मन्त्रिपरिषद्ले केही महीना अघि नेता मदन भण्डारीको नाममा विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। यस्तै सरकारले नयाँ खुल्ने शिक्षण संस्थामा कम्तीमा ७०% स्थान विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई छुट्याउने नीति लिएको सुन्नमा आएको छ। यी तीनै विषयलाई छोटकरी अंग्रेजीमा 'स्टेम' भनिन्छ।
नेपाललाई सल्लाह दिने पश्चिमा विज्ञलाई पनि लाग्दो हो, नेपाल जस्तो गरिब देशलाई मानविकी र सामाजिक विज्ञानमा समय र साधनस्रोत खेर फालिरहने सुविधा छैन। किनकि गरिबीबाट मुक्ति त प्रविधिमा फड्को मार्न सक्दा मात्र पाइन्छ।
यो लेखको मुख्य जिकिर यही हो- हाम्रो शैक्षिक क्षेत्रको आगामी दिशा प्राविधिक कि गैरप्राविधिक शिक्षा उपयोगी भन्ने बहसको लेन्सबाट हेरेर तय गर्नु भ्रामक छ।
नेपालका विशिष्ट परिस्थितिजन्य कारणले गर्दा प्राविधिक जनशक्तिमा केन्द्रित हुनुभन्दा पहिले, प्राविधिक र गैरप्राविधिक दुवै क्षेत्रमा सम्भावना साकार पार्न उच्च शिक्षाको वर्तमान प्राथमिकता भनेको मानविकी, सामाजिक विज्ञान र प्राकृतिक विज्ञान विषयको फराकिलो जगमा उभिएको स्नातक शिक्षा हुनुपर्छ।
यस्तो शिक्षा जसले मानव समाज र विश्व ब्रह्माण्डबारे एक तहको वृहङ्गम ज्ञानको जग बनाइदिन्छ। र, लेखन, समालोचनात्मक सोच, विश्लेषण र तर्क-क्षमता लगायत आधारभूत कौशल सिकाइदिन्छ।
पश्चिमा देश र नेपालका विश्वविद्यालयका स्नातक तहमा हुने पढाइबीच मुख्य फरक भनेकै पढाइने विषयको विविधता र फैलावटमा हुन्छ। पश्चिमा देशमा स्नातक तहमा डिग्री लिन खोजिएको मुख्य (मेजर) विषय बाहेक जीवनजगतका अरु पक्षबारे पनि विद्यार्थीमा आधारभूत समझ हुनुपर्छ भन्ने बुझाइ छ। त्यसैले मुख्य विषयसँग सिधा सम्बन्ध नभएका अरू धेरै क्षेत्रमा पनि विद्यार्थीले निश्चित संख्यामा कोर्स लिनैपर्ने नियम हुन्छ।
उदाहरण, चार वर्षे स्नातक गरेर जीवविज्ञानमा डिग्री लिन चाहने विद्यार्थी छ। उसले करिब एक तिहाईदेखि आधाजति कोर्स मात्र जीवविज्ञानसँग सिधा सम्वद्ध कोर्स लिन्छ। त्यसबाहेक सामाजिक विज्ञान समूहबाट मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, भूगोल लगायतमध्येबाट कोर्स लिनुपर्छ। र, कला तथा मानविकी समूहबाट नृत्य, संगीत, चित्रकला, इतिहास, दर्शन, नीतिशास्त्र लगायतमध्ये निश्चित एक कोर्स लिनैपर्छ। यसबाहेक देशको मूल भाषामा लेखन र विभिन्न प्रकारका सम्प्रेषण जस्ता सीपमा विद्यार्थी पोख्त होऊन् भनेर भाषागत सीप सम्बन्धी केही कोर्स प्रायः हरेक वर्ष लिएकै हुनुपर्छ। कतिपय विश्वविद्यालयमा त थप एउटा नयाँ भाषा, कुनै खेल लगायत कोर्स लिएर निश्चित दक्षता हासिल गर्नैपर्ने नियम हुन्छन्।
