काठमाडौंको गेष्टहाउसमा लागुऔषध कारोबार गरिरहेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक शरणबिक्रम शाह नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले होटल नम्बर २०३ मा तलासी लिएको थियो।
त्यहाँबाट ५० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१० घर भई हाल तारकेश्वर मनमैजु बस्ने ३२ वर्षीय निरोज कुँवर, भक्तपुर सूर्यविनायक नगरपालिका–६ घर भई हाल सामाखुसी बस्ने ३० वर्षीय सुभाष मिश्र र धादिङ सिद्धलेक गाउँपालिका–३ घर भई हाल बालाजु बस्ने २८ वर्षीय सुर्य बहादुर थापा रहेका छन्।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।