जोसँग जे छैन त्यसकै चाहना बढी हुन्छ। त्यस्तै चाहना हुन्थ्यो मलाई बाल्यकालमा, स्वर्गीय बुवाको।
म गर्भमा एक महिनाकी मात्र थिएँ रे। दुर्घटनामा परेर बुवाको मृत्यु भएछ। आमा भर्खर ३५ वर्षकी हुनुहुन्थ्यो। गहिरो मानसिक पीडाबीच बुवा बितेको ८ महिनामा मलाई जन्म दिनुभयो। बिरामी परेर राम्ररी हुर्काउन सक्नुभएन।
मलाई मेरा सात जना दिदी र एक दाजुले पुल्पुल्याएर हुर्काए। जे भन्यो त्यही पुर्याए। आफू नपढेर पनि मलाई स्कुल पठाए। आफू घाँसदाउरा, मेलापात गरेर मेरा लागि कापी-कलम जुटाए।
मैले ५ कक्षासम्म बुवाको खासै वास्ता गरिनँ। पाँच कक्षापछि अर्कै स्कुल जानुपर्ने भयो। अर्कै गाउँ। त्यो स्कुलको भर्ना फारम म आफैंले भर्नुपर्ने भयो। त्यसमा बुवाको नाम लेख्नुपर्ने रहेछ। मैले त्यो ठाउँमा आमाको नाम लेखिदिएँ।
फारम बुझ्नेले भन्यो, 'तिमीले त आमाको नाम पो लेखिछौ, बुवाको नाम के हो?'
म पहिलोपटक झसंग भएँ!
मैले 'थाहा छैन' भनेँ।
'कि बतासे पर्यौ?' फारम बुझ्नेले फिस्स हाँस्दै भन्यो, 'भोलि आमालाई सोधेर आउनू।'
स्कुलबाट घर पुग्न हिँडेर झन्डै ४५ मिनेट लाग्थ्यो। म कति बेला घरको आँगनमा पुगेँ पत्तै पाइन।
आमा आँगनमा बिस्कुन सुकाइरहनु भएको थियो। मैले उहाँलाई झ्याम्म अँगालो हाल्दै सोधेँ, 'आमा मेरो बुवा को हो? कहाँ बस्नु हुन्छ? बतासे भन्या कस्तो छोरी हो आमा?'
आमाले मेरो कुरा बुझिहाल्नुभयो। मलाई च्यापेर बेस्सरी रुनुभयो।
यो घटनाले आमाको मनमा साह्रै चोट परेछ। उहाँलाई हनहन्ती ज्वरो आयो। ओछ्यान पर्नुभयो।
त्यसपछि बुवाको प्रसंग हरायो। मेरो दिमागमा भने अनेकथरि प्रश्न तेर्सिन छाडेनन्। सबै साथीका बुवा छन्, मेरो खै? किन अहिलेसम्म घरमा बुवाको कुरा भएन? किन स्कुलको फारममा आमाको नाम राख्न मिलेन?
यो कुरा दिदीले थाहा पाउनुभएछ। उहाँले अबदेखि कहिल्यै आमाको अगाडि बुवाको कुरा नगर्नू भन्नुभयो। नत्र आमाले पनि बुवाले झैं छाडेर जानुहुन्छ भनेर सम्झाउनुभयो। म डराएँ। त्यसपछि कहिल्यै बुवाको कुरा निकालिनँ। मेरो मनमा भने बुवाको याद झनै गाडिएर बस्यो।
दसैंमा आफूसँगै खेल्ने साथीहरु बुवाले ल्याइदिएको घांगर देखाउँथे। तेरो बुवाले के ल्याइदिनुभो भनी सोध्थे। म निरुत्तर हुन्थेँ। मसँग रुनुको विकल्प थिएन।
विस्तारै बुझ्ने भइयो। जीवन र मृत्युबारे जानियो। म जन्मिनुभन्दा पहिल्यै बुवाको मृत्यु भएको रहेछ भन्ने थाहा पाएँ। बुवाको अभाव खड्किँदै गयो। आफ्नो बुवा जीवित नभए पनि अरुको बुवालाई आफ्नै ठान्न थालेँ। साथीहरुका बुवाले दिएका उपहार ठूलो महत्व हुन थाल्यो।
एसएलसी दिँदासम्म मलाई भविष्यमा एउटा आश्रम चलाएर स्याहार नपाएका बुवाहरुको हेरचाह गर्छु भन्ने भयो। जीवन दिने आमाकै नामबाट आफ्नो कानुनी पहिचान बनाउँछु भन्ने सपना पलायो।
म बुवाको मुख हेर्ने दिन (कुसे औंसी) वृद्धाश्रम गएर मन बुझाउँथेँ। कहिले साथीको बुवासँग आशिर्वाद थाप्थेँ। कहिले पवित्र तीर्थ गएर स्वर्गीय बुवाको सम्झनामा दुई थोपा आँशु र एक थुङ्गा फूल अर्पित गर्थेँ।
सदाझैँ २०७१ सालको बुवाको मुख हेर्ने दिन म बिहान पशुपति गएँ। आठ-नौ बजेको थियो। बागमती किनारमा एक जना पुरोहितलाई साथ लिएर स्वर्गीय बुवाको नाममा गौदान गर्दै थिएँ। लगातार मोबाइलको घन्टी बज्यो। काभ्रेको नम्बर थियो। दिदीहरुले गर्नुभयो होला भन्ठानेँ। एउटा हातले पुरोहितलाई दक्षिणा टक्र्याउँदै अर्को हातले मोबाइल कानमा राखेँ।
हेलो भन्न नपाउँदै उताबाट कसैले 'हजुर रक्षा नेपालको हैन' भनेर सोध्यो।
मैले 'हो' भनेँ।
'यहाँ काभ्रे प्रहरीले आफ्नै हजुरबुवा र बुवाबाट बलात्कृत छोरीको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार गराइरहेको छ,' उताबाट आवाज आयो, 'तपाईंको संस्थाले पीडित छोरीको संरक्षण गरिदिनुपर्यो। हामी बलात्कारीहरुलाई पक्रिन जाँदैछौं।'
बुवाको मुख हेर्ने दिन यस्तो खबर सुन्नुपर्दा मलाई भाउन्न भयो। खुट्टा लगलग कामे।
अफिस गएँ। सहकर्मीलाई सुनाएँ। कसैले पत्याएनन्।
मैले २०६० सालदेखि 'रक्षा नेपाल' नामक सामाजिक संस्था चलाउँदा सयौं छोरीको दर्दनाक अवस्था देखेकी छु। तै मलाई पत्याउन गाह्रो पर्यो। मेरो मनले पनि भन्यो- बुवा त बलात्कारी हुनै सक्दैन!
फेरि अर्को मनले भन्यो- यो दुनियामा कसको भर?
तीन जना सहकर्मीसहित म काठमाडौंबाट धुलिखेल जिल्ला प्रहरी कार्यालय गएँ।
तत्कालीन प्रहरी प्रमुख 'अरुण बिसीबाट हामीले घटनाबारे बुझ्यौं।
नौ वर्षको उमेरदेखि घरभित्रै बन्धक बनाएर हजुरबुवा र बुवाले दिएको पीडा खप्न नसकी उनले विष सेवन गरेकी रहिछन्। १६ वर्षकी ती किशोरीले आमालाई पनि सुनाइछिन्। आमाले घरको इज्जत जान्छ भनेर चुप लगाएकी रहिछन्।
हामीले आमालाई भेट्यौं।
उनी छोरीको बलात्कार आरोपमा समातिएका श्रीमान छुटाउन पैसाको बिटो र वकिल लिएर प्रहरी कार्यालय आएकी थिइन्।
प्रहरीले बटुलेको प्रमाण, बाबुले छोरीलाई गरेको फोन कल, एसएमएस र पीडितको बयान सबै हेरेपछि मलाई लाग्यो- बुवा र हजुरबुवा त दानव निस्किए, यी आमाको मन किन यस्तो भएको होला?
