मेरो शरीर काठमाडौंमा भए पनि टाउको गाउँमै हुन्छ। अर्थात्, दोलखाको डाँडाबारीमा।
बेला–बेला मनमा ऊर्जा सञ्चय गर्न म गाउँ जान्छु। गाउँभन्दा अलि माथि एउटा घना जंगल छ। जंगलको बीचतिर मौवाको एउटा ठूलो रुख छ। आमासँग घाँस काट्न गएका बेला सानैमा म त्यो ठाउँमा पुगेको थिएँ। मौवाका पात झरेर डसनाभन्दा नरम भएका हुन्थे। म त्यतिबेला त्यसमाथि खुबै उफ्रिन्थेँ। लडीबुडी गर्थें। ढुंगाको सिरानी हालेर आनन्द मानेर सुत्थेँ। आमाले कराएपछि उठेर खुर्रर दौडिन्थेँ।
अहिले पनि म यी सबै सम्झेर खुबै ‘नोस्टाल्जिक’ बन्छु। त्यसैले गाउँ पुग्दा त्यो ठाउँ नपुगी धित मर्दैन। एक्लै मौवाको रुखमुनि पुग्छु। ढुंगाको सिरानी हालेर सुत्छु। बच्चा बेलाका स्मृतिमा डुब्दा–डुब्दै निदाउँछु। तर, यतिबेला उठाउने कोही हुँदैन।
संगीत सर्जक भएकाले संगीत म यो ठाउँ पुगेपछि केही न केही बोकेर आउँछु। मौवाको रुखमुनि सुत्दै, प्रकृतिको आनन्द लिँदै गर्दा मेरो दिमागमा गीतका लाइनहरु नाच्न थाल्छन्। गीतको सुरुवाती लाइन जहाँसुकै फुरेको हुनसक्छ, यहाँ बसेपछि विकास हुन थाल्छ।
मेरो पछिल्लो चर्चित गीत, जुन रिलिज भएको एक महिनामा झन्डै ६० लाख पटक हेरिएको छ, त्यही तयार पारेको हुँ। यसको सुरुवाती लाइन भने काठमाडौंमै जन्मिएको थियो। तर, मैले त्यतिबेला पनि गाउँ नै सोचेको थिएँ। गाउँ सम्झिँदै जाँदा एक दिन एक काकालाई सम्झिएँ, जसको ओठ, दाँत, मुख निकै कालो थियो। एकदिन ती काकाले मलाई झुक्याएर खैनी खुवाइदिएका थिए। खैनीलाई अझ कडा बनाउन माथि भिजाएको चिनी राखिएको थियो। ती काकाले मलाई मिठाई भनेर खैनीको बट्टा तेस्र्याए, दुई औंलाई चिम्टा पारेर चिनी मिठाई निकाल्दा खैनी पनि सँगै आयो। खाएँ। मुख कोक्यायो। भन्न रिँगटा छुट्यो। वान्ता भयो।
मैले ती काकालाई सम्झिएँ र पहिलो लाइन बन्यो– खैनी चुरोट खान्छौ कि दाँतै कालो छ।
बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो
डाँडाबारीको सुन्तला गुलियो छ कि अमिलो
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदीको मगनी भइसक्यो मेरै पालो छ
म जुनसुकै गीत लेख्दा कुनै विषयलाई समातेर लेख्न सुरु गर्छु।
जस्तोः सुर्केथैली।
https://www.youtube.com/watch?v=VwIWfvW3SD8
