सबेरै उड्ने चरीले सजिलै आहारा बटुल्छे। ढिलो दिनचर्या सुरू गर्नेका लागि जीवन कठिन हुन्छ।
बिहान सजिलै पाइने आहारासमेत घाम चर्किएपछि अभाव हुन थाल्छ। यसले चराहरूबीच प्रतिस्पर्धा बढाउँछ। ढिलो दिनचर्या सुरू गर्नेहरू वैकल्पिक भोजनका लागि दिनभर भौंतारिनुपर्छ।
गाइने चराले त अधिकांश आवश्यकता झिसमिसेमै पूरा गरिसकेको हुन्छ। सुरिलो आवाज निकालेर वरिपरिको भूमि आफ्नो अधिकार क्षेत्र भएको सन्देश र चेतावनी उसले अरू चरालाई दिन्छ। उसले त्यही संगीतमय चिरबिरमार्फत् अरू भालेलाई आफ्नो क्षेत्रबाट भगाउँछ। पोथीलाई आकर्षित गर्छ।
जानकारहरू भन्छन्- सुरिलो संगीतमय आवाज निकाल्नु भनेको भाले चराले आफ्नो सामर्थ्य र पुरुषत्व प्रदर्शन गर्नु हो। दिनको कोलाहलसँगै चराका संगीतमय आरोह मधुर र सुस्त भइसकेको हुन्छ।
चरीका शारीरिक आवश्यकता पूरा भइसकेको हुन्छ। बाँकी दिनका लागि चाहिने ऊर्जा जोहो पनि उसले गरिसकेको हुन्छ। अब बाँकी दिन उनीहरूले सहज र कम परिश्रम चाहिने काममा बिताउँछन्।
कठिन त दिनचर्या ढिलो सुरू गर्नेलाई हो।
मानव समाजमा पनि ढिलो उठ्ने व्यक्तिको जीवन कहाँ सहज हुन्छ र!
हाम्रो समाजको घडी चाँडै सुतेर चाँडै उठ्ने व्यक्ति अनुकूल जडान गरिएको हुन्छ। त्यसैले त भनिन्छ, 'अर्ली बर्ड क्याचेज् द वर्म।'
सबेरै दिनचर्या सुरू गर्नुपर्छ भन्ने शिक्षा हामीले चराकै संसारबाट लिएका हौं। परिवार, समाज र राज्यले बालकलाई दिने एक प्रमुख उपदेश पनि 'अल्छी गरी नसूत बाबु बिहानसम्म' भन्ने हो।
चाँडै उठ्ने व्यक्ति अर्थात् 'अर्ली बर्ड' को जीवन स्वस्थ र सफल मानिन्छ। त्यसविपरीत 'नाइट अउल' को जीवन अस्वस्थ र उल्लूको जस्तो एकोहोरो, अल्छे र अर्थहीन हुन्छ भनिन्छ।
त्यसैले 'अर्ली बर्ड' हुन मैले निकै लामो संघर्ष गरेको थिएँ। जीवनमा असफल हुने कसको पो चाहना हुन्छ र!
बिहान ढिलोसम्म सुत्ने मान्छेको सबेरै उठ्नेको तुलनामा चाँडै मृत्यु हुने र रक्सी तथा धूमपानको लत पनि बढी नै हुने अनुसन्धाताहरूको दाबी छ। उनीहरू चाँडै सुत्नेको तुलनामा करिब ६ प्रतिशत बढी डिप्रेसनको शिकार हुने पनि अध्ययनले देखाउँछ।
निद्राका केही आधारभूत तथ्य र विश्लेषण धेरैपछि सुनेको हुँ। मैले चाँडै उठ्ने बारम्बार प्रण गर्नुको कारण भने घरपरिवारको चर्को दबाब थियो। त्यो दबाब मेरै भविष्य उज्ज्वल होस् भनेर थियो।
त्यसैले, मलाई बिहानै उठाउन कोशिस गर्ने मेरो परिवारप्रति क्रोधभन्दा पश्चातापको बोझ थियो। त्यो दैनिकजस्तो थियो। त्यो बोझ बढ्दो थियो।
बुबाको गुनासो र चेतावनी एकैपटक हुन्थ्यो, 'प्रकृतिले बनाइदिएको बाटोको उल्टो दिशा हिँडेपछि जीवन कहाँ राम्रो हुन्छ र!'
