केही दिनअघि शिक्षकहरूसँग कृत्रिम बौद्धिकता (एआई) ले शिक्षामा कस्तो परिवर्तन गर्दैछ र यसलाई शिक्षामा कसरी समावेश गर्ने भनेर छलफल भएको थियो।
यसका प्रभाव के हुन सक्छन् भन्नेबारे विचार-विमर्श गर्दा हामी रोमाञ्चित भयौं।
यो लेख यही सन्दर्भमा प्रस्तुत गरेको छु।
लेखको पहिलो पाटोमा हालसम्म उपलब्ध एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको चर्चा गर्नेछु र शिक्षक-विद्यार्थीका पक्ष समेट्नेछु।
दोस्रोमा, अहिले विज्ञानकथा जस्तो लाग्ने तर भविष्यमा स्थापित हुन सक्ने र एआईले ल्याउन सक्ने क्रान्तिकारी परिदृश्य राख्नेछु।
एआईले शिक्षालाई तीव्र गतिमा उथलपुथल गर्ने क्रम सुरू भइसकेको छ। यसको सम्भावना, साथसाथै यसले शिक्षक र विद्यार्थीहरूका लागि के परिणाम ल्याउन सक्छ भन्ने विषयमा अहिले अनेक गम्भीर बहस र प्रश्नहरू पनि खडा हुन थालेका छन्।
अहिले इन्टरनेटमा एआई-सम्बर्धित शैक्षिक साइटहरू पाइन्छन्। यिनमा साधारण लेखन, किताब, कथा, निबन्ध लेखन, चित्रांकनदेखि थेसिससम्म छन्। यिनको प्रयोगले छोटो समयमा थुप्रै कामहरू सिद्ध्याउन सकिन्छ। पाठ योजना गर्न सकिन्छ। सिकाइलाई विभेदीकरण गर्नेदेखि विधिशास्त्रका रणनीतिहरूलाई संयोजन गर्न सकिन्छ।
च्याट-बटहरूले विद्यार्थीका प्रश्नहरूको उत्तर दिन मद्दत गर्छन्। भाषा सिकाउने र गणित पढाउने जस्ता एआई उपकरणहरू विद्यार्थीको दैनिक अनुभवको हिस्सा बनिसकेका छन्। सिकाइको 'गेमिफिकेसन' क्रमशः एआईले लिन थालेको छ।
एआईले एक प्रभावकारी सहयोगीका रूपमा पनि शिक्षक-विद्यार्थीसँग काम गर्न सक्छ। उदाहरणका लागि, विद्यार्थीमा आलोचनात्मक सोच विकास र बौद्धिक विकास अभिवृद्धि जस्ता पक्षहरूमा थप उपलब्धिका लागि एआई उपयोग गर्न सकिन्छ।
हाल विश्वभरका शिक्षक, स्कुलहरूले एआईलाई ग्रेडिङ प्रणालीको व्यवस्थापन, उपलब्धिको तथ्यांक विश्लेषण र निर्णय, विद्यार्थीको मूल्यांकन र व्यक्तिगत सिकाइका मार्गहरू सहज बनाउन पनि प्रयोग गरिरहेका छन्।
तसर्थ, हाम्रोमा पनि अबदेखि नै स्कुल र अरू शैक्षिक संस्थाहरूले एआई प्रयोगको तयारी गर्नुपर्ने टड्कारो आवश्यकता छ।
शिक्षण र सिकाइलाई एआई अनुकूल बनाउन ती प्रक्रियाहरूलाई विचारशील ढंगले प्रविधिमा एकीकृत गर्नुपर्छ। यो तयारीमा आवश्यक पूर्वाधार निर्माण, एआईसँग काम गर्न शिक्षकहरूलाई तालिम र यसको प्रयोगमा शैक्षिक लक्ष्य र नैतिक मापदण्डसँग मेल खाने किसिमको आवश्यक ढाँचा अपनाउनुपर्छ।
