पाटन सङ्ग्रहालय विस्तार हुने भएको छ। अहिले केशवनारायण चोक र मूल चोकमा मात्रै रहेकामा सुन्दरी चोकसम्म फैलाउन लागिएको हो।
सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार सुन्दरी चोकको माथिल्लो तलामा सङ्ग्रहालय फैलाउन लागिएको हो। ‘अहिले प्रकाश संयोजनको काम भइरहेको छ। एक/दुई महिनाभित्रै आगन्तुकका लागि सङ्ग्रहालय खुल्ला हुनेछ,’ लाखेले भने। सङ्ग्रहालयमा भएका सामग्री फैलाउने भन्दा पनि नयाँ सामग्रीको सङ्कलन गर्ने काम भइरहेको छ।
सुन्दरी चोकमा हात्तीको दाँतबाट बनेको झ्याल रहेको छ र त्यसलाई पहिलोपटक सर्वसाधरणले हेर्न पाउने उनको भनाइ छ। भित्ते चित्र प्रदर्शनीमा राखिनेछ। सिद्धिनरसिंह मल्लको समयमा बनेको झ्याल ऐतिहासिक रुपले महत्वपूर्ण छ। सङ्ग्रहालय क्षेत्र विस्तार गरिँदा आगन्तुकले घुम्ने धेरै ठाउँ हुने र ज्ञान धेरै पाउनसक्ने लाखे बताउँछन्।
काठमाडौँ उपत्यका संरक्षण ट्रस्ट(केभीपीटी)ले प्रदर्शनीकक्ष बनाउने काम गर्ने भएको छ। प्रकाश संयोजन, सामग्रीको सङ्कलन लगायतका काम भने सङ्ग्रहालयले नै गर्ने बताइएको छ। रासस