बिहान अबेरसम्म सुत्नु तामोसी स्वभावको प्रतिबिम्ब भएको आमाको तर्क हुन्थ्यो।
न्यानो सिरक कसैले जबरजस्ती तानिदिएपछि बडो संघर्ष गर्दै दिनचर्या सुरू गर्थें। साँच्चै, मेरो मनमा प्रश्न उठ्थ्यो, 'सारा दुनियाँ बिहान उठ्न सक्छ, म मात्रै किन सक्दिनँ?'
मलाई लाग्थ्यो, म अत्यन्त अल्छी भएर हो। त्यसैले भोलि बिहानदेखि झिसमिसेमै उठेर दगुर्छु। घर फर्किएर नियमित काम सुरू गर्छु। यी प्रतिज्ञा दिनहुँ गर्थें।
साँझ अत्यन्त ऊर्जाशील मेरो मस्तिष्क र शरीर ती प्रतिज्ञा पूरा गर्न तम्तयार हुन्थे। साँझ बेला त्यो कत्ति पनि असम्भव लाग्दैनथ्यो।
मेरो संघर्ष केवल संघर्षमा सीमित रह्यो। बिहान म गहिरो निद्राबाट ब्युँझिन सकिनँ। ब्युँझिए पनि उठ्न सकिनँ। उठे पनि फेरि सुत्नेबाहेक अर्को काम गर्न सकिनँ।
यिनै कारणले 'टिनएज' देखि नै 'म अरूभन्दा फरक प्राणी हुँ' भन्ने महशुस भइसकेको थियो। लाग्थ्यो, मेरा मस्तिष्कका तार फरक ढंगले कसिएका छन्। साँझ जति चाँडै सुत्न गए पनि ओछ्यानमा उत्तानो परेर छानो हेर्दै गहिरो सोचमा डुब्नु वा छट्पटाउनुबाहेक मसँग विकल्प थिएन। जति गरे पनि शरीर थाकेन, दिमागको बत्ती निभेन। चाँडै सुताउने मेरो परिवारको प्रयास व्यर्थ भयो।
उमेर बढ्दै गर्दा अझै गाह्रो हुँदै गयो।
एसएलसी परीक्षा बेला बिहान उठेर पढ्न प्रत्येक दिन परिवारको दबाब झेल्नुपर्यो। जसरी-तसरी बिहानै उठेर के नै पो हुन्छ र! शरीरको बत्ती त निभेको हुन्थ्यो।
धेरै वर्षपछि काठमाडौंका केही डाक्टर र मनोचिकित्सकसँग नसोधेको होइन। उनीहरूको जवाफ उस्तै हुन्थ्यो, 'प्रयास गर्नुपर्छ, केही दिन गाह्रो होला, त्यसपछि त शरीरले 'एडजस्ट' गरिहाल्छ नि।'
उसो त त्यस्तो प्रकृतिको मान्छे म एक्लो थिइनँ भन्ने ज्ञान पनि धेरै पहिले नै प्राप्त भइसकेको थियो।
मलाई यो पनि थाहा भइसकेको थियो, उठ्ने र सुत्ने समय वा आहारविहार परिवर्तन गरेर मात्र मेरो जीवन परिवर्तन हुँदैन। तै मनको कुनै कुनामा आशाको दियो निभेको थिएन। असामान्यबाट सामान्य हुन कसलाई मन हुँदैन र! तर सबै प्रयास व्यर्थ थिए।
मेरो जस्तो निद्राको अवस्थाले 'डिलेड स्लिप फेज सिन्ड्रोम' भन्ने वैज्ञानिक नाम पनि पाएको छ भन्ने थाहा पाउन वर्षौं लाग्यो। जनसंख्याको एउटा सानो हिस्सामा त्यस किसिमको निद्रा हुन्छ। उनीहरू सुतेको समयमा समाज उठ्छ। सामाज उठेको बेला उनीहरू सुत्छन्।
न्यूयोर्क टाइम्स अखबारका पत्रकार अलेक्स विलियम्सले यस्तै अनुभव भोगेका छन्।
