बैंकिङ्ग फर इन्टरनेशनल सेटलमेन्टको अध्ययन अनुसार ९८ प्रतिशत बैंकहरु कमसल सम्पत्तिको गुणस्तरले असफल हुन्छन् भने खराब ब्यवस्थापनले ९० प्रतिशते बैंकहरु असफल हुन्छन्। त्यस्तै गरी प्रतिकूल आर्थिक बातावरणले ३५ प्रतिशत बैंकहरु असफल हुन्छन् र जालसांजी बाट ११ प्रतिशत बैंकहरु असफल हुन्छन्।
फेडरल डिपोजिट इस्न्सोरेन्स कर्पाेरेशनको तथ्यांड्ढ अनुसार २००९ देखि २०१८ सम्म कार्पाेरेशनमा आवद्ध बैंकहरु मध्ये ५०३ बैंकहरु असफल रहे। जसबाट जम्मा ३ लाख ३८ हजार १८२ मिलियन डलर बराबरको नोक्सान भएको देखिन्छ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी २०१० मा १५७ बैंकहरु त्यसपछि २००९ मा १४० वटा बैंकहरु असफल भएको देखिन्छ। त्यसयता क्रमश घटेर २०१८ सम्म आईपुग्दा शून्यमा रहेको देखिन्छ।
अमेरिकामा गरिएको एउटा अध्ययनमा २००८ देखि २०११ सम्म २९८ बैंकहरु असफल भएको पाइएको थियो जसमध्ये कुल सम्पत्ति १ बिलियन डलर भन्दा कम भएका बैंकहरु २५७ अर्थात ८६.२४ प्रतिशत तथा कुल सम्पत्ति १० बिलियन डलर भन्दा बढी भएका ३६ बैंकहरु अर्थात १२.०८ प्रतिशत थिए। कुल सम्पत्ति १० बिलियन डलर भन्दा बढी भएका बैंकहरु ५ वटा अर्थात १.६८ प्रतिशत थिए।
असफल बैंकहरुको तथ्याङ्कबाट साना बैंकहरु बढी प्रभावित भएको र मध्यम आकारका बैंक केही कम प्रभावित भएको तथा ठूलो बैंक एकदम कम प्रभावित भएको देखिन्छ। यो तथ्याङ्कले ठूला बैंक तथा वित्तीय संस्थाहरुको प्रतिस्पर्धात्मक तथा जोखिम बहन क्षमता पनि ठूलो भई बैंकिङ्ग क्षेत्रमा आउने बिभिन्न समस्याहरुबाट हुनसक्ने ठूलो नोक्सानीबाट जोगाउन सक्छ भन्ने देखाउँछ।
२०१७ मा युक्रेनको बैंकहरुको औसत निष्क्रिय कर्जा ५४.५ प्रतिशत रहेको थियो। यति धेरै निष्क्रिय कर्जा हुनुमा डोनबास क्षेत्रमा भएको सरकार बिरोधी समूहबाट भएको आन्दोलन र युद्ध प्रमुख कारण थियो।
फेब्रुअरी २०१४ बाट शुरु भएको आन्दोलन र युद्धले अर्थतन्त्र अस्तब्यस्त भई बैंकहरु समस्यामा पर्न थाल्यो। फलस्वरुप युक्रेनको केन्द्रिय बैंकले नोभेम्बर २०१५ सम्म ६२ वटा बैंकहरु टाट पल्टिएको घोषणा गर्नुपरेको थियो। प्रतिकूल राजनीतिक बातावरणका कारणले अर्थतन्त्रमा नकरात्मक असर पर्न गई बैंकहरु असफल भएको युक्रेन एउटा गतिलो उदाहरण हो।
२००४ मा भारतको ग्लोबल ट्रष्ट बैंक असफल भयो। बैंकले शेयर बजारमा अत्याधिक लगानी गरेको थियो। एउटै क्षेत्रमा ठूलो लगानी गरेको बैंकले कर्जाको राम्रो पोर्टफोलियो ब्यवस्थापन गर्न नसकी अत्याधिक जोखिम लिएको थियो।
२००१ मा भारतीय शेयर बजारमा समस्या देखा परेपछि बैंक पनि एकाएक समस्यामा पर्न थाल्यो। जसको कारणले बैंक नै बन्द गर्नुपर्ने अवस्था आयो तर, २००४ मा बैंकलाई ओरियन्टल बैंक अफ कमर्शसँग मर्ज गरेर उद्दार गरियो। २००७–८ को बिश्वब्यापी आर्थिक संकट आउनुपूर्व बिश्वमा धेरै बैंकहरुले रियल स्टेट क्षेत्रमा अधिक लगानी गरेका थिए। जसको परिणम स्वरुप धेरै संकट आएको थियो।