यसरी रोजिने हरेक कोर्सका निश्चित संख्यामा सन्दर्भ सामग्री पढेर पर्गेल्नै पर्छ। निश्चित प्रोजेक्ट-कार्य, कक्षाका बहसमा सामेल, लामा-छोटा शोधपत्र लेख्नुपर्ने हुन्छ। यी सबै शिक्षकले जाँच्छन्। र, सुधारका उपाय सुझाउँछन्। यी सबले गर्दा विद्यार्थीको लेखन-सीप मात्र हैन, तर्क-क्षमता, समीक्षात्मक चेत पनि तिखारिँदै जान्छ।
मूल विषयबाहेक अरू कोर्स पनि पढेकाले स्नातक पूरा गरिसक्दा विद्यार्थीहरू एउटा विषयमा मात्र दखल भएका र समाजका विभिन्न पाटाप्रति उदासीन वा बेखबर कलपूर्जा बनेर निस्कँदैनन्। बरू समाज र जीवनजगतका विविध पाटाबारे वृहङ्गम समझ राख्ने हुन्छन्। एक प्रकारको प्रबोधन (इन्लाइटनमेन्ट) पाएका सिर्जनशील र नवप्रवर्तनशील (इनोभेटिव) पेसाकर्मी र नागरिक भएर निस्कन्छन्।
अमेरिकामा यस्तो शिक्षामा केन्द्रित, थोरै विद्यार्थीका साना कक्षा हुने र प्राध्यापकलाई विद्यार्थीको पढाइ र सिप अभिवृद्धिमै समय दिन प्रोत्साहन गर्ने उच्च शिक्षाका संस्थालाई 'लिबरल आर्ट्स' विश्वविद्यालय वा कलेज भनिन्छ। तर आफूलाई यो विशेषणले नचिनाउने शिक्षालयका पाठ्यक्रम पनि उस्तै प्रकारको विस्तृत आधार भएकै हुन्छन्।
हाम्रो ग्रामीण समाजले पनि औपचारिक विद्यालय शिक्षा सुरु हुनुअघि केटाकेटीलाई 'लिबरल आर्ट्स मोडल'कै शिक्षादीक्षा दिएको हुन्छ। नेपाली गाउँ-देहातमा अधिकांश केटाकेटी ठूलो परिवारको एकै आँगनमा वा वल्लो-पल्लो घरसँग हुर्केका हुन्छन्। उनीहरूको समय घरमा मात्र नभएर छिमेक वा गाउँको सेरोफेरो चहार्दै, खेल्दै, डुल्दै बित्छ। उनीहरूले विविध भाषा, संस्कृति, रीतिरिवाज मान्ने छिमेकी र आफन्तसँग व्यवहार गर्न पाउँछन्।
नेपालका केटाकेटीले विकसित देशमा पटक्कै नपाइने सघन बहुपिँढी, बहुसांस्कृतिक सामाजिक अन्तरक्रियाको अवसर पाउँछन्। उनीहरूले भाइबहिनीको हेरचाह, छरछिमेकमा हल्कारा काम, किनमेल जस्ता दायित्व पनि बहन गर्छन्। गाउँघरको रहनसहन, चाडपर्व, मेलापात, खेतीबाली प्रत्यक्ष देखिरहेका, भोगिरहेका हुन्छन्। विकसित देशका शिशुले कहिलेकाहीँ 'फिल्ड भिजिट' मा मात्र यस्ता कुरा देख्न, अनुभव र अन्तरक्रिया गर्न पाऊलान्।
त्यसैले मनोविज्ञान, संस्कृति, प्राकृतिक चक्रहरू, कृषि, पर्यावरणबारे हाम्रा केटाकेटीमा कतिपय विकसित देशका केटाकेटीमा भन्दा गहिरो सुझबुझ र अनुभव हुन्छ। बोलचाल र सामाजिक व्यवहार सीपमा नेपाली शिशु उही उमेरका विकसित देशका शिशुसँग समान वा उनीहरूभन्दा अगाडि रहेको अनुभव धेरै छ। हाम्रा नानीबाबुले त फरक उमेर र रुचि भएका मानिससँग पारा मिलाएर गफ गरेको हामीले देखेकै छौं।