आफ्नो बाल्यकालबारे विलियम्सले लेखेका छन्, 'छटपटाहटमा बितेका ती पीडादायक रातहरूको सम्झना मसँग ताजै छ। निद्राको कुनै छनकबिनै बत्ती निभेको कोठाभित्र ओछ्यानमा ढल्किएको मेरो शरीर र निदाउन मैले गरेको संघर्ष। मेरो पुरानो डिजिटल घडीमा निरन्तर मेटिँदै र बन्दै गएका मिनेट र सेकेन्डका अंकसँग चलायमान मेरो मनको गतिले सामञ्जस्य गरेको थियो। ३० मिनेट, ६० मिनेट, ९० मिनेट।'
छोटकरीमा 'डिएसपिएस' भनिने यो अवस्था कुनै रोग होइन। यसको नाममा नै अर्थ समेटिएको छ। त्यस्ता व्यक्ति आधिकांश 'सामान्य' व्यक्तिको तुलनामा धेरै ढिलो निदाउँछन्।
बहुसंख्यकका लागि असामान्य भए पनि हामीजस्ता जनसंख्याको सानो हिस्साका लागि यो अवस्था सामान्य हो। हुन पनि हामी अरू मान्छेजस्तै नियमित सुत्छौं। वास्तवमा भन्ने हो भने हाम्रो लागि यो समस्या नै होइन, समस्या त अरूका लागि हो।
हाम्रो शरीरको आफ्नै 'सर्केडियन रिदम' वा आन्तरिक घडी हुन्छ, जसले शरीरको तापक्रम संयोजन गर्दै सुत्ने र उठ्ने समय नियन्त्रण गर्छ। इच्छाशक्तिको कुनै भूमिका नहुने होइन। तर, इच्छाशक्तिको प्रभावकारिता त्यही घडीमा निर्भर गर्छ।
बहुसंख्यक मान्छेको 'सर्केडियन रिदम' लगभग समान भए पनि सबैको एकै हुन्छ भन्ने छैन। केहीको आन्तरिक शारीरिक घडी ढिलो चल्छ। कुनै धर्मशास्त्रको रचनाकारले त्यसलाई खराब ठानेर समस्या देख्छ भने उसको समस्या हामीसँग होइन, भगवानसँग हो। किनकि, भगवानले हाम्रो शरीरको संरचनै फरक ढंगले सिर्जना गरे।
हामी सबै आफ्नो आन्तरिक घडीका बन्दी हुन्छौं।
विलियम्सले लेखेका छन्, 'मेरो शरीरले राति २ नबजेसम्म ओछ्यान खोज्दैन र बिहान १० बजेअघि ओछ्यान छाड्दैन। उक्त समय तालिका परिवर्तन गर्दा मेरो मस्तिष्क निस्तेज हुन्छ।'
उनीजस्ता व्यक्तिहरू रातको समयमा अन्त्यन्त ऊर्जाशील हुन्छन् र त्यसैमा रमाउँछन्।
उनी भन्छन्, 'रातको ९ बजेतिर मेरो मस्तिष्क रकफेलरमा अवस्थित क्रिस्मस रूखजस्तो धपक्क बल्छ। त्यसपछिको समयमा म चञ्चल, चनाखो र सिर्जनशील हुन्छु र पूर्ण रूपले आफैंमा हराउँछु।'
ढिलो उठ्दैमा जीवन बर्बादै हुन्छ भन्ने पनि होइन।
झिसमिसेमै काम सुरू गर्नेहरूलाई 'लार्क' चरासँग दाँजिन्छ। लार्क सबेरै आफ्नो दिनचर्या थाल्छ। लार्कमा पर्ने सफल सेलिब्रिटीको सूची निकै लामो होला। तर, ढिलो सुत्ने-उठ्ने 'उल्लू' सेलिब्रेटीको सूची पनि कम चाखलाग्दो छैन।
माओत्सेतुङदेखि स्टालिनसम्म र मार्क जुकरवर्गदेखि बाराक ओबामासम्मका लागि रात प्रिय थियो, छ।
