बागमतीपारि कार्यालयमा बैठक सकेर बाहिर निस्कँदा साँझ परिसकेको थियो। भोलिपल्ट नयाँ वर्ष शुभारम्भ हुँदै थियो, वैशाख १ गते।
केही वर्षयता मेरो आनीबानी ‘सेडेन्टरी’ अर्थात् बस–बस मात्रै बनेको छ। मेचमा, गाडीमा, कहिलेकाहीँ भुइँमा, हिँडडुल घटेको छ।
उपन्यासकार नारायण वाग्लेको छवि अगाडि आयो। वाग्लेसितको मित्रता झन्डै ३० वर्ष पुग्नै लाग्यो। अग्ला छन्, नारायण बन्धु। छेउमा उभिएर गफ गर्दा मलाई टाउको माथि उठाएर हेर्नुपर्छ। म जिस्क्याएर भन्छु, ‘ए अग्ले, के छ हालचाल?’
सधैं हाँसेर जवाफ दिन्छन्, ‘दाइ ठीक छ।’
नारायण बन्धु धेरैजसो पैदल हिँड्ने गर्छन्। एकपल्ट एक मित्रले वाग्लेलाई भेटेपछि भनेछन्, ‘आउनोस्, गाडीमा पुर्याइदिन्छु।’
वाग्लेले जवाफ दिएछन्, ‘धन्यवाद, म तपाईंभन्दा छिटै पुग्छु।’
नभन्दै मित्र ट्राफिकमा अड्किएछन्। नारायण अगाडि नै गन्तव्य पुगेछन्।
नारायण हिँड्छन् भने म किन नहिँड्नु? तत्काल निर्णय गरेँ, भोलि नयाँ वर्ष हो, हिँड्न सुरु गर्छु।
म बागमती पुल हुँदै बालुवाटार लागेँ। नियमित हिँड्नेलाई बागमती पुलछेउबाट बालुवाटार पुग्नु खासै गाह्रो होइन। कम हिँडने र ६० वर्ष नाघेकालाई भने अलि गाह्रै थियो। मनमा लाग्यो, पुतलीसडकतिर ट्याक्सी लिनुपर्ला।
सर्वोच्च अदालतअगाडि नचिनेका दुई बन्धु भेटिए। तिनले सोधे, ‘सर, रातोपुल कता हो?’
आजकल नेपालमा हामी सबै ‘सर’ बनेका छौं– कृष्ण सर, मनोज सर, यादव सर, श्रेष्ठ सर, गुरुङ सर अनि महिलाहरू म्याडम। पाका व्यक्तिले भर्खरका कलिला केटालाई पनि ‘सर’ भनेर बोलाएको सुनेको छु।
बेलायतीहरू छक्क पर्छन् होला, जसले जसलाई पनि ‘सर’ भनेको सुन्दा। ‘सर’ त तिनकी महारानीले दिने ‘नाइटहुड’ पो हो त। ब्रेक्जिट र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयपछि ’नन–ग्लोबलाइज्ड’ हुँदै गरेको ‘फ्ल्याट वोल्र्ड’ मा ‘नन–नाइटहुड’ सर भन्दा कसो होला?
आफैंलाई प्रश्न गरेँ। थोमस फ्रिडम्यानको पुस्तक ‘द वोल्र्ड इज फ्ल्याट’ शीर्षक पैँचो लिँदै।
मन नै त हो। तत्काल सन् १९७९ को ग्लास्गो पुग्यो। ग्लास्गोमा पहिलोपल्ट पुग्दा ट्राफिक प्रहरीलाई सोध्न पुगेको थिएँ, ‘स्ट्राथ क्लाइड युनिभसिर्टी कताबाट पुग्ने?’