यो त्यसै भएको छैन। हिलारी क्लिन्टनले आफ्नो पुस्तकको शीर्षक अफ्रिकी उखान राखेकी छन्- इट टेक्स अ भिलेज। यसले भने झैं एउटा कुनै एक बच्चालाई शिक्षा दिन पूरै गाउँको भूमिका हुन्छ। औपचारिक शिक्षा सुरु गर्नुअगावै शिशुलाई समग्रमा विकसित देशसँग तुलनीय शिक्षा दिन सक्नुमा हाम्रो गर्विलो सामाजिक पुँजी झल्किन्छ।
यहाँ गाउँ-देहातको अनौपचारिक शिक्षालाई केही आदर्शीकृत रुपमा प्रस्तुत गरिएको पक्कै छ। चरम गरिबीमा परेका वा विविध कारणवश आमाबाबुको मायाको छहारी नपाएका केटाकेटीले त्यस्तो शिक्षा नपाउलान्। विगत २-३ दशकका हिंसात्मक गतिविधिले ग्रामीण समाजको सौहार्द्रता चिरिएको छ। यसले गर्दा ग्रामीण वातावरण सुखद वा सुरक्षित नहोला। वा सहरबजारमा झैं बच्चा र बुढा सबैलाई चारकुने हाते मेसिनले वशमा राख्न भ्याइसकेको भए पनि केटाकेटीले माथि वर्णित प्रकारको लोभलाग्दो गाउँले शिक्षा नपाऊलान्।
यस्ता विशेष परिस्थितिमा स्कुल-पूर्वको अनौपचारिक बाल-शिक्षा टाक्सिएको हुन्छ नै। समाजले विचारशून्य रूपले आत्मसात् गर्दै गएको व्यक्तिवाद र उपभोक्तावादले माथि उल्लेखित सामाजिक पूँजीको द्रुत गतिमा क्षय हुन थालेको आभास हुन्छ। तर यो विगत दश-बीस वर्षको मात्र प्रवृत्ति हो।
तर पनि समग्रतामा हेर्दा त्यस्तो गज्जबको स्कुल-पूर्वको शिक्षा लिएर हाम्रा बालबालिकाले औपचारिक शिक्षाका निम्ति जुन पाठशाला र विद्यालयीय शिक्षा प्रणालीमा प्रवेश गर्छन्, तिनलाई भाग्यमानी मान्नैपर्छ। यस्ता उत्सुक, बाचाल, उमेरभन्दा पाका र आत्मविश्वासी, समुदायप्रति लगाव भएका प्रतिभाशाली बाल-मस्तिष्क पाएपछि त हाम्रो विद्यालयीय शिक्षा-प्रणालीले लेखन र अभिव्यक्ति क्षमता, सिर्जनशीलता, नवप्रवर्तनशीलता, नैतिक मूल्य, आत्मविश्वास र आत्मसम्मानले ओतप्रोत भएका विद्यार्थी उत्पादन गर्छन् भन्ने अपेक्षा गर्नु स्वाभाविक हो। तर नेपालका अधिकांश विद्यालय चरण शिक्षा पूरा गरेका छात्रछात्रा हेर्दा त्यो अपेक्षा अलिकति पनि पूरा नभएको देखिन्छ।
यसो हुनुका गम्भीर संरचनागत र प्रणालीगत कारण छन्। हाम्रा स्कुलमा सिकाइने समग्र ज्ञानको दायरा दयनीय छ। अन्य देशको तुलनामा सुरुदेखि नै एकदमै सीमित विषय मात्र विद्यार्थीले पढ्न पाउँछन्।
जस्तै, विद्यार्थीले इतिहास, भूगोल, साहित्य, संस्कृति, नागरिक धर्म लगायत विषयमा निकै थोरै ज्ञान र दृष्टिकोण पाउँछन्। चित्रकला, सङ्गीत, नाटकको उल्लेख्य अनुभव र तालिम लगभग कहीँ पनि दिइँदैन।
