संसारकै एक ठूला र प्रभावशाली लगानीकर्ताका रूपमा चिनिने ज्याक बोगलको हालै ८९ वर्ष उमेरमा निधन भएको छ। उनी क्यान्सरका बिरामी थिए।
उनी संसारकै दोस्रो ठूलो म्युचुअल फन्ड कम्पनी 'भ्यानगार्ड' का संस्थापक हुन्। सन् १९९६ सम्म भ्यानगार्ड समूहका प्रमुख कार्यकारी र २००० सम्म अध्यक्षका रूपमा कार्यरत थिए। निधनपछि उनका काम, उपलब्धि र योगदानबारे संसारभरि चर्चा-परिचर्चा छ।
बोगलको नवीन सोच र कामले लगानी व्यवस्थापनलाई विल्कुलै नयाँ आयाम र परिभाषा दिएको छ। त्यसैले पुँजी बजार, म्युचुअल फन्ड र लगानी व्यवस्थापनमा संलग्न व्यवसायी, पेसाकर्मी तथा लगानीकर्ताले उनका बारेमा केही जानकारी राख्नु उपयोगी हुनेछ। यस आलेखमा लगानी, कोष र सम्पत्ति व्यवस्थापनमा ज्याक बोगलका सिद्धान्त, अभ्यास र उनले सुरू गरेका नयाँ कामबारे चर्चा गर्नेछु।
बोगलको वास्तविक नाम जोन क्लिफ्टन बोगल हो। उनको जन्म सन् १९२९ मे महिनामा न्यूजर्सीको मोन्टक्लेरमा भएको थियो। जतिबेला उनी जन्मे, अमेरिकामा ठूलो आर्थिक मन्दी थियो। त्यही मन्दीमा उनका बाबुले लगभग सर्वस्व गुमाएका थिए।
उनले प्रिन्सटन विश्वविद्यालयबाट सन् १९५१ मा अर्थशास्त्रमा ग्राजुएसन गरे। ग्राजुएट डिग्रीमा उनको शोध थियो, म्युचुअल फन्ड। यसबाट प्रभावित भएर फिलाडेल्फियाको वेलिंगटन फन्डका संस्थापक वाल्टर मोर्गनले उनलाई आफ्नो म्युचुअल फन्ड कम्पनीमा काम दिए।
बोगलले वेलिंगटन फन्डमा २३ वर्ष काम गरे। कार्यकारी प्रमुख रहँदै उनलाई १९७४ मा वेलिंगटन फन्डबाट हटाइयो। लगत्तै उनले १९७५ जनवरीमा 'भ्यानगार्ड' स्थापना गरे। उनले यो नाम नाइल युद्धमा नेपोलियनविरुद्ध लडेको लर्ड नेल्सनको पानीजहाजबाट लिएका थिए। शब्दकोषमा भने 'भ्यानगार्ड' को अर्थ 'नयाँ प्रवृत्तिको नेतृत्व' पनि भनिएको छ। यसरी परिभाषित हुनुमा बोगलकै योगदान छ। उनले दुई दशकसम्म भ्यानगार्डको नेतृत्व गरेर लगानी (कोष/सम्पत्ति) व्यवस्थापनमा गरेका काम, उपलब्धि र योगदानको कदर गर्दै शब्दकोषमा नयाँ परिभाषा थपिएको हो।
बोगलको सबभन्दा महत्वपूर्ण योगदान 'इन्डेक्स फन्ड' को अवधारणा र त्यसको व्यवहारिक प्रयोग हो।
भ्यानगार्डमा उनले स्टक मार्केट इन्डेक्ससँग जोडेर व्यवस्थापन गरिने संसारकै पहिलो इन्डेक्स फन्डको सुरूआत गरेका थिए। यो कम खर्चमा व्यवस्थापन हुने निष्क्रिय फन्ड थियो, जसलाई बोगलले 'स्ट्यान्डर्ड एण्ड पुर ५००' मार्केट इन्डेक्ससँग जोडेका थिए। यसले आफ्ना लगानीकर्तालाई सक्रिय रूपमा व्यवस्थापन गरिने म्युचुअल फन्डले भन्दा उच्च प्रतिफल दिन्थ्यो।
इन्डेक्स फन्ड पनि म्युचुअल फन्ड नै हो। यी दुईको फरक भनेको लगानी व्यवस्थापन गर्ने तरिका हो।
