दाङको राप्ती गाउँपालिका वार्ड न २ को एउटा मतदान केन्द्र गएरातिदेखि परेको पानीले आहाल भएको छ। मतदानका लागि तयार पारिएको स्थान पोखरी भएपछि अहिले त्यहाँको मतदान प्रभावित भएको छ। मतदाताका लागि वैकल्पिक व्यवस्था गर्ने तयारी आयोगले गरेको छ।
यसैबीच दाङकै देउखुरीको लमहीमा पानी परेर मतदान प्रभावित भएपछि लमही नगरपालिका ६ दुमदुमा केन्द्रमा विद्यालयको कोठाभित्र मतदानको व्यवस्था मिलाइएको छ ।
बाहिर चौरमा मतदानको तयारी गरिए पनि पानी परेर सम्भव नभएपछि मतपेटिका सहितका निर्वाचन सामाग्री कोठाभित्र राखिएको छ । कर्मचारीहरु पनि विद्यालयको कोठाभित्र बसेका छन् ।
बाहिर चौरमा मतदाताहरु रुझ्दै लाइनमा बसेका छन् । कतिपयले छाता ओढे पनि ठूलो पानी परिरहेकाले समस्या परेको गुनासो गरेका छन्।