अमेरिकाको तीन दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार राति भेटवार्ता भएको छ।
दुई शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुखबीचको भेटले अन्तर्राष्ट्रिय जगतमा निकै चर्चा बटुलेको छ। २५ जुलाईमा अमेरिका पुगेका मोदी र ट्रम्पबीचको द्धिपक्षीय भेटमा दुई नेताले एकअर्काको खुलेर प्रशंसा गरे। ट्रम्पले मोदीको प्रशंसा गर्दै ‘महान प्रधानमन्त्री’को संज्ञा दिएका छन्। उनले भने, ‘तपाई जस्तो महान प्रधानमन्त्रीलाई हाम्रो देशमा स्वागत गर्न पाउनु हाम्रो लागि निकै सम्मानको कुरा हो।’
मोदीले ट्रम्पलाई असल नेतृत्वकर्ता भएको बताउँदै भारत अमेरिकाबीचको सुमधुर सम्बन्ध निर्माणको लागि धन्यबाद दिए। ट्रम्पले पनि भारत र अमेरिका सधैं असल साथी रहने विश्वास व्यक्त गरे।
मोदीको स्वागतमा ह्वाइट हाउसमा रात्री भोजको आयोजना गरिएको थियो । ह्वाइट हाउसमा मोदीलाई ट्रम्प र उनको श्रीमती मेलानीयाले स्वागत गरेका थिए।
प्रधानमन्त्री मोदीले ट्रम्पलाई उपहारमा काठबाट बनेको बस्तु दिएका थिए। मोदीले ट्रम्प श्रीमती मेलानियालाई भारतको हिमाञ्चलमा बनेको चुरा, चिया र चिनी तथ हातले बुनेको सल उपहार दिए।
मोदीले उपहार दिएसँगै ट्रम्प परिवारलाई भारत आउने निम्तो पनि दिएका छन्। उनको निम्ता ट्रम्पले पनि सजिलै स्वीकार गरे। तर ट्रम्प कहिले भारत जान्छन् यो भने अहिल्यै तय भएको छैन।
मोदीलाई ट्रम्पले पुरै ह्वाइट हाउस घुमाएका थिए। उनीहरुले धेरै पटक एक अर्कासंग अंकमाल गरे।
दुई शक्तिशाली राष्ट्रप्रमुखबीचको भेटपछि जारी गरिएको एक साझा विज्ञप्तिमा पाकिस्तानले आफ्नो भूमिमा भईरहेको आतंकवाद अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ।
साथै उनीरुले विश्वबाट आतंकवाद हटाउनु आफ्नो प्रमुख मुद्दा भएको भन्दै यसलाई अन्त्य गर्न संकल्प पनि लिएका छन्।
ड्रोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि मोदीको यो पहिलो अमेरिका भ्रमण हो। मोदीको ३ दिने अमेरिका भ्रमण मंगलबार (आज) अन्तिम दिन हो।
तस्वीरः एजेन्सी