अब स्कुलहरूले शिक्षणमा शिक्षकको भूमिकालाई मात्र सीमित नगरी एआई प्रयोग गर्नुपर्छ। यसलाई ज्ञानको संकलक र विधिशास्त्रको सहयोगीका रूपमा उपयोग गर्नुपर्छ। शिक्षकहरूले एआईबाट प्रचुर फाइदा लिन सक्छन्। जस्तै, विद्यार्थीको व्यक्तिगत उपलब्धि अनुगमन गर्न सकिन्छ। एआई उपयोग गरी पाठ योजना बनाउँदा बचत भएको समय शिक्षकले विद्यार्थीहरूसँगको मानवीय पक्ष वा सामाजिक सम्बन्धको विकास निर्माणमा दिन सक्छन्।
शिक्षकले एआईका सम्भावित पूर्वाग्रहहरू पनि सम्बोधन गर्न जान्नुपर्छ। यसो गरेमा, मानव अन्तर्दृष्टि प्रतिस्थापन हुँदैन र एआई प्रविधि पूरकका रूपमा स्थापित हुन्छ।
एआई दुरूपयोग गर्दा शैक्षिक समस्या अझै बल्झिन सक्छ। उदाहरणका लागि, विद्यार्थीले कार्यसम्पादन गर्दा उसले गर्नुपर्ने बौद्धिक परिश्रम एआईबाट गराइयो भने, उसको बौद्धिक अभ्यास कम हुन्छ र वास्तविक उपलब्धिमा ह्रास आउने जोखिम हुन्छ।
यो समस्या समाधानका लागि धेरै शैक्षिक संस्थाहरूले नीतिगत रूपमा एआई-उत्पादित बौद्धिक चोरी अनुगमन गर्न इकाइहरू पनि स्थापना गरेका छन्। तर एआईबाट उत्पन्न गरिएका कामलाई त्यही एआईका उपकरणले निस्तेज गर्दा समस्या झन् जटिल भएको छ। शिक्षक र स्कुलहरूले बौद्धिक इमानदारितालाई मानवीय मूल्यका रूपमा स्थापना गर्न सके मात्र यो समस्याको दिगो समाधान हुनेछ। यहाँ विद्यालय, शिक्षक र विद्यार्थीबीचको नैतिक धरातलले मात्रै काम गर्न सक्छ।
एआई विद्यार्थीहरूको सिकाइलाई अभिवृद्धि गर्ने शक्तिशाली माध्यम हो। यसको प्रयोगले विद्यार्थीहरूले आफ्नो आवश्यकता, कठिनाइ स्तर र रूचिमा आधारित पाठ्य सामग्री पाउन सक्छन्। यति मात्र नभएर उनीहरूले स्पष्ट नभएका अवधारणाहरू एआईसँग अन्तर्क्रिया गरेर बुझ्न सक्छन्।
एआईमा आधारित सम्बर्धित वास्तविकता (एआर) र भर्चुअल वास्तविकता (भिआर) ले अनुभवात्मक सिकाइ सहज बनाउन सक्छ। उदाहरणका लागि, विद्यार्थीहरूले ऐतिहासिक घटनाहरूका भर्चुअल भ्रमण गर्न वा सिकाइका जटिल अवधारणाहरू यो प्रविधिमार्फत सहजै अनुभव गर्न र बुझ्न सक्छन्।
यसका साथै यो प्रविधिले संघर्षशील विद्यार्थीलाई सरल तरिका र निपुण विद्यार्थीलाई चुनौतीपूर्ण सामग्री दिएर थप सक्षम बनाउन सक्छ।
एआईका शिक्षण उपकरणहरू सुलभ बनाउन सकियो भने यसले शिक्षामा समानता ल्याउन सक्छ। विद्यार्थीहरूले आफ्नो सामाजिक, आर्थिक पृष्ठभूमिको आधारबिनै उच्च गुणस्तरका शैक्षिक स्रोतहरूमा पहुँच पाउनेछन्।
विद्यालय, शिक्षकहरूले विद्यार्थीहरूलाई एआई एक उपकरणको रूपमा मात्र प्रयोग गर्न सिकाउनुपर्छ। उनीहरूको आवश्यक प्रयास र विचार प्रतिस्थापन हुन दिनु हुँदैन। अघि उल्लेख गरेजस्तै, यसमा अत्यधिक निर्भरता भएमा सिर्जनशीलता र आलोचनात्मक सोच निरूत्साहित गर्छ र मौलिकता नष्ट हुन्छ। यसको अर्थ, एआईले सिर्जनशीलता घटाउँछ भन्ने होइन, प्रश्न यसको सही उपयोग हो।