स्कटल्यान्डबासीले गह्रौं पाराले अङ्ग्रेजी बोल्छन् भन्ने कसैले बताइदिएको थिएन।
ट्राफिक प्रहरीले भन्यो, ‘हे सन, सिधा जा, दाहिने लाग, फेरि सिधा जा, फेरि दाहिने लाग।’
ऊ बोल्दै गयो।
मैले उसको अङ्ग्रेजी उच्चारण पटक्कै बुझ्न सकिनँ। पक्क परेर उसको अनुहार हेर्न पुगेछु। बुझेन भन्ने लागेपछि केहीबेर सँगसँगै हिँडेर बाटो देखाइदियो।
एकपल्ट न्यूयोर्कमा त्यही रणनीति लिएर प्रहरीलाई सोधेको थिएँ। बाफ रे बाफ, पिटँुलाजस्तो गर्दै जवाफ दिएको थियो, ‘गो एन्ड बाई फ.....ङ (चार शब्दवाला गाली) म्याप।’
मैले रातोपुलको बाटो सोध्ने बन्धुहरूलाई भने त्यसो भनिनँ। सोधेँ, ‘रातोपुल होइन, ठाउँ बताउनुस् न।’
‘मैतीदेवी’
‘ठीक छ,’ मैले भनेँ, ‘यहाँबाट सोझै जानुस्, केही बेरपछि पूर्व लाग्नुस्। सिंहदरबारको पर्खालछेउ अगाडि लागेपछि दुइटा बाटा आउँछन्। पूर्वपट्टि नलागी, उकालोपट्टि लाग्नोस्। त्यहाँ पिपलको बोट भेट्नुहुन्छ, अनि कालिकास्थान, त्यसपछि डिल्लीबजार।’
बाटो बताउँदा आफैंलाई एँेठन भइसकेको थियो, बन्धुहरू पक्क परेर हेर्न थाले।
‘ऊ परसम्म हिँड्नोस्, बताइदिन्छु।’
हामीले सिंहदरबार ढोकाअगाडिको बाटो काट्यौं। गाडी त्यति थिएनन्, बाटो काट्न गाह्रो भएन। नभए हाम्रो सहरमा बाटो काट्न सजिलो छैन। चालक रोक्दै–रोक्दैनन्, बटुवाका लागि। गाडी चलाउँदा बटुवालाई प्राथमिकता दिए अरू चालकहरू ‘यो कार्टुन कताबाट आयो’ भन्ने दृष्टिले हेर्छन्।
ती बन्धुहरू बग्गीखानाको ढोकामा प्रहरीसित कुरा गर्न लागे। मेरो कुरा विश्वास गर्न तिनलाई गाह्रो भएछ।
नो प्रोब्लम! म आफ्नो नयाँ वर्ष सन्ध्याको निर्णय कार्यान्वयन गर्ने क्रममा लागेँ।
पुतलीसडक बीचतिर पुगेपछि पैताला चसक्क ग¥यो। लौ जा! सन् १९९५ तिर कामको सिलसिलामा बारपाक, गोर्खा जाँदा लडेपछि कुर्कुच्चा भाँचिएको थियो। तीन–चार वर्षपछि लड्दा फेरि त्यही ठाउँ नराम्ररी तन्किएको थियो। हिजोआज भाँचिएको कुर्कुच्चाको पैताला कहिलेकाहीँं चसक्क गर्छ, हिँडने मेसो मिलेन भने। चिकित्सकले भनेका छन्, ‘होस् गर्नू, भाँचियो भने बूढो हड्डी छिट्टै जोडिँदैन है!’
ट्याक्सीतिर लागेँ। नजिकै पुगेपछि सोधेँ, ‘भाइ बालुवाटार जाने हो?’
च्याँठिएको जवाफ आयो, ‘जान्न।’
दिमाग रनक्क भयो। आपूmलाई सम्हालेँ। अर्को ट्याक्सीछेउ पुगेँ। फेरि उही पारामा उस्तै जवाफ आयो।
तेस्रोछेउ पुगेँ। भनेँ, ‘तपाईं त बालुवाटार नजाने होला नि होइन?’
तिनले मुन्टो बटारे। सेवा दिएर पैसा कमाउन बसेका हुन् कि ग्राहकसित झोक्किएर जबाफ दिन!
साँझ परेपछि सुरु हुने हाम्रो राजधानीको सन्दर्भ यस्तै छ।
सूर्य अस्ताइसकेको थियो। के गरौं भन्दै थिएँ, अगाडि मित्र आउँदै गरेको भेटेँ, मलिन अनुहार थियो।
‘होइन, साथी के भयो ?’