इन्डेक्स फन्डले कुनै प्रमुख स्टक मार्केट इन्डेक्सलाई दुरुस्त (लगभग शतप्रतिशत) पछ्याउँछ। यसमा मार्केट इन्डेक्समा रहेका स्टकहरूको बजार पुँजीकरणको अनुपातमा लगानी गरिन्छ। यसो गर्दा मार्केट इन्डेक्स जुन रूपमा जति प्रतिशतले घटबढ गर्छ, इन्डेक्स फन्ड पनि त्यति नै प्रतिशतले घटबढ गर्छ।
यसको अर्थ, इन्डेक्स फन्डले मार्केट इन्डेक्सकै प्रतिफल प्राप्त गर्ने उद्देश्य राखेको हुन्छ। यसो गर्नुको पछाडि आजसम्म कुनै म्युचुअल फन्डले मार्केट इन्डेक्सलाई प्रतिफलमा निरन्तर उछिन्न नसक्नु हो। म्युचुअल फन्डमा त्यसरी कुनै स्टक मार्केट इन्डेक्सलाई पछ्याइँदैन र राम्रा मानिएका कुनै पनि धितोपत्र छानेर लगानी गरिन्छ।
लगानीका विश्वव्यापी दुई तरिका छन्: सक्रिय र निष्क्रिय। सक्रिय लगानीमा मूल्य कम भएका र भोलि मूल्य बढ्न सक्ने कम्पनीको गहिरो अध्ययन, अनुसन्धान र खोज गरिन्छ र तिनैमा लगानी गरिन्छ। यसमा खोज्ने, किन्ने, बेच्ने प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसो गर्दा अनुसन्धान खर्च, ब्रोकर शुल्क, व्यवस्थापन खर्च र अन्य शुल्कको विषय आउँछ।
निष्क्रिय लगानी विधिमा बजारमा राम्रा भनेर स्थापित कम्पनीमा लगानी गरिन्छ र ती धितोपत्रहरू लामो समय राखिन्छ। तुलनात्मक रूपमा यसमा धेरै कम खर्च लाग्छ र माथिका धेरै शुल्क हुँदैनन्।
म्युचुअल फन्डले सक्रिय लगानी विधि र इन्डेक्स फन्डले निष्क्रिय लगानी विधि प्रयोग गर्छन्। बोगलले निष्क्रिय लगानी विधि रोजे र यसैलाई प्रमाणित र स्थापित गरेर विश्वव्यापी बनाए।
उनको सम्पूर्ण दर्शन, सिद्धान्त र धारणा भनेको अति न्यून लागत र नाम मात्रको शुल्कमा लगानी व्यवस्थापन गरेर लगानीकर्तालाई धेरैभन्दा धेरै प्रतिफल दिनु हो। ग्राहकको लगानीलाई सहकारीको अवधारणामा नासोका रूपमा व्यवस्थापन गर्नुपर्छ भन्ने उनको मान्यता थियो।
सुरूआती दिनमा उनको लगानी विधिको खुबै आलोचना र व्यंग्य भएको थियो। वाल स्ट्रिटका लगानी व्यवस्थापकहरूले उनको खिल्ली उडाए। मानिसले त्यति नपत्याएकाले खासै सफल पनि भएन। सर्वसाधारणका लागि निष्कासन गरेको १५ करोड डलर बराबरको पहिलो इन्डेक्स फन्ड १ करोड १३ लाख मात्र बिक्री भएको थियो। यसको एक कारण ब्रोकरलाई दिइने ६ प्रतिशत बिक्री शुल्क (लोड फी) थियो। लगानीकर्ताले यो शुल्क मन पराएनन्। भ्यानगार्डले पनि यसलाई १९७७ मा पूर्ण रूपमा हटायो।
जब पुँजी बजारमा समस्या देखिँदै गयो, तब उनको विधि प्रख्यात हुन थाल्यो। हरेक लगानी व्यवस्थापक उनको विधि पछ्याउन थाले। न्यून शुल्क र कम खर्चमा सञ्चालित उनको इन्डेक्स फन्डले लगानीकर्तालाई सक्रिय रूपमा व्यवस्थापन गरिएका कोषहरूले भन्दा उच्च प्रतिफल दिन सफल थियो।
