२०६८, कात्तिक १४ गते साँझ वरिष्ठ संरक्षणविद् डा. प्रह्लाद योञ्जन अफिसबाट घर फर्किँदै हुनुहुन्थ्यो। उहाँ साइकलमा यात्रा गर्नहुन्थ्यो। तीव्र गतिमा आएको ट्रकले ठक्कर दियो, देशले एक होनहार व्यक्तित्व गुमाउनुपर्यो।
साइकल अभियन्ताहरूले उहाँको सम्झनामा कार्यक्रमहरू गरे। उहाँ बितेको ठाउँमा 'म्युरल पेन्ट' गरे र सुरक्षित साइकल यात्राका लागि निरन्तर आवाज उठाए। केही वर्षपछि रिङरोड विस्तार गर्ने क्रममा साइकल लेन पनि बन्छ भन्ने खबरले धेरैलाई उत्साहित बनायो। कतिले रिङरोडमा बन्ने त्यो साइकल लेनको नाम नै 'डा. प्रह्लाद योञ्जन साइकल लेन' राख्ने योजना बनाए।
आज रिङरोड आठ लेन बनेको छ। तर सबै गाडी कुद्न मात्र। रिङरोड विस्तार सम्झौतामा साइकल लेन पनि हुने उल्लेख छ। तर कहीँ बनेन। डा. योञ्जनले ज्यान गुमाउनुभएको त्यो ठाउँमा साइकल चढ्न झनै असुरक्षित बनेको छ।
म सधैंजसो यही बाटो साइकल चढेर कीर्तिपुर, ट्यांग्लाफाँटस्थित घरबाट पुल्चोक आउँथे। रिङरोड विस्तार गर्न थालेपछि अत्यधिक धूलो र बिग्रेको बाटोले गाह्रो भयो। अब धूलो अलि कम भएको छ तर आठ लेनको फराक सडकमा साइकल चढ्न डर लाग्छ। यो बाटोमा आजकल अरू साइकल यात्रु पनि धेरै देखिँदैनन् जति पहिले हुन्थे।
केही दिनअघि मात्र अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण २०७५/७६ सार्वजनिक गर्यो। त्यसका अनुसार यो आर्थिक वर्षको पहिलो ९ महिनामा हाम्रो व्यापार घाटा २४.५ प्रतिशतले वृद्धि भई झन्डै ९ खर्ब पुगिसकेको छ।
व्यापार घाटा बढ्नुको प्रमुख कारण पेट्रोलियम पदार्थको बढ्दो आयात नै हो। बर्सेनि करिब २० प्रतिशत हाराहारी बढिरहेको पेट्रोलियम आयातले अर्थतन्त्रमा नकारात्मक असर त पारेको छ नै। साथै काठमाडौं लगायत विभिन्न सहरमा वायू प्रदूषण अत्यधिक वृद्धि भएको छ। अहिले काठमाडौं विश्वकै प्रदूषित सहरका सूचीमा पुगिसकेको छ।
विश्व स्वास्थ्य संघको अनुमान प्रदूषणले हरेक वर्ष झन्डै १० हजार जनाको ज्यान लिन्छ।
पेट्रोलियम पदार्थको प्रयोग र वातावरण प्रदूषण दुवै कम गर्ने एउटा उत्तम उपाय साइकल प्रवर्द्धन हुनसक्छ। संसारभरि आजकल विभिन्न देशले साइकलको महत्व बुझेर प्रवर्द्धन गरिरहेका छन्। र, संयुक्त राष्ट्र संघले समेत आज जुन ३ को दिन 'विश्व साइकल दिवस' घोषणा गरेको छ।
हाम्रो जनगणना-२०६८ अनुसार ३२.३८ प्रतिशत अथवा करिब एक तिहाई घरमा साइकल छन्। मोटरसाइकल ९.५८ प्रतिशत घरमा र गाडी हुने घर संख्या १.५७ प्रतिशत मात्र छ। विशेषगरी तराइतिर त घरघरमं साइकल हुन्छ। काममा, स्कुल वा बजार जान, साइकलले सबैलाई साथ दिन्छ। कति ठाउँमा यसले विद्यालय र बजारमा महिलाको पहुँच बढाएर उनीहरूको सशक्तिकरणमा समेत ठूलो भूमिका खेलेको छ। यति हुँदाहुँदै पनि साइकललाई सरकारले खासै महत्व दिँदैन।
काठमाडौंमा सन् १९०३ अथवा ११५ वर्षभन्दा अघि नै साइकल भित्रिसकेको थियो। झन्डै सय वर्षअघि पहिलो साइकल पसल खुलेको थियो। यति लामो इतिहास हुँदा पनि अहिले साइकल चढ्नेको संख्या घट्दो छ।
नेपाल सरकार र जाइका संस्थाले सन् १९९१ र २०११ मा गरेको अध्ययनअनुसार २० वर्ष अविधमा काठमाडौंमा साइकलमा हुने यात्रा ६ प्रतिशतबाट १.५ प्रतिशतमा झरेको छ। यही समयमा मोटरसाइकलमा हुने यात्रा भने तीन गुणा बढेको छ। यसो हुनुको मुख्य कारण सडकमा साइकललाई प्राथमिकता नदिइनु नै हो।
साइकल प्रवर्द्धन गर्न कहिल्यै लगानी गरिएन। गाडीका लागि सडक बनाइए, ठाउँठाउँमा पेट्रोलपम्प खुले, पार्किङ गर्ने ठाउँ दिइयो, पेट्रोल-डिजेलमा छुट दिइयो। नीति, योजना र मापदण्डहरू पनि बनाइए। तर साइकलका लागि के गरियो?
