नेपालबाट अमेरिका फर्कने क्रममा दोहाको पट्यारलाग्दो नौ घन्टाको लामो ट्रान्जिटमा थिएँ। स्थानीय समय अनुसार बिहानको ३ बजेको थियो। समय कुर्नुको बिकल्प थिएन। एउटा कफी सपमा एक जना नेपाली भाई भेट भए। आपसमा परिचय गरियो, उनी पनि अमेरिकाको कुनै राज्यमा बसोबास गर्दा रहेछन्। नेपालमा आफ्ना वृद्ध बा र आमालाई भेट्न केही दिनको छुट्टी लिएर नेपाल आएर फर्कने क्रममा उनी पनि ट्रान्जिटमा रहेछन्।
हातमा कफी लिदै मैले सोधे- नेपालमा कता घुम्नु भयो भाई? उनले आफू घुमफिरका लागि नभएर घराएसी समस्या मिलाउन आएको बताए। उनी शान्त स्वभावका सरल ब्यक्ती देखिन्थे, बोली बचन सुन्दा उनी धेरै तनावमा रहेको महसुस भयो।
एकछिनको शान्त वातावरणलाई चिर्दै अचानक उनले अत्यन्त मार्मिक प्रश्न गर्दै भने – ‘दाई, के एउटै कोखबाट जन्म लिएका सन्तान बिचमा आमा बाबुले बिभेद गर्न सक्छन्?’
उनको प्रश्नले म स्तब्ध भएँ, किनकी उनको प्रश्न सामाजिक मान्यता विपरित थियो। म सँग यसको जवाफ थिएन। तर , छोरा छोरीले वृद्ध बाबुलाई घरबाट निकालेको, वृद्धाश्रममा राखेको, हेला गरेको आदिजस्ता प्रशस्त घटनाहरू हुने हाम्रो नेपाली समाजमा यस प्रकारको बिपरित घटना सम्बन्धी उनले उठाएको प्रश्नले केही हदसम्म मेरो मन खिचेको थियो।
‘मैले पैतृक सम्पत्ति पाईनँ, मेरो भाग सबै बा, आमा र दाजुले लिनुभयो’, उनले निराश हुँदै भने। नेपालमा दुःख सुख काम गरेर घर परिवार सम्हालेको थिएँ, तर भरपर्दो कमाई थिएन। दुई तले घरको भुई तलामा भाडा लगाएको थिएँ, त्यसैको आम्दानीले घर धान्न सजिलो भएको थियो। उनले अगाडि भने - बा आमा म सँगै बस्नुहुन्थ्यो, म अमेरिकामा डिभी परेर गए पछि दाजुले घर लिएर गएछन्। बा र आमालाई औषधि उपचारमा कमी नहोस भनेर अमेरिकाबाट मासिक रुपमा खर्च पठाउने गरेको थिएँ।
बुढेसकालमा रेखदेखको कमी होला भनेर बा र आमालाई अमेरिका ल्याउन धेरै प्रयास गरेँ, सुरुमा आउछु भन्नुभयो तर पछि आउन मान्नुभएन। त्यसताका बुढेसकालका बा र आमाको सेवा गर्न लगेको जानकारी गराएका थिए दाजुले। केही महिना बा र आमालाई आफ्नो घरमा राखेपछि, हाम्रो पश्चिमको पुर्ख्यौली जग्गा बेचेर आपासमा बाडेछन्, मलाई खबर नै गरिएन र मैले जग्गा बिक्री गरेको पत्तो नै पाईनँ।
बा र आमालाई पैसाको कमी थिएन, पहाडको पुर्ख्यौली जग्गा बेचेको मेरो भाग सहितको पैसा र मेरो घरको भाडा उठाएर उहाहरुले आफ्नो खर्च धान्ने गर्नुभएको थियो । कमी थियो उहाँहरुलाई हेरचाह गर्ने मान्छेको । लुगा धुने, कपडा धुने, खाने कुरा किनमेल गरी दिने, अस्पताल लग्ने सहयोगी कोही थिएन। अमेरिका आउनुस भनेर मैले धेरै पटक बा र आमालाई फोन गरेर आग्रह गरेको थिएँ। दुबैले यतै मर्ने भन्ने जवाफ दिनुभयो।
