भूगोलका दृष्टिले नेपाल मेची महाकालीको सीमामा सिमित छ। तर भावनाका दृष्टिले नेपाल विश्वव्यापी फैलिइरहेको छ। पढाइ, काम र जीवनको खोजीमा दुनियाँभर आकार विस्तार गरिरहेको नेपाल बाहिरको भावनाको नेपाललाई भौगोलिक नेपालको समग्र समुन्नतिका लागि परिणाममुखी सहकार्यमा गाँस्न जरुरी छ।
भइरहेका प्रगतिलाई गति दिएर अघिल्तिरका चुनौति निदान गर्दै नेपालका लागि ‘एक बनौं विश्वभरका नेपाली’ भन्ने भावनालाई वर्तमान समयको नवीन राष्ट्रवादी भावनाका रुपमा आत्मसात गरिनु पर्छ। डेनमार्कमा ३३ देशका नेपाली जनसम्पर्क समितिको विश्वस्तरीय प्रशिक्षणले आफ्ना अनेक विषय र अपेक्षासँगै नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई छलफलको विषेश प्राथमिकतामा राख्नु महत्वपूर्ण छ।
सोही कार्यक्रममा ‘नेपाली डायस्पोराका चुनौति र नेपालको समृद्धिमा भूमिका’ विषयमा प्रस्तुत गरेको कार्यपत्रको सम्पादित आलेख सेतोपाटीमार्फत् प्रस्तुत गरेको छु। आयोजक नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान तथा स्थानीय व्यवस्थापनको सम्पूर्ण संयोजन गर्ने नेपाली जनसम्पर्क समिति, डेनमार्क बधाईको पात्र छन्। कांग्रेस प्रतिपक्षमा रहेको समयमा पनि डायस्पोराका मनोवैज्ञानिक र व्यवहारिक चुनौतीहरु उपर चिन्ता र चिन्तन गर्नु तथा नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई कसरी व्यापक तुल्याउन सकिन्छ भनेर विषय चिन्तन गर्नु प्रतिपक्षको जिम्मेवार सृजनशील भूमिकाको हाम्रा सन्दर्भमा एक भिन्न उदाहरण हो।
डायस्पोराको अवस्थिति
नेपाल बाहिर कति नेपाली छन्, भनेर नेपाल देशसँग प्रष्ट तथ्याङ्क छैन। झण्डै एक दशक यता निरन्तर भनिएको आकंडा हो करिब चालिस लाख। संभवत त्यो आकार बढेर यतिबेला पचास लाखको उकालोमा हुनुपर्छ। सन् २००३ मा पहिलो विश्व सम्मेलन गरेको गैरआवासीय नेपाली संघमा एक लाख भन्दा कम मात्रै नेपाली आवद्ध छन्। यसको अर्थ के हो भने डायस्पोराको ‘सेन्टीमेन्ट’ संगठित हुने शुरुवाती चरणमै छ अझै । नेपाली जनसम्पर्क समिति विधिवत रुपले ३५ देशमा मात्रै विस्तारित छ तर नेपाली भने त्यो भन्दा तीन गुणा बढी देशमा फैलिइसकेका छन्।
यद्यपि साना ठूला गरेर एक हजार बढी नेपाली संस्था डायस्पोरामा उपस्थित छन्। अब जरुरी छ फरक संस्था र फरक आस्था रहेपनि नेपाली डायस्पोराको वृहत्तर हितको खोजीका लागि साझा अभियान अनि त्यो अभियानमार्फत् नेपालको समृद्धिमा साझा योगदान।
डायस्पोराको मनस्थिति
जुनसुकै उद्देश्यका लागि होस्, देश छाडेर परदेशमा जीवन खोज्न जाने स्थिति सामान्यतया कसैका लागि पनि सुखद हुँदैन। यद्यपि आजको युगमा आफ्नो देशभन्दा बाहिरपनि जीवनको खोजी गर्न जाने विषय हाम्रो जस्तो अल्पविकसित देशहरुमा मात्रै होइन समृद्धिको अग्रपंक्तिमा रहेका देशहरुमा पनि यो प्रवृति देखिन्छ। आर्थिक या राजनैतिक वाध्यताले कसैले पनि बाहिरिनु नपर्ने परिस्थितिको निर्माण निश्चय नै हाम्रो लक्ष्य हो तर आजको मितिमा नेपाली डायस्पोरालाई नेपालको समृद्धिमा वृहत्तर सहकार्यका लागि प्रेरित र सहजीकरण गर्ने कर्तव्य राज्य र राजनैतिक दलको हो।