उदाहरणका लागि, एआई-चालित भाषा मोडलहरूले फरक विचार उत्पन्न गर्न, शब्दावलीमा सुधार गर्न वा लेखाइमा सुधारका लागि सुझाव दिन्छ जसले भाषाको बहुआयामिक सिर्जनशीलतालाई सबल बनाउँछ। साथै विद्यार्थीहरूले सोचेर, बुझेर एआई प्रयोग गरेमा आफ्नो सिर्जनशीलता र अन्वेषणपन प्रवर्द्धन गर्न सक्छन्।
अब यस लेखको दोस्रो पाटोमा एआईको अर्को रोमाञ्चक पक्ष उल्लेख गर्छु।
एआई प्रविधिको यस्तो फड्कोले भविष्यमा शिक्षाको संरचनालाई पूर्ण रूपमा बदल्न सक्ने प्रबल सम्भावना छ। त्यस्तो अवस्था आएमा हालको शैक्षिक धरातल रहने छैन।
उदाहरणका लागि, इलन मस्कको विकसित हुँदै गरेको 'न्युरालिंक' लाई लिन सकिन्छ। एआई सम्बर्धित जैविक चिपलाई ब्रेन-कम्प्युटर इन्टरफेसहरूले जोड्न सकेमा भौतिक रूपमा सिकाइबिनै विद्यार्थीहरूले चाहिने सूचना वा जानकारी तत्काल पाउन सक्नेछन्।
परिकल्पना गरौं, कुनै यस्तो दिन आउनेछ जहाँ विद्यार्थीहरूले ज्ञान वा कुनै सीपलाई आफ्नो मस्तिष्कमा 'अपलोड' गर्न सक्नेछन् र त्यसै अनुरूप त्यसको बोध र प्रयोग गर्न सक्नेछन्। यस्ता एआई उन्नतिहरूले शिक्षाको वर्तमान स्वरूपलाई जरैबाट उखेल्नेछन्।
यस अवस्थामा स्कुलको भूमिका शिक्षा शिक्षण केन्द्रका रूपमा नभई, सामाजिक भावनात्मक विकास, नैतिक सोच र मानव केन्द्रित मूल्यहरूको विकास गर्ने स्थानमा मात्र सीमित हुन सक्छ।
एआईले शिक्षामा ल्याउन सक्ने सबभन्दा क्रान्तिकारी परिवर्तनमध्ये एक हो – होलोग्राफिक शिक्षक वा पूर्ण रूपमा भर्चुअल कक्षाकोठाको उदय।
एआई सम्बर्धित होलोग्राफिक वा भर्चुअल शिक्षकले विद्यार्थीसँग प्रोजेक्टरका माध्यमबाट भौतिक रूपमा उपस्थित भएजस्तै गरी अन्तक्रिया गर्न सक्नेछन्। हरेक विद्यार्थीलाई उनीहरूको व्यक्तिगत आवश्यकताका आधारमा पाठहरू विभेदित गर्न, मूल्यांकन गर्न र शैक्षिक निर्देशन, अनुदेश दिन सक्नेछन्।
यसपछि पनि अलगोरिदमहरू अझ विकसित र परिष्कृत बन्ने क्रम चलिरहनेछ। यस अवस्थामा विद्यार्थीको शैक्षिक स्तरमा मात्र नभएर, उनीहरूको सिकाइ शैली, भावनात्मक अवस्था र विद्यार्थीका दिन विशेषको प्रेरणा स्तर आकलन गरी त्यस अनुसार पनि एआईले अनुदेश दिन सक्नेछ।
एआई विकासको सन्दर्भलाई टेक्नोलोजिकल सिंगुलारिटी (प्राविधिक एकविन्दु) बाट अलग्याउन सकिँदैन। यो भनेको एआईको क्षमताले मानव बुद्धिलाई पार गरेको अवस्था हो।
गणितज्ञ न्युम्यान र भविष्यवादी कुजविल भन्छन्, 'कुनै दिन एआईले मानव बुद्धिको तहलाई पार गर्नेछ। यस अवस्थामा एआई आफैले आफैलाई मानव नियन्त्रणबिनै द्रुत गतिमा विकसित गराउनेछ। यो अवस्थामा एआईको खुबी मानव बोधको क्षमता भन्दा कैयन गुणा बढी हुनेछ।'
