एन्टोन चेखवको चर्चित नाटक ‘दि चेरी अर्केड’ मा एउटा फिर्स नामको पात्र छ। जो सबै मानिस घर छोडेर जान खोज्दा पनि त्यो घर छोडेर जान मान्दैन। उसको पुर्खादेखि नै त्यही स्थानमा काम गरेर बसेका हुन्छन्। उसलाई त्यो घर छोडेर कतै गई केही गर्नसक्छु भन्ने लाग्दैन। घरका सबै चिजहरूसँग उसको प्रेम छ। गहिरो प्रेम। तिनै वस्तुहरूको प्रेम ऊ डायलगमा दोहोर्याइरहन्छ।
त्यस्तैखाले एक पात्र पनि मण्डला थिएटरको नाटकघरमा अहिले बोलिरहेको छ। यस्तो भन्दै, ‘मलाई मानिसहरूसँगको सम्बन्ध मन पर्दैन त्यसैले यी वस्तुहरूसँगको सम्बन्ध प्रिय छ।’
…
सलेदो बलेको थाहा हुन्छ, निभेको थाहा हुँदैन। कुपीमा तेल हालुन्जेल सलेदो जीवित हुन्छ। हाल्न छोडेपछि सुक्छ।
यो बिम्बलाई नाटकमा उनेर एउटा बलिरहेको जीवन कसरी अँध्यारो हुँदै जान्छ, उज्यालो कसरी निभ्दै जान्छ र त्यसको बेवास्ता क-कसले गरिरहेका छन् भन्ने खुलस्त पारिदिएको छ।
सुरक्षण भारतीले लेखनमा सृजना अधिकारीले निर्देशन गरेको नाटकले पछिल्लो समय नेपाल दौडिरहेको बाटोमा छुटेको एउटा पात्रलाई समेटेको छ। ऊ त्यस्तो पात्र हो, जसलाई दौडमा थिएँ भन्ने पनि थाहा छैन।
कम्पनी कसरी पछाडि पर्यो भन्ने कुरा स्मरण गर्दै नोकियाको सिइओले नोकिया छोड्ने बेला भनेका थिए- हामी दौडिन नसकेका हैनौँ। तर, खै कसरी हार्यौं।
यो नाटकमा पनि एक वृद्ध पात्र छ, जो समयको दौडमा दौडिन छोडेको हैन तर देशको अवस्था र ऊसँगै दौडिएका मान्छेहरू यति चाँडो दौडिए कि ऊ कहीँ पुग्नै सकेन। केवल छुटिरह्यो। केवल सम्झनाहरू लिएर।
सलेदो तिनै सम्झनाहरू छायाँजस्तो गरी बिलाइगएको एक घरको कथा हो, जसमा ती छायाँहरूमा मानिस खोज्दै एउटा वृद्ध बसिरहेको छ।
…
अहिले बसाइसराइको क्रम रफ्तारले बढिरहेको छ। अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेशसम्म मानिसहरू हिँडेका हिँड्यै छन्। सपनाहरूको उचाइ मात्र हैन, सामाजिक बाध्यता पनि बन्दै गइरहेको छ यो क्रमसँग। प्लस टु सकेपछि यो पुस्ताका कोही नेपाल बस्न मान्दैन। हरेकलाई सोध्नुहोस्- सबैको उत्तर विदेश जाने हुन्छ। छोराछोरीको लागि विदेशिनेहरू पनि प्रशस्तै छन्। सबैसँग कुनै न कुनै बाहाना छन्। जो नेपालमा भइरहेको सामाजिक स्थानलाई भुलेर विदेशिएका छन्। यो नाटकमा पनि यी सबै परिस्थितिबाट गुज्रिरहेका पात्रहरू देखिएका छन्। सुन्दर कुरा के छ भने ती सबै पात्रहरू नाटकको मुख्य पात्रसँग कुनै न कुनै रूपमा गाँसिएका छन्।
नाटकमा दुइटा 'सिम्बोल' विशेष शक्तिशाली छन्। एउटा रङ र अर्को कुर्सी। वृद्धलाई सधैँ बुहारीले सोध्छे, तपाईँलाई कुन रङ मनपर्छ बाबा? ऊ धेरैपटक पहेँलो भन्छ, तर उसलाई पहेँलो रङ मन पर्नुको कारण थियो- ती उज्याला रङहरूका दिन थिए, जो उसले हरेक दिन आँखामा बोकेर हिँड्थ्यो। सलेदो बल्दाका दिन थिए ती। तर एक दिन अकस्मात ऊ कफी रङ मनपर्छ भन्छ। उसले भन्नासाथ बुहारीले ऊ सधैँ बस्ने कुर्सीमा कफी रङ लागाइदिन्छे। उज्यालोदेखि अँध्यारो रङ, उज्यालो सलेदोदेखि अँध्यारो सलेदो, उज्यालो युवापुस्तादेखि अँध्यारो बृद्धपन। यी तीनै एकआपसमा नजिक छन्। रङका माध्यमबाट दुई पुस्ताबीचको अन्तरलाई नाटकले टिप्न सफल भएको छ। कुर्सीसँगको सम्बन्धले उसको वस्तुसँगको निकटतालाई सम्बोधन गर्छ।
