प्रधानमन्त्रीको राजीनामा, प्रधानन्यायाधीशको पेन्सनपट्टा, भरतपुर निर्वाचन, सरकारको काम र सप्तरी घटनाबारे सवाल–जवाफलाई आजको नयाँ पत्रिकाले यसरी छापेको छ।
प्रधानमन्त्रीको राजीनामा ओली : स्थानीय तहको पहिलो चरणको निर्वाचन भए पनि दोस्रो चरणको निर्वाचन बाँकी नै थियो। यही वेला प्रधानमन्त्रीको राजीनामा आयो। उहाँ (प्रचण्ड)लाई झन्झट लागेर हो कि ? गर्न नसकेर हो कि ? दोस्रो चरणको निर्वाचन गराउन सक्दिनँ भनेर हो कि, काम गर्न सक्दिनँ भनेर हो कि, सत्ता सहयात्रीले काम गर्न नदिएर हो कि, दबाब दिएर पो हो कि, के कारणले राजीनामा दिनुभयो ? सदनलाई जानकारी गराउँदा राम्रै हुन्थ्यो।
देउवा : प्रधानमन्त्रीले राजीनामा दिएको विषयमा बडा चिन्ता देखाउनुभयो। मेरो स्वार्थका कारण भनेको होइन, यस्तो चिन्ता पछि पनि गर्दै जानुहोला।
प्रचण्ड : कांग्रेसले दबाब दिएर राजीनामा दिएको होइन। मैले दुवै चरणको निर्वाचन गरेर छाड्छु भन्दा कांग्रेसले नदिनुपर्ने कारण थिएन। एमालेसँग बजेटपछि सरकार छाड्ने र मेरो नेतृत्वमा सरकार गठन गर्ने समझदारी थियो, त्यसवेला हाम्रो। एमालेका अन्य नेतालाई पनि राम्रैसँग जानकारी छ। एमालेसँगको सहमति पालना नभएपछि नयाँ मोड आयो। नयाँ राजनीतिक संस्कारको विकास गर्न मैले राजीनामा दिएको हुँ। इमान भन्ने कुरा मुखले भनेर हुँदैन, व्यवहारमा स्थापित गरेर देखाउनुपर्छ। संस्कार भनेको व्यवहारमा देखाउन सक्नुपर्छ। मेरो आफ्नै इच्छाले राजीनामा दिएको हो। कसैको दबाबले होइन।
प्रधानन्यायाधीशको पेन्सनपट्टाओली : प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव स्वच्छ, पवित्र भावनाका साथ आएको देखिएन। राज्य यसरी चल्ने, शक्तिको दुरुपयोग गर्ने हो भने नराम्रो हुन्छ। प्रधानन्यायाधीशलाई पेन्सनपट्टा बनाउन हिजो अर्थ मन्त्रालय जाँदासम्म महाअभियोग रहेको भन्दै अस्वीकार गरेको कुरा आयो। अर्थ मन्त्रालयले किन यसो ग¥यो ? योभन्दा ह्युमिलेसन के हुन्छ ? उहाँलाई महाअभियोग छ भन्ने जानकारी अर्थलाई कसरी भयो ? फिर्ता लिइसकेपछि त्यसको जानकारी फेरि किन भएन ? असहिष्णु र अपमानजनक व्यवहार कसैले गर्नुहुँदैन।
देउवा : प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अस्ति नै फिर्ता हुन्थ्यो। संसद् चल्नै नदिँदा फिर्तामा ढिलाइ भएको हो। संसद् कसले रोक्यो?
प्रचण्ड : महाअभियोग प्रस्ताव फिर्ता लिएका थियौँ धेरै अगाडि नै। तपार्इंहरूले फिर्ता लिनका लागि औपचारिक प्रस्ताव ल्याउन किन संसद् अवरोध गरेर ढिला गर्नुभयो ? म प्रश्न गर्न चाहन्छु– संसद्मा अवरोध गरेर तपाईंहरूले लोकतान्त्रिक विधि, मूल्य–मान्यताअनुसार काम गर्नुभयो र ?
