‘दाहाल यज्ञनिधि’ उहाँलाई प्रिय लाग्ने नाम थियो। यही नामबाट वर्षौंसम्म उहाँले रेडियो नेपालको ‘साहित्य संसार’ चलाउनुभयो। कार्यक्रमलाई लोकप्रियताको शिखरमा पुर्याउनुभयो।
यो कार्यक्रम रेडियो नेपालको अर्को लोकप्रिय कार्यक्रम ‘घटना र विचार’ भन्दा पुरानो थियो, जसमा २०४७ देखि २०५१ सम्म चार वर्ष सञ्चालक पुरुषोत्तम दाहालको टिममा म पनि संलग्न थिएँ। यी दुवै दाहालहरू आ–आफ्ना अलग–अलग क्षमता र विशेषताका कारण त्यतिबेला रेडियो नेपालका सफल कार्यक्रम सञ्चालकमा दरिन्थे।
यी दुवैबीच एउटा कुरामा समानता थियो- मिठो स्वर। कर्णप्रिय स्वर र आकर्षक प्रस्तुति, शैली यी दुवैको समान विशेषता थियो।
यज्ञनिधि दाइ रानीपोखरी संस्कृत छात्रावासमा बसेर वाल्मिकी क्याम्पसमा पढ्दा म भर्खर गुल्मीबाट काठमाडौं आएको थिएँ। उहाँ मभन्दा अग्रज हुनुहुन्थ्यो, उमेर र पढाइ दुवैमा।
२०३४ सालमा म छात्रावासमा बस्न जाँदा भेटिएका मीठो आवाजका धनी, नझुकी–नहाँसी कुरै गर्न नजान्ने, साहित्य भनेपछि हुरुक्कै हुने अग्लो, खिरिलो, झुसे र असमयमै केश फुलिसकेका मानवमूर्ति अहिले पनि सम्झिन्छु। पछि चिनजान भयो। तिनै यज्ञनिधि दाहाल रहेछन्।
स्थापनाकालमा राणा प्रधानमन्त्री वीरशमशेरले ‘तीनधारा पाठशाला’ (कसैकसैले ‘पाकशाला’ पनि भन्छन्) नाम दिएको त्यो छात्रावास सयौं बिघा जमिन गुठी राखी त्यसैको आयस्तामा चल्ने भनिएकाले ‘गुठी’ मात्र भनेर चिनिन्थ्यो। हामी त्यहाँ बस्नेहरू एकअर्कालाई ‘गुठियार’ भनेर पनि बोलाउँथ्यौं।
एक सय छ जना संस्कृत पढ्ने बाह्मण विद्यार्थीलाई एकैचोटि तामा र पित्तलका बडेमांका खँड्कुला, ताउली र कराइमा दाल, भात, तरकारी पकाएर खुवाइन्थ्यो त्यहाँको भान्सामा। दाल, भात त जति पनि खान पाइने, तरकारी असाध्यै कम। त्यो पनि प्रायः बेस्वादिलो। लसुन, प्याज भान्सामा नचल्ने। भान्सामा धोती फेरेर खानुपर्ने। त्यही भएर तरकारी हामी कोठामै माटोको हिटर वा कोइलाको दमचुलोमा पकाएर लैजाने गर्थ्यौं। त्यसको सक्रिय अगुवाइ गर्नु हुन्थ्यो, यज्ञनिधि दाइ।
छात्रावासमा बस्ने प्रत्येक विद्यार्थीलाई प्रतिदिन एक डाडु घिउ दिइन्थ्यो। त्यत्तिकै खाँदा पाच्य नहुने घिउ प्रतिडाडु एक रुपैयाँमा बेचेर जम्मा भएको पैसासमेतबाट हामी असन गएर तरकारी किनेर ल्याउँथ्यौं। त्यही घिउको भुटनमा दमचुलो हावाले हम्किँदै पाएसम्मका मरमसला नछुटाई पकाएको एक कचौरा तरकारीको स्वाद अहिलेसम्म जिब्रोमा सुरक्षित छ। त्यो स्वादमा यज्ञनिधि दाइको तिख्खर सम्झना पनि उत्तिकै ताजै छ।
यज्ञनिधि दाइको खोटाङदेखि काठमाडौंसम्मको आर्थिक कठिनाइजन्य विद्यार्जन यात्रामा उहाँलाई भरपर्दो अभिभावकत्व प्रदान गर्ने एक जना गुरू हुनुहुन्थ्यो, आचार्य खेमराज केशवशरण।
संस्कृत, अंग्रेजी, नेपाली र हिन्दी सबै भाषामा धाराप्रवाह पाण्डित्यपूर्ण प्रवचन दिनसक्ने आकर्षक स्वर र शैलीका धनी वाकचतुर स्वर्गीय खेमराज गुरू संस्कृत साहित्यका शीर्ष विद्वान हुनुहुन्थ्यो। उहाँ त्यसबेला खोलेको ‘सनातन धर्मसेवा समिति’ का स्वयंसेवक हुनुहुन्थ्यो।
साहित्यानुरागी, साहित्य साधक र साहित्य प्रचारकका रूपमा यज्ञनिधि दाइ खेमराज गुरूको सान्निध्यमा अलि बढी नै पुग्नुभयो। सान्निध्य र सेवाको प्रकृति र मात्राअनुसारको अपेक्षा पूरा नहुँदा भने कहिलेकाहीँ यज्ञनिधि दाइको खेमराज गुरूप्रति असन्तुष्टि मैले पनि सुन्ने गर्थें।
