नवअर्थमन्त्री नियुक्ति भएलगत्तै युवराज खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गरे- बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी हो। पुँजीबजारप्रति उनको पहिलो टिप्पणीमै लगानीकर्ताहरु सशंकित भए। यसले पुँजीबजारमा नकारात्मक प्रभाव परिहाल्यो। वर्षदिनभन्दा लामो समयदेखि घटिरहेको बजार अरु घट्न थाल्यो।
केही दिनमै उनले फेरि अर्को टिप्पणी गरे- सेयर बजारमा लहडमा लगानी गर्नु हुँदैन। उनको भनाइको अर्थ थियो, लगानीकर्ता लहडमा लगानी गर्छन्, सही लगानी गर्न जान्दैनन्। हिजो लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपले बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो। यसले पुँजीबजारमा थप प्रभाव पर्यो। भोलिपल्ट २०७४ चैत १२ का दिन बजार खुलेको पहिलो एक घन्टामै नेप्से परिसूचक ३ प्रतिशत घट्यो र पहिलो सर्किट ब्रेक लगाउनुपर्यो। त्यो दिन बजार समग्रमा ५१.८९ अंक घटेको थियो।
त्यसपछि २०७४ चैत १७ मा अर्थमन्त्रीले देशको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरे, जसमा उनले नेपालको पुँजीबजारलाई 'सतही र संकुचित' भन्दै फेरि आलोचना गरे। त्यसको भोलिपल्ट बजार फेरि २४ अंक घट्यो।
यसरी अर्थमन्त्री खतिवडाले पुँजीबजारबारे टिप्पणी गर्नेबित्तिकै बजार 'नर्भस' भएर घट्ने गरेको देखिएको छ।
स्थिर सरकार बनेपछि लगानीकर्ताहरुले लामो समयदेखि घटिरहेको नेप्से सूचकांकमा स्थिरता र सुधार आउने आस गरेका थिए। सरकार गठन गर्नुअघि प्रधानमन्त्री केपी ओलीले बजारलाई सहयोग गर्ने भनी ढाडस दिइआएका थिए। तर, २०७५ वैशाख २८ सम्मको ८८ दिनमा ५५ दिन कारोबार हुँदा नेप्से ३० दिन घटेको छ भने २५ दिन बढेको छ। सरकार बनेको दिन १३८८.९४ अंक रहेको नेप्से सूचकांक सरकार बनेपछि २२०.०० अंक घटेर २०७४ चैत १२ का दिन ११६८.५५ मा आइपुगेको थियो। यो ५२ साताकै सबैभन्दा न्यूनतम विन्दु हो। २०७५ वैशाख २८ मा नेप्से सूचकांक १३४८.४५ कायम भएको छ।
पुँजीबजारबारे खतिवडाले अप्रिय टिप्पणी गरिरहेका छन्, जुन लगानीकर्ताका लागि मात्र होइन, अर्थतन्त्रका लागि पनि हानिकारक छ।
अर्थमन्त्रीका रुपमा उनीबाट लगानीकर्ताले यस्तो टिप्पणी अपेक्षा गरेका थिएनन्। अर्थमन्त्रीले पुँजीबजार प्रभावित गर्ने गरी टिप्पणी गर्न मिल्दैन। किनकि, उनी नीतिगत तहमा छन्, उनको एक भनाइले पुँजीबजारले अर्बौं, खर्बौं गुमाउने अवस्था आउँछ।
उनको भनाइ थाहा पाउने लगानीकर्ताले फाइदा गर्ने र थाहा नपाउनेले नोक्सानी बेहोर्नुपर्ने अवस्था आउँछ। यसो हुँदा थाहा पाउने र नपाउने लगानीकर्ताबीच भेदभाव पैदा हुन जान्छ, जुन सही, स्वस्थ र न्यायोचित हुँदैन। त्यसैले उनको तहको अधिकारीले नीति-नियम र विधि-विधानबाट मात्र आफ्नो भनाइ राख्नुपर्छ, ताकि त्यसको असर बजारमा न्यायोचित रुपले सबैलाई एकनास होस्। पुँजीबजारलाई उसको आफ्नै लयमा चल्न दिनुपर्छ।
पुँजीबजारबारे टिप्पणी गर्ने खतिवडा पहिलो अर्थमन्त्री भने होइनन्। यसअघि माओवादी सरकारका अर्थमन्त्री बाबुराम भट्टराईले पनि पुँजीबजारलाई 'जुवाघर' भनी अत्यन्तै अनुदार र रुग्ण टिप्पणी गरेका थिए, जसको लगानीकर्ता, मिडिया र सरोकारवाला सबैतिरबाट आलोचना भएको थियो। पछि उनले आफ्नो भनाइ परिवर्तन गरेका थिए।
पुँजीबजारलाई अनुत्पादक र जुवा भन्ने पक्षधरले सेयरको बजार मूल्यबारे पनि विवादास्पद टिप्पणी गरेको छ। उनीहरुको तर्क छ- सेयरको प्राथमिक निष्कासन गर्दा माग गरिएको १०० रुपैयाँ प्रतिसेयर चुक्ता रकम मात्र उत्पादक पुँजी हो। त्योबाहेकको बजार मूल्य अनुत्पादक पुँजी हो।
यहाँ प्रश्न उठ्छ- के पुँजीबजार खतिवडाले भनेजस्तै अनुत्पादक क्षेत्र हो वा भट्टराईले भनेजस्तै जुवाघर? पुँजीबजार सट्टेबाजी हो वा लगानीको माध्यम? के हो त पुँजीबजार? के सेयरको बजार मूल्य अनुत्पादक पुँजी हो?