नेपाली, अंग्रेजी, विज्ञान र गणितबाहेक हेर्दा विद्यार्थीलाई केही ऐच्छिक विषय पढ्न दिएको जस्तो देखिन्छ। एउटा विद्यार्थीले एउटै 'ऐच्छिक' विषय पढ्नुपर्छ। विद्यार्थीले पढ्न पाएका विषयमा पनि सीमित 'तथ्य'हरूको निस्पृह, ठाडो, एकतर्फी ज्ञान हस्तान्तरणको प्रयत्न मात्र हुन्छ। अधिकांश स्कुलमा प्रयोगात्मक वा व्यावहारिक, अन्तरक्रियात्मक, विचारात्मक वा प्रोजेक्ट कार्यमा आधारित पढाइ हुँदैन। दैनिक पढाइ र परीक्षा सबैमा पाठमा भएका 'तथ्य'लाई कण्ठस्थ पार्ने प्रवृत्तिलाई पुरस्कृत गरिन्छ। यसरी पढाइएका सीमित विषयमा पनि सिकेको ज्ञानको गहिराइ र फैलावट सीमित हुन्छ।
सायद सबभन्दा महत्वपूर्ण सिप, भाषागत सिप शिक्षणको कुरा गर्दा भाषा पढाउनुको उद्देश्य केवल वाक्य-गठन, ह्रस्व-दीर्घ, व्याकरणका कुरा र किताबमा भएका केही सय शब्द सिकाउनु मात्रै हो जस्तो बुझिन्छ। जबकि, भाषा शिक्षणको उद्देश्य समग्र जीवन र जगतसँग सम्बन्धित विषय हुन्। जस्तै विज्ञान, इतिहास, पर्यावरण, कृषि, भूगोल, साहित्य, कलाबारे ज्ञानको परिशीलन गर्न सक्ने, सिकेका कुरा लेखाइ र बोलाइले व्यक्त गर्न सक्ने बनाउनु पनि हो।
भाषागत सिपमा कमजोर भए सत्यको खोज गर्ने शिल्प, आलोचनात्मक चेत, तर्कशीलता, सिर्जनशीलता, वैचारिक उदारता पनि मौलाउन पाउँदैन। हाम्रो भाषा शिक्षण कति कमजोर छ भन्ने उदाहरण देखेको छु। नेपाली मातृभाषा नभएका नेपाली विद्यार्थीले बाह्र वर्षसम्म विद्यालय तहको शिक्षा पूरा गर्दा जति नेपाली भाषा सिकेका थिए, त्योभन्दा बढी चिनियाँ भाषाको सिप त एकै वर्ष चीनमा पढ्दा नै सिकेको पाएको छु। म आफैंले ९ र १० मा ४-५ कक्षाका विद्यार्थीले पनि पढ्न नसुहाउने पाठ पढेर परीक्षामा उत्तर लेख्नुपर्थ्यो। त्यस्ता पाठमा ज्ञान-विज्ञान र समाजका महत्वपूर्ण विषयमा न्यूनतम धारणा बनाउन, आत्मविश्वासपूर्वक आफूलाई अभिव्यक्त गर्न, आधुनिक परिप्रेक्ष्यमा आफ्नो अविचल नैतिक धरातल बनाउन सिकाउने कुरा थिएनन्।
विद्यार्थीले बाह्र कक्षा उत्तीर्ण गरेर विश्वविद्यालय तहमा प्रवेश गरेपछि थप त्यस्तै सङ्कीर्ण कूपमण्डूक परिकल्पनामा आधारित 'उच्च शिक्षा' पाउँछन्। उनीहरूको विविध विषयप्रतिको अभिरुचि, उत्सुकता र निरन्तर सिक्दै जाने अन्तर्प्रेरणालाई बाह्र वर्षको नीरस, यान्त्रिक र घोकन्ते स्कुले पढाइले नै सुकाइसकेको हुन्छ। कमजोर विद्यालय शिक्षाको जगमाथि खडा हुने उच्च शिक्षाका सम्भावना त्यसै पनि टाक्सिने भइहाले। उनीहरू अधिकांशतः केवल जीविकोपार्जन गर्न, सफल जागिरे र उपभोक्ता बन्न मात्र लायक हुने गरी एउटा साँघुरो विषयको डिग्री लिने बाटो लाग्छन्। वा त्यसो गर्न हाम्रो संरचनाले प्रेरित गर्छ। उनीहरूले आफ्नै हृदयका नादलाई पछ्याउँदै स्वप्नस्पर्शी जीवन बाँच्लान् वा समाजका जटील चुनौतिको बलिष्ठ प्रतिरोध गर्ने नायक बन्लान् भन्ने अपेक्षा गर्ने अवस्थै बाँकी हुँदैन।
