सम्पादकीय नोटः
हिन्दी साहित्यका चर्चित लेखक फणीश्वरनाथ रेणुको ‘नेपाली क्रान्ति–कथा’, ‘मारे गए गुलफाम’ नामक कथा र उक्त कथामा बनेको ‘तीसरी कसम’ फिल्ममाथि हरि शर्माको ‘किताब चर्चा’ स्तम्भ हामीले आइतबार प्रकाशित गरेका थियौं। हेर्नुहोस्: राज कपुर र वहिदा रहमानले जीवन्त बनाएको रेणुको कथा
‘नेपाली क्रान्ति–कथा’ मा विश्वेश्वरप्रसाद कोइरालाले रेणुको सम्झनामा लेखेको ‘अबिच्युरी’ पनि संकलित छ। हिन्दीमा लेखिएको उक्त ‘अबिच्युरी’ को नेपाली अनुवादः
...
कुरा सन् १९३७ को हो। महिना मलाई याद छैन।
म सुशीलासँग विराटनगर जाँदै थिएँ। हाम्रो भर्खरै बिहे भएको थियो। हामी कटिहारबाट जोगबनी जाने गाडीमा सफर गर्दै थियौं।
धुन्धान पानी पर्दै थियो। एउटा स्टेसनमा जब गाडी रोकियो, मैले एक जना किशोर हाम्रो डब्बाबाहिर डन्डी समातेर उभिइरहेको देखेँ। एकछिनमा गाडी छुक–छुक गर्दै द्रुत गतिमा दौडन थाल्यो। त्यो किशोर मुसलधारे पानीमा निथ्रुक्क रुझेर उसैगरी डन्डीको भरमा उभिइरहेको मैले देखेँ।
हाम्रो डब्बा ‘सेकेन्ड क्लास’ थियो। त्यति बेलाको राजसी सेकेन्ड क्लास। त्यो डब्बामा हामी लोग्ने–स्वास्नी मात्र थियौं। पानीमा मुसाझैं भिजिरहेको त्यो नितान्त अपरिचित व्यक्तिलाई डब्बाभित्र आउन दिने कि नदिने भनेर हामी दुवै उधेडबुनमा थियौं।
कहीँ चोरफटाहा पो हो कि? हुन पनि सक्छ! हामी दुई जनालाई मात्र डब्बामा देखेर निरीह बन्दै भित्र छिर्ने उपाय पो गरेको हो कि! भित्र छिरेर हाम्रो हत्या गरी सामान चोर्ने दाउ पो छ कि!
सुशीलाले भने धेरै समय उनको अवस्था हेर्न सकिनन्। हाम्रो सहानुभूति जित्न रचिएको नाटक नै किन नहोस्, सुशीलाले दया देखाउँदै डब्बाको ढोका खोलिदिइन्।
डब्बामा प्रशस्त ठाउँ खाली थियो। हामीले उसलाई आरामसँग बस्न बारम्बार अनुरोध गर्दा पनि ऊ एउटा सिटको छेउमा कक्रक्क परेर बस्यो।
अलि बेरमा जब ऊ स्थिर भयो, उसले आफ्नो परिचय दियो, हाम्रो परिचय पनि सोध्यो। पारस्परिक परिचयपछि ऊ हामीसँग यति घुलमिल भयो, कहाँ जान हिँडेको मान्छे हामीसँगै विराटनगर आयो। हाम्रै घरमा बस्न थाल्यो।
ऊ थियो, हिन्दी साहित्यको यशस्वी कथाकार फणीश्वरनाथ रेणु।
रेणु मलाई सान्दाजु भन्थ्यो। सान्दाजुको अर्थ, जेठो दाइभन्दा सानो तर आफूभन्दा अग्रज। हामी पाँच भाइमध्ये मातृकाप्रसाद कोइराला ज्येष्ठ हुनुहुन्छ। हामी भाइहरू उहाँलाई ठूलोदाजु भन्छौं। उहाँभन्दा सानो म। अरू तीन भाइभन्दा ठूलो भएकाले म उनीहरूका लागि सान्दाजु।
विराटनगरमा मेरा पिताजी स्वर्गीय कृष्णप्रसाद कोइरालाले एउटा स्कुल खोल्नुभएको थियो, जुन नेपालको तराई क्षेत्रकै प्रथम स्कुल थियो।