जुवा, सट्टेबाजी र लगानी एकै होइनन्। सिद्धान्ततः यी तीन अवधारणा एकदमै फरक बिषय हुन्। जुवा न सट्टेबाजी हो न लगानी। त्यसरी नै सट्टेबाजी पनि लगानी होइन। यी अवधारणाको विश्लेषण हेरौं।
जुवा (Gambling): जुवा विशुद्ध मनोरन्जनका लागि खेलिने खेल हो। पैसा दाउमा लगाए पनि यसमा आम्दानी गर्नेभन्दा मनोरन्जन लिने उद्देश्य प्रमुख हुन्छ। सानो बच्चा हुँदा हामीले "गाई कि त्रिशूल" वा "चित कि पट" भनेजस्तो जुवामा एक घटनाले अन्तिम परिणाम दिन्छ र सोहि परिणामको लागि पैसाको दाउ हुन्छ। यो क्षणभरको काम भएकाले यसमा जोखिम मात्रा धरै हुन्छ। आफू अनुकूल परिणामका लागि भाग्यमै भर पर्नुपर्छ। अर्थात् यो मौका हुन्छ र संलग्न दुईपक्ष बीच हारजित हुन्छ। यही कारणले जुवा खेलिन्छ। जिते पैसा दोब्बर (वा तेब्बर वा चौबर) भएर आउँछ, हारे पुरै जान्छ।
जुवा हुन यी ३ कुरा हुनैपर्छ: (क) जुवा खेल्ने व्यक्तिको ज्ञान र अनुभवले सम्भावित परिणाममा महत्व राख्दैन। (ख) यसमा स्वामित्व हुँदैन, र (ग) जुवामा एक पक्षको जित र अर्को पक्षको हार हुन्छ।
जुवामा कुनै अन्तर्निहीत सम्पत्ति खरिद गरिदैँन। यसमा जोखिम र प्रतिफलबीचमा कुनै तादम्य हुँदैन। धेरैजसो निर्णय सनकका भरमा हुन्छन्। अर्थात् कुनै योजना र अध्ययन गरेर जुवा खेलिँदैन र यसको परिणाम कुनै आर्थिक गतिविधिमा भर परेको हुँदैन। मैले नोक्सानी बेहोर्छु भन्ने अवधारणा साथ मात्र यसमा संलग्न हुनुपर्छ र लामो समयसम्म संलग्न रहे नोक्सान निश्चित छ।
त्यसैले जुवा खेल्ने व्यक्तिले यसमा आम्दानीको त्यति भाग छुट्टयाउनु पर्छ जति नोक्सानी हुँदा पनि फरक नपरोस्। जोखिम धेरै भएका कारण आम्दानीको ठूलो भाग यसमा लगाउनु हुँदैन। नोक्सान अपेक्षित हुने हुँदा जुवा त्यही खेल्नुपर्छ जहाँ आफूलाई अधिकतम रमाइलो हुन्छ। जुवाका उदाहरणमा तास, पासा, झन्डाबुर्जा, लटरी, ब्ल्याकज्याक, स्लट, घोडदौड र अन्य अरु पनि खेल छन्।
सट्टेबाजी (Speculation): सट्टेबाजी भनेको निकट भविष्यमा मूल्यमा घटबढ भए नाफा गर्ने उद्देश्यले गरिने कार्य हो। यसको उद्देश्य मूल्य परिवर्तनबाट अल्पकालमा हुने फाइदा लिनु हुन्छ। यो प्रायः अल्पकालीन (केही दिन) र कहिलेकाँही मध्यकालीन (केही महिना) हुन्छ। सट्टेबाजी शुद्ध रुपमा किनबेच हो जुन योजनाबद्द हुँदैन। लहडमा पनि हुन्छ र छिटो नाफा कमाउन यसो गरिन्छ। यसमा मूल्यको अन्तरले मात्र नाफा पैदा गर्ने हुनाले बित्तीय तथा आर्थिक तथ्यांकका आधारभूत बिश्लेषण नगरी टेक्निकल चार्ट्स, ग्राफ्स, समाचार, हल्ला, धारणा, भावना, सनकलाई ध्यानमा राखेर निर्णय लिइन्छ।
सट्टेबाजीमा जोखिम धेरै हुन्छ तर जुवामा हुने जोखिम भन्दा कम। यसमा केही मात्रामा जोखिम आकलन गरिन्छ तर धेरै प्रतिफल आसमा धेरै नै जोखिम मोलिएको हुन्छ। जोखिम धेरै हुनाले लगाएको रकम पुरै वा अधिकांश नोक्सानको सम्भावाना रहन्छ। सट्टेबाजीमा सम्भावित नोक्सानी भन्दा सम्भावित नाफा धेरै हुन्छ। यही कारणले मानिस सट्टेबाजीको लागि उत्प्रेरित हुन्छ। त्यसैले यसमा सट्टेबाजले ऋण लिएर पनि पैसा लगाउन सक्छ। डे ट्रेडिङ्ग, पेन्नी स्टकको खरिद,शर्टसेल गर्नु, डेरीभेटिवको कारोबार सट्टेबाजीको उदाहरण हुन्।