एआई यतिमा मात्र सीमित हुने छैन र यसले विज्ञानमा क्वान्टम लिप (बृहत्तर उन्नति) ल्याउनेछ र अकल्पनीय प्रविधिहरू सम्भव हुनेछन्।
विश्लेषकहरू भन्छन्, 'टेक्नोलोजिकल सिंगुलारिटीको यो विन्दुले मानव जातिलाई असीमित र घातांकीय गुणामा फाइदा दिनेछ। जटिलभन्दा जटिल प्रश्नको विश्लेषण र समाधान गर्न, गरिबी निवारण, रोग र संक्रमणबाट मुक्तिदेखि ब्रह्मान्ड विचरणसम्म सम्भव हुनेछ। सँगसँगै, यस्तो विकास क्रममा मानव स्वयंले आफ्ना मूल्य र नैतिक धरातल पाखा लगाएमा एआई नै मानव सभ्यताको अन्त्यको कारण हुन सक्छ।'
टेक्नोलोजिकल सिंगुलारिटी एक परिकल्पित र सैद्धान्तिक विन्दु हो। तर हालै भएका एआईका प्रगति देख्दा यो विन्दुमा पुग्न केही दशक मात्र लाग्न सक्छ। किनभने केही समयअघि मात्र स्थापित च्याट-जिपिटी अझै द्रुत र शक्तिशाली भएको छ। मौखिक अन्तरक्रिया गर्न सक्छ र अझै विकसित हुने क्रममा छ। र, मानिसले तालिम दिनुपर्ने एआईहरूलाई तालिम प्राप्त एआईहरूले नै उत्कृष्ट तालिम दिन थालिसकेका छन्।
भविष्यका यस्ता उन्नतिहरू नैतिक जिम्मेवारीहरूसँगै आउँछन्। तिनलाई समयमै सही सम्बोधन गर्न नसके मानवीय मूल्य, भावना वा अन्तत्वगत्वा चेतनाको स्तरमा एआई हावी भएमा परिणती भयावह हुनसक्ने भविष्यवादीहरू बताउँछन्।
हाम्रो पछिल्लो वंश जेन-जी इन्टरनेट र सामाजिक सन्जाल प्रयोग गर्दै हुर्कियो। अहिले उदाउँदै गरेको जेन-अल्फाले त्योभन्दा धेरै उत्कृष्ट एआई प्रविधि प्रयोग गर्नेछ। यस पक्षमा विद्यालय, शिक्षक र नीति निर्माताहरूले अबदेखि नै एआईको नैतिक सदुपयोग र मानव केन्द्रित मूल्यहरूको शिक्षा दिन पहल गर्न ढिलाइ गर्नु हुँदैन।
शिक्षामा एआईको विशाल सम्भावना छ। तर एआई प्रयोगले व्यक्तिगत तथ्यांकको गोपनीयता, विद्यार्थीको स्वतन्त्रता र प्रविधिमा निर्भरता जस्ता गम्भीर चिन्ताहरूलाई बल्झिन नदिन समयमै नीतिगत सम्बोधन गर्नुपर्छ।
अन्त्यमा, तीन खाँटी तथ्यहरू राख्न चाहन्छु।
पहिलो, एआईलाई शिक्षाबाट हटाउन सकिँदैन र अबको शिक्षाको यो अभिन्न भाग हो। भनिएको छ — एआई शिक्षाबिनाका विद्यार्थी भविष्यमा अशिक्षित सरह हुनेछन्।
दोस्रो, विद्यार्थीहरूलाई एआई प्रयोगको कुशलता प्रदान गर्ने तर एआईले विद्यार्थीलाई प्रयोग गर्ने अवस्था आउन नदिने।
तेस्रो, नैतिक आधारमा एआईको सदुपयोग गर्ने र मानवीय पक्षको अक्षुण्यतामा आँच आउन नदिने।
आशा छ, अहिलेका लागी यति गरे भविष्यमा एआईलाई शिक्षामा समय सापेक्ष र मानवोचित समायोजन गर्दै जान सकिन्छ।
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)