नेपालको इन्टरनेट सेवा सुस्त एवंम महँगो भएको सर्वत्र गुनासो रहँदै आएको छ। भारतीय एकाधिकार तोड्दै चिनियाँ इन्टरनेट परीक्षण कालमा रहेको अवस्थामा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिका म्यानेजिङ डाइरेक्टर तथा इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन अफ नेपाल (आइएसपिएन) का निवर्तमान अध्यक्ष विनय बोहरासँग इन्टरनेट क्षेत्रको अवस्था, चुनौती तथा पछिल्लो समय चर्चामा रहको चिनियाँ इन्टरनेटका सम्वन्धमा सेतोपाटीका बिनोद आचार्यले गरेको संक्षिप्त कुराकानीएक प्रमुख इन्टरनेट सेवा प्रदायकका रुपमा भायोनेटले सेवा दिँदै आएको छ। हाल यसले देशको कति भागमा सेवा प्रदान गर्दै आएको छ र ग्राहक संख्या कति पुगेको छ ?२०५७ सालबाट भायोनेटले इन्टरनेट सेवा प्रदान गर्दे आएको हो। सुरुमा सीमित घर र कार्यालयहरुमा मात्र इन्टनेट सेवा थियो। त्यतिबेला डायल–अप प्रविधिको दबदबा रहेको थियो। त्यस बेलाबाट भायोनेटले डायलअप प्रविधिबाट अन्य सेवा प्रदायक संस्थाको अप्टिकल मार्फत कार्यालय केन्द्रित सेवा सुरु गरेको हो।
सन् २००९ बाट फाइबर प्रणालीमा गएपछि भने हामीले आफ्नै नेटवर्क मार्फत रिटेलर केन्द्रित भएर सेवाको विस्तार गर्दै लगेको हौँ फलस्वरुप यस १७ वर्षको अवधिमा काठमाडौँ उपत्यकाका तीनै जिल्लाका कुनाकुनामा घर र कार्यालय दुवै गरेर करिब ३० हजारको संख्यामा ग्राहकले हाम्रो सेवा लिएका छन्।
भायोनेटले दिने इन्टरनेट सेवाको गुणस्तर तथा ग्राहकको गुनासो र तिनलाई व्यस्थापन कसरी गरिरहनुभएको छ ?हाल नेपालमा केवल, वायरलेस, एडिएसएल लगायतका प्रविधि मार्फत इन्टरनेट सेवा दिइँदै आइएको छ। हामीले ‘फाइबर टु द होम’ को माध्यमबाट सेवा दिँदै आएका छौँ। हामीले अन्य माध्यम त्यागेर यो प्रविधि अपनाउनुको एक मात्र कारण भनैकै नविनता तथा गुणस्तरीय हुनु हो। अन्यको भन्दा सर्भिस राम्रो हुने, स्पिड बढी आउने हुँदा युट्युवमा भिडियो तथा फेसबुक ‘वफ्र’ हुने वा लामो समयसम्म ‘लोडिङ’ भनेर देखाइरहने अवस्था हाम्रोमा विरलै हुन्छ।
त्यस्तै, ग्राहकबाट आउने सबैखाले गुनासोलाई हामीले पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने गरेका छौँ। एउटा घरले सहजै तिर्न सक्ने न्युन शूल्कमा गुणस्तरीय सेवासँगै इन्टरनेटबाटै टिभी हेर्न मिल्ने आइपीटिभीको सुरुवात गर्दै जाँदा उपत्यका बाहिरपनि सेवा विस्तार गर्नुपर्यो भन्ने खालका अनुरोध, सद्भाव र प्रोत्साहन हामीलाई मिल्यो।
जसले गर्दा हाम्रा ग्राहक अन्यको भन्दा सन्तुष्ट छन् भनेर ढुक्कका साथ भन्न सक्छौँ। यसै आर्थिक वर्षभित्र देशका अन्य केही शहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ।