सत्तरी दशकका सुरूआती वर्षमा बोगलले इन्डेक्स फन्ड सुरू गर्दैगर्दा सक्रिय व्यवस्थापन गरिने म्युचुअल फन्डहरू उनको फन्डभन्दा प्रतिफलमा अगाडि थिए। असी दशकका सुरूआती वर्षमा उनको इन्डेक्स फन्डले आधाभन्दा धेरै म्युचुअल फन्डहरूले भन्दा ज्यादा प्रतिफल दिन थाल्यो। असी दशकको अन्ततिर आउँदा भने भ्यानगार्डको इन्डेक्स फन्डले अरूले भन्दा धेरै प्रतिफल दिन थाल्यो। यसलाई भ्यानगार्डले प्रतिफलमा इन्डस्ट्रीलाई जितेको अवस्था भनिन्छ।
इन्डेक्स फन्डले अरूले भन्दा राम्रो प्रतिफल दिँदै गर्दा वाल स्ट्रिटमा हरेक वर्ष 'स्टक छनौट र मार्केट पूर्वानुमान' गर्ने कार्य व्यंग्य र मजाकको विषय बन्थ्यो। हरेक वर्ष 'स्टक छनौटले क्वांट्स (सांख्य विश्लेषक वा गणितज्ञ) र इन्डेक्स फन्डले भन्दा राम्रो प्रतिफल दिन्छ' भन्दै अनुमान गर्दा अन्तमा उनको लगानी नीतिअनुसारका इन्डेक्स फन्डले उच्च प्रतिफल प्राप्त गरेको अवस्था हुन्थ्यो।
भ्यानगार्डका अतिकम खर्चका फन्डहरू सफल हुनुको एक प्रमुख कारण सक्रिय कोष व्यवस्थापकहरूबीचको भयंकर प्रतिस्पर्धा थियो।
असी र नब्बे दशकमा लगानीकर्ता स्टक बजारमा लगानी गर्न आतुर थिए। नामीगिरामी लगानी व्यवस्थापक (फन्ड म्यानेजर) हरू दिन दुई गुणा रात चौगुणाको हिसाबले लगानी बढाइरहेका थिए। उनीहरू भौतिक विज्ञानका वैज्ञानिक र गणितमा पिएचडी गर्नेहरूको अध्ययन र अनुसन्धानमा आधारित रहेर लगानी व्यवस्थापन हुने नयाँ र उच्च प्रविधिका हेज् फन्डहरूको विरुद्ध थिए। प्रतिस्पर्धाको यो कडा दौडले बजार जित्न कठिन बन्दै थियो।
सन् २०००-०२ र २००८ को स्टक बजार क्र्यासले लगानीकर्ताहरू लगानी व्यवस्थापन लागत र शुल्कबारे सचेत हुन र सोधखोज गर्न थाले। त्यसबेला अपरिस्कृत (सर्वसाधारण) लगानीकर्ता मात्र बिक्री शुल्क भएका म्युचुअल फन्डमा लगानी गर्थे। पेन्सन फन्ड, निवृत्तिभरण कोष, अक्षयकोष, गुठीजस्ता परिस्कृत (संस्थागत) योजनाहरूले पहिल्यैदेखि इन्डेक्स फन्डमा लगानी गर्थे।
तर २००२ मा बजार क्र्यासपछि थुप्रै अरू लगानीकर्ताले आफ्नो धेरै लगानी कम लागत हुने इन्डेक्स फन्डतिर सार्न सुरू गरे। यो अवस्थाले शुल्क घटाउने होडबाजी (युद्ध) नै चल्यो। फेडालिटी र चार्ल्स स्वाबजस्ता भ्यानगार्डका प्रतिस्पर्धीले शुल्क घटाएर लगभग शून्य नजिक पुर्याइदिए। यो भ्यानगार्डकै लगानी नीतिको परिणाम थियो। आफैंले सुरू गरेको लगानी विधिका कारण भ्यानगार्ड आफैं अप्रिय प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्थामा आइपुग्यो।
कम्प्युटर प्रविधिले भ्यानगार्डको लगानी व्यवस्थापनमा ठूलो भूमिका खेलेको छ। सही तरिकाले इन्डेक्स फन्ड सञ्चालन गर्न प्रविधिबिना सम्भव हुन्थेन। दैनिक हजारौं लगानीकर्ताले फन्ड किनेर आउने नगद र लगानी गरिएका कम्पनीबाट आउने लाभांशलाई इन्डेक्सको संरचनासँग मिलाएर लगानी व्यवस्थापन गर्ने काम कठिन र चुनौतीपूर्ण थियो।