रेणु त्यही स्कुलमा भर्ना भयो। उसको प्रारम्भिक शिक्षा त्यहीँ भयो।
मेरो सानो भाइ तारिणीप्रसाद कोइराला (अब स्वर्गीय) को रेणुसँग खुब मिल्ती थियो। दुवै साहित्यप्रति अनुराग राख्थे। दुवै साहित्यका रसिक प्रेमी थिए। यदाकदा केही लेखिरहन्थे। त्यो समय तारिणीप्रसादको उमेर पन्ध्र वर्ष थियो। रेणुको उमेर पनि त्यस्तै हुनुपर्छ।
यसरी नितान्त अपरिचित किशोर रेणु कोइराला परिवारको एक अभिन्न सदस्य बन्यो, जुन जीवनपर्यन्त रह्यो।
रेणु हिन्दीको मात्र होइन, बंगाली साहित्यको पनि मनोयोगी र रसग्राही पाठक थियो। ती दिनहरूमा ऊ विशेषतः सतीनाथ भादुडीका क्रान्तिकारी राजनीतिक रचनाहरूप्रति बढी आसक्त थियो। उसैले मलाई सतीनाथजीसँग भेटायो र उनका रचनाहरू पढेर, पढाएर त्यसको रसास्वादन गरायो।
मेरा केही रचना हिन्दी मासिक ‘हंस’ (जसका सम्पादक प्रेमचन्दसँग मेरो परिचय भइसकेको थियो) र नेपाली मासिक ‘शारदा’ (काठमाडौं) मा प्रकाशित भइसकेका थिए। रेणु मेरो साहित्यिक सहायक थियो। पछि उसले मेरा केही नेपाली कथाहरू हिन्दीमा अनुवाद गर्यो।
पटनामा स्वर्गीय रामवृक्ष बेनीपुरीद्वारा सम्पादित मासिक ‘हिमालय’ मा मेरो एउटा नेपाली कथाको हिन्दी रूपान्तरण रेणुले प्रकाशित गरायो।
यी सबैभन्दा बढी रेणु मेरो सानो भाइ थियो। उसको क्रान्तिकारी प्रवृत्ति र अन्याय–दमनको विरोध गर्ने उग्रता मेरैजस्तो थियो। उसको विचार मलाई आफ्नैजस्तो लाग्थ्यो। वास्तवमा ऊ मेरै थियो।
ऊ स्वतन्त्रताको प्रचण्ड योद्धा थियो। प्रजातन्त्रका निम्ति हाम्रो संघर्षमा उसले काँधमा काँध मिलायो। राणा शासन अन्त्य गर्न नेपाली कांग्रेसले सुरू गरेको सशस्त्र क्रान्तिमा रेणु पनि सरिक भयो। र, मसँगै मुक्तिसेनाको वर्दीमा बन्दुक बोकेर मोर्चामा हाम्फाल्यो।
क्रान्तिको समयमा उसले नेपाली कांग्रेसको प्रचार–प्रकाशन तथा विराटनगरमा स्थापित एक ‘गैरकानुनी’ आकाशवाणीको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो।
सन् १९३५ मा जब मेरो रेणुसँग परिचय भयो, त्यही बेलादेखि हामी घनिष्ठ रह्यौं। यद्यपि बीचबीचमा हाम्रो सम्पर्क टुट्थ्यो।
सन् १९७६ डिसेम्बरमा आठ वर्षको निरन्तर आत्मनिर्वासनपछि म स्वदेश फर्कने तयारी गर्दै थिएँ। त्यही सिलसिलामा म पटना गएको थिएँ। त्यहीँबाट डिसेम्बर ३० को दिन मेरो काठमाडौं जाने कार्यक्रम निश्चित भएको थियो।
काठमाडौं जानुअघि म जसरी भए पनि रेणुसँग भेट्न चाहन्थेँ। पटनामा आफ्ना केही मित्रहरूलाई मैले उसको बारेमा सोधेँ। रेणु त एक स्थानीय अस्पतालमा उपचार गर्न भर्ना भएका रहेछन्।
