तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा उम्मेदवारी दिने भएका छन् ।
गाउँपालिका तथा वडामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय लिम्बूवान मञ्चले गठबन्धन गर्दै संयुक्तरुपमा उम्मेदवारी दिने भएका हुन् ।
गाउँपालिकाका लागि काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका नारायणकुमार इङ्नामलाई उम्मेदवार बनाएका छन् । गठबन्धनले उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी रमिला खनाललाई उम्मेदवार बनाएको छ ।
साविक इवा गाविस घर भएका काँग्रेस नेता इङनाम पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् । इङनाम २०५४ सालको निर्वाचनमा इवा गाविस अध्यक्षमा पराजित भएका थिए । त्यतिबेला उहाँ मावि शिक्षकको जागिर छाडेर राजनीतिमा आएका हुन्।
खनाल माओवादी केन्द्रकी जिल्ला कमिटी सदस्य हुन् । उनी २०६० सालदेखि माओवादी केन्द्रमा क्रियाशील छन् । आठराई गाउँपालिकामा दुई पार्टी गठबन्धनपछि आफूहरुको जित सुनिश्चित भएको गठबन्धनको दाबी छ । गाउँपालिकाका विभिन्न वडामा समेत काँग्रेस, माओवादी केन्द्र र सङ्घीय लिम्बूवान मञ्चले गठबन्धन गरेका छन् ।
आठराई गाउँपालिका वडा नं ४, ६ र ७ मा माओवादी केन्द्रलाई वडाध्यक्ष दिएर काँग्रेस र लिम्बूवानले सघाउने भएका छन् । वडा नं २ मा माओवादी केन्द्रले वडाध्यक्षमा काँग्रेसलाई सघाउने भएको छ । बाँकी रहेका वडा नं १, ३ र ५ मा भने एक्लाएक्लै उम्मेदवार तय गरिएको नेताले बताएका छन् ।
सङ्घीय लिम्बूवान मञ्चले भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः मृगेन्द्र इङनाम र चुङवान्मा कन्दङवालाई उम्मेदवार बनाएको छ ।
यसअघि आठराई गाउँपालिकामा एमालेले अध्यक्षमा मानबहादुर कन्दङवा र उपाध्यक्षमा रुपा कन्दङवाको एकल उम्मेदवारी घोषणा गरिसकेको छ । अधिकांश वडामा एकल वर्चस्व रहेको दाबी गर्ने एमालेले यो पटक पनि आफूले जित निकाल्ने दाबी गरेको छ ।
यसअघिका निर्वाचनमा पनि एमालेले आठराई गाउँपालिकामा गाभिएका सातवटै गाविसमा जितेको थियो । तर त्यतिबेला आठराईमा काँग्रेस बलियो थिएन । त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी आठराईमा बलियो थियो । अहिले राप्रपाबाट धेरैले छाडेर काँग्रेस प्रवेश गरिसकेको र राजनीति परिवेशले कोल्टेसमेत फेरिसकेकाले आफूहरु जित्ने काँग्रेस–माओवादी गठबन्धनको दाबी छ ।
स्थानीय चुनावमा आठराई गाउँपालिका एमाले अध्यक्ष केपी ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, काँग्रेस नेत्री सीता गुरुङको जन्मथलो समेत भएकाले निकै चासो र चर्चामा छ ।
चुनावमा काँग्रेस–माओवादी गठबन्धनलाई विजयी गराउन काँग्रेस नेत्री गुरुङ यतिबेला गाउँमै छन् । एमालेका प्रदेश नं १ सदस्य तेजमान कन्दङवा, रामचन्द्र थपलियालगायत नेता पनि आठराईमै जमेर चुनावी अभियानमा जुटेका छन् । रासस