मलाई छटपटी भयो। सोधेँ, 'दिदी यी तपाईंकै छोरी हुन् कि सौताको? छोरीले तपाईंलाई पहिल्यै भनेकी रहिछन्। सबै थाहा पाएर पनि किन बुझ पचाउनुभयो? किन आफ्नो सन्तानलाई त्यो पीडाबाट बाहिर ल्याउने कोशिस गर्नुभएन? विष सेवन गरेकी छोरी मरेकी भए?'
उनले सजिलै जवाफ दिइन्, 'बरु मरेकी भए यो दिन त देख्नु पर्दैनथ्यो।'
दुई साता अस्पताल बसेर डिस्चार्ज ती पीडित किशोरीले केही मानवअधिकारकर्मी, मिडिया र प्रहरीसामु हात जोड्दै भनिन्, 'पिताको रुपमा जन्म दिए पनि पतिको जस्तो व्यवहार गर्ने र मेरो जिन्दगी बर्बाद पार्ने त्यो पतित बुवा र हजुरबुवालाई मारिदिनुस्। नभए मलाई मारिदिनुस्।'
उनले यसो भनेर भक्कानिँदा त्यहाँ नरुने कोही थिएनन्। म त आधा होस, आधा बेहोसजस्तै भएकी थिएँ।
प्रहरी कार्यालयमा कागजी प्रक्रिया पुर्याएर रक्षा नेपालको संरक्षण गृहमा पुग्दा रातको ११ बजेको थियो।
उनी बलात्कारी बाबुलाई कानुनी कठघरामा पुर्याउन सकेकोमा असाध्यै खुसी थिइन्। म भने खै किन खिन्न भएकी थिएँ।
त्यो दिनदेखि आजसम्म बुवाको मुख हेर्ने दिन म आफ्नो बुवा नभएको पीडाभन्दा त्यो छोरीले आफ्नै बाबुबाट भोग्नुपरेको पीडाले मानसिक रुपमा थिचिन्छु। उनीजस्तै घरभित्रै अस्मिता लुटिएका छोरीहरुको पीडामा निस्सासिन्छु।
त्यसैले पागलझैं चिच्याउँदै भन्छु- बलात्कारी कुनै पुरुष, कसैको बुवा, दाजु वा श्रीमान हुन सक्दैन। बलात्कारीलाई पुरुष वा मानवको दर्जामा राखेर मेरो स्वर्गीय बुवाजस्तै थुप्रै बुवाहरुको अपमान नगरौं। सच्चा पुरुषले यस्तो कुकृत्य सोच्न पनि सक्दैन। बलात्कारी दानव हुन्। रामको पालामा रावण र कृष्णको पालामा कंसको वध भएजस्तै यो कलियुगमा बलात्कारीलाई वध गर्ने दिन छिट्टै आओस्। हाम्रा बुवाहरुको गिरेको साख उठाउनै भए पनि सबैले एउटै स्वरमा बलात्कारीलाई फाँसीको सजाय माग गरेर बुवाको मुख हेर्ने पवित्र दिनलाई धमिल हुनबाट बचाऊँ।
म चाहन्छु, अब मेरो जीवनमा त्यस्तो कालो दिन कहिल्यै नआओस्। यो धर्तीमा भएका सम्पूर्ण बुवाहरुको सम्मान होस्। बुवाको मुख हेर्ने दिन कुनै पनि बुवाको हातमा छोरीको तर्फबाट हत्कडी र मृत्युको कामना नपरोस्।
(लेखक रक्षा नेपालकी अध्यक्ष हुन्।)