यसरी नै कथा फ्ल्यासब्याकमा जाँदै गर्दा उसको अहिलेको समयका बानीहरू विगतले प्रस्ट्याउँदै जान्छ।
बुढो दुईवटा जीवन बाँचिरहेको छ। ऊ हिँडिरहेको समय अहिलेको हो, तर दिमागमा पुरै विगत हेरिरहेको छ। ऊ कुपीबाट निकालिएको सलेदो हो, तर पनि बलेको सम्झिरहेको छ। सलेदोको उज्यालोमा परावर्तन भएर भित्तामा बसेका छायाँजस्तै उसका छोराछोरी, साथी, श्रीमती र चिनजानका मानिसहरू उसलाई बिथोल्न आइरहन्छन्। ऊ विवश भएर ‘म जे छु ठिकै छु बिथोल्न नआउ' भन्न सक्दैन। बरु भन्छ, ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्।’
यति हुँदा पनि नाटकको सबल पक्ष के हो भने वृद्धले कसैलाई पनि दोष दिएको छैन। उसले निर्जिव वस्तुहरूमाथी गरेको प्रेम बदला हैन। उसले केवल आफू बाँच्ने आधार बनाएको हो। आधार सकिँदै जाँदा आधार खोज्ने बानी हुन्छ सायद। धर्मराउँदै गरेका बेला कसैलाई समातेजस्तो। उसलाई तिनै चिजहरूले विगत सम्झाइरहन्छन्। ऊ नमिठो गरी बल्झिरहन्छ। तर बल्झिँदै गर्दा आफ्नो दुखाइ हैन महसुस गर्छ र भन्छ, ‘मलाई अमेरिका जाउँ भन्छन्, तर मेरो मन यतै छ। मैले आमाबुवालाई काठमाडौँ आउनु भन्दा सायद त्यसैले मान्नुभएन।’
…
नाटकले एउटा कठोर चक्रको कुरा गर्छ, जसको वरपर नाटकका सबै पात्रहरू बाध्यताले घुमेका छन्। त्यसैले त नाटकमा वृद्ध पात्र स्टेजमा धेरै पटक घुम्छ। सम्झना बोकेर बसेका घरका हरेक सजावट र वस्तुहरू सुम्सुम्याउँछ। उसलाई ती वस्तुहरूसँग सम्बन्ध छ। ती लत बनेका छन्। एउटा महत्त्वपूर्ण दृश्य। भर्खरै विवाह गरेका छोराछोरीले चल्दै गर्दा पछाडिबाट पर्दा खोलेर ऊ आएको दृश्य धेरै अर्थपूर्ण छ। उसले भोगेको विगतमा ऊ पर्दा उचालेर आएजसरी आउँछ र थोरै खोकेर त्यसलाई बिलाउँछ।
ऊ जमेको कुनै पोखरी जस्तै भएको छ, जसमा विगतका सम्झनाहरूले ढुङ्गा हानिरहन्छन्। ऊ तरंगित भइरहन्छ। भन्छ, ‘साँच्चै त्यो रूमानी दिन फर्किएर किन आउँदैनन्? ‘एक पाटोले रुपैयाँ पैसा किन चल्दैन,' उसको जीवन नचल्ने रूपैयाँजस्तो भएको छ। ऊ एक पाटो हो, बाँकी पाटो उसले गुमाइसक्यो। उसलाई आफ्नो जिन्दगी नचलेजस्तो लाग्छ। एक पाटो नचलेको हातजस्तै।
मैले सुरुवातमा भनेजस्तै नाटकमा सानो पात्रले महत्त्वपूर्ण स्थान ओगटेको छ। पानी ल्याउन आइरहने केटोसँग बुढोको कुराकानीले एउटा गहिरो सम्बन्ध विकास गरेको छ। एन्टन चेखवले विकास गर्ने साना पात्रहरूजस्तै लाग्छ ऊ। दुवैको भूमिकामा बाध्यताले परिवारसँग टाढा भएका दुई पात्रहरूबीचको सम्बन्धको मिठास छ। उनीहरू एकअर्काको अभावको क्षतिपूर्ती एकअर्काबाट गर्छन्। उसले छोरा देख्नु र उसले बाऊ देख्नु। दुवै महत्त्वपूर्ण हुन्। आफन्त नजिक नभएपछि आफन्त खोज्ने सहारा खोज्ने यथार्थ उसले देखाउन सफल भएको छ। उसले बाको याद आयो भन्दा सबैलाई रूवाइदिन्छ।
त्यसैले त छोड्ने बेला दुवै भक्कानिन्छन्। दर्शक उनीहरूकै लागि सबैभन्दा धेरै हाँस्छन् र सम्भवत रून्छन् पनि। यो नाटकको शक्ति हो।
…