नेपालमा पनि रियल स्टेटमा अधिक लगानी गर्नाले भिवोर बिकास बैंक, नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स, किष्ट बैंक लगायत अन्य संस्थाहरु असफल भएका थिए। यद्यपि यी संस्थाहरु असफल हुनुमा अन्य बिभिन्न कारणहरु पनि थिए।
१९९२ मा पाकिस्तानको बैंक अफ क्रेडिट एण्ड कमर्श ईन्टरनेशनल (बिसिसिआई) असफल भयो। यो बैंक असफल हुनुको मुख्य कारण जालसाजी तथा सम्पत्ति शुद्धीकरण रह्यो। सद्दाम हुसेन तथा उनी जस्ता अन्य ब्यक्तिहरुको खाता खोलिएकोले बैंकलाई सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्नुपरेको थियो।
बैंकका कर्मचारीको अपराधीहरुसँगको साँठगाँठले वित्तीय अपराधको मुद्दा समेत खेप्नुपरेको थियोे। नेपालमा हालसम्म सम्पत्ति शुद्धीकरणका कारणले बैंक तथा वित्तीय संस्थाहरु असफल नभएता पनि युनाईटेड विकास बैंक, सम्झना फाइनान्स, नेपाल विकास बैंक, हिमालयन फाइनान्स, नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स, किष्ट बैंक लगायत अन्य केही संस्थाहरु जालसाजीका कारणले असफल भएका थिए।
विश्वका विभिन्न बैंकहरु बिभिन्न समयमा विविध कारणले असफल भएका छन्। बैंकहरु असफल हुनु भनेको अर्थतन्त्र असफल हुनु हो, त्यसैले अर्थतन्त्र सफल बनाउन बैंकहरु सफल हुन जरुरी हुन्छ। बैंकहरु असफल हुनुभन्दा पहिला उनीहरुले फरक खालका संकेत दिईरहेका हुन्छन्।
१९९२ मा फ्रान्सको क्रेडिट लियोन्नेल्स बैंक असफल भयो। यो बैंक खराब ब्यवस्थापन र अत्याधिक शाखा तथा अधिक क्षेत्रमा ब्यवसाय बिस्तारको कारणले असफल भएको थियो। जसको कारणले १९८८ मा यो बैंक विभिन्न वित्तीय अपराधमा समेत फँसेको थियो। बैंकमा दक्ष कर्मचारीको अभाव भएका कारणले सम्पत्तिहरुको चरम दुरुपयोग भएको थियो।
हालसम्म नेपालमा अत्याधिक शाखा तथा अधिक क्षेत्रमा ब्यवसाय बिस्तारको कारणले बैंक तथा बित्तीय संस्थाहरु असफल नभए तापनि खराब ब्यवस्थापनका कारणले गर्दा केही असफल भएका छन्।
तरलता अभावको कारणले पनि बैंकहरु असफल भएका छन्। २००७–८ को बिश्वब्यापी आर्थिक संकटको समयमा बिश्वका बिभिन्न देशका बैंकहरुमा तरलता अभाव भएकाले असफल भएका थिए। नेपालमा पनि समय समयमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुने गरेको छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणहरु प्रयोग गरेर समस्या समाधान गर्दै आईरहेको छ। तर, यी अस्थायी भएकाले स्थायी समाधानको लागि बैंकरहरुले सोच्नु जरुरी छ।
