चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने टिकौली जङ्गलको जैविक मार्ग र यहाँका वन्यजन्तुको सुरक्षा गर्न चितवन राष्ट्रिय निकुञ्जले ‘संयुक्त सुरक्षा पोस्ट’ राख्ने भएको छ।
यही असार ५ गते ‘जैैविकमार्ग र वन्यजन्तुको सुरक्षा चुनौतीपूर्ण’ भन्ने शीर्षकमा समाचार सार्वजनिक भएपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा पोस्ट स्थापना गर्न लागेको हो।
नेपाली सेना र निकुञ्जका कर्मचारीसहित पाँचजना बस्ने गरी टिकौली जङ्गलको बीचमा पोस्ट स्थापना गर्ने प्रक्रिया थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
‘अब गाडी आवतजावतको पनि निगरानी गर्छौं, कारबाही चलाउँछौँ र जरिवाना पनि लिन्छौँ’ कँडेलले भने, ‘असार महिनाभित्रैमा पोस्ट स्थापना गरेर जैविक मार्गको सुरक्षा कडा पार्दैछौँ ।’ चितवन निकुञ्जको चुरे र महाभारत पहाड जोड्ने जैविकमार्ग चितवनको टिकौली जङ्गलबाट बाघ, गैँडा, चित्तल, जरायोलगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो जैविकमार्ग (कोरिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ। गएको वर्ष टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरेर निगरानी सुरु गरिएपनि अहिले प्रभावहीन हुँदा सुरक्षा चुनौतीपूर्ण छ।
आवश्यक निगरानी नहुँदा गएको वर्ष १३ वटा वन्यजन्तुमाथिका घटनामा जम्मा तीन वटामामात्रै कारबाही भएको पाइएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ। सवारी चालकलाई यहाँको संवेदनशीलताबारे जानकारी दिई नियमन गर्ने, गाडी रोक्न नदिने, विस्तारै चलाउन लगाउने र गल्ती गरे कारबाही गर्ने, फोहर व्यवस्थापनलगायत उद्देश्यले ठूलो लगानीमा राजमार्गका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएको थियो।
निगरानी गर्ने निकाय नहुँदा संरक्षणमा चुनौती बढेका बेला अब भने सेना नै बसेर टिकौली क्षेत्रको निगरानी गरिन लागिएको हो। चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक पोस्ट स्थापनाका लागि तयारी भइरहेको बताउँछन्।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले समाचारलाई ध्यानमा राखेर तत्कालै अस्थायीरुपमै भएपनि पोस्ट राखेर निगरानी गर्न लागिएको बताए। उनका अनुसार अहिले चितवन निकुञ्जमा ५७ वटा सुरक्षा पोस्ट रहेका छन्। रासस