केही दिनअघि नाट्यकर्मी तथा मैथिली साहित्यकार रमेशरञ्जन झा एमालेमा फर्किए। नेपाल संगीत नाट्य एकेडेमीका प्राज्ञसमेत रहेका झा जनकपुरकाे मिथिला नाट्य कला परिषद 'मिनाप'का पुराना र सक्रिय अगुवा पनि हुन्। विशेषगरी भाषा, संस्कृति र पहिचानकाे विषयलाई लिएर राजनीतिक क्षेत्र तातिएकाे बेला त्यसै क्षेत्रबाट राष्ट्रिय पहिचान बनाएका मिथिला संस्कृतिकर्मीले चालेकाे कदम यतिबेला चर्चित छ। अझ 'मधेसविरोधी' पार्टीका रूपमा एमाले चित्रित भइरहेका बेला उनी किन एमाले फर्किए त?
यो प्रश्न हामीले उनलाई सोध्यौं। उनी नाट्यसंगीत प्रतिष्ठानले केही समयपछि इलाममा गर्ने नाटक महोत्सवको तयारीका लागि इलाम जाने तर्खरमा थिए। उनी अहिले नाट्यसंगीत प्रतिष्ठानमा सदस्य छन्।
माओवादीकै सिफारिसमा उनी प्राज्ञ बनेका हुन्। त्यही पार्टी छोडेर उनी अहिले एमालेमा फर्किँदै छन्।
झाले भने ‘म राजनीति पनि गर्ने मान्छे हुँ। म केहीसमय पहिले रामचन्द्र झासँगै माओवादीमा गएको थिएँ। उहाँ बाबुरामजीको नयाँ शक्तितिर जानुभयो। हामीलाई नयाँ शक्ति जानु पनि उपयुक्त लागेन। माओवादीमा बसेर पनि केही गर्न सक्ने अवस्था भएन। त्यसैले म एमाले फर्किएँ।’ दोस्रो संविधान सभाको निर्वाचनअघि उनी एमाले जनकपुरका एमाले नेता राम चन्द्र झासँगै एमाले परित्याग गरेर माओवादीमा गएका थिए।
माओवादीले बोकेको पहिचान र संघीयताको मुद्दामा आकर्षित भएर त्यो बेला माओवादी प्रवेश गरेको उनले बताए। तर माओवादीको संगठन र कार्यशैलीमा चित्त नबुझेको उनले बताए।
'म माओवादीमा ठीकसँग ‘एडजस्ट’ हुनै सकिनँ,’ उनले भने।
त्यसपछि उनलाई लाग्यो एजेण्डामात्रै भएर केही नहुने रहेछ।
'त्यो पार्टी जसरी चल्छ, त्यसको संगठन संरचना र कार्यशैली कस्तो छ, त्यो पनि महत्वपूर्ण रहेछ,’ उनले भने।
माओवादीका जुन मुद्दाले उनलाई त्यसबेला आकर्षण गरेको थियो, ती मुद्दा अब माओवादीकै लागि गौण भइसकेको उनको ठम्याई छ।
'नयाँ शक्ति पनि जान मैले उपयुक्त ठानिनँ, माओवादीमा पनि बसिरहन आवश्यक भएन,' उनले भने, 'मेरा लागि उपयुक्त ठाउँ एमाले नै थियो। म एमाले फर्किएँ।'
एमाले माथि त ‘मधेश विरोधी' भएको यत्रो आरोप छ तर अहिले तपाईं एमालेमै फर्किनु भयो, किन?
सेतोपाटीको प्रश्नमा उनले मधेशवादी दलले 'आयातित पहिचान' प्रवर्द्धन गर्न खोजेका आरोप लगाए। एमालेले पनि त्यस्तो 'आयातित पहिचान' को विरोध गरेको उनलाई मन परेको रहेछ, त्यसैले आफूलाई फेरि एमालेसँग जोडेको बताए।
'आयातित पहिचान भनेको के हो त?'
