गराईमा जे भए पनि भनाईमा मात्रै भए पनि खुसीको कुरा–हिजो आज नेपालमा आर्थिक विकास र सम्वृद्धिको नाराका साथ वर्तमान प्रधानमन्त्री र प्रशासन जनताको सामु उभिएका छन्। यो नाराले दिएको सन्देश अनुसार यदि देशमा विकास र सम्वृद्धि छायो भने जनताले पेटभरी खान पाएर कसैको पेटमा भोकले मुसा कुद्ने छैनन्।
जनताले शरीरभरी लुगा लगाउन पाएर जाडोमा सिउसिउ गर्दै हिँड्नु पर्नेछैन। आम नागरिकले गुणस्तरीय विद्या हाशिल गर्न पाउनेछन्। विरामीका लागि उपयुक्त र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएर जनताहरु सुस्वास्थ्य बन्दै उनीहरूको आयुसमेत लम्बिनेछ। बुढो भएर पनि प्रयाप्त भत्ता पाएर के खाने, लाउने, कहाँ बस्ने बासस्थानको चिन्ताको भुङ्ग्रोमा पिरोलिनुपर्ने छैन।
राजधानी साथै देशका अन्य सहर र गाउँहरुमा भौतिक सुन्दरता ल्याउँदै, यातायातको शुलभ अवस्थाको सृजनाको साथै प्रदुषणमुक्त बनाएर देशवासीले प्रदूशित धुलो धुँवाको कलिलो शिकार बन्नुपर्ने छैन।
फोहोर मैलाको उपयुक्त समाधान गरेर दुर्गन्धित र अस्वस्थ वातावरणबाट जोगाइने छन्। विद्यार्थीले विद्यालय पुग्न तथ यात्रुले आफ्नो दैनिक व्यवहार चलाउन डोरीमा झुण्डिएर कहाली लाग्दो उर्लेको खोला तर्नुपर्ने छैन।
भ्रष्टाचारी, चोर, गुण्डा, बिचौलिया, कमिसनखोरी, आर्थिक विकास र सामाजिक विकृति सुधारको मखुण्डो भित्र छिपेर धर्म, समाज र संस्कृति धमिल्याउने, बिगार्ने र विखण्डन गर्ने तत्वहरुलाई निर्मुल पार्दै धर्म र संस्कृति जोगाउनको लागि स्वच्छ वातावरण स्थापित गरिन्छ।
पहाड, तराई र चुरे प्रदेशमा भएका वातावरणीय विकृतिहरु भन्नाले रुख पात जंगलको विनाश, खोलाबाट बालुवा, गिटीको दोहनको कारण चुरे र तराईको भूभाग मरूभूमीमा परिणत हुने कृयाकलाप बन्द गरेर प्राकृतिक वातावरणको संरक्षण गरिनेछ।
विकासको नाममा नेताको स्वार्थ र महत्वकांक्षा पुरा गर्न र जनताको आँखामा विकासको छारो हाल्न संवेदनशील पहाड, मैदान कुनै ठोस योजना बेगरै स्काभेटर लगाएर जतापायो त्यतै बाटो बनाउने बहानामा खनेर पहिरैपहिराहरु निम्त्याएर प्रकृतिको संरचना विथोल्ने कार्य रोकिने छ।
देशको जलविद्युतको विकास गर्दै पर्याप्त विजुली उत्पादन गरेर जनतालाई अँध्यारोको शिकारबाट बचाउँदै साथै विजुली निर्यात गरिन्छ।
भारतले अवैध रुपमा बनाएको ड्यामबाट तराईका हजारौं विघा जमिन डुबानमा पर्ने र जनताको ज्यान जोखिममा पर्ने स्थितिलाई भारतसँग वार्ता गरी आफ्ना जनतालाई बाढी र डुबानबाट राहत दिईन्छ।
सार्वभौम राष्ट्रको सिमाना जोगाउन मिचिएका सिमानालाई सच्याउने र हराएका सीमा स्तम्भहरुलाई साविक स्थितिमा पुर्ननिर्माण गर्ने जस्ता अरु विविध समस्याहरु सुल्झाउँदै देशलाई विकास र सम्वृद्धितिर डोर्याउने हो तर के यो सम्भव छ? छ भने कसरी ?
एउटा म जस्तो मूर्खलाई पनि थाहा हुनुपर्ने आर्थिक विकास र सम्वृद्धि यसै नारा र आश्वासनको माला जपेर मात्र आउँदैन। नारा र आश्वासन राजनीतिक फाइदाको लागि जरुरी होलान् साथै केही हद्सम्म जनतामा आर्थिक विकासको आश मौलाउन साथ देला तर व्यवहारिक रुपमा आर्थिक विकास गर्न उपयुक्त भौतिक पूर्वाधारहरु उपलब्ध हुनुपर्यो।
लगानी गर्न पर्याप्त वित्तिय कोष र आवश्यक कुशल अकुशल म्यानपावर उपलब्ध हुनुको साथै देश हाँक्ने नेता, कर्मचारी र व्यापारी वर्गहरु नैतिकवान, इमान्दार, भ्रष्टचाररहित भएर देश विकासको प्रतिवद्धता पालना गरे मात्र देशले विकास र सम्वृद्धिको बाटो देख्ला। नत्र भने हामी जनता जस्ताको तस्तै नरहुँला भन्ने शंका छैन।
पार्टी विकासले मात्रै देशको आर्थिक विकास हुँदैन तर देशको आर्थिक विकास भएमा पार्टीको विकास स्वतः हुन्छ।
नेपालको केही दशक यता र वर्तमान आर्थिक, राजनीतिक, सामाजिक र भौतिक स्थितिलाई नियालेर व्याख्या गर्नुपर्दा नेपालमा भ्रष्टचारी, अनैतिक, स्वार्थी, अभिमानी, देशद्रोही, गुण्डागिरी, अनुत्तरदायी र फटाहहरुको झुण्डलाई नसुधारी या निर्मूल नपारी यो देश र जनताले आर्थिक विकासको सपना नदेखे हुन्छ।
उपरोक्त अनैतिक व्यवहार र चरित्र व्याप्त हुनुनै आर्थिक विकासको मुख्य तगारो हो। जसरी गोठको तगारो नखोलि गाईवस्तु भित्र बाहिर आवत जावत गर्न सक्दैनन् त्यसरी नै देशमा व्याप्त भ्रष्टचारको तगारो नहटाई आर्थिक विकास ल्याउँछु भन्ने सपना तुहेर जान्छ।
त्यसैले पहिलादेखि नै म जस्तै धेरैले देशमा भ्रष्टचारी र विकृतिको चरम सीमा बारे घचघच्याउन खोजेजस्तै वर्तमान नेताहरू तल माथिका जहाँका हुन् उहाँहरुलाई यो देशको रक्षा र विकासको लागि नम्र निवेदन गर्न चाहन्छु कि अब आर्थिक विकास र सम्वृद्धिको बारे वगवग गरेर नारा मात्रै लगाएर जनताको समय वर्वाद नगर्नुहोस् तर काम गरेर देखाउनुहोस्।
सबैभन्दा पहिला आफैं भ्रष्टचारबाट मुक्त हुँदै देश र जनताको लागि इमान्दार बनेर देश विकासमा आफैंले लगाएको तगारो खोल्नुहोस् अनि मात्र देशले विकासको सपना साकार हुने बाटो देख्छ।
यो देश गरिब जनताले विगारेको होइन तर यो देश गरिब हुनुमा भ्रष्टचारी नेता र शासकहरु नै दोषी र उत्तरदायी छन्।
त्यस्तै यो देशका व्यापारी वर्गमा मेरो यो अपिल छ, जनतालाई जिउँदै जानीजानी अखाद्य वस्तु र विषाधी खुवाई नमार्नुहोस्। यो देशमा नेपाली जनता मरेर सकिए विषादी व्यापारी मात्र बाँचे न त्यसको केही सार हुन्छ न त त्यस्तो स्थितिमा व्यापारी नै रहनेछ।
त्यस्तै सर्वसाधारण जनतालाई म यो अपिल गर्न चाहन्छु -अबदेखि देशका नेताहरु गाउँ घरमा भाषण गर्न आए भने तपाईँहरु उहाँहरुको भाषण सुन्न जाँदै नजानुस् या त्यसबाट टाढै बस्नुहोस्।
भाइ, भतिजा, छरछिमेकी कसैले जाने भनेर सोधि हाले भनिदिनुहोस् तपाईँले आजका नेताले दिने भाषण ५० सालदेखि यता सुन्दा सुन्दा आउँदो गरिसक्या छु। बरू यता सुन नेताको भाषण मै गरिदिन्छु भनेर सबै नेताहरुले भन्ने जेमा पनि बाद मिलाएर जस्तो कि साम्यवाद, जनवाद, खेतिवाद, आलुवाद, भैंसीवाद, मकैवाद आदि आदि सुनाईदिँदै तपाईँको एकदिनको समय काममै लगाउनुहोस्।
उदाहरणको लागि यो पनि भनिदिनुहोस् प्राय सबै नेताहरु विदेश घुमेर फर्केपछि पत्रकारको प्रश्नमा तपाईँको यो विदेश भ्रमणले देशले के उपलब्धि पायो भनेर सोध्दा नेताहरु अहिले मात्र होइन पहिलेदेखिनै सँधैभरी ‘मेरो यो भ्रमणले दुई देशविचको सम्बन्ध अझ उचाईमा पुर्याएको छ’, भन्ने उत्तर दिन्छन्।
भन्नुहोस् त यिनीहरुले पचास साल यता भनेका दुई देशको सम्बन्धको उचाइ जोड्ने हो भने अब त त्यो उचाई त सगरमाथा भन्दा पनि अग्लो भईसक्छ जस्तो छ। तर, व्यवहार र गराई हेर्दा सम्बन्धमा नयाँ उचाईमा पुगेको देशले यो गरिब निरह नेपाललाई सधैँ देब्रे, दाइने, तल माथि, यता उता सबैतिरबाट झापड हानेको हानै छ भने केको उचाई माथि पुग्यो भन्नुहोस् त?
यो त केवल नेताहरुको भनाई र देशको वास्तविकता कस्तो छ भन्ने तथ्य देखाउनको लागि दिएको सानो उदाहरण मात्र हो।
यो विषयमा हाम्रा नेताहरुको भनाई भन्दा गराई हेर्दा हामीजस्ताको मनमा अझै कालो बादलले घेरिनै राखेको छ। फेरि अर्को उदाहरणको लागि हालसालै मात्र घटेको “सुन काण्ड” नै लिउँ।
विदेशबाट यो देशमा ३८ क्यून्टल सुन अवैध रुपमा भित्रिँदासम्म र अन्तिममा ३३ किलो सुन भित्र्याउने मध्ये एकजनाको ज्यान नमारिएसम्म यत्रो भयानक भ्रष्टचार भएको न हाम्रा कुनै नेताहरुले थाहा पाए, न यो देशका कर्मचारीहरुले पत्तो पाए न त सुरक्षाकर्मीले नै।
मानौं ३८ क्यून्टल सुन अवैध रुपमा भित्रिँदासम्म नेता, कर्मचारी, सुरक्षाकर्मीहरु सबै कानमा तेल हालेर नसुन्ने ठेडी खाँदेर बसे।
आँखामा फुलो परेको मान्छे जस्तो पट्टि नै नलाई आँखा खोल्दा खोल्दै अन्धो भएर मुखमा सुनको लड्डु हालेर भएको मुख नखोली सुन आएको बारे केही नभनी चुपचाप बसे।
अहिले सबैजना “तैं चुप मै चुप” भनेर बस्न लागेका छन्। होइन भने ३८ क्यून्टल सुन कहाँ गयो? यसको उत्तर सरकारले देओस्। यो लरोतरो भ्रष्टचारी गरेको केस होइन।
