सात सालमा प्रजातन्त्र आउँदा म यस्तै १०-११ वर्षको थिएँ। त्यति बेला टुँडिखेल रानीपोखरीदेखि दशरथ रंगशालासम्म एकछत्र थियो।
बीचमा भद्रकाली हुँदै सिंहदरबार जाने बाटो थियो। त्यो बाटो राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको हो कि जस्तो लाग्छ। त्यहाँ मोटरहरू विरलै गुड्ने हुँदा बाटो भए पनि टुँडिखेलकै भागजस्तो देखिन्थ्यो।
वरिपरि रूखहरू थिए। मौसमअनुसारका फूल फुल्थे। अहिलेजस्तो पर्खालले घेरिएको थिएन। न छेउमा पेटी थियो। न्यूरोड गेटबाट निस्केपछि अगाडि मैदान सुरू हुन्थ्यो।
त्यो मैदान हामी केटाकेटीको निम्ति खेल्ने चउर थियो। हामी त्यहाँ फुटबल खेल्थ्यौं। कहिलेकाहीँ क्रिकेट खेल्थ्यौं।
स्थानीय नेवारहरूको सांस्कृतिक जमघटको थलो पनि त्यही टुँडिखेल थियो। उनीहरू त्यहाँ आफ्ना चाडपर्वमा भोज खान्थे। टुँडिखेलको पिपलबोटभन्दा दक्षिणपूर्वतिर अर्को एउटा रूख थियो, जहाँ विशेष पर्व बेला नेवारहरू जम्मा भएर पूजा गर्थे।
कहिलेकाहीँ हामी टुँडिखेल जाँदा संगीन लिएर बसेका सिपाही रोकतोक गर्न आउँथे। त्यो उनीहरूको परेड खेल्ने ठाउँ पनि थियो। भित्र पिपलबोटमा सभा-समारोह हुन्थे। यसलाई एसियाको ठूलो परेड मैदान भनेर हामी गर्व गर्थ्यौं।
अहिले चारैतिरबाट अतिक्रमित टुँडिखेलसामु उभिएर त्यति बेलाको मैदान सम्झिँदा आँखा भरिएर आउँछ।
टुँडिखेलमाथि सेनाको अतिक्रमण राणाकालबाटै सुरू भएको हो। अझ त्योभन्दा पहिल्यै। यसलाई सेनाले पूर्ण रूपमा कब्जामा लिएर जनतालाई नै प्रवेश निषेध गरेको भने पञ्चायतकालमा हो।
पञ्चायतमा सेनाले मिचेपछि टुँडिखेल दुई भागमा बाँडियो। एउटालाई हामी टुँडिखेल भन्थ्यौं, अर्कोलाई सानो टुँडिखेल।
सानो टुँडिखेल भनेको सेनाले कब्जा गरेको भाग हो। यहाँ नेपाली जनता छिर्न पाउँदैनन्। उस्तै परे सडकमा उभिएर केही बेर भित्र नियाल्यो भने पनि सेनाले केरकार गर्नसक्छ। तर, त्यही भाग पछिल्लो समय सेनाले व्यापारिक प्रयोजनमा ल्याएको छ। ठूलाबडाहरूका लागि पार्टी प्यालेस चलाएको छ।
सानो टुँडिखेलदेखि रंगशालाको बीचमा भिर थियो। त्यो भिरमा हामी सुरिलो खेल्थ्यौं। भिरमुनि अहिले रंगशाला भएको ठाउँमा पोखरी थियो।
मैले जागिर खाँदासम्म सानो टुँडिखेलमा सैनिक हेडक्वार्टर बनिसके पनि अहिलेजस्ता ठूल्ठूला संरचना थिएनन्। सैनिक मुख्यालय पनि त्यहाँ कसरी आइपुग्यो मलाई थाहा छैन। तर, मुख्यालयका नाममा पुराना टहराजस्ता संरचना थिए, जसले टुँडिखेलको स्वरूप खासै बिगारेको थिएन।
सेनाले मध्यसहरमा आफ्नो मुख्यालय विस्तार गर्ने क्रममा टुँडिखेलको एउटा ठूलो हिस्सा खर्लप्पै खाइदियो। बचेको भाग पनि खुलामञ्च, सैनिकमञ्च, रत्नपार्कका नाममा खण्ड-खण्ड विभाजन गरियो।
यस्तो प्राकृतिक चउर बिगारेर कंक्रिटको रत्नपार्क किन बनाउनुपर्यो, मैले बुझेको छैन। खुलामञ्च आफैंमा खुला थियो, त्यसलाई खण्डित पारेर पार्क बनाउनुपर्ने दरकारै थिएन। हामीले बाहिरबाट हेर्दा रानी रत्नाको नाममा रत्नपार्क बनाएको देखिन्छ।
अर्कातिर, सैनिकहरूले परेड खेल्ने मञ्च बनाउन मैदानको खरीबोट काटेर उजाड पार्नुपर्ने जरूरत पनि थिएन। मैले सुनेअनुसार त्यति बेला ज्योतिषीले पञ्चायत दीगो बनाउन उक्त रूख काट्नुपर्छ भनेर सल्लाह दिएका थिए रे।
खुला टुँडिखेल बारेर खुलामञ्च बनाउनुपर्ने आवश्यकता किन पर्यो भन्ने पनि मैले बुझेको छैन। पहिल्यै खुला भएको ठाउँ बारेपछि के को खुलामञ्च?