भरतपुरमा मतगणना विवादका विषयमा ओली : भरतपुरमा मतगणना करिब अन्तिम अवस्थामा पुगेका वेला एकाएक उफ्रिएर मतपत्र च्यात्ने योजना काहाँ बन्यो ? को–को त्यसमा संलग्न भए ? म त्यता जान्न। खोतल्ने हो भने हामी सबैलाई अप्ठ्यारो लाग्छ। त्यहाँ सत्तापक्षका उम्मेदवार रेणु दाहालका प्रतिनिधिले उफ्रिएर मतपत्र च्याते। केही मतपत्र च्यातिँदैमा मतगणनास्थल कब्जा भनेर प्रायोजित प्रचार गरियो। सत्तापक्ष सत्ताको आडमा निर्वाचनमा हार्न तयार छैन। निर्वाचनमा हार–जित हुन्छ। को–को उम्मेदवार हार्नै नहुने हो ? हराउन नपाइने हो ? प्रतिपक्षीलाई भनिदिएको भए हामी पनि ‘माइन्ड मेकअप’ गथ्र्यौँ।
प्रचण्ड : घटना घट्नु ५–६ दिनअघि भरतपुरका मेयरका उम्मेदवार रेणु दाहाल जो मेरी छोरी पनि हुन्। मैले भनेको थिएँ तिमी जिते पनि हारे पनि जित्यौ, देशले तिमीलाई चिन्यो, तिमी स्थापित भयौ। तीन दिनयता भने मेरो कुनै सम्पर्क भएको थिएन। प्रतीकात्मक रूपमा कहाँ–कहाँ के भए नखोतलौँ भन्नुभयो, म उहाँलाई भन्छु, त्यत्ति भनिसक्नु भयो, सबै भन्नुहोस् म सबैको सामना गर्न तयार छु। लुकीछिपी छ भन्ने तपाईंलाई त भन्न के लाज भयो र ? गर्नेलाई लाज लाग्नुपर्ने हो। निर्वाचन आयोगको काममा हस्तक्षेप गर्ने, अदालतले गर्ने कुरामा हस्तक्षेप गर्ने र एउटा घटनालाई सामान्यीकरण गर्ने काम नगरौँ।
सबैभन्दा बढी पारदर्शी अब भरतपुरमै हुन्छ। सबैको आँखा छ। अदालत, निर्वाचन आयोग, राजनीतिक दल, सबैको आँखा छ। हराउने–जिताउने कुरा पनि गर्नुभयो। यसबारे जवाफ दिनुपर्छ भन्ने लागेको छैन।
ओली : देउवालाई सोधेँ, भारतपुरको मतपत्र च्यातिएको विषयमा कांग्रेसको धारणा के छ ? उहाँले थाहा छैन भन्नुभयो। कांग्रेस आजकल धेरै कुरामा बोल्नै छाडेको छ। मुखमा पानी हालेको छु भन्दैमा बोल्नै मिल्दैन र ? प्रचण्डलाई सोधेँ, माओवादी केन्द्र के भन्छ ? प्रधानमन्त्रीले भन्नुभयो, कानुनबमोजिम गर्नू भनेको छु मैले।
देउवा : निर्वाचन आयोग हामीले संवैधानिक आयोगका रूपमा बनाएका छौँ। आयोगले गरेको निर्णयमा चित्त नबुझे अदालत जान पाइन्छ। उहाँहरू अदालत जानुभएको छ। विगतमा तपाईंहरूकै कारण पनि रिभोटिङ भएको छैन र ? त्यो अदालतमा भएको विषयमा हामीले धेरै बोल्नु छैन।
प्रचण्ड : निर्वाचन आयोगले गर्ने कुरा सदनमा ल्याएर अवरोध गर्नुपर्ने थिएन। निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर किन गर्नुभयो संसद्मा अवरोध ? मैले त घटना घटेलगत्तै घटना दुखद छ, गलत भयो मतपत्र च्यात्ने काम भनेको थिएँ। प्रधानमन्त्रीको हौसियतमा निर्वाचन आयोगका प्रमुख आयुक्तलाई मैले बोलाएरै भनेको छु, तपाईंलाई के लाग्छ, त्यही गर्नुहोस, घटना दुखद भयो भनेर।
ओली : प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर तर्साउने, पुलिसका उच्च कर्मचारीलाई समातिदिने, निर्वाचन आयोगबाट आफूअनुकूल निर्णय गराउने ? हिटलर कुनै राजघरानाबाट आएका थिएनन्, निर्वाचनबाटै आएका थिए। के यही हो लोकतन्त्र ? के यही हो इमान ?
