निर्मला पन्तको बलात्कारपछि हत्या भएको केहीदिन पछि म कञ्चनपुर गएँ। उनकै घर पुगें। उनका आमाबुवासँग कुरा गरें। स्थानीयका पनि कुरा सुनें।
यो घटनामा सुरूदेखि नै प्रहरीले अनुसन्धान राम्ररी गरेको छैन।
घटनाको झण्डै एक महिनापछि सरकारले उच्चस्तरिय छानबिन समिति बनायो। गृह मन्त्रालयका सहसचिव नेतृत्वको समितिले ३८ दिन लगाएर बनाएको प्रतिवेदन पनि प्रहरीको अनुसन्धान जस्तै फितलो र लापरवाहपूर्ण छ।
त्यत्रो टिमले ३८ दिन लगाएर गरेको छानबिन र त्यसको प्रतिवेदनमा घटनाको दिन, समय पोष्टमार्टम गरेको दिन लगायतका मिति सही छैनन्। जस्तो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट २०७५ /४/ ८ गते नमूना पठाइएको भन्ने छ। साउन ८ गते त घटना समेत भएको थिएन। एक ठाउँमा पोष्टमार्टम रिपोर्ट साउन ११ गते गरिएको भनिएको छ। अर्कोमा १३ गते भनिएको छ। फौजदारी अपराधको अनुसन्धानमा मिति र अन्य तथ्य सही भएनन् भने त्यसकै आधारमा भोलि अपराधी अदालतबाट समेत उम्किन सक्ने हुन्छ भन्नेमा समिति संवेदनशील देखिन्न।
समितिको प्रतिवेदन पढ्दा उसले अझै के-के काम गर्नुपर्थ्यो भन्ने प्रष्ट देखिन्छ।
केही उदाहरण हेरौं:
प्रतिवेदनको पेज नम्बर ९ मा पोस्टमार्टम रिपोर्टबारे लेखिएको छ। त्यहाँ मृतकको यौनाङ्गमा विर्य नदेखिएको भन्ने उल्लेख छ।
अब समितिले सोध्नुपर्थ्यो : पानीमा डुबेको निर्मलाको योनीबाट ‘भजाइनल स्वाब’ कसरी लियौ भनेर। विर्य नदेखिएको भजाइनल स्वाबमा अर्कैको डिएनए कहाँबाट आयो? ४ जनाको डिएनए जाँच किन गरिएको ? केसँग तुलना गर्न जाँचिएको?
यी समान्य मानिसले पनि सोध्न सक्ने प्रश्नको उत्तर प्रतिवेदनमा छैन।
प्रतिवेनमा निर्मलाका बुवालाई दिलिपसिंह बिष्टविरूद्ध किटानी जाहेरी दिन दबाब दिएको उल्लेख छ। किन दबाब दिएको भनेर प्रतिवेदनले सोधेकोसम्म छैन। बम दिदीबहिनीलाई किटानी जाहेरी नआएकोले पक्राउ नगरेको पनि भनिएको छ।
कञ्चनपुरका सारा जनता, निर्मलाका आमाबुवाले बम दिदीबहिनीमाथि अनुसन्धान नगरेकाले आन्दोलन गरेको बिर्सेर जाहेरी नपरेकाले उनीहरूलाई पक्राउ नगरिएको भन्ने प्रहरी को हो? समितिसँग जवाफ छैन।
पेज १०, १६, २१ र २२ मा साधुराम चौधरीसम्बन्धी बयान छ। उनले साउन ११ गते बिहान १० बजे साइकल देखें भनेका छन्। इन्सपेक्टर जगदीश भट्ट भन्छन्, लाश फेला परेको थाहा पाएपछि ८ बजेर २५ मिनेटतिर घटनास्थल पुगें। अर्का प्रहरी हरसिंह धामी भन्छन्- ९ बजे लास भेटिएको हो।
साइकल भेटिएपछि लास भेटिएको हो। सबैजनाले भनेको समय किन फरक पर्यो? भन्नेमा समितिको प्रतिवेदनमा जवाफ छैन।
साधुराम चौधरीले बयानमा एउटै कुरा भन्न सकेका छैनन्। घरि घाँस काट्न जाँदा कहिले पिसाब फेर्न जाँदा साइकल देखें भन्छन्। घरि साइकल घोप्टिएको भन्छन् घरि अर्कै। उनले किन बयान दिन सकिरहेका छैनन्। किन आत्तिएको हुन् भनेर शंकासम्म प्रतिवेदनमा गरिएको छ। समितिलाई त उनीमाथि छानबिन गर्नेसम्मको अधिकार थियो।
चक्र बडुको बयानमा अभियोग स्वीकार गरे ५० प्रतिशत सजाय कम गर्दिने प्रलोभन प्रहरीले देखायो भन्ने छ। समितिले त्यसरी प्रलोभन देखाउने प्रहरी को हो भनेर पत्ता लगाएको छैन? किन प्रलोभन देखाएको हो भन्ने छानबिन समितिले खोजेको छैन।