त्यो ठाउँ पहिल्यैदेखि राजनीतिक नेता र अन्य विद्वानहरू जम्मा भएर भाषण गर्ने, वैचारिक बहस गर्ने थलो थियो। तीनधारा पाठशालाअगाडि पनि ठूलो चउर थियो। त्यहाँ डिल्लीरमण रेग्मी, केआई सिंह लगायतले भाषण गरेको म सम्झिन्छु।
टुँडिखेल मैदानमा विशेषगरी दुई समूहको नियमित भेला हुन्थ्यो। एउटा समूह साम्भभक्त पन्तको थियो। उनी पद्मकन्या क्याम्पसका प्रध्यापक थिए। उहाँ लोकतान्त्रिक खेमाका हुनुहन्थ्यो। पार्टीमा भने लाग्नुभएको थिएन। पञ्चायतको धूलो पिट्नुहुन्थ्यो। लोकराज बराल लगायत हामी कुनातिर बसेर उहाँको कुरा सुन्थ्यौं।
त्यहीँ अलि पर गोविन्दप्रसाद लोहनीको गफ चल्थ्यो। उहाँ मार्क्सवादको व्याख्या गर्नुहुन्थ्यो।
यो पनि :
प्रधानमन्त्रीजी, यही हो टुँडिखेल-नारायणहिटी समेटेर विशाल पार्क बनाउने समय
यति महत्वपूर्ण सार्वजनिक स्थल जनताले हेर्दाहेर्दै गुमाए। हुँदाहुँदा टुँडिखेलको खुलामञ्च खण्डमा बसपार्कधरि ल्याएर राखिएको छ।
मूल कुरा सेनाबाट भएको अतिक्रमण हो, जसले महानगरपालिकादेखि व्यापारीहरूलाई टुँडिखेल चिथोरेर चौटा चौटा निकाल्न उचाल्दै आएको छ।
जनताको सार्वजनिक सम्पत्ति टुँडिखेललाई पुन: जनताकै भोगचलन निम्ति फर्काउनुपर्छ। रानीपोखरीदेखि सैनिक हेडक्वार्टरसम्म फैलिएको विशाल टुँडिखेल जनताको सम्पत्ति हो। यहाँ भएका सम्पूर्ण संरचनालाई जसरी हुन्छ अन्य ठाउँमा सारेर जनताको टुँडिखेल जनतालाई फिर्ता गरियोस्।
मध्यसहरको यति महत्वपूर्ण ठाउँमा सैनिक हेडक्वार्टर राख्नु राम्रो कि जनताको स्वास्थ्य र जीवनयापनसँग जोडिएको विशाल पार्क बनाउनु राम्रो भन्नेमा हामी बहस गरौं। सरकार र सेनालाई शान्तिपूर्ण रूपले सचेत गराऔं।
टुँडिखेल जोगाउने भनेको भोलिको पुस्ताका लागि हो। त्यसमा हामी सर्वसाधारण जनताका भावी पुस्ता मात्र पर्दैनन्, सरकार र सेनाका पुस्ताले पनि सास फेर्ने यहीँको हावामा हो। उनीहरूले पनि बाँच्नुपर्ने यही सहरमा हो।
त्यसैले, सरकार र सेनाले सुन्दर र स्वच्छ काठमाडौंको थिति बसाल्न टुँडिखेलमाथिको अतिक्रमण बन्द गर्नुपर्छ। र, यसलाई विशाल पार्ककै रूपमा पुनर्निर्माण गर्नुपर्छ। मुलुकको समग्र हित र भोलिका पुस्ताका लागि जनता पनि एकैठाउँमा आउनुपर्छ।
(सञ्जीव बगालेसँगको कुराकानीमा आधारित)