प्रत्येक नगर तथा गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुर्याउन संसदीय समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएका बेला गभर्नर डा. चिरञ्जिवी नेपालले गाउँगाउँमा बैंक खोल्न सहज नभएको प्रतिक्रिया दिएका छन्।
बैंकिङ सेवाका लागि आधारभूत विकासका काम पनि गाउँमा पुग्न नसकेकाले बैंकहरु खोल्न सहज नरहेको उनले बताए। दुई विकास बैंकको मर्जपछि एकीकृत कारोबार सुभारम्भको अवसर पारेर पोखरा आएका नेपालले बैंकहरु संचालनका लागि आवश्यक न्यूनतम पूर्वाधार समेत नपुगेका गाउँहरु धेरै रहेको उल्लेख गरे।
एक अर्को प्रसंगमा उनले अव आर्थिक चलायमान बढ्ने तर्क गरे। स्थानीय तहको चुनावसँगै विकास निर्माणले गति लिने र आर्थिक क्रियाकलाप पनि बढ्ने उनको भनाई छ। ‘बाँकी प्रदेशको चुनाव सम्पन्न भैसकेपछि सात सय ४४ तहको व्यापारिक केन्द्र बन्छ, यसले रोजगारी वृद्धिसँगै आर्थिक क्रियाकलापमा चलायमान ल्याउँछ’ गभर्नर नेपालले भने।
ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकबीच मर्ज भई ओम डेभलपमेन्ट बैंकको नामबाट शुक्रबारदेखि संयुक्त कारोबार सुरु भएको छ।
सोही कार्यक्रममा बैकका अध्यक्ष सुशिल कुमार गोशली, बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजु, साविक मनास्लु विकास बैंकका अध्यक्ष तथा बर्तमान सञ्चालक बिजय मल्ल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, डेभलपमेन्ट बैंकर एसोशियसन नेपालका अध्यक्ष भरत ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मि र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी लगायतको उपस्थिति रहेको थियो।
मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, निक्षेप ग्राहक १ लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ्ग ग्राहक ३७ हजार ५ सय पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिए।