बिमस्टेकको सम्मेलनमा भाग लिन बङ्गालको खाडी वरिपरी रहेका विशेष असर पर्ने देशका राष्ट्र प्रमुख काठमाडौं आउने कुरा सुन्दा नेपालीलाई गौरव लाग्नेनै भयो।
देशका प्रधानमन्त्रीज्यूले यो शहरका सडकहरुमा भएका खाल्डाखुल्डीहरु तुरन्तै पुर्ने आदेश जारी गर्दा त ‘ए, अब सडकहरुको अवस्था सुध्रने भयो’, भन्ने ठानेर काठमाडौंबासीका मनमा आशाको दियो बल्नेनै भयो।
खुशी मानेर कति नेपालीहरुले मनमनै विशेष गरेर यस्ता पाहुनाहरु त बारम्बार नेपालमा आइदिए हुन्थ्यो भनेर सोचे होला। नसके पनि उहाँहरुलाई हामी आफैंले मात्र भए पनि स्वागत सत्कार गर्थ्यौ। हुनसके उहाँहरुलाई त कहिले नगरकोट लग्थ्यौं– त्यहाँको बाटो बन्थ्यो। ककनी लग्थ्यौं उतै बन्थ्यौं। असन, इन्द्रचोक, वसन्तपुर, पाटन, भक्तपुरका गल्ली गल्ली घुमाउथ्यौं यी सबै ठाउँहरु झन् बन्थे।
उहाँहरुलाई दुःख सुख गरेर भए पनि हाम्रै घरमा ल्याएर राख्थ्यौं र घरको नेपाली खाना खुवाउथ्यौं। अनि फेरि सोच्यौं उहाँहरु जता गयो उतै बन्थ्यो होला। कति हो कति–निजगढ लगेर विमानस्थल बन्ने ठाउँ देखाउँथ्यौं। लुम्बिनी लगेर बुद्ध जन्मेको ठाउँ देखाउँथ्यौं। मेलम्चीको पानी ल्याउन बन्दै गरेको टनेल देखाउँथ्यौं। त्यतैबाट हेलम्बु पुगेर रायोको सागसँग ढिडो खान्थ्यौं होला।
भोलिपल्ट गोंसाईकुण्ड हुँदै त्रिशूलीको विद्युत योजना हेर्दै राजधानी फर्कन्थ्यौं। कागजमा उतारेको दृश्य होइन। तर, साँच्चिकै सगरमाथा त्यो माछापुच्छ्रे, गौरीशंकर, कुम्भकर्ण आदि देखाईदिन्थौं। त्यस्तै दक्षिणमा ढलेका र हराएका सीमा स्तम्भहरुको गति देखाईदिन्थ्यौं। वर्षामा तराईमा डुबेका जमिन र पारीपट्टि बनाएका बाँधहरु पनि देखाईदिन्थ्यौं।
उहाँहरुलाई हिमाल, पहाड, तराई सबैतिर घुमाइदिन्थ्यौं। कारण हामी सबैलाई विकासै विकास चाहिएको छ। अन्त्यमा आफ्नो स्वार्थपूर्ति गर्दै मैत्रीपूर्ण छिमेकी राष्ट्र प्रमुखको सत्कार गर्नसम्म गर्थ्यौं। आफ्नै ज्यानको बाजी राखेर सुरक्षा प्रदान गर्दथ्यौं। तर दूर्भाग्यवस यो हुनै नसक्ने कुरा सोचेछौं।
छिमेकी राष्ट्रमध्ये नजिकै रहेको पाकिस्तानलाई छोडेर अरू बिमस्टेकका सदस्य राष्ट्रप्रमुखहरुले सम्मेलनमा भाग लिएर पारस्परिक फाइदा हुने विभिन्न सामाजिक, राजनीतिक, आर्थिक विकासका सुरक्षा आदि कार्यहरुमा सम्झदारी र सम्झौता गर्ने उद्धेश्यले काठमाडौंमा जम्मा हुनुभयो।
पाहुनाहरुको सत्कारको निमित्त नेपाल सरकारले गरेको तयारी यो पर्यवेक्षकको दृष्टिमा आडम्बर, अल्पबुद्धिले बनाएको योजना जुन “नमच्चिने पिङको जय झट्का” र “उल्फाको धन फुपुको श्राद्ध” गर्ने जस्तो लाग्यो।
सुकेका बाँस र पाइपहरु रंगीचंगी तुलले बेरेर बनाईएका गेटहरु र तिनकुने जस्ता ठाउँहरुमा जस्तामाथि फ्लेक्स प्रिन्टमा ठड्याइएका फोटाहरुले तिनकुनेको कुरूपतालाई पछाडि लुकाएर सजाउनु नेपालको सच्चा रूप छोपेर विकाशको झल्को दिन खोज्नुलाई आडम्बरीबाहेक अरु के संज्ञा दिन सकिन्छ।
बिमस्टेकको सम्मेलन यहाँ हुन्छ भन्ने वर्ष दिन अगावै थाहा हुँदा हुँदै पनि किन समयमा सम्मानको तयारी नगरी अन्तिम समयमा आएर मात्र काम थालियो? रातोदिन जनताले बाटोमा भोग्नु परेका कष्ट र पीडाहरु नबुझ्नेले असारे–साउने झरीमा भिज्दै लगाएका कालोपत्रेले कतिदिन टिक्छ त्यसको लेखाजोखा हुनेछ।
मध्य वर्षाको बिचमा पानी परिरहेको बेला कालोपत्रे गर्न कुन इन्जिनियरले सल्लाह दिएछ? सायद ऊ इन्जिनियर होइन नेता नै हुनुपर्छ। पानी परिरहेको बेला हिलो फुटपाथको छेउमा रंग लगाउन सल्लाह कुन पेन्टरले दियो होला? तर त्यो पेन्टर नभई आडम्बरी नेतानै होला।
अतिथीलाई सुरक्षा प्रदान गर्न हजारौं सेना र अन्य सुरक्षाकर्मीहरुले पहरेदार गरे। उनीहरुले दिएको सुरक्षा घेराभित्र वेसरोकारको मान्छेको त के कुरा एउटा मुसा पनि छिर्नसक्ने अवस्था थिएन। त्यतीमात्रै नभएर भिभिआईपी पाहुनाहरुको सुरक्षा र सुलभ यातायातलाई ध्यानमा राखेर काठमाडौंमा भदौ १३, १४ र १५ गतेसम्म पालो पालो गरेर जोर विरोर नम्बर भएका तालिका अनुसार सवारी साधनहरु चलाउन दिइयो।
यति हुँदा हुँदै पनि पाहुनाहरु आउनु त कहाँ छ कहाँ पालो पाएका सवारी चालकहरुले घण्टौं अघिदेखि आफ्नो गन्तव्यतिर जानै नपाई धुलो, धुँवा, गर्मी, भोक र तिर्खा नभनी आ–आफ्नै सवारी साधनमै थचिएर बस्नुपर्यो।
सडकको साइडमा सयौं यात्रुहरु बसको प्रतिक्षामै उभिरहे। कति विरामी बोकेका एम्बुलेन्सहरु जाममा परेर जताबाट आएका या गएका त्यतै रोकिए। कति विरामीहरुले समयासी उपचार पाउनबाट बञ्चित हुनुपर्यो। १४ र १५ गते त शिक्षण संस्थाहरु बन्दनै गराइयो। विद्यार्थीहरु घरको घरमानै रहन बाध्य भए।
त्यतिले पुगेन काठमाडौं एयरपोर्ट घण्टौंसम्म बन्द गराइयो। कति अन्तर्राष्ट्रिय यात्रुहरुले आफ्नो गन्तव्यमा सयममा पुग्न नसकेर कनेक्टीङ फ्लाईट छुटाए।
हामी नेपालीहरुको अतिथिलाई आफूले सकेको सत्कार गर्नु संस्कार नै छ। तर यदि हाम्रो परिवारमा विरामी, कूरुप, अपाङ्ग छोरा छोरी छन् भने अतिथी आउँदा हामी उनीहरुलाई भण्डारमा थुनेर राख्दैनौं। आफ्नो वास्तविक अवस्थाको लाज मान्दैनौं। जस्तो छ त्यस्तैमा माया, प्रेम र सद्भावले अतिथीको सत्कार गर्दछौं तर त्यो हामीले विर्सीसक्यौं।
काठमाडौंमा २–४ वटा अलि गतिला खान बस्न हुने होटलहरू पनि प्राइभेट सेक्टरबाट नबनिएका भए हामीले पाहुना राख्ने र सम्मेलन गर्ने ठाउँ पनि पाउने रहेनछौं सम्पूर्ण सरकारी भवनहरु हेर्न नहुने, बस्न पनि नहुने, गन्धपुरी र जिर्ण अवस्थाका छन्।
यो देशका सरकारी निकायहरुले सम्वद्र्धन र प्रवद्र्धन गर्नेनै थाहा छैन। तर, पनि आफ्नो सक्कली रुप देखाउन भने लाज लाग्छ। आडम्बरी रुप देखाएर भए पनि देशमा धेरै विकास गरिसक्यौं भनेर आँखामा छारो हाल्न लागि परेका छन्। पहिलेका सरकारले पनि यस्तै गरे अहिलेको पनि कोही भन्दा कम्ती भएन।
गहन रुपमा विचार गर्ने हो भने नेपाली जनतालाई सास्ती दिनबाहेक नेपाल सरकार पाहुनाको सत्कार गर्न नजान्दो रहेछ। न यसको सार्मथ्य नै रहेछ। घण्टौं अघिदेखि एयर ट्राफिक, ग्राउन्ड ट्राफिकरोक्नु भन्दा हाम्रा विशिष्ठ पाहुनाहरुलाई एयरपोर्टबाटै हेलिकप्टरमा हालेर सोल्टीमा लगेको भए के बिग्रन्थ्यो?
यसो गर्दा न विद्यालयहरु बन्द गर्नुपर्थ्यो, न ट्राफिक रोक्दाको जाममा जनताले सास्ती भोग्नुपर्थ्यो। हाम्रा बाटाहरु पानी पर्नुभन्दा पहिलनै किन कालोपत्रे नगरेको? तिनकुनेलाई उपयुक्त विकास नगरेर किन अस्थायी जस्ता र भिनेस्टा हालेर चटक देखाएजस्तो गरेर नक्कली रूपको प्रदर्शन गर्न खोजेको? यसमा खर्च गरेको पैसाले त तिनकुनेले राम्ररीनै स्थायी मुहार फेर्थ्यो होला? तर, यो कस्ले सोच्ने ? र कस्ले गर्ने?
पाहुनालाई हामीले त नभएका दृश्यहरु देखाउनु परेको छ, भएको वास्तविकता लुकाउनुछ। तर आजको टेक्नोलोजीले व्याप्त भएको युगमा पनि वास्तविकता लुकाउन खोजेर पनि लुक्छ र?
आडम्बरको लक्ष्य नै यही होला के भन्ने? वास्तविकताको मूल्याङ्कनको आधारमा मात्र देशले दिगो र गतिशील विकासको गति र लक्ष्य लिन्छ नत्र हिलो पेटीमा रङ्ग दले जस्तै विकास र सम्वृद्धिको लक्ष्य खोलामा बालुवा हालेर पुल बनाउन खोज्नु जस्तै भएर अन्ततः अर्थको अनर्थ हुनेछ।