नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारसँग निर्वाचन गर्ने जाँगर नभएको आरोप लगाएका छन्। सरकारले विभिन्न बाहना बनाएर निर्वाचन सार्दै आएको आरोप लगाउँदै नेम्वाङले २ नम्बर प्रदेशमा असोज २ गते गर्ने गरि निर्वाचन तालिकासहितको निर्णय गलत भएको बताए।
पहिलो चरणको निर्वाचनमा एमालेले धेरै स्थानीय तह जितेका कारण पनि सरकारको निर्वाचन गर्ने जाँगर नभएको नेम्बाङले आरोप लगाए।
सरकारले निरन्तर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै नेम्वाङले जनमत प्रभावित पर्ने गरी सरकारले निर्वाचन आचार संहिता विपरितका विभिन्न कार्य गर्दै आएको आरोप लगाए। उनले भने, ‘फुटबल खेल सुरु भएपछि खेलको नियम परिवर्तन हुँदैन तर वर्तमान सरकारले गोल जता गयो उतै पोष्ट थाप्ने कार्य गरेको छ।’
प्रेस चौतारी पाँचथरले बिहीबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले भने, ‘निर्वाचनको प्रकृया सुरु भएपछि स्थानीय तह थप्ने, जनमत प्रभावित पार्ने गरि नीति, कार्यक्रम ल्याउने कार्य आचारसंहिता विपरित छन्।’
राष्ट्रिय जनता पार्टी लगायत दलहरुको असन्तुष्टि हुँदैमा निर्वाचन सार्न नहुने बताउँदै नेम्वाङले असन्तुष्टि हुँदैमा निर्वाचन सार्नुपर्ने कुनै कारण नरहेको दाबी गरे।
संविधान कार्यान्वयन नगरी संविधान संशोधन गर्दा संविधान कार्यान्वयनमा समस्या पर्ने बताउँदै नेम्वाङले एमाले आवश्यकता र औचित्य पुष्टि हुने विषयमा संविधान संशोधनका लागि लचिलो रहेको बताए। यद्यपी यसका लागि तीनै तहका निर्वाचन सम्पन्न हुनु पहिलो शर्त रहेको नेम्वाङको भनाई छ ।