पेज १२ र पेज २१ मा दीपेन्द्र मढाईको बयानमा प्रहरीले दिलिपसिंह बिष्टको घरमा गएर कपडा च्यातेर लगेको मामाले देखेको भन्नेछ। दीपेन्द्रको बयानअनुसार सिआइबीको टोलीले दिलिपसिंहको घरबाट उनका कपडा लगेका थिए। तर प्रहरी मुचुल्कामा चार बजे कपडाको टुक्रा भेटियो भनेर लेखिएको छ। ती सिआइबी टोलीका प्रहरी को हुन् र उनीहरूले किन कपडा चोरी गरे भनेर समितिले सोधेको देखिन्न।
विद्या पन्तले बयानमा अनिता बम साउन १० गते ट्युसन पढ्न आए/नआएको एकिन छैन बरू प्रहरीले आफ्नो नोट फोटोकपी गरेर लगेको भनेकी छन्। समितिले ती प्रहरी को हुन् र उक्त फोटोकपी किन लगेका थिए भनेर खोजेको छैन। जबकी अनिताले आफू विद्यासँगै बसेको भनेकी छन्। ट्युसन कक्षामा धेरै विद्यार्थी हुन्नन् त्यसैले आफूनजिकै को बसेको थियो थाहा हुन्छ। अनिता ट्युसन पढ्न गएकी थिइनन् भने कहाँ गएकी थिइन् भन्ने प्रतिवेदनमा छैन।
फेरि बाबुछोरी मिलेर साउन १० गते ट्युसन पढ्न आएको भन्दिन आग्रह गरेका थिए भन्ने ट्युसन सेन्टरका सञ्चालकको बयान छ। अनिता बम र रोशनी बम निर्मलालाई अन्तिम पटक देख्ने व्यक्ति हुन्। त्यो दिन उनीहरूका हरेक क्रियाकलाप समितिले मिहिन रूपमा केलाउनुपर्थ्यो। उसले त किन ट्युसन सेन्टरका सञ्चालकलाई आफू त्यहाँ थिएँ भन्दिनु भन्यौ त भनेर सोधेकोसम्म देखिन्न।
नमूना सच्याउन प्रहरीले भदौ १० गते पत्राचार गरेको प्रतिवेदनमा उल्लेख छ। तर किन सच्याउन खोजेको समितिले खोजेको छैन। सर्वसाधारणले जस्तो प्रश्नमात्र गरेको छ।
एसपी डिल्लीराज बिष्टका छोरा किरणले साउन १० गते आफ्नो वर्थ डे भएकाले साथी ऐश्वर्या बिष्ट र शिशिरसहित आएका ३ जना केटीहरूसँग ओपेरा होटलको फेमिली रेष्टुरेन्टमा थिएँ भनेर बयान गरेका छन्। समितिले ती नचिनेका ३ जना केटीहरूबारे प्रतिवेदनमा लेखेको छैन। ऐश्वर्या र शिशिरसँग पनि बयान लिनुपर्थ्यो लिएको छैन।
निर्मलाको जिउमा रहेका सुरवाल, भेस्ट, पेन्टी अहिलेसम्म भेटिएका छैनन्। ती लुगाहरू कहाँसम्म थिए कसले लग्यो वा नष्ट गर्यो भन्ने कुरा समितिले खोजेको छैन।
अर्को महत्वपूर्ण कुरा मुचुल्कामा निर्मलाको बुवाको सहीछाप छ। तर त्यो दिन उनका बुवा नेपालमै थिएनन्। कसरी, कसले र किन त्यो सहीछाप गर्यो? भन्ने प्रश्न समितिको प्रतिवेदनमा प्रश्न गरिएको छ। तर त्यसको उत्तर भने खोजी गरेको छैन।
अर्को कुरा, मैले सुरूमा निर्मलाको पोष्टमार्टम रिपोर्टकै हार्ड कपी देखेकी थिएँ। जसमा तीन जना डाक्टरको हस्ताक्षर थियो। त्यसमा प्रशस्तै प्रश्न गरेकी थिएँ। त्यो रिपोर्टमा निर्मलाको बलात्कार भएको उल्लेख थिएन। मृत्युको समयसमेत थिएन। अहिले फेरि पाँच र सात जना डाक्टरको हस्ताक्षर भएको अर्को पोष्टमार्टम रिपोर्ट आएको छ। त्यसमा धेरै कुराहरू उल्लेख गरिएको छ।
प्रतिवेदनले भने तीनजना डाक्टरकै हस्ताक्षर भएको पोष्टमार्टम रिपोर्टको कुरा गर्छ। पोष्टमार्टम रिपोर्ट एउटा हो की दुइटा हो त्यसबारे पनि भन्नुपर्छ।
छानबिन समितिले वास्तविक अपराधी खोज्नेसम्मका काम गर्न सक्थ्यो। तर स्थानीय प्रहरीका गतिविधि, घटनास्थलमा देखिएका र शंकास्पद व्यक्तिलाई प्रश्नसम्म गर्न सकेको छैन। बयान र स्थलगत विवरणहरू लिएको छ। तिनको राम्रो विश्लेषण पनि गरेको छैन। यस्तो खालको छानबिनले निर्मलाका दोषीहरूलाई खोज्न सकिन्न।
(कुराकानीमा आधारित)