सरकारले दुई नम्बर प्रदेशको निर्वाचन स्थगित गरे पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अान्दोलन जारी राख्ने जनाएको छ।
सरकारले 'फुटाउ र राज गर' को नीति लिएर तराईका जिल्लामा फरक-फरक ढंगले निर्वाचन गर्न लागेको भन्दै राजपा नेपालले आन्दोलन कार्यक्रम जारी राख्ने घोषणा गरेको हो।
'तराईका सबै जिल्लामा एकै चरणमा निर्वाचन हुनपर्छ। दुई चरण हामीलाई मान्य छैन,' राजपा नेता राजेन्द्र महतोले सेतोपाटीसँग भने, 'सरकारको यो निर्णयले हाम्रो माग सम्बोधन हुँदैन। हाम्रो अान्दोलन जारी रहन्छ।'
आफूहरूको आन्दोलन दुई नम्बर प्रदेशका लागि मात्र नभएको भन्दै उनले थरूहट र मधेसको समस्या एउटै रहेको बताए।
राजपाका अर्का नेता केशव झाले पनि असार १४ गतेको निर्वाचनमा भाग लिन सक्ने अवस्था नरहेको उल्लेख गरे। मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता लिने कामसम्म सरकारले गरेको भए पनि आफ्नो पार्टीले स्वतन्त्र रूपमा उम्मेदवार बनाउन सक्ने उनको भनाइ थियो।
बदलिँदो परिस्थितिको रणनीति बनाउन राजपाले शुक्रबार पार्टीको बैठक बाेलाएको छ। अान्दोलनमा रहेको राजपाका अधिकांश नेता तराई गएका छन्। राजपालाई निर्वाचनमा ल्याउने भन्दै सरकारले उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन बढाएको छ भने दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गतेलाई सारेको छ।