मलाई एकदिन झल्याँस्स आमाको सुर्केथैलीको याद आएको थियो। सुर्केथैलीले मलाई पुराना चिजहरु सम्झाउँदै गए। यसपछि गीत लेख्न थालेँ। तर, गीतमा त्यो विषयलाई हाबी हुन दिन्न। सन्देश दिनुपर्छ भन्ने लाग्छ तर, प्रत्यक्ष रुपमा सन्देश दिँदा सन्देशमुलक विज्ञापनजस्तो हुनसक्छ भन्नेमा म सचेत हुन्छु।
अर्को, पूर्व–पश्चिम रेल।
यो गीतको विषय पहिले मेलम्चीको पानी थियो। मैले बच्चैदेखि काठमाडौंमा मेलम्चीको पानी आउने रे भन्ने सुनेको थिएँ। म हुर्किवरी काठमाडौं आएँ तर, मेलम्चीको हल्लाले मात्र काठमाडौं भिजेको थियो। धारामा पानी मरेपछि साबुन पखाल्न जारको पानीले नुहाउँदै गर्दा यो विषय समातेर गीत बनाउँदा कसो होला भन्ने लागेको थियो।
फिल्म ‘दुई रुपैयाँ’ मा समावेश गीत ‘कुटुमा कुटु’ गीतमा मैले धुम्रपान हानीकारक छ भन्ने कुरा उठाउन खोजेको हुँ, प्रेमको माध्यमले। एउटी युवतीले आफ्नो हुनेवाला श्रीमान खैनी–चुरोट नखाउन् भन्ने चाहना हुन्छ भन्ने कुरा गीतमार्फत् व्यक्त गर्न खोजेको हुँ।
यो गीतको मूल विषय नै यही हो। अर्थात्, धुम्रपान तथा सूर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ।
भनिहालेँ, मैले लेख्ने गीत विषयले जन्माउँछन्। त्यस्तो विषय, जसबाट आम–मानिस छोइएका हुन्छन्। कतिलाई तिनै कुराले दुःख दिइरहेका हुन्छन्। मैले पनि भोगिरहेको हुन्छु। त्यसले मलाई तनाव दिन्छ। म तनाव निकास गर्न गीत लेख्छु।
जतिबेला मैले गीतसंगीतमा लाग्ने निर्णय लिएँ, मेरो ध्येय नै लोकसंगीततिर लाग्ने भन्ने थियो। लोकसंगीत मेरो दस वर्षअघिको योजना हो। म आफैं पनि लोकसंगीत सुन्दै हुर्किएकाले लोकसंगीतमै फिट छु भन्नेमा स्पष्ट थिएँ। मान्छे जुनसुकै ठाउँमा पुगेपनि, जेमा भुले पनि लोकसंगीतलाई भुल्न सक्दैन। सुर्केथैली, पूर्वपश्चिम रेल, कुटुमा कुटुमा गीत हिट हुनुको कारण यही हो। जस्तोसुकै परिस्थितिमा पनि मान्छे लोकसंगीतमा रमाउन सक्छ। मेरा लागि त्यो लोक भन्ने चिजको खाँट्टी कुरा गाउँमा छ। त्यसैले शरीर यहाँ भए पनि मेरो टाउको गाउँमै दौडिरहेको हुन्छ। उतिबेला सुन्ने भाका सुनिरहेको हुन्छ, गाउँघरका मान्छेसँग बात मार्दै हिँडिरहेको हुन्छ, मौवाको रुखमुनि पत्करमा आनन्दले सुतिरहेको हुन्छ। टाउकोले उतै बसेर गीत पनि लेख्छ!