१ क्यून्टलमा १०० केजी हुन्छ भने तपाईँहरु आफैं अन्दाज लाउनुहोस् यो देशका नेता र प्रशासकले ३८ सय के.जी. सुन अवैध रुपमा भित्रिँदा पनि थाहा नपाउने कहाँसम्मका रहेछन्।
तर पनि हामी भने फेरि हाम्रो आर्थिक विकास र सम्वृद्धि यिनीहरुले नै गरिदिन्छन् भनेर सायद साकार नहुने सपना देखेर बस्दै छौं।
कारण हामी पनि उहाँहरुका पार्टीका पुच्छर भएर आँखा चिम्लेर सुज न बुज राल चुहाउँदै हिँडीरहेका छौं। हाम्रो पछ्याइले नेताहरूलाई भ्रष्टचार गर्न अझ उकेरा दिईराखेका छौं तर देश गरिबीको चपेटामा लपेटिरहेकै छ।
सुन काण्ड त एउटा मात्र उदाहरण हो यस्ता अवैध भ्रष्टचारी कार्यहरू अनगिन्ती छन् जहाँ हाम्रा भोट पाएका अधिकांश नेताहरु र देशका प्रशासकहरू यस्तै काममा तल्लिन र व्यस्त छन्।
उनीहरुलाई देशको विकास गर्न न मनसाय छ न चासो छ, न समयनै छ र पनि आर्थिक विकास र सम्वृद्धिको हामीले नारा सुनिरहेका छौं र खुसीले ताली पट्काइरहेका छौं।
अझ यिनीहरुलाई नै ३५ किलो भन्दा बढीको उचाल्नै नसक्ने फूलको माला उनेर लगाईदिइरहेका छौं।
गणेशमानजीको शब्दमा भन्ने हो भने हामी अझै “भेडा बाख्रा” भन्दा माथि उठ्न सकेका छैनौं। मैले वर्तमान सरकार र नेताहरुलाई मात्र लक्ष्य गर्न खोजेको नभएर पूर्वमा आएर गएका अधिकांश नेता र प्रशासकहरु पनि भ्रष्टचारका दोषी छन्।
कुनै पनि नेता र मन्त्रीलाई भ्रष्टचारको गन्ध पाएर पत्रकार या जनताले प्रश्न गरे “हामी जस्तो मन्त्रीलाई यस्तो साना साना कुरा नगर्नुहोस्” भनेर कुनै मन्त्री या नेताले आफ्नो दूष्कर्मलाई ढाकछोप गर्न दम्भ देखाएर पन्छिन खोज्नु भ्रष्टचारी र कायरताको झलक दिनु हो।
भ्रष्टचारको आडमा बसेर विकास गर्ने आश्वासन बाँड्नु र आर्थिक योजनाको विकास गर्नु वर्तमानमा चलिरहेको असारे विकासको कृयाकलाप – पानी पर्दैछ सडकमा कालो पत्रे भरिँदै छ मतलव “हिँड्दै छ पाइला मेट्दै छ भने जस्तो, काठमाडौं फोहोरका थुप्राले दुर्गन्धित हुनु जस्तो, अलिक दरो पानी पर्नासाथ सडकहरु भल र ढलले ढाक्नु जस्तो, रानी पोखरीलाई सुकाएर खण्डहारमा परिणत गर्नु जस्तो अहिलेसम्म भूकम्पले भत्काएका टहराहरु बनाउन नसक्नु जस्तो, भएका बाटाले धान्न सकोस् या नसकोस् तर पगिता सवारी साधन भित्र्याएर ट्राफिकलाई अस्तव्यस्त पार्नुजस्तो, जनताको ढुकुटीको पैसा अरौटे, भरौटे, धुपौरे, पुच्छर र आफन्तेहरुलाई बाँडेर रित्याउनु र विकासका लागि खर्च नहुनु जस्तो मात्रै हो।
त्यसैले देशमा विकास गर्नु छ र सम्वृद्धि ल्याउनु छ भने बन्द भएको भ्रष्टचारी तगारो पहिला खोल्नुहोस् र विकासका योजनाहरु लागू गर्नुहोस् – नत्र भने ...।