'उल्लू'हरू बिहान चाँडो उठ्ने 'लार्क'को तुलनामा बढी सिर्जनशील र जोखिमप्रेमी हुन्छन् भन्ने पनि अध्ययनले देखाएको छ। तर, काम र सिर्जनशीलताबीच सामञ्जस्य नहुँदा धेरै उल्लूको जीवन मरुभूमिमा फूलेको गुलाफजस्तै बन्छ, बनेको छ।
'ह्वाई वी स्लिप (हामी किन सुत्छौं)' किताबका लेखक म्याथ्यू वाकरका अनुसार निद्राको समयमा हुने विविधता मानव जातिको क्रमिक विकासको स्वाभाविक प्रक्रिया हो।
'उल्लूहरू चाहेर राति नसुतेका होइनन्,' मनोवैज्ञानिक वाकर लेख्छन्, 'फरक डिएनए संरचनाका कारण अरूको तुलनामा धेरै ढिलो निदाउनु उनीहरूको बाध्यता हो। यो जिनले निर्माण गरेको नियति हो।'
उनका अनुसार 'उल्लू'हरूलाई बिहान उठ्न बाध्य पारियो भने उठ्लान्। तर, उनीहरूको सोचविचार र तर्क गर्ने मस्तिष्कको प्रक्रिया नियन्त्रण गर्ने 'प्रि-फ्रन्टल कोर्टेक्स' भने निष्क्रिय अवस्थामै रहन्छ। बिहान चिसिएको गाडीको इन्जिनजस्तो वा ओसिएको सलाइको बट्टाजस्तो मात्र हुन्छ।
प्रकृतिले उही जीवका जिनमा विविधता निर्माण गर्छ। ग्राफमा व्यक्त गर्ने हो भने उक्त विविधताले घन्टी आकारको 'नर्मल कर्भ' को रूप धारण गर्छ। त्यसमा ६८ प्रतिशत मान्छे 'मिन' अर्थात मध्यमा रेखाको वरिपरि पर्छन्, जसलाई हामी बहुसंख्यक वा सामान्य मान्छे भन्न सक्छौं।
अर्को २८ प्रतिशत मान्छे 'मध्यमा' विन्दुभन्दा अलिकति पर, अर्थात सामान्यभन्दा केही फरक हुन्छन्। बाँकी भने सामान्य मान्छेको तुलनामा प्रस्ट रूपले असामान्य लाग्छन्। उनीहरू कि त अत्यन्त चाँडो सुत्छन्, कि अत्यन्त ढिलो।
प्रकृतिले बिनाप्रयोजन जिनमा विविधता पक्कै निर्माण गरेन। विविधता नहुँदो हो त वातावरण परिवर्तनसँगै जीवको अस्तित्व नै संकटमा पर्थ्यो। विविधता भएकाले बदलिँदो वातावरण खेप्नेहरू बाँच्छन्, नसक्नेहरू मर्छन्। त्यसले जीव एकैपटक मासिने सम्भावना घटाउँछ।
आधुनिक समाज निर्माण हुनुअघि मान्छे सानो समूहमा बस्थे। त्यो बेला विभिन्न समयमा मान्छे जागै बस्नु सुरक्षा दृष्टिकोणले उपयोगी मानिन्थ्यो। आफ्नो समुदायमा हुन सक्ने आक्रमणमा उनीहरू सजग रहनुपर्थ्यो।
वाकरका अनुसार कृषियुग सुरू भएपछि मान्छेले स्थायी बसोबास गर्नुपर्ने भयो। सुरक्षा प्रबन्ध फरक ढंगले भयो। खेतीको काम बिहान सुरू गर्नुपर्ने भयो। औद्यौगिक क्रान्तिले अर्को परिवर्तन ल्यायो। कारखानाको काम अझ सबेरै सुरू गर्नुपर्ने अवस्था आयो।
'नाइट अउल' अब बेरोजगार भए। अब उनीहरू बाँच्नकै लागि आफूलाई बदल्नुपर्यो। आफूलाई बदल्न संघर्ष अनिवार्य भयो।
संसारको घडी स्थायी त कहाँ रहन्थ्यो र!