लगानी (Investment): लगानी भनेको दीर्घकालका लागि निश्चित बित्तीय उद्देश्य पाउन वा आवश्यकता पूरा गर्न योजनाबद्ध तरिकाले गरिएको निर्णय हो। यसमा बित्तीय र आर्थिक तथ्यांकका सहायताले लगानी गरिने वस्तुको विविध पक्ष बेस्सरी अनुसन्धान र विश्लेषण गरिन्छ। जोखिम र प्रतिफल सम्बन्धलाई विस्तृत रुपमा केलाइएको हुन्छ।
निश्चित उद्देश्यले लगानी गरिन्छ, भोलिको लागि नाफा वा आम्दानी अपेक्षा गरिन्छ र जोखिम प्रतिफलले पुरस्कृत गरिन्छ। लगानीमा जायज प्रतिफल अपेक्षा गरिन्छ र यसका लागि जायज जोखिम मोलिएको हुन्छ। तुलनात्मक रुपमा यसमा जुवा र सट्टेबाजीमा भन्दा धेरै कम जोखिम बहन हुन्छ। अर्थात यसमा लहड वा हल्लाका भरमा वा मनोरन्जनका लागि पैसा लगाइँदैन। सट्टेबाजीमा झैँ यसमा ऋण लिएर लगानी गरिदैँन, आफ्नै इक्विटी मात्र लगाईन्छ।
लगानी हुन यी ३ कुरा हुनैपर्छ: (क) लगानीमा लगानीकर्ताको ज्ञान र अनुभवले सम्भावित परिणाममा ठूलो महत्व राख्छ, (ख) लगानीमा सम्पत्तिमा स्वामित्व हुनैपर्छ र, (ग) लगानीमा संलग्न पक्ष सबैको जित हुन्छ, जुवामा जस्तो कसैको जित र कसैको हार हुँदैन।
सट्टेबाजीमा जस्तै लगानीमा पनि अन्तर्निहीत सम्पत्ति (Underlying Assets) हुन्छ जुन लगानीकर्ताले चाहको समयसम्म आफ्नो स्वामित्वमा राख्नसक्छ। लगानीलाई बित्तीय भाषामा 'लङ कल अप्सन' ( Long Call Option) पनि भनिन्छ। कल अप्सन भनेको एक बित्तीय सम्झौता हो जसले भोलि आफूले चाहेको बखत कुनै सम्पत्ति बेच्ने अधिकार दिन्छ। लङ भनेको कुनै सम्पत्ति किनेर राख्नु हो भने लङ कल अप्सन भनेको कल अप्सन किनेर राख्नु हो।
कल अप्सन निश्चित अवधिको हुन्छ, अनन्तकालसम्मका लागि किनेर राख्न सकिँदैन तर लगानी त्यस्तो कल अप्सन हो जुन अनन्तकालसम्मका लागि किनेर राख्न सकिन्छ। र, भोलि मूल्य बढेको बखत यसलाई प्रयोग गरेर फाइदा लिन सकिन्छ। अर्थात् आफूले किनेको सम्पत्तिको मूल्य घट्दैमा त्यसमाथि आफ्नो स्वामित्व हराएर वा नासिएर जाँदैन। आफूले चाहेको अवधिसम्म स्वामित्व राख्न सकिन्छ र चाहेका बेला बेच्न सकिन्छ।
स्टक, सेयर, ऋणपत्र, ट्रेजरी बन्ड, म्युचुअल फन्ड, सुन/चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरु (कार, पेन्टिङ, मूर्ति आदि) जस्ता सम्पत्ति खरिद गरेर राख्नु नै लगानी हो।
पुँजीबजार: अहिलेको समयमा पुँजीबजार हरेक देशको अर्थतन्त्र मेरुदण्ड हो। पुँजीबजार बिना आजको आर्थिक विकास कल्पना गर्न सकिँदैन र सम्भव पनि छैन। पुँजीबजार अर्थतन्त्रको त्यस्तो व्यवस्था हो जसले स-साना बचतकर्ताको हातमा देशभर असंगठित रुपमा छरिएर रहेको बचत संगठित तरिकाले परिचालन गरेर उद्यमी वा उत्पादकको हातमा राखिदिन्छ।
पुँजीबजारले विभिन्न धितोपत्रका माध्यमबाट वस्तु र सेवाको उत्पादनका लागि अत्यावश्यक पर्ने मध्यकालीन र दीर्घकालीन पुँजी उपलब्ध गराउँछ। यसरी पुँजीबजारले अनुत्पादक बचतलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याएर उत्पादक लगानीमा परिणत गरिदिन्छ।
पुँजीबजारले अर्थतन्त्रमा धेरै योगदान गर्छ। बचत परिचालन गरेर उत्पादकत्व बढाउँदै गर्दा आर्थिक वृद्धिमा सहयोग गर्छ। जसले अन्ततः रोजगारी अवसर पैदा गर्छ। यसले फर्म तथा कम्पनीका बिशिष्ट आर्थिक कार्यसम्पादन गर्नमा दबाब पैदा गर्ने, राम्रो व्यवस्थापकीय सूचना उत्पादन गर्ने र सो को निगरानी गर्न सहयोग गर्ने, सुक्ष्म आर्थिक स्थिरतामा सुधार ल्याउन मद्दत गर्ने जस्ता काम पनि गर्छ।
