मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।
मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो। नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो।
सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो। सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौँ मतदाता अलपत्र परेका थिए।
सडक सञ्चालनमा आएसँगै पत्रकारसहित आएको संसदीय टोलीले अनुगमन कार्यलाई अगाडि बढाएको छ। रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ। नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर खनालका अनुसार सो सडकमा समय समयमा पहिरो खस्ने समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। रासस