उनले लामो सास लिदै भने - जग्गाको पैसा आपसमा बाडीचुडी लिएपछि दाजुको घरमा बा र आमा प्रतिको हेराई र गराईमा परिवर्तन आएछ। बा र आमालाई बिरामी पर्दा छिमेकीको सहारा लिदै अस्पताल जानुपर्ने अवस्था रहेछ।
बासँग मैले मेरो पुर्ख्यौली सम्पतीको हक मागेँ। ‘त परलोकको अधिकार खोज्छस्? बा ले थपे - कानूनी रुपले नेपालमा अधिकार गुमाएको मान्छे के को हक माग्छस् भन्दै अत्यन्त कठोर र निर्दयी जवाफ दिँदा आमा छेउमा टुलुटुलु हेरिरहनुभयो। दाजु, नसुने झै चुपचाप लागे। मैले बा बाट यस्तो निर्दयी भनाईको अपेक्षा गरेको थिइनँ। आमालाई भने - ' आमा , मलाई पैसा र सम्पत्ति चाहिएको होइन, आफ्नो पूर्खाको चिनो मात्र खोजेको हुँ, के मैले मेरो हक नपाउने?’ आमाले जवाफ दिनु भएन।
आमाले बा को भनाई मौन समर्थन गरेको प्रस्ट थियो। मेरा हरेक प्रयास असफल भए, परिवारका सबैलाई पैसाको मात लागेको मैले प्रस्ट महसुस गरेँ। यदी बा ले कुनै कारण वा प्रभावमा परेर त्यस्तो भनाई राखेको भए आमाले प्रतिकार गर्न सक्नुपर्ने हो, तर आमा नै मौन रहेकाले मेरो आत्मा रोयो।
उनले गह भरी आँशु पार्दै भने - एउटै कोखबाट जन्म लिएको सन्तान प्रतिको बा र आमाको ब्यवहारलाई अझै मैले विश्वास गर्न सकेको छैन। आफ्नो पेटमा नौ महिनासम्म कठोर यात्रा गराई, पढाइ, हुर्काई एउटा कर्मठ सन्तान बनाउन सफल ममता की खानी 'आमा' जस्तो महान ब्यक्तित्वको मौनतालाई अझै मैले विश्वास गर्न सकेको छैन ।
नेपालमा आएपछि पुर्ख्यौली सम्पत्ति बिक्री गरेको जानकारी छिमेकीहरु मार्फत पाएको उनले बताए। अहिले बा र आमाको बिजोग छ, पैसा टन्न छ तर सहयोगी कोही छैन। यही समस्यामा बा र आमालाई सहयोग गर्न म नेपाल आएको थिएँ। बा र आमालाई घर फर्कन अनुरोध गरेँ, फेरि पनि मान्नु भएन। नेपालमा दुई महिना बसेँ, तर बा र आमा मेरो घरमा एक दिन पनि आउनु भएन।
शरीरको चोट केही दिनमा निको हुन्छ तर मन र भावनामा लागेको चोट निको नहुने रहेछ, त्यही चोट लिएर आज म अमेरिका फर्कदै छु। यति भनेर उनले आफ्नो दुखेसोलाई बिट मारे।
केही महिना पूर्व एक फेसबुके मित्रले आफ्नो साथीको घराएसी ब्यथा लेख्ने क्रममा मैले पढेको थिए - 'समाजले पचाउँदैन तर यो वास्तविक हो की आमा बाबुले एउटै कोखबाट जन्म लिएका सन्तान मध्ये कसैलाई काखा र कसैलाई पाखा गर्दछन्।’ उनले आफ्नो पोस्टमा कसरी ती महिला साथी आफ्नै जन्म दिने बाबु आमाबाट पीडित भइन भन्ने ब्यहोरा बिस्तृतमा वर्णन गरेकी थिएन।
उनको त्यस पोस्टमा धेरैले आ आफ्ना विचार र अनुभव सेयर गरेका थिए। कसैले लेखे - यो गफ हो । कसैले लेखे- यो तितो सत्य हो जुन हाम्रो समाजले बिश्वास गर्न सकेको छैन त्यसैले हामी आफ्नो पीडा लुकाउन बाध्य छौ। तथ्य जे होस, नेपाली समाजमा केही नकारात्मक परिवर्तन हावी भएको संकेत गर्दैछ।