म्याथ्यु ब्यारोन र वि जिओंङ्गले २०१७ मा गरेको अध्ययनले अर्थतन्त्र सवल छ भनेर बढी आशावादी भई अध्याधिक कर्जा लगानी गरेमा बैंकमा समस्या आउने बताएका छन्। लेखकले १९२० देखि २०१२ सम्म विकसित देशहरुको अर्थतन्त्र अध्ययनमा बैंकहरुले कर्जा लगानी गर्दा सवल अर्थतन्त्रलाई मात्र ख्याल राखेर भविष्यमा आउनसक्ने जोखिमलाई वेवास्ता गरेको पाएका थिए।
२०७३ सालमा नेपालमा पनि बैंकरहरु हौसिएर आक्रमक कर्जा लगानी गरेका थिए। लामो समयसम्म भूकम्पबाट थलिएर प्रतिकूल बातावरणको कारणले निराश भएका बैंकरहरु एकाएक स्थानीय चुनावको घोषणासँगै देशको आर्थिक क्षेत्रमा देखापरेको सकरात्मक बातावरणका कारणले हौसिएका थिए।
यसरी आक्रामक लगानीको कारणले छिट्टै नै २०७३ पौष मसान्तपछि बैंकिङ्ग क्षेत्रमा कर्जा संकुचन देखा पर्यो। कर्जा संकुचनका कारणले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बृद्धि गरे, जसको असर अहिलेसम्म पनि परिरहेको छ र अहिले पनि समय समयमा कर्जा संकुचन भईरहेको अवस्था छ।
लामो समयसम्म कमजोर वित्तीय सूचाङ्कहरु र निष्क्रिय कर्जा बढ्ने क्रम रहीरह्यो भने बैंक असफलताको बाटोमा जाँदैछ भन्ने संकेत बुझ्नुपर्छ। वित्तीय सूचाङ्क सवल बनाउन बैंक ब्यवस्थापनको मुख्य ध्यान हुनुपर्छ। लामो समय निक्षेपको ब्याजदर बजारको भन्दा अधिक भएमा, वासलात बाहिरको दायित्वमा बढ्दो दाबी भएमा पनि बैंक असफलताको बाटोमा गइरहेको बुझ्नुपर्छ।
बैंकलाई आवश्यक कुनै परियोजना तथा तरलता ब्यवस्थापनको लागि निश्चित समयको लागि अधिक ब्याज दिने रणनीति भने सकरात्मक हुन्छ तर, कुनै संस्थाले जुनसुकै बेला पनि अधिक ब्याज दिन्छ भने संस्था असफल हुने बाटोमा छ भन्ने बुझ्नुपर्छ।
सृजनात्मक लेखा राखेर बास्तविकता छल्नु, वित्तीय विवरण प्रकाशनमा ढिलाई गर्ने, बारम्बार लेखापरिक्षकको परिवर्तन गर्नु, बारम्बार सञ्चालक समिति तथा ब्यवस्थापनमा परिवर्तन हुनु, राजनीति प्रभावमा पर्नु, वित्तीय बजारमा संस्थाको नकरात्मक हल्ला चल्नु, शेयरको मूल्यमा अधिक उतार चढाव हुनु र आर्थिक मन्दि आउनु अदि बैंक असफल हुने संकेतहरु हुन्।
नेपाल बिश्वमा नै अधिक सम्भावना भएको देशहरु मध्ये एक भएकोले बैंकरहरुले उक्त सम्भावनाको साथसाथै आईपर्ने जोखिमको बिश्लेषणलाई पनि मध्यनजर गरेर रणनीति बनाउनुपर्छ। सम्भावना भएको देशमा बातावरण अनुकुल भएमा कर्जा लगानीको माग ओईरिनसक्छ र यस्तो अवस्थामा बैंकरहरुले संयम नगुमाई काम गर्नुपर्छ।
अनुकुल हुँदा मात्तिनु र प्रतिकूल हुँदा आत्तिनु हुँदैन। अल्पकालीन फाइदाका लागि दिर्घकालीन संकट निम्त्याउनु हुँदैन। आत्तिने, मात्तिने कार्यबाट सजग रही अगाडि बढ्नु बैंकहरुको आजको आवश्यक्ता हो। आत्तिए वा मात्तिए बैंक असफल हुन सक्छन्।
(लेखक ओम डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन्)