त्यो समय रातको दस बजिसकेको थियो। म व्यग्र हुँदै त्यही बेला उसलाई भेट्न अस्पताल दौडेँ। त्यस्तो कुसमय बिरामी भेट्न उचित हुन्न भन्ने मलाई थाहा थियो। तर, भोलिपल्ट बिहानै काठमाडौं प्रस्थान गर्नु थियो। त्यसैले, रेणुलाई भेट्ने समय टार्ने कुनै गुञ्जायस थिएन।
मैले अस्पतालमा शैयालीन रेणुलाई देखेँ। ऊ सुकेर कंकाल भएको थियो। डाक्टरका अनुसार ऊ केही प्राणघातक रोगग्रस्त थियो। यस्तो अवस्थामा पनि मलाई देख्नासाथ ऊ शैयाबाट उठ्यो। मैले नउठ भनेर कत्ति भन्दा पनि मानेन। उसले मेरो पाउ छोयो। गुमाएको केही चिज फिर्ता पाएजस्तै गरी गदगद भयो।
उसले भन्यो, ‘म बिरामी छु। त्यसैले, तत्काल नेपालको प्रजातान्त्रिक संघर्षमा तपाईंलाई साथ दिन सक्दिनँ। तर, म छिट्टै स्वस्थ हुनेछु। अनि सारनाथ गएर सुशीला भाउजूसँग बस्छु र उहाँकै सेवा गर्छु।’
त्यसपछि उसले त्यहाँ उपस्थित दुई–चार जना युवकसँग मेरो परिचय गराउँदै भन्यो, ‘तपाईंहरूले कोइरालासँग प्रेरणा लिनुपर्छ। हामी आफ्नो राजनीतिक अधिकारको संघर्षमा मर्नदेखि डराउँछौं। अर्कातिर कोइराला छन्, जो संघर्षको बीडा उठाएर मृत्युको आह्वान स्वीकार गर्दै काठमाडौं जाँदैछन्।’
उसले मेरा सम्पूर्ण लेख–रचना हिन्दीमा अनुवाद गर्ने अभिलाषा पनि व्यक्त गर्यो। यहाँ म एउटा कुरा भन्न चाहन्छु– उसले मेरो एउटा नेपाली उपन्यास ‘नरेन्द्र दाइ’ को हिन्दी अनुवाद गरिसकेको थियो। त्यसैको प्रकाशन व्यवस्था गर्दा गर्दै भारतमा ‘आपतकाल’ लागू भयो।
मे महिनाको आरम्भमा मलाई राजकाज अपराधसम्बन्धी कानुनअन्तर्गत सर्वोच्च अदालतमा पेस गरिँदै थियो। अदालतमै मैले ‘दिनमान’ को एक प्रति देखेँ, जसको आवरणमा रेणुको तस्बिर छापिएको थियो। उसको तस्बिर देख्नासाथ मैले लम्केर पत्रिका उठाएँ। जब समाचार पढेँ, म खङरङ्गै भएँ। त्यो खबर रेणुको मृत्युको विषयमा थियो।
उसको मृत्युले मलाई यस्तो लाग्यो, मैले आफ्नो जिन्दगीको एउटा ठूलो चिज गुमाएँ। अरू समय भइदिएको भए म त्यो दुःखको घडी मौन बसेर झेल्थेँ। तर, म अदालतमा थिएँ, जहाँ मैले आफ्नो सफाइ दिनु थियो। आफ्ना वकिल र सरकारी पक्षका वकिलको बहस सुन्नु थियो। नचाहँदा नचाहँदै पनि मलाई स्वाभाविक देखिन कर लाग्यो। त्यो समय मैले कतिविधि आत्मसंघर्ष गर्नुपर्यो भन्ने जसले पनि कल्पना गर्न सक्छ।
मेरो लागि रेणु मरेको छैन। ऊ मेरो हृदयमा जीवित छ। हामी कोइराला परिवारका सदस्यहरूको हृदयमा जीवित छ। हाम्रा प्रजातन्त्रका लागि समर्पित नेपाली र भारतीय सिपाहीहरूको हृदयमा जीवित छ।
रेणु सशरीर हाम्रो बीचमा छैन, तर ऊ जीवित छ आफ्नो प्रसन्नचित्तका लागि, आफ्नो क्रान्तिकारी विचारका लागि, तानाशाहीविरुद्ध संघर्षका लागि, आफ्नो जिजीविषाका लागि र आफ्नो सिर्जन अभिलाषाका लागि ...