हाल नेपालमा कस्ता कार्यमा इन्टरनेटको प्रयोग धेरै हुने गरेको छ ?म आफैँलाई पनि यो तथ्य जान्न मन लागिरहन्छ। धेरैका निम्ति यो रोचक कुरा पनि हुन सक्ला। भायोनेट तथा अन्य आइएसपीहरुको इन्टरनेट युटयुब हेर्न सबैभन्दा धेरै प्रयोग गरिएको पाइएको छ। त्यसपछाडि फेसबुक दोस्रो स्थानमा छ भने यस पछाडि अन्य सामाजिक सञ्जालको प्रयोग गरिन्छ भने त्यससँगै विभिन्न अनलाइन, ब्लग, पोर्नसाइट खोल्न इन्टरनेटको धेरै प्रयोग गरिने दृश्य देखिएको छ।
नेपाली इन्टरनेट सुस्त तथा महँगो भएको भनेर सर्वत्र गुनासो तथा आलोचना हुँदै आएको छ यसलाई कसरी निराकरण गर्न सकिएला ?हामी सबैले स्पष्टसँग बुझनुपर्ने कुरा यस क्षेत्रमा भएको जनशक्ती बाहेक अन्य सबै कुरामा हामी परनिर्भर छौँ। ब्यान्डविथ, तार, सञ्जाल विस्तारका लागि आवश्यक अन्य सबै सामान डलरको भाउमा पैसा तिरेर विदेशबाट ल्याउनु पर्ने अवस्था छ।
भारतको बाटो हुँदै लामो दुरीबाट इन्टरनेट ल्याउनुपर्ने तथा त्यसक्रममा बेलाबेलामा देखा परिरहने अनेक किसिमका व्यवधान, सीमित स्रोत साधनको उपलब्धता जस्ता धरातल र वस्तुस्थिति हामी बिर्सिरहेका हुन्छौँ। यहाँका अन्य पूर्वाधार जस्तो भएपनि विस्तारै हुँदैछ भन्छौँ, तर इन्टरनेट भने ‘वल्र्ड क्लास’ हुनुपर्छ भन्ने हामी सोच्छौँ।
यहाँका पूर्वाधारले नै हामीलाई सेवा प्रवाहमा जटिलता थपिरहेको हुन्छ। हामी थुप्रै किसिमका समस्या तथा अप्ठ्याराहरुको बाबजुद यत्तिको सेवा दिन सकिरहेका छौँ, तर यसको अर्थ यो नै सर्वोत्कृष्ट छ भन्ने दाबी हामी गर्देनौँ। यदी विगतसँग तुलना गर्ने हो भने पनि आइएसपीहरुले गुणस्तर निरन्तर बढाउँदै लगिरहेका छन्। त्यही मूल्यमा पहिले किलोविट्समा दिइने ब्यान्डविथलाई अहिले मेगाविट्समा पुर्याइएको छ, लिमिटेडबाट अनलिमिटेडमा पुर्याइएको छ।
यदि तपाईले एसियाका अन्य देशसँग नेपालको इन्टरनेट तुलना गर्नुहुन्छ भने पनि केही नेपाली आइएसपीहरुले सिमित पूर्वाधार, संयन्त्र तथा पूर्ण वैदेशिक आपूर्तिमै निर्भरताका बाबजुद उनीहरुकै जस्तो सेवा प्रदान गरिरहेका छौँ भनेर हामी ढुक्कका साथ भन्ने अवस्थामा पुगेका छौँ। यो भन्दा अझ राम्रो गर्दै लैजाने पाटोमा पनि हामी अग्रसर छौँ।
सबैजसो इन्टरनेट सेवा प्रदायकहरु शहर केन्द्रित हुनुले ग्रामीण क्षेत्र भने इन्टनेट सेवाबाट बञ्चित रहँदै आएको अवस्था छ, तर पनि निजी आइएसपीहरुले किन सामाजिक उत्तरदायित्व बोध गर्न नसकेका हुन्?पक्कै पनि हामी सबैजसो आइएसपीहरु शहर केन्द्रित, त्यसमा पनि काठमाडौँ केन्द्रित छौँ। राजधानी बाहेकका अन्य शहरमा सेवा विस्तारको क्रममै छौँ जसले गर्दा ग्रामीण क्षेत्रलाई इन्टरनेटको माध्यमबाट जोड्न सकिरहेका छैनौँ।