उनले जवाफ दिए, ‘नेपालमा मिथिला दोस्रो ठूलो भाषा हो, मिथिलाको कुरा गर्यो भने मधेशवादी दलका नेता रिसाउनु हुन्छ। यहाँ हिन्दीको कुरा किन भइरहेको छ? मैथिली वा अरू मधेसका स्थानीय भाषाको कुरा किन हुँदैन?'
उनले संविधानमा हिन्दी भाषालाई छिराउने र मधेसका स्थानीय भाषालाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताए।
‘मलाई थाहा छैन अहिले भाषा आयोगमा उहाँहरू संशोधन किन मागिरहनु भएको छ, मैथिली भाषाको बारेमा त उहाँहरू बोल्नु हुन्न। आजकल खाली हिन्दी, हिन्दी भनिरहनु भएको छ। उहाँहरू प्राय: सबैको मातृभाषा मैथिली हो तर किन हिन्दी, हिन्दी भनिरहनु भएको छ?'
एमाले मैथिली लगायत स्थानीय भाषा संरक्षण र प्रवर्द्धन गर्ने पक्षमा रहेको उनले जिकिर गरे।
‘कम्तीमा एमालेले मैथिली भाषा र संस्कृतिको विरोध गरेको छैन,' उनले भने, 'यसलाई संरक्षण र प्रवर्द्धन नै गर्ने कुरा गरेको छ।'
हिजो कुनै मधेसी मिथिला वा अवध पहिचानको पक्षमा उभिनै डराउनु पर्ने अवस्था सिर्जना भएको र त्यसले आन्दोलनलाई कमजोर बनाएको उनको तर्क छ। एमालेले लिएको अडानका कारणले नै अहिले मधेसका स्थानीय भाषा वा पहिचानका पक्षमा बोल्न सक्ने अवस्था आएको उनले बताए।
'हामी मिथिलाहरू बडो आतंकित थियौं,' उनले भने, 'मैथिली भन्नै नहुने, राजनीतिक वृत्तमा मिथिला पहिचानबारे कुरै नहुने। कुरा गर्नै नसकिने। अनि हामीले हाम्रो पहिचान कसरी जोगाउने?'
उनले पछिल्लो समय एमालेविरूद्ध अन्य पार्टीहरूले अनावश्यक प्रचारबाजी गरिरहेको र जबरजस्ती मधेश विरोधी पार्टीको ‘ट्याग' भिराईदिएको बताए।
‘कांग्रेस, माओवादी एमाले सबैसँगै छन्, सँगै बसेर संविधान बनाएका हुन्,' उनले भने, 'अनि एमालेलाई मात्र मधेशविरोधी भन्ने?'
उनले उदाहरण दिए, 'सीमाङ्कन परिवर्तनको विरोधमा बुटवलमा प्रदर्शन भयो। त्यहाँ कांग्रेस, एमाले, माओवादी तीनवटै पार्टी छन्। कांग्रेसको चन्द्र भण्डारीजी हुनुहुन्छ, एमालेको विष्णु पौडेललगायतका हुनुहुन्छ र माओवादीको टोप बहादुरजी हुनुहुन्छ। अनि एमालेलाई मात्रै मधेस विरोधी भन्ने?'
'स्थानीय चुनावको मुखमा एमाले फर्कनु भएको छ, कुनै महत्वपूर्ण पदमा उठ्नुहुन्छ?' हामीले सोध्यौं।
'म अहिले तत्काल प्रत्यक्ष राजनीतिमा आउँदिन। एमालेमै रहन्छु तर त्यस्तो कुनै पदमा म उठ्दिनँ। अहिले कला-संस्कृति क्षेत्रमा काम गरिरहेको छु, यसैलाई निरन्तरता दिन्छु। म मेयर हुन एमाले फर्किएको होइन।’