औपचारिक र अनौपचारिक दुवै खाले कार्यक्रममा यज्ञनिधि दाइको प्रस्तुति प्रायः एउटै रहने गर्थ्यो। बोलीचाली र कुराकानीमा प्रयोग हुने सरल, ठेट, झर्रो, प्रस्ट र हास्यचेतले भरिपूर्ण अभिव्यक्ति शैली उहाँको मौलिक विशेषता थियो।
नेपाली साहित्यको श्रीवृद्धिमा उहाँको योगदानको मूल्यांकन हुँदै जाला। मलाई चाहिँ के लाग्छ भने नेपाली श्रव्य सञ्चार माध्यमको प्रयोगद्वारा सबै उमेर र वर्गका नेपाली नागरिकलाई नेपाली साहित्यप्रति स्वाभाविक अनुराग जन्माइदिएको श्रेय यज्ञनिधि दाइलाई जान्छ।
‘साहित्य संसार’ को आरम्भ र अन्त्यमा उहाँले प्रयोग गरेर चर्चित बनाएका ‘जदौ’ र ‘मैजारो’ शब्द कतिलाई नौलो लाग्लान्। त्यो उहाँको मौलिक र विशिष्ट प्रयोग थियो। यीबाहेक ‘बिट मार्ने’ (कार्यक्रम समापन गर्ने) र ‘जुठो लोटाउने’ (कार्यक्रमको अन्त्यमा सभापतिले बोल्ने) यी दुइटा वाक्यांशलाई पनि औपचारिक सभा–समारोहमा प्रचलनमा ल्याएको जस म उहाँलाई दिन्छु।
यज्ञनिधि दाइको पारिवारिक जीवन नेपाली सामाजिक मापदण्डमा ‘नर्मल’ रहेन। विद्यार्थी हुँदा विपन्नताले गाँज्यो। बौद्धिक संघर्ष उहाँको युवा जीवनको अभिन्न अंग बन्यो। विवाह भयो। सन्तान भएनन्। साथीभाइ धेरै कमिए। नाम कमियो। चर्चा चुलियो। दाम भने कमिएन। सम्पत्ति खासै जोगाड गर्न सक्नुभएन। यसको असर उहाँको बिग्रँदो स्वास्थ्यमा पर्यो।
दुवै मिर्गौला काम नलाग्ने भएर उहाँ थला पर्नुभयो। साथी, संगातीहरूको माया, स्नेह, सद्भाव र सहयोग समेतका कारण उहाँ पूरै निको नभए पनि सामाजिक जीवनमा फर्किनुभयो। साहित्य सेवामा जोडिनुभयो। पछिल्लो समय सायद उहाँ रेडियो अन्नपूर्णमा कार्यक्रम चलाउन लाग्नुभएको थियो।
उहाँ आफ्नो व्यावसायिक जीवनमा लेखक, कार्यक्रम सञ्चालक, प्रस्तोता, उद्घोषक र शिक्षक बन्नुभयो। मूलतः उहाँको जीवन नेपाली साहित्यका विविध, बहुआयामिक सेवामा समर्पित रह्यो। साहित्य उहाँको प्राण थियो भने सञ्चार त्यसको स्पन्दन। यो स्पन्दनलाई उहाँले ६५ वर्षको अल्पायु पूरा नहुञ्जेल छाड्नुभएन। त्यही नै उहाँको अमिट विरासत बन्यो।
यज्ञनिधि दाइको मसँगको व्यक्तिगत सम्बन्ध दाइ–भाइको थियो। स्नेह, सद्भाव र सहयोगको सम्बन्ध।
मलाई साहित्यतर्फ डोर्याउनमा उहाँको पनि हात छ (जसरी स्वर्गीय कवि एवं गीतकार शिव अधिकारीको छ)। एकपटक संस्कृत छात्रावासमा भएको आन्तरिक निबन्ध प्रतियोगितामा प्रथम पुरस्कारप्राप्त मेरो निबन्ध ‘साहित्य एक अभिव्यक्ति’ बाट उहाँ यति प्रभावित हुनुभएछ, ‘साहित्य संस्कार’ को सिंगो कार्यक्रम मेरो त्यही निबन्धको वाचन र चर्चा गरेरै सकाइदिनुभयो।
२०३८ सालको राष्ट्रिय कविता महोत्सवमा पहिलो हुँदा अत्यन्तै खुसी भएर मलाई बधाइ दिँदै उहाँले भन्नुभएको थियो, ‘कृष्ण बाबु, अब तपाईंले कविता लेख्न छाड्नु हुँदैन।’
चाहेरै त होइन, तर मैले कविता लेख्न छाडेँ। वा भनौं, कविता यात्रालाई खासै निरन्तरता दिइनँ।
तपाईंले चाहिँ हामीलाई यसरी छाडेर जान हुँदैनथ्यो यज्ञनिधि दाइ। जानुभो, तपाईंको स्मृतिले हामीलाई पछ्याइरहनेछ। तपाईंको ‘साहित्य संसार’ हाम्रो मानसपटलमा सदा जीवन्त भएर रहिरहनेछ।
तपाईंको आत्माले परमशान्ति लाभ गरोस्।
हार्दिक श्रद्धाञ्जली।
(लेखक पूर्व सचिव हुन्।)