नेपालका विद्यार्थी अठार वर्षमै भोट हाल्न बालिग मानिन्छन्। तर स्नातक वा स्नातकोत्तर तहसम्म पढिसकेका सरदर विद्यार्थीमा पनि आफ्नो राष्ट्र र राष्ट्रियताका विशेषता र चुनौतीबारे गहिरो समझ, जल्दाबल्दा समस्याबारे पक्ष-विपक्षमा तौलेर बनाइएका मौलिक धारणा, शासक वा ठूलाबडाका अनैतिक वा अनुचित कार्यको सौम्य तर सशक्त र तर्कशील प्रतिरोध गर्ने आत्मविश्वास, र बदलिँदो समाजको नैतिक मियो भेट्ने चेत हुँदैन। न जीवनजगतका अन्य विविध पाटाका प्रश्नबारे समीक्षात्मक अन्वेषण गर्ने, समूहमा काम गर्ने, सिकेका सैद्धान्तिक कुरालाई व्यवहारमा उपयोग गर्ने दक्षता नै हुन्छ।
उनीहरूको ठूलो अंशले अंग्रेजीमा त परै जाओस्, नेपालीमा पनि सामान्य कार्यालयीय पत्राचार कुरा पुर्याएर लेख्न सक्दैनन्। यो नेपाली नै मातृभाषा हुने विद्यार्थीमा पनि लागू हुन्छ। उनीहरूको कल्पनाशीलता, स्वप्नदर्शीता र समाज बदल्ने अठोट, जाँगर र आत्मविश्वास त नफक्रिँदै ओइलाइसकेको हुन्छ।
यसरी हाम्रो देशको समग्र शिक्षा क्षेत्र नै टपरटुइयाँपनाको कारखाना बनेको छ। यसको तात्पर्य विद्यार्थीमै सुरुदेखि खोट भएर वा सिक्ने क्षमता कमजोर भएर शिक्षा प्रणालीले राम्रा उत्पादन दिन नसकेको भन्ने पटक्कै होइन। माथि नै भनियो, विद्यालय चरणको शिक्षामा प्रवेश गर्दा त हाम्रा कलिला बालबालिका संसारसँगै प्रतिस्पर्धा गर्ने क्षमताका हुन्छन्। तर त्यस्ता उज्ज्वल सम्भावनाका धनी विद्यार्थी पनि हाम्रो औपचारिक विद्यालयीय र उच्च शिक्षा प्रणालीको सङ्कीर्ण, कल्पनाहीन र यान्त्रिक कारखानाबाट गुज्रँदा सम्भावना क्रमशः बिलाउँदै जान्छन्।
विद्यालय र उच्च शिक्षाका यस्ता टपरटुइयाँ उत्पादन नै देशका राजनैतिक दलदेखि आम जनसमूहमा छ्याप्छ्याप्ती छन्। जतिसुकै मिहिन समाजशास्त्रीय चश्माले हेरौं, यो देशका शिक्षक, कर्मचारी, नेता, व्यावसायिक समुदाय, नागरिक समाज सबैतिर झाँगिएको योग्यता र क्षमताको टपरटुइयाँपना नै सायद हाम्रा वर्तमान समस्याको एउटा प्रमुख कारण हो। सुन्दर भविष्यको प्रमुख बाधक हो।
सरकारले प्राविधिक र इन्जिनियरिङ जनशक्ति कमीले गर्दा देश पिछडिएको आकलन गरेका बेला यसो सोचौं त- दिनदिनै पत्रपत्रिकामा चर्चा भइरहने र जनताले सबभन्दा धेरै चासो दिने प्रमुख समस्याहरूमा कुन कुन चाहिँ प्राविधिक जनशक्तिको अभावले समाधान हुन नसकेका हुन्?