पुँजीबजारको प्रमुख काम लगानीकर्तालाई तरलता उपलब्ध गराउनु हो। अर्थात् धितोपत्र खरिद/बिक्रीका लागि बजार हरदम तयारी अवस्थामा राखेर लगानीकर्तालाई चाहिएको समयमा आफ्नो धितोपत्र बेचेर नगद पाउन सक्ने अवसर प्रदान गर्नु हो।
बजारमा यसरी माग र पूर्ति, क्रेता र बिक्रेता अविच्छिन्न रुपमा उपलब्ध गराउँदै गर्दा पुँजीबजारले धितोपत्र मूल्यमा स्थिरता ल्याउन पनि मद्दत गरेको हुन्छ। विभिन्न धितोपत्र जारी गरेर विविधिकरण ल्याइ लगानीकर्ताको जोखिम कम गर्न पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
कम्पनी र फर्ममा अन्तर्निहीत जोखिमलाई मूल्यमा समायोजन गरी धितोपत्रको सही बजार मूल्य निर्धारण गरेर पुँजीको कुशल र अधिकतम बाँडफाँट गर्छ। लगानीको वातावरण बनाउने, सर्वसाधारणमा बचत र लगानीको बानी बसाल्ने जस्ता कार्य पनि पुँजीबजारले गर्छ।
ऋणीबाट ऋण लगानी नहुने अवस्थामा लगानी स्रोत जुटाउने ठाउँ पनि पुँजीबजार नै हो। ऋणी भनेको ऋण दिने व्यक्ति वा संस्था जस्तै बैंक, बित्त कम्पनी, सहकारी संस्था वा अन्य जो पनि हुन सक्छ। जोखिमका कारण ऋणीले लगानी गर्न नसकेमा विभिन्न इन्डस्ट्रियल कम्पनी तथा औद्योगिक फर्मका लागि पुँजीबजार बाहेक अर्को बिकल्प हुँदैन।
ऋण लगानी सिमित अवधिका लागि मात्र हुन्छ तर पुँजीबजारको लगानी असिमित अवधिका लागि हुन्छ, र यो अन्य स्रोतबाट सम्भव हुँदैन।
पुँजीबजार नहुँदो हो त कम्पनीहरुले आवश्यक सबै (अल्प, मध्य र दीर्घकालीन) पुँजीका लागि ऋणीमा नै भरपर्नुपर्ने अवस्था आउँथ्यो। यस्तो अवस्थामा ऋणीको मनपरी नियन्त्रण चल्थ्यो र कम्पनीलाई काम गर्न धेरै गाह्रो पर्थ्यो। ऋण महँगो भएर धरै शर्त मान्नुपर्ने हुन्थ्यो।
तर पुँजीबजारले ऋणीको एकाधिकार हटाएर काम गर्ने वातावरण खुकुलो बनाइदिन्छ। साथै पुँजी लागत पनि कम गराइदिन्छ। ऋणमात्र लिएर व्यवसायमा लगानी गर्दा टाट उल्टने सम्भावना उच्च हुन्छ, जुन पुँजीबजारले हटाइदिन्छ। यसरी पुँजीबजारले व्यवसाय जोखिम पनि कम गराइदिन्छ।
ऋण लगानी गर्दा ऋणीहरु इक्विटी पुँजी धेरै भएको कम्पनीमा लगानी गर्न इच्छुक हुन्छन्। कारण इक्विटीले उनीहरुलाई आफ्नो ऋण बिरुद्द सुरक्षा प्रदान गर्छ,जसको फलस्वरूप जोखिम कम हुनजान्छ। त्यति मात्र होइन, ऋणीहरु बढी बजार पुँजीकरण भएको कम्पनीमा ऋण दिन उत्सुक हुन्छन। त्यसैले ऋण लगानी हुँदा वा नहुँदा कम्पनीहरुका लागि लगानीको भरपर्दो र उपयुक्त माध्यम पुँजीबजार हो।
पुँजीबजारको राम्रो विकास भएमा विदशी लगानी ल्याउन पनि सजिलो हुन्छ। पुँजीबजार नै बिदेशी पुँजी प्रवाहिकरणको उपयुक्त माध्यम हो। यतिमात्रै होइन, सरकारले आफूलाई आवश्यक परेको राष्ट्र ऋण उठाउने माध्यम पनि पुँजीबजार नै हो। यसरी पुँजीबजारले आर्थिक वृद्धि, उत्पादन वृद्धि, औद्योगिकरण र रोजगारी उपलब्ध गराउने जस्ता अर्थतन्त्रका गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
