माओवादीले ०५२ सालमा ‘जनयुद्ध’ सुरू गर्दा हिंसा गाउँबाट सुरू भएको थियो।
एकातिर उसले दुर्गम जिल्लाका प्रहरी पोष्टहरू आक्रमण गर्यो, अर्कातिर आफ्नो युद्धसँग सहमत नहुने गाउँका सामान्य नागरिकमाथि दवाब बढायो। आफ्नो उर्दी नमान्ने नागरिकविरुद्ध उसले 'सामन्ती, जाली-फटाहा, जासुस’ जस्ता आरोप लगायो। तिनीहरूमाथि पछि आक्रमण नै गर्यो। प्रहरी र फरक विचार राख्ने सामान्य नागरिकमाथि माओवादी आक्रमण सुरू भएपछि नेपाल प्रहरीले 'अपरेशन रोमियो’ सुरू गर्यो। सो अपरेशनले अन्धो प्रतिहिंसाको रुप लियो।
'अपरेशन रोमियो’ले अन्तत: 'जनयुद्ध'को आधार-इलाका खडा गर्न सहयोग गर्यो।
राजनीतिका नाममा जीवन उत्सर्ग गर्ने रहर मान्छेलाई विरलै हुन्छ। जीवन सबैलाई प्यारो हुन्छ। उसोभए किन सामान्य मान्छेले राजनीतिक हिंसा अँगाल्छन् त?
हिंसाको चपेटामा परेपछि स्रोतसाधन हुनेहरू सुरक्षाको खोजीमा सहर पस्छन्। नसक्नेहरू हिंसाको जाँतोमा पिसिन्छन् वा आफैं बन्दुक बोक्छन्। रणभूमिमा हिंसा विस्तारसँगै सामान्य जीवनको तुलनामा बन्दुक बोक्नु वा विद्रोहमा होमिनु कम जोखिमपूर्ण हुन जान्छ।
पुराना रिसिबी साँध्नेदेखि 'युद्ध सरदार' बन्ने मौका पनि हो राजनीतिक हिंसा। श्रोतसम्पन्न हिंसाका 'धूर्त' अभियन्तालाई आफू सुरक्षित रहने तरिका थाहा हुन्छ। मुख्य शिकार हुने गरिब नै हुन्छन्। त्यसैले उनीहरू यसलाई 'वर्गीय युद्ध' भन्छन्।
भनिन्छ राजनीतिक शिकारीका लागि नागरिकविरुद्धको रणनीतिक हिंसा 'एक तीर दुई शिकार' हो।
पहिलो, हिंसामार्फत राज्यलाई द्वन्द्वमा आकर्षित गर्ने सकिने भयो।
दोश्रो, राज्यको अन्धो प्रहारविरुद्ध नागरिकलाई बन्दुक बोकाउन र द्वन्द्वको राप बढाउन सकिने भयो।
चर्चित राजनीतिशास्त्री स्टेथिस कालिभासले नागरिक हिंसालाई राजनीतिक पेसा पनि मानेका छन्। उनीहरूका राजनीतिक मुद्दा र लक्ष्य बदलिन्छन्, हिंसाको नशा र बाटो बदलिँदैन।
भूतपूर्व माओवादी र उसको नयाँ अवतारका रुपमा आएको विप्लवबीच हिंसाको रणनीतिबीच फरक भने छ।
माओवादी हिंसाको निसाना गाउँ थियो, अहिले विप्लवको प्रहार एकैचोटि सहरमा छ।
आधार इलाका निर्माण र विस्तार गर्दै सहर कब्जा गर्नु माओले सिकाएको 'दीर्घकालीन जनयुद्ध'को रणनीति हो। आफूले कोरेको दीर्घकालीन जनयुद्ध खाकामा माओ भन्छन्, 'मानववस्ती समुद्र हो जहाँ छापामार नाम गरेका माछा पौडिन्छन्। अर्थात् छापामारले हिंसात्मक आन्दोलन क्रममा मानववस्तीलाई ढालका रुपमा प्रयोग गर्छन्। राज्यलाई को छापामार हुन् भन्ने सूचना प्राप्त हुँदैन। उसको अन्ध दमनले नागरिकको वफादारी विद्रोहीतर्फ झनै ढल्कन्छ।
अर्थात् नागरिकविरुद्धको हिंसा नै छापामार युद्धको इञ्जिन हो। र, त्यसैलाई केहीले छापमार युद्धको विज्ञान पनि मान्छन्।
छापामारको त्यस्तो ‘स्विमिङ’ आफ्नो नियन्त्रण भएका मानववस्तीमा मात्र सम्भव हुन्छ। सहर राज्यको नियन्त्रणमा हुन्छ। राज्यले सजिलै सूचना प्राप्त गर्छ। त्यसैले सहरमा छापामारहरू उल्टो दमनको शिकार हुन्छन्। गाउँबाट उठेको पेरुको जनयुद्ध सहरका वस्तीमा अन्त्य भएको थियो।
सहरमा निसान साँधेको विप्लव माओवादी पनि राज्यको दमनको शिकार हुने सम्भावना छ। गएको साता उसका छापामारहरू अत्तालिएर आफूले बनाएको बमको आफैं शिकार भए।
उसो भए, प्रश्न उठ्छ, यति हुँदाहुँदै किन विप्लव समूहले प्रहार गर्न सहर नै रोज्यो?
