नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा संविधान बनेको र संविधानको कार्यान्वयन पनि उसकै नेतृत्वमा हुने बताएका छन्।
शनिबार बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौमा काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले काँग्रेस देशमा शान्ति र स्थिरता कायम गर्ने पार्टी भएको बताए।
देशका विभिन्न भाषाभाषी र जातजातिको अनेकताबीच एकता खोजेर अघि बढ्ने पार्टी काँग्रेस मात्रै भएको दाबी उनले गरे। उनले भने,‘ काँग्रेस कुनै क्षेत्र विशेषको विरोधी पार्टी होइन । यो समग्र नेपाललाई एकसूत्रमा बाँध्ने पार्टी हो।’
काँग्रेसका शत्रु भनेको गरिबी र बेरोजगारी भएकाले यसको अन्त्यका लागि काँग्रेसको जीत आवश्यक रहेको उनको धारणा थियो । रासस