म हजुरआमालाई सम्झिन्छु। मामा-माइजु दिनभर अफिस जाँदा हजुरआमा नारायणथानसम्म घुम्न जानुहुन्छ। एक दिन शनिवार म पनि सँगै गएँ। उहाँले बाटोका धेरै मानिसहरूलाई नाति भनेर चिनाउनुभयो। ती मान्छेहरू उहाँले दिनदिनै त्यसरी नै बाटो हिँड्दै गर्दा चिन्नुभएको। केहीसमय पहिला बसुन्धरा बस्नुहुन्थ्यो। त्यहाँ पनि त्यसरी नै मान्छेहरू चिन्नुभएको थियो। आखिर मान्छे चिन्नु पनि एउटा समयचक्रमा सहभागी हुनु त हो।
यसर्थ पनि नाटकको कथा जीवन्त छ। कथाको मुडअनुसार बज्ने ध्वनीले पनि महत्त्वपूर्ण मुमिका खेलेको छ नाटकमा।
नाटकमा कविताबाट ऊ विगतमा छिरेको प्रसङ्ग साह्रै गहिरो छ। कविता वाचन हुँदाहुँदै ऊ छिर्छ। एउटा भावनात्मक बाटोबाट रवि छिर्छ र बुढोको भावनात्मक पाटो खोलिदिएर जान्छ। रविले वाचन गरेर उसको भविष्यमा पुग्छ, बुढो वाचन गरेर विगतमा फर्किन्छ। बीचको कुनै एक समय नाटकले लिएर हराउँछ। कविताले नाटक भनेजस्तो वा नाटकले कविता देखाएजस्तो।
समग्रमा नाटकले हेर्नेजति सबैलाई एक पटक सोच्न बाध्य बनाउँछ। किनकि नाटकले देखाएको बाट आजको हामी हिँड्ने बाटोमात्र हैन, भोलीको हामी छुट्ने बाटो पनि हो।
…
कथा, कविता, उपन्यासजस्ता विधाहरूले भर्खरै बोल्न थालेको एक सामाजिक मुद्धाको अलग पाटोलाई कथामा देखाउने नाटक सलेदोमा कमजोरी पनि नभएका हैनन्।
नाटकमा रवि पात्रको महत्त्व खासै खुल्दैन। उसलाई नाटकको लागि लेखिएको कविता सुनाउने माध्यम मात्रै बनाएको हो कि जस्तो लाग्छ। ऊ भएको दृश्य नै कमजोर भयो भनेको हैन। कविता वाचनभित्रै उसको विगत र वर्तमानलाई भेट गराएको दृश्य कलात्मक छ, तर त्यसपछि उक्त सम्बन्ध नाटकभर कतै पनि छिर्दैन। रवि पात्र नाटकमा नभएको भए के हुन्थ्यो भन्ने ठाउँ नाटकले दिएको छ। सुलक्षण भारतीका अघिल्ला दुई नाटकहरूमा पनि साना पात्रहरूलाई उठाएर छोडिदिने प्रसङ्ग लेखेको थिएँ। रवि पात्र यहाँ त्यस्तै भएको छ।
कविताको पाटो उठेर किन हरायो भने नाटकमा वृद्धले कवि भएर केही पनि कुरा सम्झिएको वा गरेको हैन। ती सबै उसको जीवनको पाटो भइसकेका हुन्। कवि नभएको भए पनि ऊ त्यस्तै हुन्थ्यो। रविसँग भेटिएको प्रसङ्गबाहेक। ऊ कवि नभइकन कथामा आँउथ्यो कि आँउदैनथ्यो त?
सेटमा धेरै मेहनेत गरेको प्रष्ट झल्किन्छ तर ती सेटहरूलाई दृश्य पर्खिएर देखाउनुभन्दा सुरुमै खुला छोडिदिएको भए हुन्थ्यो। किनकि, यो सबै एकै स्थानमा भइरहेको कुरा हो। दर्शकलाई ती दृश्यसँगको उसको 'एट्याचमेन्ट' बुझ्नलाई पर्याप्त समय पनि हुने थियो।
कतिपय स्थानमा घटनाले सबैथोक भनिसक्दा पनि डायलगले त्यसलाई दोहोर्याउन खोजेजस्तो लाग्छ। नाटकका दृश्यहरूले दर्शकलाई छोडिसक्दा पनि मुख्य पात्रले लेखकको फिलोसफी जबरजस्ती सुनाउन खोजेजस्तो लाग्छ। नाटक सकिने बेलातिरका केही डायलगहरू नभएकै भए पनि हुन्थ्यो। जस्तो कि श्रीमती मरेको कुरा न्यारेसनमा भन्नुभन्दा भित्तामा कुनै फोटो राखेर वा अन्य कुनै तरिकाबाट देखाउन सकिन्थ्यो।
र, समाजको विषय उठाउनुबाहेक नाटकले सम्झिन लायक प्रयोग के-के गर्यो भन्ने प्रश्न आफैंलाई गर्दा मैले धेरै उत्तर भेटिन। उत्तर कस्तो हुनुपर्ने हो, मलाई पनि थाहा छैन तर हाम्रा नाटकबाट त्यस्ता प्रयोगको अपेक्षा गर्न पाउने कि नपाउने? सबै रङ्गकर्मीलाई यहीँबाट प्रश्न सोधेको छु।