निर्मला पन्तको बलात्कार र हत्याको अपराधको लागि अझै न्याय दिन नसकिएको मुद्दा, सडकमा हत्यारा खाडलको बिगबिगि, काठमाडौं उपत्यका र बिस्तारै अन्य ठूला सहरमा पनि विकराल हुँदै गएको धूलोको समस्या र प्रदूषण, रोजगारीका लागि विदेसिने कर्मशील युवाको कहिल्यै नसकिने ताँती र देशभर रित्तिँदै र बाँझा हुँदै गएका गाउँघर, भूकम्पको तीन वर्षपछि पनि आधा पनि नसकिएको पुनर्निर्माण, सुरुमा अनुमानितभन्दा धेरै बढी आर्थिक भार देशलाई बोकाउँदा र वर्षौं बढी लाग्दा पनि कहिल्यै पूरा नहोलान् जस्ता लाग्ने मेलम्ची र अन्य ठूला परियोजना, बढ्दो वैदेशिक व्यापार घाटा, जनजीवनलाई सर्वत्र आक्रान्त पारेको भ्रष्टाचार, माफियागिरी र दौंतरी पूँजीवाद - यिनमध्ये कुन समस्या प्राविधिक वा इन्जिनियरिङ जनशक्ति अपर्याप्त भएको कारणले नसुल्झिएको हो त?
निर्मला पन्तको मुद्दामा सुरुआती छानबिनमा संलग्न प्रहरीको नियत र क्षमता दुवै अक्षम्य रूपले खोटपूर्ण रहे। अहिले अनेकौं पुस्ता छानबिन टोली आउँदा पनि समस्या लगभग एउटै छ। डिएनए नमुना प्रमाणीकरण र पहिचानको प्राविधिक समस्या सुरुमा नमुना लिने प्रहरीकै कमजोरी वा बदनियतले आएको हो। त्यससम्बन्धी प्राविधिक नभएर होइन।
मेलम्ची र अन्य कहिल्यै नसकिने परियोजनामा प्राविधिक सधैं विदेशी नै छन्। त्यसको कारण नेपाली इन्जिनियर नभएर होइन। विज्ञहरूका अनुसार यस्तो अवस्था आउनुको मुख्य कारण हाम्रा नेता र प्रशासकले कहिल्यै पनि त्यस्ता परियोजनामा सरकारका सम्बन्धित विभागमा काम नभएर त्यसै बसिरहेका इन्जिनियरलाई ती परियोजनामा खटाउने र नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्ने गरी परियोजना सम्झौता गरेनन्।
भूकम्पपछिको पुनर्निर्माण गर्न वा सडकका खाल्डाखुल्डी पुर्न नेपालमा दक्ष प्राविधिक नभएर नसकिएको होइन। न आर्थिक, औद्योगिक, बेरोजगारी, भ्रष्टाचार आदि सम्बन्धी समस्या नै प्राविधिकको अभावले अड्केका समस्या हुन्।
नेपाल इन्जिनियरिङ परिषद्का अनुसार हाल वर्षमा लगभग ३ हजार ५ सय नयाँ इन्जिनियर उत्पादन भइरहेका छन्। रेल्वे इन्जिनियरिङ आदि केही विषयमा नेपालमा विज्ञ उपलब्ध छैनन्। तर समग्रमा यहाँ विकास, सुशासन, सामाजिक रुपान्तरण र समृद्धि आउन नसकेको नेपालमा पर्याप्त प्राविधिक नभएर होइन, तिनलाई उपयुक्त ठाउँमा खटाएर आफ्नो क्षमता विकास गर्दै जाने र प्रदर्शन गर्दै जाने वातावरण र योग्यतातन्त्री प्रणाली निर्माण गर्न हाम्रा प्रशासक, नीति-निर्माता, राजनीतिज्ञले नसकेर हो।