काठमाडौं साइकल यात्राको लागि उपयुक्त ठाउँ हो। एक जना मान्छेको यात्राको औसत दूरी करिब ५ किलोमिटर मात्र छ। यो साइकलमै सजिलै तय गर्न सकिन्छ। यहाँको मौसम पनि साइकल यात्राको लागि उपयुक्त छ। धेरै जसो काठमाडौंबासीहरूमा गाडी किन्ने आर्थिक क्षमता छैन।
काठमाडौं जनसंख्याको ठूलो भाग युवाहरू छन्, जो साइकल चढेर गणतव्यमा पुग्न सक्षम हुन्छन्। त्यसो त साइकल युवाका लागि मात्र होइन, साना केटाकेटीदेखि पाका उमेरका सबैका लागि हो। शारीरिक रूपमा सक्षम मान्छेले सुरक्षित वातावरण भए साइकल चढ्न कुनै उमेर चाहिँदैन। त्यसैले काठमाडौंलाई साइकल सहरका रुपमा विकास गर्न सम्भव छ र आवश्यक पनि छ।
साइकल यात्रुको मुख्य आवश्यकता सुरक्षा हो। तर यहाँको सडक साइकलका लागि सुरक्षित छैन। साइकल लगायत अरू सबै सवारीसाधन एउटै् लेनमा गुड्दा र अरू सवारीले साइकललाई पेल्न खोज्दा दुर्घटना जोखिम धेरै हुन्छ। साइकल यात्रुलाई चोट पनि बढी लाग्ने सम्भावना हुन्छ।
साइकललाई छुट्टै लेन आवश्यक हुन्छ। काठमाडौंमा पनि साइकल लेन बनाउने सुरूआत भएको छ तर पर्याप्त छैन। हाल माइतीघर-तीनकुने सडकखण्डमा साइकल लेन छ तर यसमा धेरै समस्या छन्। अन्य ठाउँमा सडक विस्तार गरिए पनि साइकल लेन छैन। चौडा गरिएका बल्खु-कालिमाटी र रिङरोडमा साइकल लेन बन्न सक्थ्यो। बनाइने पनि भनियो, तर कामै भएन। साइकलका धेरै फाइदा हुँदाहुँदै पनि विस्तारित सडक गाडीलाई नै दिने प्रवृत्ति छ।
कोलम्बियाको राजधानी बोगोटा सहरका पूर्वमेयर एनरिक पेनालोसाले भनेका थिए, 'साइकल लेनले ३० डलरको साइकल चढ्ने नागरिक र ३० हजार डलरको गाडी चढ्ने नागरिकलाई समान देखाउँछ। साइकल लेन समानता र लोकतान्त्रिक समाजको सूचक हो।
कतिले साइकल गरिबको सवारीसाधनका रुपमा हेर्छन्। गाडी मात्र विकास र सम्पन्नताको सूचकका रुपमा लिन्छन्। तर अहिले विश्वभर नै साइकलका लागि आवश्यक संरचना बनाउने क्रम बढ्दो छ। र, विशेषगरी पश्चिमा विकसित मुलुकमा साइकल चढ्नेको संख्या बढ्न थालेको छ।
डेनमार्कको कोपेनहेगनमा करिब ५० प्रतिशत यात्रा साइकल मै हुन्छ। नेदरल्याण्डका केही सहरमा ६० प्रतिशत यात्रा साइकलमा हुन्छ। अमेरिकालाई पनि साइकल मोहले छोइसकेको छ। न्यूयोर्कमा गाडी चल्ने सडक साँघुरो बनाएर ३२० किलोमिटर साइकल लेन बनाइयो। यसपछि साइकल चढ्नेको संख्या दोब्बर बढ्यो। त्यहाँको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र अर्थतन्त्रमा समेत सुधार आएको छ।