भ्यानगार्डको पहिलो इन्डेक्स फन्डले 'स्ट्यान्डर्ड एण्ड पुर ५००' मा रहेका आधा (करिब २५०) कम्पनीमा मात्र लगानी गरेको थियो। जब १९९२ मा कम्प्युटर प्रविधि र ट्रेडिङ विधि आयो, तब मात्र भ्यानगार्डले आफ्नो 'पूर्ण स्टक मार्केट इन्डेक्स फन्ड' सुरू गर्न सक्यो। १९९२ मा सुरू गरिएको यो इन्डेक्स फन्ड बन्द प्रकृतिको छ। यसले मार्केटका ३५०८ स्टकमा कुल ६७२.२० अर्ब डलर सम्पत्ति लगानी गरेको छ। यसको वार्षिक खर्च अनुपात ०.१४ प्रतिशत छ।
सन् २०१९ भ्यानगार्डका लागि महत्वपूर्ण हुँदैछ। यसै वर्ष इतिहासमै पहिलोपटक इन्डेक्स फन्डमा रहेको कुल लगानीले सक्रिय व्यवस्थापन हुने म्युचुअल फन्डमा रहेको कुल लगानीलाई उछिन्दैछ। यो बोगलकै देन हो। २०१८ मा भ्यानगार्ड एक्लैले २१८ अर्ब डलर लगानी भित्र्याउँदा बाँकी फन्डहरूले २३७ अर्ब डलर लगानी गुमाएका थिए।
बोगलले गैरनाफामूलक सहकारीका रूपमा भ्यानगार्ड सुरू गरेका थिए। यसका ग्राहक नै यसका सेयरधनी थिए। आज उसका २ करोडभन्दा बढी लगानीकर्ता र सेयरधनी १७० देशभर फैलिएका छन्। पहिलो वर्ष १.८ अर्ब सम्पत्ति व्यवस्थापन गरेको भ्यानगार्ड आज ५.३ ट्रिलियन (५३ खर्ब) डलरभन्दा धेरैको लगानी र सम्पत्ति व्यवस्थापन गर्छ।
अमेरिकामा मात्र उसका १९० इन्डेक्स फन्ड र सक्रिय लगानीमा व्यवस्थापन हुने म्युचुअल फन्ड छन् भने २२० त्यस्ता अतिरिक्त्त गैरअमेरिकी फन्ड छन्। आज भ्यानगार्डमा १६ हजार ६ सय कर्मचारी छन्। उसले इन्डेक्स फन्ड इन्डस्ट्रीको ५१ प्रतिशत (आधाभन्दा धेरै) हिस्सा ओगट्छ। उसले व्यवस्थापन गरेका कोषमा खर्चको अनुपात औसतमा ०.११ प्रतिशत छ, जुन म्युचुअल फन्ड इन्डस्ट्रीमा सबभन्दा कम मानिन्छ।
संसारका धेरै ठूला लगानीकर्तामध्ये एक बोगलले आजीवन धितोपत्र 'किन्ने र राख्ने' नीतिको व्याख्या गरिरहे। उनले अतिकम खर्च र शुल्कमा लगानी व्यवस्थापन गर्ने विधि र तरिका विकास गरे। उनले प्रतिपादन गरेको सिद्धान्तको सबभन्दा धेरै फाइदा तिनै नियमित लगानीकर्तालाई भयो जसले उनको नामै सुनेका थिएनन्। पुराना मूल्य मान्यतामा अडिग रहेर उनले धेरै उदाहरणीय काम गरे, जुन धेरैले रुचाएको र अरूले गर्न नसकेको थियो।
बोगलले लाखौं-करोडौं सर्वसाधारण अमेरिकीलाई आफ्नो घर किन्न, पढाइ खर्च बेहोर्न र सेवानिवृत्त जीवन सुविधाजनक रूपमा बिताउन सक्षम बनाए। भविष्यका लागि बचत गर्ने अमेरिकीहरूको बानीमा उनले ठूलो परिवर्तन र क्रान्ति ल्याए। साना लगानीकर्ताको चासोको निपुणताका साथ सम्बोधन गरे।
उनी जीवन्त थिए, तर प्रभाव देखाउन नचाहने निष्प्रभावी स्वभावका पनि थिए। पुँजी बजारमै कार्यरत धेरैलाई उनका बारेमा थाहा थिएन। यसको कारण थियो, उनको स्वभाव। उनी प्रचारमुखी र सञ्चार माध्यममा छाउन रुचाउँथेनन्। उनी काममा धेरै केन्द्रित हुन्थे र रमाउँथे।
उनी वारेन बफेटजस्तो हरेक अमेरिकीको घरमा सुनिने र चिनिने नाम थिएनन्। उनले कहिल्यै अति ठूलो र प्रकाण्ड व्यक्ति बन्ने चाहना राखेनन्। उनी जहिल्यै सानो कम्पनीका रूपमा चल्ने चाहना राख्थे। र, भन्थे, 'लगानीकर्ताको हितका लागि जे गर्दा राम्रो हुन्छ, त्यही काम गरे कोष (नगद) र सम्पत्ति आफैं थुप्रिन्छ।'
खर्बौंको कोष सञ्चालन र व्यवस्थापन गर्ने बोगल अर्बपति थिएनन्। जबकी, वाल-स्ट्रिटका अन्य धेरै त्यस्ता लगानी व्यवस्थापकहरू प्रायः अर्बपति छन्। यसको कारण उनको अत्यन्त न्यून व्यवस्थापन खर्चमा लगानी व्यवस्थापन गर्ने सिद्धान्त र दर्शन हो। उनी सजिलै अर्बपति बन्नसक्थे तर उनले आफ्ना ग्राहकलाई अर्बपति बनाउन रुचाए।
बोगलको नामसँग १० खर्ब (एक ट्रिलियन) डलरको प्रसंग सधैं जोडिएर आउँछ। यो रकम उनले ४३ वर्षअघि भ्यानगार्ड समूह सुरू गरेयता उनकै कारण अमेरिकी लगानीकर्ताले लगानी व्यवस्थापन लागत र शुल्कमा गरेको बचत हो। यो अंक सञ्चारमाध्यम ब्लुमबर्गका एरिक बाल्चुनसले २०१६ मा गणना गरेका थिए। लगानी व्यवस्थापन क्षेत्रमा यसलाई 'भ्यानगार्ड इफेक्ट' भनिन्छ। लगानी व्यवस्थापन व्यवसायमा यति ठूलो प्रभाव आजसम्म कसैले पार्न सकेको छैन। यो रकम आज संसारको सबभन्दा ठूलो कम्पनी (एप्पल वा माइक्रोसफ्ट वा गुगल वा अमेजन डटकम) को बजार पुँजीकरणभन्दा धेरै छ।
बोगलले लगानी क्षेत्रमा मात्र प्रसिद्धी कमाएका होइनन्। उनी उच्च नैतिक मूल्य भएका र निर्भीक धारणा राख्ने व्यक्तिका रूपमा पनि उत्तिकै परिचित थिए। वाल-स्ट्रिटको संस्थागत लालच र ज्यादतीविरुद्ध बोलिरहे, लागिरहे। व्यक्तिगत स्वार्थमा स्टक छनौट गर्ने र लगानीको सल्लाह दिनेहरूको उनी जहिल्यै खुला र प्रस्ट आलोचक थिए।
यसै कारण त्यतिबिघ्न ठूलो वाल-स्ट्रिट फर्मको प्रमुख भएर काम गरे पनि वाल-स्ट्रिटमा उनका धेरै मित्र थिएनन्। म्यासाचुसेट विश्वविद्यालयका प्राध्यापक तथा विख्यात अर्थशास्त्री पाउल स्यामुल्सन र प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक बर्टन मलकिलजस्ता वालस्ट्रिट बाहिरका व्यक्तिहरू उनका नजिकका मित्र थिए।
प्रख्यात लगानीकर्ता वारेन बफेटले आफ्नो वार्षिक लेटर (चिट्ठी) मा समेत 'अमेरिकन लगानीकर्ताका लागि धेरै काम गरेका बोगल मेरो र अरू धेरैका सही नायक हुन्' भनेर उनको उच्च मूल्यांकन गरेका छन्।
नैतिकता र इमानदारीबारे सन् २००८ मा प्रकाशित आफ्नो किताब 'इनफ' मा उनी भन्छन्, 'नैतिकता र इमानदारीको जुन स्तर मैले आफ्नो लामो जीवनमा विकास गरेँ, त्यो मेरो आत्मा र हृदयदेखि नै मैले स्थापना गरेको मेरो सानो फर्ममा लगाउने कोशिस गरेँ।'
उनले इन्डेक्स फन्डको अवधारणा विकास गरे। त्यसको व्यवहारिक रूपमा सफल प्रयोग गरे। र, इन्डेक्स फन्डलाई विश्वव्यापी बनाए। त्यसैले उनलाई 'फादर अफ इन्डेक्स इन्भेस्टिङ' भनिन्छ।