सोचौं त, यी प्रशासक, नीति-निर्माता, राजनीतिज्ञले कस्तो शिक्षा अभावका कारण अपेक्षित कार्यसम्पादन गर्न नसकेका होलान्? माथि उदाहरण दिइएका समस्या किन उब्जिए वा समाधान भएनन्? जल्दाबल्दा चुनौतीबारे अध्ययन गरेर ज्ञान वा दक्ष जनशक्ति जुटाउन नसक्ने, आम नागरिकका कुरा मनन गर्न नसक्ने, आफ्ना कुरा अरुले बुझ्ने भाषामा व्यक्त गर्न नसक्ने, विविध पक्षबीचको सम्बन्ध र अन्तरक्रिया नबुझ्ने, आफ्ना काम र बोलीका सिधा र घुमाउरा असरबारे हेक्का राख्न नसक्ने, आफ्ना क्षमता र सीमाबारे आत्मवीक्षण गर्न नसक्ने, विगतबाट सिक्न वा सुध्रिन नसक्ने, भविष्यको दिशाको पटक्कै आभास नभएका, कतिपय अवस्थामा नैतिक धरातलको हेक्का नभएकाहरूका कारण नै हाम्रा समस्या बल्झिँदै गएका हुन्। उनीहरूमा नभएका दक्षता बिस्तारित जग भएको मानविकी र सामाजिक विज्ञानकै शिक्षाले दिन्छ, प्राविधिक शिक्षाले हैन।
प्राविधिक शिक्षा नै प्राथमिकतामा राख्नु पर्नेमा अर्को तर्क सुनिएको छ- हाल ठूलो सङ्ख्यामा प्राविधिक जनशक्ति उत्पादन भइराखे पनि हालका भन्दा अब्बल र सिर्जनशील, विज्ञान र प्रविधिका विविध विधामा नवप्रवर्तन गर्न सक्ने र विश्वमा प्रतिस्पर्धा गर्न सक्ने खालका वैज्ञानिक र प्राविधिक उत्पादन भए मात्र देशले औद्योगिक र आर्थिक फड्को मार्न सक्छ।
यहाँ बुझ्नु जरुरी छ, पाश्चात्य देशले एकाएक नवीन वैज्ञानिक आविष्कार र प्रविधि विकास गर्न सकेका होइनन्। त्यसको पछाडि उनीहरूका वैज्ञानिक र प्राविधिक र तिनलाई सही ढङ्गले परिचालन गर्ने प्रणाली बनाउने र सञ्चालन गर्ने प्रशासक र राजनीतिज्ञ, स्कुले उमेरदेखि नै सिक्न पाएको समाज-विज्ञान र मानविकीका सिपको फराकिलो जगको ठूलो भूमिका छ।
अर्को कुरा, हामीले त्यस्तो वैज्ञानिक आविष्कार वा प्राविधिक फड्को मार्ने सपना देख्न पहिले त 'स्टेम' विषयमा उत्कृष्ट शिक्षा दिनसक्ने शिक्षक उत्पादन गर्नुपर्यो। पहिले त्यस्ता वैज्ञानिक वा इन्जिनियरको उपयुक्त पेसागत संवर्द्धन र प्रविधि विकास गर्न प्रोत्साहन गर्न दिने शासकीय संस्कार र प्रणाली बसाउनुपर्यो। जुन कुनै न कुनै किसिमको 'लिबरल आर्ट्स' मोडलको फराकिलो ज्ञानको जग दिने उच्च शिक्षाबाट मात्र सम्भव छ।
हामीले एकातिर अत्यन्त गतिशील बाहिरी विश्वसँग प्रतिस्पर्धा गर्नुछ, अर्कोतिर देशभित्रै यावत जटिल, बहुपत्रे समस्याको चाङ छ। तिनको सामना गर्न कुनै सिप नभएको टपरटुइयाँ जनशक्तिको भर पर्नु परेको छ। अनि कसरी हाम्रा समस्या हल हुन्छन्?
देशको जनशक्तिको प्रमुख चुनौती सारांशमा यही हो। र सारांशमा यसको उत्तर हुन्छ- राष्ट्रिय जीवनका हरेक क्षेत्रमा विविध ज्ञान र सिपको फराकिलो आधार पाएर कुशलताका साथ आफ्नो कार्यसम्पादन गर्न सक्ने योग्यता बनाएका नागरिक, पेसाकर्मी र अगुवा नेताको निर्णायक सङ्ख्या तयार गरेर। अबका दिनमा, यस्तो युगीन चुनौती सम्बोधन गर्न सक्ने विश्वविद्यालय मात्रै बनाउन लायक हुनेछ।