प्रचण्ड : कति प्रमाण चाहियो ? इतिहासदेखि वर्तमानसम्मको, राजीनामाको विषयसम्मका वेलामा कति परीक्षा दिनुपर्ने हो लोकतन्त्रप्रतिको इमानदारिताको ? तपाईंहरूकै इतिहास हेर्ने हो भने कति वर्ष लागेको थियो ? न्यायालयविरुद्ध के–के भएका थिए भन्ने नबुझिएको हैन। नेतृत्वले आँट नगरेको भए सेना समायोजन, शान्ति प्रक्रिया यो अवस्थामा आउँथ्यो ?
सरकारको कामबारे ओली : हुलाकी राजमार्ग, फास्ट ट्र्याकमा मेरै नेतृत्वको सरकारले बजेट छुट्याएको थियो। फास्ट ट्र्याकमा दोस्रोपटक भने पनि शिलान्यास गर्नुभयो। मलाई प्रश्न गर्नुभएको थियो, भूकम्पपीडितका लागि सरकारले केही गरेन, त्रिपालमै भूकम्पपीडितको बास भयो। तपाईंले अहिले १० महिना सरकार चलाउनुभयो क्यारे, त्रिपालमुनिका भूकम्पपीडित के अहिले पक्की घरमा गएको हो ?
सरकारले गरिनेछ–गरिनेछ भनेर १ सय १२ ठाउँमा भनिएको थियो, त्यसमध्ये कतिवटामा गरिए ? शान्ति–प्रक्रियाको कामै अगाडि नबढेको भन्नुभएको थियो मलाई। अहिले के भयो ? टिआरसीमा अध्यक्ष र सदस्यहरूको बोलचाल नहुने अवस्था मिलाउनुभयो ? के भयो प्रधानमन्त्रीज्यू ? अब हुनेले यी विषयमा पनि ध्यान दिनुपर्ला।
आर्थिक वृद्धिदर कुन नीति तथा कार्यक्रमका कारण ल्याउनुभयो ? एकातिर लोडसेडिङ समाप्त पारेँ भनेर यसो गर्ने (जुँगामा ताउ लगाएर देखाउँदै), तर अर्कोतिर के–कति प्रगति गर्नुभयो र ? मैले सरकार छाडेपछि कति वृद्धि गरियो बिजुली ? मलाई सन्तोष छ कमसेकम।
देउवा : पूर्व–पश्चिम राजमार्ग पहिल्यैदेखि ४ लेनको थियो। त्यो हाम्रो पार्टीले गरेको हो।
प्रचण्ड : तपाईंहरूले दम्भ नदेखाए हुन्छ। सबै काम अरूले गरेर मैले टुटी मात्र खोलेको हो र ? सबै मैले गरेको टुटी मात्र खोलेको भनेको जस्तो, यसले फाइदा गर्दैन। फास्ट ट्र्याक शिलान्यास सेनाको व्यवस्थापनमा गरेको हँु। ठिकै छ दोस्रोपटक नै शिलान्यास भएको भए पनि। त्यो जस तपाईंहरूले नै लिनुहोस्। बाटो छिटो बनोस्।
सप्तरी घटनाओली : सप्तरीमा मान्छे मारिने परस्थिति कसरी बन्यो ? एमालेले न गोली चलायो न हुलदंगा गर्यो। तर, एमालेको कारण सप्तरीको घटना भयो भनेर आरोप लगाइयो। विरोध गर्ने मधेसी मोर्चा, मार्ने सरकार, मर्ने सर्वसाधारण। अनि, चोखो बच्ने सरकार ? कस्तो अचम्म।’
देउवा : सुरक्षा निकायले उहाँहरूकै सुरक्षा गर्दा गोली चलाएको बुझेको छु मैले त। प्रहरीमाथि यसरी आरोप लगाउनु अन्याय हुन्छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेस पार्टीको सिद्धान्त नै हो। त्यसमा हामीलाई कसैले पनि पाठ सिकाइरहनुपर्दैन।