उत्तर-औद्यौगिक यूग सुरू भएसँगै घडीको सुई फेरि परिवर्तन गर्नुपर्ने भएको छ। अब ९ बजेदेखि ५ बजेसम्म तोकिएको कार्यालय समय तन्किएको छ। सूचना प्रविधि क्षेत्रमा भएको क्रान्तिले पुँजी निर्माण, उत्पादन र रोजगारको प्रकृतिमा व्यापक परिवर्तन आएको छ। भूमण्डलीकरणका कारण अन्तरदेशीय व्यापारमा नयाँ सम्भावनाका ढोका खोलेको छ।
राति निदाएको एसिया र दिउँसो चलायमान अमेरिका एकअर्कासँग जोडिएका छन्। विश्वकै प्रविधि केन्द्र मानिएको अमेरिकाको सिलिकन भ्यालीका कार्यालयहरू काम गर्ने समयका लागि लचिलो भएका छन्।
कार्यालय समयका विषयमा लचक हुन पनि रोजगारदातामा दबाब छ।
बेन्ट्ले विश्वविद्यालयले गरेको एक सर्वेअनुसार ७७ प्रतिशत मिलिनियलहरू (सन् ८० देखि मध्य ९० को दशकबीच जन्मिएकाहरू) कार्यालय समय आ-आफ्ना आवश्यकताअनुसार फरक हुनुपर्छ भन्ने धारणा राख्छन्। समयमा कार्यालय पुग्नु र नियमित काम समयमै सुरू गर्नु लामो समयदेखि महत्वपूर्ण थियो।
नियमित काम रोबोट र मेसिनबाट हुन थालेपछि नवीनता र सिर्जनशीलता महत्वपूर्ण हुँदै गयो। डिजिटल प्रविधिका कारण उनीहरू चाहेको ठाउँमा र चाहेको समयमा वा घरको आरामदायी सोफा वा न्यानो ओछ्यानमा बसेर गर्दा अझ बढी उत्पादनशील हुने भयो।
विगत हेर्दा सामाजिक दृष्टिकोणले 'उल्लू' को जीवनलाई घाटाको जीवन पनि भन्न सकिएला। तर, त्यस्तो जीवन उनीहरूको रोजाइ होइन, बाध्यता हो।
केही मिहिनेत गरेपछि समाजसँग जोडिन गाह्रो हुँदैन। आजको युगमा उनीहरूको जीवन सहज पनि हुँदैछ। रातको समयमा उनीहरू अत्यन्त ऊर्जाशील हुन्छन्, जसको अनुभूति 'लार्क'हरूले विरलै गर्लान्।
र, म यसैमा रमाउँछु।
झमक्क साँझ परेपछि मेरो मस्तिष्कको दियो धपक्क बल्छ। अनि म कल्पनाका वेगहरूमा बग्छु। सबै गहिरो निद्रामा ढलेपछिको खुला आकाशमुनिको सन्नाटामा आफूलाई स्वतन्त्र मानव भएको अनुभूति हुन्छ।
छोटो समयका लागि नै किन नहोस्, त्यो अनुभूति अत्यन्त सुन्दर हुन्छ।
प्रत्येक दिन म त्यही अनुभूतिको पर्खाइमा हुन्छु।