उत्पादकत्व: उत्पादकत्व भनेको उपलब्ध सिमित साधन र श्रोत प्रयोग गरेर अधिकतम वस्तु र सेवा उत्पादन गर्नु हो। अर्थात् वस्तु र सेवा उत्पादनमा दक्षता र कार्यकुशलता हासिल गर्नु उत्पादकत्व हो। श्रम, पुँजी, जमिन, उद्यमी र कच्चा पदार्थ उत्पादनका साधन हुन्। यिनै साधन समुचित प्रयोग आधारमा उत्पादकत्व मापन गरिन्छ। थोरैभन्दा थोरै उत्पादन साधन प्रयोग गरेर धेरैभन्दा धेरै अन्तिम वस्तु र सेवा उत्पादन गर्नु उत्पादकत्व हो। अर्थात् उत्पादकत्व भनेको कुल गार्हस्थ्य उत्पादनमा दक्षता र कुशलता प्राप्त गर्नु हो। यस आलेखको सुविधाका लागि यहाँ उत्पादन र उत्पादकत्वलाई देशको कुल गार्हस्थ्य उत्पादनसँग जोडेर हेरिएको छ।
कुनै कम्पनीले वस्तु, कुनैले सेवा र केहीले वस्तु र सेवा दुवै उत्पादन गरेर कुल गार्हस्थ्य उत्पादनमा योगदान दिन्छन्। उद्योगले वस्तु उत्पादन गरेर अर्थतन्त्रमा उत्पादकत्व बढाउँछन् भने बैंक, बित्त, इन्सुरेन्स, होटल जस्ता कम्पनीले सेवा उपलब्ध गराएर। बिद्युत प्राधिकरण जस्ता संस्थाले वस्तु (ऊर्जा) उत्पादन र सेवा (ऊर्जा वितरण) उपलब्ध गराएर उत्पादकत्वमा योगदान पुर्याउँछन्। थोक र खुद्रा कम्पनीले सिधै उत्पादन गरेर उत्पादकत्व नदिए पनि अरु कम्पनी वा उद्योगका वस्तु तथा सेवा बिक्री-वितरण गरेर उत्पाकत्व बढाउन मद्दत गर्छन्।
पुँजी उत्पादनको एक महत्वपूर्ण साधन हो। संसारभरका पुँजीबजारले पुँजी नै संकलन गर्ने र उद्यमीलाई उपलब्ध गराउने हो। तसर्थ पुँजीबजार जस्तो उत्पादक क्षेत्र अर्को हुँदैन।
पुँजीबजार र उत्पादकत्व: पुँजीबजार भएका देशको अर्थतन्त्रमा पुँजीबजारले उत्पादन र उत्पादकत्व बढाउन भरपुर योगदान गरेको पाइएको छ। यस अर्थमा पुँजीबजार र उत्पादन वा उत्पादकत्व बीच सकारात्मक सम्बन्ध हुन्छ भन्न सकिन्छ। किनकि पुँजीबजारले उद्यमीका लागि आवश्यक कुल पुँजी निर्माण गरी उपलब्धता बढाएर अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउन महत्वपूर्ण काम गर्छ।
धेरै अध्ययनले पुँजीबजार र उत्पादकत्वबीच सकारात्मक सम्बन्ध भएको देखाएका छन्। अर्थात् पुँजीबजारले आर्थिक बृद्धिमा सहयोग गरेको छ। कुल लुइँटेल र मोसहिद खानले १९९९ मा बित्त क्षेत्रको विकास र आर्थिक बृद्धिको सम्बन्धबारे गरेको एक अध्ययनमा पुँजीबजारले आर्थिक बृद्धिलाई सकारात्मक प्रभाव पारेको पाएका छन्।
रस लेभिन र सराह जेर्भोसले १९७६ देखि १९९३ सम्म ४१ देशको तथ्यांक लिएर पुँजीबजार विकास र दीर्घकालीन आर्थिक बृद्धि सम्बन्धबारे १९९६ मा अनुसन्धान गरेका थिए। यसले पुँजीबजारको तरलता सकारात्मक र महत्वपूर्ण रुपले अहिले र भविष्यको आर्थिक बृद्धिदर, पुँजीको संचय र उत्पादकत्वको सुधारसँग सम्बद्ध रहेको पाएका थिए।
आके बौबकरी र देहुन जिनले २०१० मा बेलायत, बेल्जियम, फ्रान्स, पोर्चुगल, र नेदरल्याण्ड गरी युरोपका ५ देशको १९९५ देखि २००८ सम्मको तथ्यांक केलाएर हेरेका थिए। यसमा पुँजीबजारको गतिशिलता र तरलता धेरै हुँदा कुल गार्हस्थ्य उत्पादन र बिदेशी लगानीको आर्थिक बृद्धिदर बढेको पाएका छन्। पुँजीबजार सुस्त र कम तरल हुँदा आर्थिक बृद्धिदर पनि त्यसरी नै सुस्त र घटेको पाएका छन्।
अर्थतन्त्रको आर्थिक बृद्धिमा पुँजीबजारको भूमिका पत्ता लाउन विभिन्न कोणबाट अरु पनि धेरै अध्ययन-अनुसन्धान भएका छन्।