१९९९ मा फर्च्युन पत्रिकाले बोगललाई पुँजी बजार र लगानी क्षेत्रमा काम गर्ने बीसौं शताब्दीका चार विख्यात व्यक्तिमध्येको एक भनेर उल्लेख गरेको थियो। २००४ मा टाइम पत्रिकाले पनि उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा राखको थियो।
समग्रमा उनका तीन प्रमुख दृष्टिकोणले वाल-स्ट्रिटको पारम्परिक लगानी व्यवस्थापन गर्ने तरिकामा आमूल परिवर्तन ल्याइदियो।
पहिलो, म्युचुअल फन्डले बजारले भन्दा निरन्तर उच्च प्रतिफल दिन सक्दैन।
दोस्रो, वाल-स्ट्रिटको अभ्यासविपरीत उनले सहकारीको भावनालाई भ्यानगार्डको स्वामित्वमा भित्र्याए र सफल बनाए।
तेस्रो, व्यवसाय ग्राहकका लागि उनीहरूकै ट्रस्ट (नासो) का रुपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता स्थापित गरे।
लगानीसम्बन्धी बोगलबाट सिक्नैपर्ने केही अत्यन्त राम्रा विधि, तरिका र सूत्र छन्।
जस्तै: लगानी दीर्घकालका लागि गर्नुपर्छ। लगानीमा सम्पत्तिको बाँडफाँट गर्नुपर्छ र सबै सम्पत्ति एउटै डालोमा राख्नुहुँदैन। सरल लगानी विधिले जटिल लगानी प्रक्रियाले भन्दा जहिल्यै राम्रो प्रतिफल दिन्छ। लगानी गर्दा लाग्ने व्यवस्थापन शुल्क र करका कारण इन्डेक्स फन्डले दिने प्रतिफल सक्रिय लगानी विधिले दिने प्रतिफलभन्दा धेरै हुन्छ। भिड पछ्याउनु र अन्तिम युद्धझैं बुझेर लगानी गर्नुभन्दा एकदिन बजार फर्कन्छ भन्ने बुझेर लगानी गर्नु उत्तम हुन्छ। बजार घट्दा कठिन भए पनि आफ्नो नीतिमा अडिग रहनु नै दीर्घकालीन रणनीति हुनुपर्छ। यस्तो रणनीति नै एक अनुशासित लगानीकर्ताको सच्चा मित्र हुनसक्छ। क्षणक्षणमा लगानी नीति परिवर्तन गरिरहनु घातक हुन्छ।
अवकाश भएपछि पनि उनी निष्क्रिय थिएनन्। उनले लगानी, म्युचुअल फन्ड, सम्पत्ति र कोष व्यवस्थापनमा १३ वटा किताब लेखे। हालै २०१८ मा पनि उनले 'स्टे द कोर्स: द स्टोरी अफ भ्यानगार्ड एन्ड द इन्डेक्स रिभोलुसन' नामक किताब प्रकाशन गरेका थिए। उनका ज्यादै महत्वपूर्ण र पढ्नै पर्ने किताबमा 'कमनसेन्स अन म्युचुअल फन्ड' र 'लिटल बुक अफ कमनसेन्स इभेस्टिङ' छन्। त्यस्तै २०१६ मा उनको बेरी रिटहोल्ट्जसँगको अन्तर्वार्ता पनि सुन्नैपर्ने गरी जानकारीमूलक, व्यवहारिक र उपयोगी छ।
बोगलका मनपर्ने किताबमा बेन्जामिन ग्राहमको 'इन्टलीजेन्ट इन्भेस्टर' र बुर्टन मलकिलको 'र्यान्डमम वाक डाउन वालस्ट्रिट', विलिअम बर्नस्टिनको 'फोर पिलार अफ इन्भेस्टटिंग', डेभिड स्वेन्सनको 'अनकन्भेन्सनल सक्सेस', पिटर बर्नस्टिनको 'अगेन्स्ट द गड' लगायत थिए।
बोगलका पाठक र प्रशंसकले उनको लगानीका सिद्धान्त, विधि र विचार समेटेर 'बोगलहेड्स डट ओआरजी' नामको वेबसाइट पनि सञ्चालनमा ल्याएका छन्, जहाँ उनीबारे अरु धेरै सूचना र जानकारी पाउन सकिन्छ।