तर, सधैं यस्तो हुँदैन। शरीरलाई पनि उतै लैजानुपर्छ। म जतिबेला गाउँ पुग्छु, घरमाथिको जंगलमा पुगेकै हुन्छु। मौवाको पत्करमा सुतेकै हुन्छु। किनकि, मैले अहिलेसम्म जति आनन्द पाएँ हुँला, त्यसमध्येको विशिष्ट आनन्द त्योबाहेक अर्थोक छैन। हुनेवाला पनि छैन। म यही बन डुल्दै गीत लेख्छु।
मेरो मान्यता छ, गीत मैले लेख्ने हैन, प्रकृतिले लेखाउने हो। म त माध्यम मात्र हुँ। त्यसैले सिर्जना गर्दा मेरो मनले जहिल्यै प्राकृतिक ठाउँ नै खोज्छ। सकेसम्म त आफ्नै गाउँ। नभए म बेलाबेला गोदावरी, लाँकुरीभञ्ज्याङ चाहारिरहेको हुन्छु। अचेल फुर्सद कम भएकाले त्यति जान भ्याएको छैन। छिट्टै गाउँ जानेवाला छु।
मैले अहिलेसम्म जति गीत लेखेँ, ती गीत गाउँको सम्झनाबेगर लेखिएका छैनन्। विषय ठ्याक्कै गाउँसँग मिल्ने नभए पनि केही लाइन त घुसाएको हुन्छु नै। यसपाली त मैले आफ्नो गाउँलाई नै गीतमा घुसाएको छु। कुटुमा कुटु बोलको गीतमा छ– डाँडाबारीका सुन्तला गुलियो छ कि अमिलो।’
डाँडाबारी मेरो गाउँ हो। हाम्रो बारीको सुन्तला गुलियो पनि नहुने अमिलो पनि नहुने। बीचको स्वादको। अहिले ‘ग्लोबल वार्मिङ’ले गर्दा होला, गुलियो हुन थालेको छ। डाँडाबारी हाम्रो हजुरबाहरु छुट्टै बस्न रोज्नुभएको ठाउँ रहेछ।
गीतमा मैले आफ्नो बारीको सुन्तलालाई बिम्बको रुपमा प्रयोग गरेँ।
केटी: बघिनीको छोरीलाई कुखुराको भालेले
ठूल्ठूलो कुरा गरेर पट्याउन आँट्यो कालेले
केटा: छिमेकी हुँ बाघैको सन्तान कालीनागैको
तिमी त रैछौ मितिनी कोइली हैन कागैको
केटीलाई प्रभावित पार्न केटाले अनेक गफ दिन्छ। यो पछिल्लो हरफमा भने बाघको छिमेकी र कालीनागको सन्तानको कुरा गरिएको छ। यो मेरो आफ्नै कथा हो। अर्थात्, जंगलछेउमा हुर्किएकाले बाघको सन्तान भइहालियो। कालीनाग हाम्रा कुलदेउता हुन्। मैले आफ्नो कुललाई गीतमार्फत् सम्झिएँ।
कुनै गीत तयार भइसकेपछि यत्तिको चल्छ भन्ने अनुमान गर्न सकिन्छ। कुटुमा कुटु गीत धेरैले सुन्छन् भन्ने अनुमान थियो, तर छोटो समयमा युट्युबमा ५० लाखभन्दा बढी भ्युज हुन्छ भन्नेचाहिँ सोचेको थिइनँ। कुनै गीत धेरैभन्दा धेरैले सुन्नमा भिडियोको ठूलो भूमिका हुन्छ। तर, धेरैले नसुन्दैमा गीत नराम्रो भन्न मिल्दैन। कति राम्रा गीतहरु धेरैले सुनेका छैनन्।
मलाई भने ठूलो समूहमा पु¥याउन फिल्मले ठूलो सहयोग गरेको छ। यदि, फिल्म भन्ने प्रविधि थिएन भने म अहिले यो स्थानसम्म आइपुग्ने थिइनँ होला।
अर्को, अहिलेसम्मका संयोग कस्ता छन् भने, फिल्ममा जति गीत समावेश भए, ती सबै पहिल्य तयार भएका हुन्। निर्माता÷निर्देशकले माग्नुभन्दा पहिले नै मसँग गीत तयार हुन्छ। कुनै हरफ फुरिहाल्यो भने म मोबाइलमा रेकर्ड गर्छु। पहिले क्यासेटमा गर्थें। फुर्सदका बेला आफूले रेकर्ड गरेका गीत सुन्छु। जुन गीतले म आफैंलाई छुन्छ या योचाहिँ गीत अहिले बनाउँदा ठिक होला भन्ने लाग्छ। अनि शब्द थप्न थाल्छु। धुन र शब्द सँगसँगै तयार हुन्छन् मेरो हकमा।
मेरा मितज्यू राजन इशान, कुटुमा कुटु गीतमा हामीले सँगै गाएका छौं, उहाँसँग दुई रुपैयाँका अभिनेता आशिफ शाहको चिनजान थियो। मेरो थिएन। मितज्यूकै माध्यमबाट हाम्रो चिनापर्ची भयो। उहाँले गीत माग्नुभयो। कुटुमा कुटु गीत लगभग तयार थियो। रेकर्डचाहिँ भइसकेको थिएन।
प्रस्तुति- समुन्द्र राज घिमिरे