रघुराम राजन र लुइ जिङ्गालसले १९९८ मा, रस लेभिनले १९९७ मा, भि.आर.बेन्सिभेन्गा र बि.डि.स्मिथले १९९१ मा, ए.स्पिएर्सले १९९१ मा, पि.वाच्टेलले २००२ मा, एम.ट्रेबलसीले २००२ मा, एफ.रियोजा र नेभन भालेभले २००३ मा, एन.पी.पौडेलले २००५ मा, पनिकोस देमेत्रियादस र खालेद हुसैनले १९९६ मा, रस लेभिन र सराह जेर्भोसले १९९८ मा कुल गार्हस्थ्य उत्पादन र बिदेशी लगानीको मापन आधार बनाएर गरेका अध्ययनले पुँजीबजार र आर्थिक बृद्धिबीच धेरै सकारात्मक र महत्वपूर्ण सह-सम्बन्ध रहेको पाएका छन्।
उनीहरुले समग्र पुँजीबजारको बजार पुँजीकरण र कुल गार्हस्थ्य उत्पादकत्वबीचको सम्बन्ध केलाउँदा यसको पनि निष्कर्ष सकारात्मक नै पाइएको छ।
समग्र पुँजीबजारको बजार पुँजीकरण र कुल गार्हस्थ्य उत्पादकत्वबीचको अनुपातलाई बित्तीय भाषामा "बफेट सूचकांक" भनिन्छ। विकसित र ठूला अर्थतन्त्रको पुँजीबजारको बजार पुँजीकरण र कुल गार्हस्थ्य उत्पादनको अनुपात धेरै छ भने विकासशील देशको लागि यो अनुपात कम छ।
विकासशील देश भएर पनि हाम्रो देशको बजार पुँजीकरण र कुल गार्हस्थ्य उत्पादन अनुपात निराशाजनक छैन। २०१८ को जनवरीमा ब्लुमबर्गमा प्रकाशित आँकडा अनुसार इन्डियाको मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण १५६.५६ लाख करोड रुपैयाँ छ। जुन इन्डियाको कुल गार्हस्थ्य उत्पादनसँग लगभग बराबर (१००%) हुन आउँछ।
२०१६ डिसेम्बरको आँकडा अनुसार चीनको लागि यो अनुपात ६५% जति छ।
२०१७ डिसेम्बरको आँकडा अनुसार बङ्गलादेश र श्रीलंका दुवै देशको लागि यो अनुपात ज्यादै कम (२२% मात्र) छ भने पाकिस्तानको लागि यो अनुपात केही माथि (३०%) छ।
यसै महिनाको तथ्यांक लिँदा हाम्रो कुल गार्हस्थ्य उत्पादन करिब २५ अर्ब अमेरिकी डलर छ। बजार पुँजीकरण करिब १५ अर्ब अमेरिकी डलर छ, जस अनुसार यो अनुपात लगभग ६०% हुन आउँछ।
अमेरिका, युरोपका देशहरु, एसियाकै पनि जापान, सिंगापुरको हकमा भने बजार पुँजीकरण र कुल गार्हस्थ्य उत्पादन अनुपात १००% भन्दा बढी छ।
यसको अर्थ ती देशको उत्पादकत्वमा पुँजीबजारको योगदान धेरै छ। पुँजीबजार र उत्पादकत्व अनुपातलाई लगानीको हिसाबले पनि परिभाषित गरिन्छ। यदि यो अनुपात १०० भन्दा बढी भए सेयर बजार औसतमा महँगो र लगानीका लागि कम आकर्षक मानिन्छ। यो अनुपात १०० भन्दा कम भए सेयर बजार लगानीका लागि सस्तो र आकर्षक मानिन्छ। लगानीको अवसर महँगो भए प्रतिफल कम र सस्तो भए प्रतिफल धेरै हुन्छ।
सेयरको बजार मूल्य र उत्पादकत्व: पुँजीबजारलाई अनुत्पादक क्षेत्र र जुवाघर भन्ने पक्षले बुझ्न नसकेको अर्को बिषय सेयरको बजार मूल्य हो। यो पक्ष सेयरको चुक्ता रकम बाहेकको बजार मूल्यलाई अनुत्पादक लगानी मान्छ। उनीहरुका लागि आज बजार मूल्य ५ सय रुपैयाँ भएको कुनै सेयरको चुक्ता रकम एक सय रुपैयाँ मात्र उत्पादक लगानी हो, बाँकी चार सय रुपैयाँ अनुत्पादक लगानी हो।
तर यो पक्षले नबुझेको यथार्थ के भन्दा सेयरको बजार मूल्य भनेको "कुनै कम्पनीले आज देखि लिएर भोलि अनन्तकालसम्म हरेक वर्ष गर्ने उत्पादकत्वलाई आजको मूल्यमा गरिएको मौद्रिक रुपान्तरण" हो। पुँजीबजारले यो मौद्रिक रुपान्तरणलाई खरिद/बिक्री हुने व्यवस्था गरेर तरलता प्रदान गरेको हो।
