइते जेठा छोराको उपचारमा दत्तचित्त रहेकी आमा डिलकुमारीले छोरालाई नै गुमाउन पुगेपछि उनको धैर्यताको बाँध टुट्यो र उनले सबैलाई छोडेर गएको हुन सक्ने विमलाकुमारी पौडेलले बताइन् । ‘लखनउमा राजुको उपचार गर्दा झन्डै २० लाखजति लागेको थियो,’ विमलाले भनिन् ।
कोहलपुर सिद्धनगरका रुद्र पौडेल र डिलकुमारी पौडेलका जेठा छोरा राजुकी श्रीमती माया र तीन वर्षीया नाबालक छोरी तथा कान्छो छोरा, हरिकी श्रीमती अनिता तथा २ वर्षीया नाबालक छोरी छन् ।