यसको मुख्य कारण— उनीहरूले शीघ्र राजनीतिक निकास खोजेको हुनसक्छ। गाउँमा खासै संगठन विस्तार गर्न नसकेपछि वा गाउँ हुँदै सहर पस्ने लामो युद्ध रणनीतिका लागि सामर्थ्य र धैर्य दुवै नभएपछि उनीहरूले सहरमा आक्रमण गरेर चाँडो दवाब उत्पन्न गर्न खोजेको देखिन्छ।
राजनीतिको केन्द्र सहरमा गरिएको प्रहारले सरकारमाथि वार्ताका निम्ति चर्को दवाव पुग्छ।
विप्लव समूहले लामो समयदेखि भन्दै आएको पनि हो—'एकपटक हान्ने हो'।
उसका कार्यकर्ताले आफूसँगै युद्ध लडेका टाठाबाठाले गरेको रजगज देखेकै छन्। उनीहरू आफूलाई 'पीडित' महशुस गर्छन्। उसो त विप्लव पनि आफूलाई कम पीडित महशुस गर्दैनन्। आफूमुनिका नेताबीच घात-प्रतिघात गराएर नेतृत्वमा पकड जमाउन माहिर पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई रद्धिको टोकरीमा फ्याँक्न खोजेको उनको निष्कर्ष छ।
'पीडित नेता' र 'पीडित कार्यकर्ता'को सामूहिक कथाले जोडिएको छ विप्लव संगठन। त्यसैले 'एकपटक हानेर' सत्तारोहणमार्फत मुक्तिको खोजीमा लागेको हुनसक्छ।
प्रचण्डको एमालेमा र बाबुराम भट्टराईको फोरममा विलयपछि विघटन भएको माओवादीको परम्परागत राजनीतिक 'स्पेस' लगभग खाली देखिन्छ।
पार्टीमा पहिलो नेता बन्ने विप्लवको महत्वकांक्षा पुरानै हो।
त्यस हिसावले हेर्दा, विप्लवले सहरलाई निसाना बनाउनु अचम्म भएन। सहरिया 'बुद्धिजीवी'लाई सरकारमाथि वार्ता गर्न चर्को दवाब दिन बाध्य पार्नु विप्लवको रणनीति देखिन्छ। अझ, अरु कसैले उनलाई युद्ध सुरू गरेपछि मूलधारमा ल्याइदिने आश्वासन दिएको भए त्यो पनि खुल्दै जाला।
सहर केन्द्रित आक्रमणको अर्को तात्कालिक फाइदा पनि छ—'चन्दादाता'लाई सन्देश दिने र भूमिगत कर प्रणाली थप प्रभावकारी बनाउने।
वार्ताका निम्ति भने विप्लवले कुनै माग अघि सारेका छैनन्। 'बार्गेनिङ'को टेबलमा मागको लम्बाई युद्धभूमिमा देखिने सामर्थ्यको अनुपातमा हुन्छ भन्ने उनले नबुझ्ने कुरा भएन। त्यसनिम्ति केही समय उनी थप विध्वशंमा केन्द्रित हुन सक्छन्।
अघिल्लो पटक माओवादीको वास्तविक माग युद्ध सुरू भएको ५ वर्षपछि राजासँग मिलेर सत्ता हत्याउने र राजनीतिक दललाई ध्वस्त पार्ने रूपमा देखा परेको थियो। विप्लवलाई पनि पूर्व माओवादीको जस्तो ‘बकमफुसे' ४० बुँदे माग कुनै पनि बेला खल्तीबाट निकाल्न समस्या भएन।
महत्वपूर्ण प्रश्न, हिंसाको नयाँ संस्करणको अन्त्य हुनुअघि कति गरिब र निरीह नागरिकको बलि चढ्छ भन्ने हो।
हाम्रो समाजमा 'राजनीतिक हिंसा'का नाममा नागरिक हत्याले पाएको स्वीकार्यता यसमा उत्तिकै जिम्मेवार छ। लामो समयदेखि क्रान्तिकारी बुद्धिजिवीले हिंसा रोग होइन, लक्षण मात्र हो भन्ने तर्क गरे।
'राजनीतिक समाधान' खोजिनुपर्ने आवाज बुलन्द भयो। तर हिंसा लक्षण मात्र होइन, आफैंमा रोग पनि हो। राजनीतिक समस्या समाधान गर्ने चुनाव लड्नु पर्छ वा सामाजिक आन्दोलनबाट दवाव सिर्जना गर्नुपर्छ, हिंसा होइन।
नागरिकले 'क्रान्तिकारी कारण' खोज्ने विद्वानहरूबाट सचेत रहनुपर्ने छ। किनकि, उनीहरूले हिंसा र न्याय जोडेर हिंसाका पूजारीको मनोबल उच्च राख्न मद्दत गर्छन्। र, धमिलो राजनीतिमा माछा मार्न खोज्छन्। यसनिम्ति नागरिक समाज थप जागरुक रहोस्। क्रान्तिकारी हिंसाको पहिलो संस्करणले सत्तारोहण गर्यो। अब दोस्रो संस्करणले त्यसैलाई अपनाएर तेश्रोलाई पनि त्यही मार्गमा आउन उत्प्रेरित नगरोस्।