एक सय रुपैयाँ चुक्ता रकमको उत्पादकत्व भएर नै यसको बजार मूल्य पाँच सय रुपैयाँ पुगेको हो। भविष्यमा उत्पादकत्व अरु बढ्दै जाने देखिएमा यसको बजार मूल्य एक हजार जा दस हजार रुपैयाँ पनि पुग्नसक्छ र बिपरित अवस्थामा सय वा दस वा एक रुपैयाँमा पनि झर्न सक्छ। यो पुँजीबजारमा हुने नियमित प्रक्रिया हो।
यदि यो सेयरको मूल्य सधैं एक सय रुपैयाँ नै रहने हो भने यो कम्पनीले राम्रो उत्पादकत्व गरेको छैन भन्ने बुझ्नुपर्छ।
यदि सेयरको बजार मूल्यले कम्पनीको उत्पादकत्व प्रतिनिधित्व गर्दैन भने यस्तो अवस्थामा कुनै लगानीकर्ता एक सय रुपैयाँ लगानी गर्न तयार हुँदैन। जब लगानीको लागि कोही तयार हुँदैन तब कम्पनी तथा उद्योगले उत्पादनका लागि आवश्यक पुँजी संकलन गर्न सक्दैनन्। यो अवस्थामा कम्पनीले चाहेको मात्रामा उत्पादन गर्न सक्दैनन्। फलस्वरूप उत्पादकत्व पनि हुँदैन र आर्थिक विकासका पनि कुनै काम हुँदैनन्।
यसबाट प्रस्ट हुन्छ, पुँजीबजार न जुवा हो न त अनुत्पादक क्षेत्र नै।
पुँजीबजारमा जुवाको कुनै चरित्र हुँदैन। यसमा केही सट्टेबाजी भने हुन्छ तर सट्टेबाजी नै पनि जुवा होइन।
हो पुँजीबजार कहिलेकाँही अस्वाभाविक हुन्छ, केही हदसम्म सतही हुनसक्छ र सधैं विवेकपूर्ण नहुन पनि सक्छ। तर यी यथार्थका बाबजुद पनि पुँजीबजार अनुत्पादक होइन कि उत्पादक क्षेत्र हो। यो बचतकर्ताले लगानी गर्ने र उद्यमीले पुँजी पाउने प्रमुख माध्यम हो। पुँजीबजार बिनाको अर्थतन्त्र आज कल्पना हुनसक्दैन। पुँजीबजार उद्योग र व्यापारको लागि "मानव शरीरमा रक्त संचार गराउने नशा र धमनीहरु" जस्तै हो।
पुँजीबजारलाई जुवाघर भन्नु सैद्धान्तिक धरातलमा यसलाई पटक्कै मन नपराउनु, गैह्र-जिम्मवार भएर बोल्नु र पूर्वाग्राही हुनु हो। अर्थतन्त्रमा जुवा नै बैधानिक रुपमा चलिरहेको परिप्रेक्ष्यमा पुँजीबजारलाई जुवासँग दाँज्नु बिल्कुल गलत हो।
पुँजीबजारमा गरिने लगानी जुवा जस्तो क्षणिक मनोरन्जनका लागि खेलिने पैसाको खेल होइन। यो त प्रमुख रुपमा लगानीको श्रोत र माध्यम हो जहाँ विविध आर्थिक पक्ष बृहत अध्ययन गरे जोखिमलाई योजनाबद्द तरिकाले व्यवस्थापन गर्दै धितोपत्रहरुमा आफ्नो बचत लगानी गरिन्छ। पुँजीबजारलाई जुवाको आरोप लगाउने पक्षले बुझ्न नसकेको तथ्य यही हो जुन पूर्णतः गलत छ र पुष्टि हुन सक्दैन।
पुँजीबजारलाई अनुत्पादक क्षेत्र भन्नु यसबारे सही जानकारी राख्न नसक्नु, यसको क्षमता थाहा नहुनु र यसको महत्व पटक्कै बुझ्न नसक्नु हो।
अनुत्पादक क्षेत्र भनेको देशमा रोजगार निर्माण गर्न नसक्ने, देशको ऊर्जावान जनशक्ति बिदेसिएर बाहिर काम गरी उनीहरुले पठाएको विप्रेषणले बिदेशी वस्तु आयात गरी उपभोग गर्ने कार्य हो। जुवाघर अर्को अनुत्पादक क्षेत्र हो।
नेपाली पुँजीबजारको इतिहास त्यति लामो नभए पनि अहिलेसम्म दुईसय भन्दा बढी कम्पनीले पुँजीबजारबाट पुँजी संकलन गरेर उत्पादन कार्यमा संलग्न छन्। पुँजीबजारले पुँजी उपलब्ध नगराएको भए नेपाल स्टक एक्सचेन्जमा सूचिकृत २०६ पब्लिक कम्पनी कसरी स्थापना हुनसक्थे?
यिनले कति वस्तु र सेवा उत्पादन गरेका छन्, कति रोजगारी पैदा गरेका छन्, कति कर तिरेका छन्, कति अरु पुँजी पैदा गरेका छन्?