यसैले साइकल लेन जस्ता संरचनाले साइकल यात्रीलाई मात्र होइन गाडीहरूलाई पनि फाइदा हुन्छ। विस्तारै गुड्ने साइकललाई अलग्गै लेन दिँदा ट्राफिक जाम कम भइ गाडीहरू लाभान्वित हुन्छन्।
साइकल प्रवर्द्धनका थुप्रै फाइदा छन्। व्यक्तिगत तहमा यसले यातायात सुविधा दिन्छ। धेरै जाम भएका बेला गाडीभन्दा पनि छिटो आफ्नो गन्तव्यमा पुग्न सकिन्छ। नियमित साइकल चढ्दा व्यायाम हुन्छ। खर्च पनि कम हुन्छ।
समाजका लागि हुने फाइदा हेर्ने हो भने वातावरण प्रदूषण कम गर्ने, सीमित सार्वजनिक ठाउँको उपयुक्त प्रयोग गर्न मद्दत गर्ने, दुर्घटना कम गर्ने र आर्थिक विकासमा समेत टेवा पुर्याउने हुन्छ।
यसैलाई मध्यनजर गरी ६ वर्षअघि वातावरण दिवसमा वातावरण मन्त्रालयले साइकल सम्बन्धि एउटा अन्तरक्रिया कार्यक्रम गरी दस बुँदे घोषणापत्र जारी गरेको थियो। जसमा काठमाडौंमा साइकल प्रवर्द्धन गर्न रणनीति बनाएर कार्यान्वयन गर्ने, विस्तारित सडकमा साइकल लेन व्यवस्था र सञ्जाल तयार गर्ने, सहरको ऐतिहासिक भित्री क्षेत्रमा गाडी नियन्त्रण गरी पैदलयात्रु र साइकलयात्रु प्रवर्द्धन गर्ने जस्ता कुरा छन्। यही घोषणापत्र मात्र कार्यान्वयन गर्न सके पनि साइकल प्रवर्द्धनमा धेरै काम गर्न सकिन्थ्यो।
विभिन्न संघसंस्थाहरू साइकल सहर विस्तारमा लागि परेका छन्। झन्डै १० वर्षअघि केही विद्यार्थीहरूको समूहले 'काठमाडौं साइकल सिटी २०२० अभियान' थालेका थिए। यस्तै समूहहरू पोखरा, धरान, हेटौंडा लगायत अन्य सहरमा पनि क्रियाशील छन्। अभियन्ताहरूले बेलाबेलामा विभिन्न ठाउँमा साइकल र्याली तथा कार्यक्रम गर्दै आइरहेका छन्। आउँदो वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको 'विश्व साइकल मञ्च' हुन लागेको छ। यसले विशेषगरी युवाहरूमाझ विस्तारै साइकलप्रति आकर्षण बढ्दै गएको छ।
युवाहरूको यही जोशमा अब सरकारले पनि लगानी गर्नुपर्छ। सरकारले थालेको सुस्त प्रयासलाई गति दिनुपर्छ। यसका लागि मुख्यतया तीन कुरा ध्यानमा राख्दा हुन्छः
पहिलो, काठमाडौं उपत्यका लगायत देशका अन्य सहरमा यातायात प्रणाली योजना बनाउँदा साइकललाई उच्च प्राथमिकतामा राख्ने।
दोस्रो, सहरलाई साइकलमैत्री बनाउन आवश्यक संरचना बनाउने।
तेस्रो, साइकल संस्कृति विकास गर्न सबैलाई साइकल चढ्न प्रेरित गर्ने।
यसो गर्न सके हाम्रा सहर प्रदूषणरहित र जीवन्त बन्न सहयोग पुग्नेछ र सबैले साइकलको आनन्द लिन सक्नेछन्।