केही वर्षअघिको देशको अवस्था हेर्ने हो भने ग्रामीण क्षेत्र आधारभुत आवश्यक्ता पूर्तिमै अल्झिरहेको थियो भने शहरले इन्टरनेट नपाई रहेको पृष्ठभूमीमा आइएसपीले सेवा दिनु पक्कै पनि सुनौलो कार्य हो। अबको हाम्रो लक्ष्य पनि देशैभर पुग्नु नै हो। ग्रामीण क्षेत्रमा यातायात पुग्नलाई सडक त पुग्नै पर्छ, इन्टनेट पुर्याउन पनि आवश्यक पूर्वाधारहरुको जसलाई हामी ‘इन्फरमेसन हाइवे’ भन्छौँ, निर्माण हुनु जरुरी छ।
यसको लागि हामी भन्दा पनि सरकारले नीतिगत तथा पुँजीगत संरचना बनाइदिनु आवश्यक छ। यसमा सरकारी पक्षले सकारात्मक कार्यहरु गरिरहेकै छ र हामी आफैले पनि दुरसञ्चार प्राधिकरण मार्फत मुनाफाको २ प्रतिशत ग्रामीण दुरसञ्चार विकास कोषमा योगदान गर्नेदेखि लिएर निरन्तर सञ्जाल निर्माणका लागि सरकारलाई घच्घचाइ रहेका छौँ। हामीलाई आशा छ, ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार पनि सहज बन्दै जानेछ।
हामी कहाँ आइएसपीहरुमा पनि लाइसेन्स होल्ड गरेर बस्ने तथा सक्रिय नहुने प्रवृति देखापर्दै गएको छ, यससँगै भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) प्रविधिले थप समस्या तथा सुरक्षा चुनौति थप्दै लगेको अवस्था छ, यसलाई कसरी हेर्नुभएको छ?हो, हामी कहाँ लाइसेन्स ‘होल्ड गर्ने’ तर सेवा प्रवाहमा निस्क्रिय रहने प्रवृति देखिएको छ। इन्टरनेटको सञ्जाललाई अलिकति कमाउँ भनेर पसल थापेको जस्तो हलुका रुपमा लिएर हुँदैन। आवश्यक पूर्वाधार तथा संयन्त्रको निर्माण र चुस्त व्यवस्थापन गर्न नसक्दा र स्रोत साधनको कमीका कारण संख्या धेरै भएपनि राम्रोसँग सेवा प्रवाह हुन सकेको छैन। केही त पूर्ण निस्क्रिय नै रहेका छन्।
यस्तो अवस्थामा समस्या भोगिरहेका आइएसपीहरुलाई एकआपसमा मर्ज भएर वा एकढिक्का भएर आपसका संयन्त्रमा साझेदारी गरेर समेत समस्या समाधान गर्न सकिन्छ। यस क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने र प्रतिफल प्राप्त गर्न पनि लामो समयसम्म कुर्नुपर्ने हुँदा आउँदा दिनमा चुस्त व्यवस्थापन गरी निरन्तरता दिन सक्ने मात्रै यस क्षेत्रमा टिक्न सक्नेछन्, नसक्ने आफैं हराउँदै जानेछन्।
त्यस्तै, भिओआइपीमा दुई–तीन वर्ष अघिसम्म पनि निकै ठूलो रोग देखा परेको थियो। कतिपय आइएसपीहरु पनि यसमा मुछिएका थिए। तर यो समस्या आउनुको पछाडि नेपालमा विदेशबाट भित्रने कल असाध्यै महँगो भएकाले सस्तो दिने नाममा गैरकानुनी बाटो अपनाएर भएपनि धेरै कमाउने सपना बोकेका केहीले दुरुपयोग गरे। प्रहरी तथा दुरसञ्चार कम्पनीहरु सक्रिय र सचेत पनि भए। यसका साथै सामाजिक सञ्जाल मार्फत कल सेवा सरल, सस्तो भइसकेकाले अब भने यसबाट तर्सिरहनु पर्ने अवस्था हटिसकेको छ।
