आयरल्यान्डमा रहेका नेपालीहरुको समाजले नेपालको पर्यटन प्रवद्र्धन, ब्यापार विस्तार गर्न सघाउ पुर्याउने उद्देश्यले नेपाल–आयरल्यान्ड संसदिय मैत्री समूहको गठन गरेको छ।
आइरिस संसदको तल्लो हाउस र माथिल्लो हाउसका सदस्यहरू सम्मिलित उक्त समूह जुन २७ मा स्थापना भएको नेपाल–आयरल्याण्ड समाजका अध्यक्ष दिपेश शाक्यले जानकारी दिए। आइरिस संसद भवनमा सम्पन्न स्थापना कार्यक्रममा आइरिस संसदका अध्यक्ष सिन फेयरहेल टीडीको सहभागिता रहेको थियो।
संसदीय मैत्री समूहमा आइरिस संसद मैरिन ओसुलीभन टिडी, सिनेटर इभाना बसिक, शन बारेट टीडी, शन क्राउ टीडी र डारेघ टीडी सदस्य रहेको नेपाली समाजका अध्यक्ष शाक्यले जानकारी दिए।
सांसद सिन फेयरहेल टीडीले स्थापना भएको मैत्री समूहले नेपाल र अयरल्याण्डको संसदीय व्यवस्थामा गहिरो सम्बन्ध स्थापना विस्तार, नेपाल र आयरल्याण्डबीचमा मित्रता स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखेका थिए।
सांसदहरुले आयरल्याण्ड र नेपालबीच व्यापार सम्बन्ध बढाउन सहकार्य क्षेत्रमा अन्वेषण, संसदीय सहयोग विस्तार र उच्च स्तरको भ्रमण आदान प्रदानमा यो समूहले उल्लेख्य भूमिका खेल्ने बताएका थिए।
नेपाल–आयरल्याण्ड समाजका अध्यक्ष दिपेश शाक्यले यो मैत्री समूहको गठनबाट आयरल्याण्डमा रहेका नेपाली समुदाय उत्साहित भएको बताए।
समूहको औपचारिक स्थापना नेपाल आयरल्याण्ड समाजको प्रयास र नेपाल प्रेमी आइरिसहरुको समर्थन र लण्डनको नेपाली दूतावासको सहयोगबाट सम्भव भएको शाक्यले बताए।