भक्कानिँदै भनेँ, ‘मैले छोरालाई छुट्टिएर बस भन्दिएँ।’
तत्काल केही भनिनँ। गोडा पनि दुखेको, एकछिन कफी पिउनु ठीक लाग्यो र भनेँ, ‘हिँड्नोस् कफी पिउन बसौं।’
मेचमा बसेपछि सोधेँ, ‘ल, भन्नुस् के भयो ?’
मित्र बिलौना गर्न लागे, ‘त्यो मेरो छाउरो निकै ठूलो भएछ ?’
‘अरे, बाबा कुरा त बताउनुस्, मित्र !’ मैले अलि हकारेँ।
‘छोराले चलाएको मोटरसाइकल पछाडि बसेर घर जाँदै थिएँ, अगाडिबाट ट्रक आयो, छोरालाई भनेँ, बाबु, होस् गर है, त्यसपछि मिनिबस आयो, फेरि भनेँ, बाबु, होस गर है। तुरुन्तै ढ्याब्रे मोटरसाइकल आयो, अलि कराएर भनेँ, बाबु लौ है !’
‘छोराले मोटरसाइकल बाटोछेउ रोक्यो, हामी दुवै ओर्लियौं। त्यसले रिसाएर भन्यो, ‘कि तपाईं चलाउनुस कि हिँडेर घर जानुस्।’ मेरो हुर्मतै लियो त्यसले। मलाई पनि रिस उठ्यो, ’जा एक्लै बस’ भन्दिएँ।’
म खित्का छाडेर हाँस्न थालेँ। भनेँ, ‘साथी, आपूm गाडी चलाउनु हुन्न, अनि गाडी चलाइरहेको मान्छेलाई किचकिच गरेपछि रिसाइहाल्छन् नि ! म भए पनि त्यही गर्थें। फोन गर्नुस, यस्तो पनि रिसाउने?’
मित्रले चुपचाप मोबाइल झिके र छोरासित कुरा गरे। कुरा राम्रो भयो, नयाँ वर्ष अब रमाइलो हुने भयो।
पाइताला निकोजस्तै भइसकेको थियो। बाहिर निस्केर घरतर्फ पैदल लागेँ। हिँड्ने बानी छाडेकोमा आफैंलाई ‘हैट’ भनेँ।
बाटोछेउ सोलार प्यानलसहितका खम्बा थिए, कुनैमा बत्ती बलेका थिए, कुनैमा थिएनन्। सडकमा उज्यालो आइपुगेको थिएन। धेरैतिर प्यानल धुलाम्मे हुने गरेको छ। मेरो अनुमान थियो, सफा गर्ने जिम्मा सायद वडा कार्यालयहरूको हो। केही दिनपछि जानकारी लिन पुग्दा यो जिम्माबारे ती स्पष्ट नभएको पाएँ।
चौडा बनाइएका बाटा कतैकतै चिल्ला थिए। धेरैतिर खाल्डाखुल्डी जन्मिइसकेका छन्। तै गाडी दगुरेको दगुरेकै, आफैं पनि दगुराउने गर्छु, बिजुली गाडी।
फुटपाथमा त हिँड्नै गाह्रो छ। कतै फुटपाथ छ इन्ची चौडा छ त कतै एक फिट। तीन–चार पाइला हिँडेपछि एक खुड्किलो ओर्लिनुपर्छ, अनि फेरि एक खुड्किलो चढ्नुपर्छ, अनि फेरि ओर्लनुपर्छ, धत्तेरी।
हाम्रा सडक बटुवा र साइकलमैत्री छैनन्। हुनुपर्छ भन्ने आवाज निरन्तर उठ्ने गरेको छ। निर्वाचित स्थानीय सरकारले हरेक वडामा स्थानीय बासिन्दासित सहरलाई बासिन्दामैत्री बनाउने संवाद सुरु गरे जाति हुन्थ्यो।
अनि अग्ले बन्धु र अन्य मित्रहरूले यो विषय उठाइरहे झनै जाति, मुलुकका नवनिर्वाचित अगुवाहरूको ध्यान तानिने थियो।