खासगरी यति बेला चर्चामा रहेको चिनियाँ इन्टरनेट व्यवसायिक रुपमा वितरण हुन थालेपछि यसले के कस्ता प्रभाव पार्ने देख्नुहुन्छ ? अनि निजी क्षेत्रले यसैगरी ल्याउन सक्दैन ?भखरै नेपाल टेलिकमले चिनियाँ इन्टरनेट ल्याएको छ। निजी क्षेत्रले पनि चिनियाँ इन्टरनेट नेपाल भित्र्याउन आफ्नो तवरबाट विभिन्न प्रयासहरु गरिरहेका छन्। हालसम्म अप्टिकल फाइबरको माध्यमबाट भारतीय नाकाबाट इन्टरनेट आइरहेका अवस्था थियो। यसले दक्षिणी नाकामा हाम्रो निर्भरता बढाइरहेको थियो जसले गर्दा त्यो एकाधिकार तोड्न पनि चीनबाट इन्टरनेट ल्याउनु आवश्यक थियो।
यो अत्यन्त सकारात्मक कुरा हो। तर यससँगै जोडिएको अर्को पक्ष भनेको यसको गुणस्तर र ब्यवहारिक पाटो चुनौतीपुर्ण भएको हँुदा हामी ‘पर्ख र हेर’ को अवस्थामा छौँ। किनभने तिब्बतको जटिल भूगोलबाट ल्याउनुपर्ने भएकाले ‘अप्टिकल ब्रेक’ वा ठाउँठाउँमा काट्टिने सम्भावना अत्यन्तै प्रवल हुन्छ। यसको मूल्यपनि महँगो पर्न सक्छ।
त्यसकारण एक ठाउँबाट काट्टिँदा अर्को स्थानबाट आउन सक्ने अवस्था कत्तिको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ। चिनियाँ इन्टरनेट यहाँ ल्याइए पनि घरघरमा पुर्याउन सक्ने अवस्था अत्यन्तै चुनौतीपूर्ण छ। यसलाई प्रचारबाजी र धेरै उत्साह भन्दा पनि भारतीय इन्टरनेटको परनिभर्रतको उचित विकल्प र ‘ब्याकअप’ का रुपमा हेरिनुपर्छ।
अन्त्यमा, तपाई र अरु कम्पनीले प्रयोग गर्ने तारले सहरी सौन्दर्यमा प्रतिकुल असर पारिरहेको छ। यसको व्यवस्थापन तथा अन्य सुधार कसरी गर्न सकिन्छ ?हामीले जुन पूर्वाधार प्रयोग गरिरहेका छौँ, पोल पोलबाट फाइबर जसरी प्रयोग वितरण गरिएको छ यसलाई अन्डरग्राउण्ड गर्नैपर्छ। यद्यपी ओभरहेड फाइबर भन्दा अण्डरग्राउण्ड फाइबरको शुल्क महँगो पर्न जान्छ। तर सहरको सौन्दर्यमा असर गरेकाले यसलाई अझ ब्यवस्थित बनाउनुपर्छ भन्नेमा हाम्रो दुई मत छैन। अर्कोतर्फ उपभोक्तालाई महँगो शुल्क तिनुपर्ने अवस्था आउनु हुँदैन भन्ने कुरामा पनि हामी उत्तिकै चिन्तित छौँ।
हामीले भोगिरहको अन्य समस्या भनेको इन्टरनेट नेपाल बाहिरबाट ल्याउने कुरा हो। हामीले लिने शुल्कलाई समयानुकुल समायोजन गर्नु अर्को चुनौती छ। सरकारी नीति ‘फास्ट फरवार्ड’ हुनुपर्दछ। अर्को महत्वपूर्ण कुरा भनेको अब नेपालभित्रै विभिन्न डिजिटल अर्थतन्त्रलाई साथ दिने खालका संयन्त्र, सफ्टवेर तथा एप्लिकेसनहरु बनाउनु अत्यन्त आवश्यक छ।
अरुले बनाएको फेसबुक प्रयोगमा समय ब्यतित गर्नुको साटो आफै अनलाइन डिजिटल माध्यमबाट सहजै व्यापार व्यवसाय गर्न सक्नेगरी नेपाली बिल गेट्स, मार्क जुकरवर्गहरु उत्पादन हुनेमा हामी आशावादी छौँ।