यी सबको लेखाजोखा नगरिकनै पुँजीबजारलाई जुवा, अनुत्पादक क्षेत्र र अस्वाभाविक भन्नु गैरजिम्मेवारीको पराकाष्टा हुन्छ। यदि हाम्रो पुँजीबजार अनुत्पादक क्षेत्र हो भने यसलाई बिघटन गरी बन्द गर्नु उपयुक्त हुन्छ।
बैंकहरुले सेयर धितोमा दिने कर्जा (Margin Lending) पनि अनुत्पादक लगानी होइन। यस्तो कर्जाले बजारमा आवश्यक खरिदकर्ता र बिक्रेताको उपलब्धता गराउँछ, जसले बजारमा तरलता बनाइ राख्न मद्दत गर्दछ। बजारमा तरलता बिद्यमान हुँदा धितोपत्रले सही मूल्य पाउँछ। धितोपत्र मूल्यांकन सही भए ठूलो रकमको प्राथमिक निष्काशनलाई सहयोग पुग्छ र पुँजी संकलन सहज हुन्छ। सेयर धितोमा दिने कर्जाले पुँजी निर्माण गर्छ।
पुँजीबजारमा लहडमा लगानी हुनसक्छ र यस्तो दुनियाँको सबै पुँजीबजारमा हुन्छ। किनकी सबै सेयर लगानीकर्ताहरु आधारभूत बित्तीय तथा आर्थिक विश्लेषण गर्न सक्षम हुँदैनन् र यो सम्भव पनि छैन। सट्टेबाजी गर्नेले हल्ला र लहडकै भरमा किनबेच गर्छ। नेपालको पुँजीबजार सतही छ भन्नुमा कुनै आपत्ति छैन तर हाम्रो पुँजीबजार धेरै संकुचित छ।
त्यसो त नेपालको मात्र होइन संसारभरका सबै पुँजीबजार केही न केही रुपमा सतही हुन्छन् नै तर विकसित पुँजीबजार संकुचित भने छैनन्।
नीति/नियम बनाउने, नीतिगत तहमा नेतृत्व गर्ने अधिकारीले पुँजीबजार विकासमा उल्लेख्य कार्य नगरेको र उल्टै नकारात्मक धारणा राखेर लगानीकर्तालाई दिग्भ्रमित पारेकाले पुँजीबजार सतही र संकुचित हुँदै जान्छ।
आज देशमा अवस्था फरक छ, नयाँ परिवेश र परिस्थिति छ। यस्तो बेलामा नयाँ नीति र सोच चाहिन्छ। अहिले देशको अर्थतन्त्र धेरै फैलाउनु पर्ने आवश्यकता छ, जसले धेरै पुँजी माग गर्छ। सरकारका योजना ध्यानमा राख्दा आगामी दिनमा हाम्रो पुँजी आवश्यकता अति धेरै छ। सोको परिपूर्ति गर्न अर्थमन्त्रीसँग पुँजीबजार द्रुत विकास गर्नु नै भरपर्दो उपाय हुन्छ।
त्यसैले अर्थतन्त्र विस्तार गर्ने नीतिलाई सहयोग गर्ने किसिमको पुँजीबजार सम्बन्धि नीति आवश्यक छ। हामी पुँजीबजारलाई जति छिटो सुधार गरेर अन्य बजारका दाँजोमा पुर्याउँछौं, त्यति नै धेरै पुँजी परिचलान हुन्छ। बिदेशी पुँजी र लगानी पनि पुँजीबजारको विकास भएमा मात्र भित्र्याउन सक्छौं। होइन भने जति नै बिदेशी लगानीको रट लगाए पनि आशा गरे अनुरुप बिदेशी पुँजी र लगानी आउँदैन।
आज पुँजीबजारबाट पुँजी नउठाउने विश्वका ठूला कम्पनी बिरलै होलान्। अमेरिका र युरोपले बिगत दुई सय वर्षभन्दा बढी समयदेखि यसको प्रयोग गर्दै आइरहेका छन्। विकसित देशका अर्थतन्त्र धेरै हदसम्म पुँजीबजारमा भर परेका हुन्छन्।
त्यहाँका कम्पनीले पुँजीबजारको भरपुर प्रयोग गरेर फाइदा लिन कुनै कसर बाँकी राख्दैनन्।
सबैमा यो महशुस हुन अति जरुरी छ कि पुँजीबजार देशको आर्थिक विकास र औद्योगिकरणका लागि आवश्यक पर्ने पुँजी उद्यमी वा उद्योगीको हातमा पुर्याउने सबैभन्दा प्रभावकारी माध्यम हो। पुँजीबजार आफैंमा उत्पादक क्षेत्र हो भने त्योभन्दा बढी यसले अन्य क्षेत्रका उद्योगहरुलाई पुँजी उपलब्ध गराएर अरु उत्पादकत्व बढाउन योगदान गर्छ। तसर्थ हामीले पुँजीबजारलाई द्रुत गतिमा सुधार र बिस्तार गर्दै लगेर यसको भरपुर उपयोग गर्न अति जरुरी छ।
(लेखक अर्याल एक दशकसम्म नेपालको पुँजीबजारसँग सम्बद्ध थिए। बिगत १० वर्षदेखि उनी अमेरिकी पुँजीबजारसँग सम्बद्ध/कार्यरत छन्।)