डायस्पोरामा रहेका आम नेपालीमा भिन्नभिन्न जे मनस्थिति छ त्यसलाई धैर्यसँग नेपाल देशले सम्बोधन गर्न र विश्वासमा लिन जरुरी छ। देश बाहिर जानु परेको या बस्नु परेको पिडाका कारण दलहरु र देशप्रति प्राय: सबैको गुनासो सुनिन्छ । शान्ति स्थापना, संविधान निर्माण र निर्वाचन पश्चातपनि मुलुकले सार्थक गति लिन नसक्दा कयौमा आक्रोश देखिन्छ। व्यक्तिगत या संस्थागत लगानीका लागि अनेक झन्झटिला वातावरण झेल्नु परेकोमा एक ढंगको निराशा देखिन्छ। पसिना मात्रै होइन रगतको आंशु समेत भिजाएर देश पठाएको रेमिटेन्सको निश्चित हिस्सा उत्पादनमूलक क्षेत्रमा संगठित लगानीको भिजन अभ्यासमा नआउँदा डायस्पोरालाई सँगै सबैलाई दुःख लाग्नु स्वभाविक छ।
कतिपय बेला कतिपयले ‘देशको माया भएको भए विदेश किन जान्थे’ भनेर व्यक्तिगत स्तरमा गरेको आलोचनाले डायस्पोरालाई विझाउने गरेको छ। राज्यका जिम्मेवार व्यक्तिहरुबाटै ‘भूतपूर्व नेपाली’ को संज्ञा दिँदा त्यसले नेपालका लागि केही गरौँ भन्ने ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने जाँगर, अठोट र भावनामा चोट लाग्नु स्वभाविक छ।
देशभित्र रहेको कुनै युवक ‘यो देश कहिलै बन्दैन’ भनेर मानौ निराशा मात्रै व्यक्त गरेर बस्छ तर देश बाहिर अर्को युवक देश बनाउन थोरै मन र थोरै धन गाँस्नतर्फ लाग्छ भने कसलाई जिम्मेवार नेपाली भन्ने? डायस्पोरामा रहेका कसैले पनि परदेशबाट देशकाप्रति प्रश्न र गुनासालाई मात्रै केन्द्रमा राखेर होइन अनेक प्रतिकूलताका बीच मातृभूमिको समृद्धिका लागि आफ्नो भूमिकालाई सृजनशील ढंगले व्यवस्थित गर्न जरुरी छ भने देशभित्र रहेकाले देश निर्माणको महान अभियानमा डायस्पोरासँग हार्दिक ढंगले हातेमालो गर्दै अघि बढ्न जरुरी छ।
कांग्रेसले एकातर्फ देशभित्रको निराश युवामा देशकाप्रति आशा र भरोसा जागृत गर्नुछ जसले वेरोजगारी, भूकम्प, नाकावन्दी अनेक पिडामा पनि देश रुंगेर र रखवारी गरेर बसेको छ। अर्कोतर्फ परदेशमा रहेका युवामा मातृभूमिप्रतिको प्रेम र विश्वासलाई दीर्घ जीवन दिलाउनु छ। त्यही महान् अभियान र उद्देश्यलाई सार्थक बनाउन हामीले ‘नेपालका लागि एक बनौ विश्वभरका नेपाली’ भन्ने आह्वानलाई अघि सारेका हौं।
नेपालका लागि गाँसौ ‘दुई नेपाल’
जननायक बीपी कोइरालाले एक पटक भन्नु भएको थियो नेपाल दुईवटा छ। एउटा बाटोघाटो र विजुली भएको नेपाल। अर्को बाटो, बिजुली, विद्यालय, अस्पताल आदि नपुगेको नेपाल। उहाँको भनाई थियो हाम्रो लक्ष्य त्यही केही नपुगेको नेपालमा ती सबै कुरा पुर्याउनु हो। ०४६ सालको परिवर्तन पश्चात दोस्रो नेपालमा पनि क्रमशः बाटो, विजुली आदि पुग्न थाले। जे जति भौतिक प्रगति बितेको पच्चीस वर्षमा भएको छ त्यो मुलुकमा हिंसा र अस्थिरता रहेको प्रतिकूल कालखण्डमा भएको उपलब्धी हो।
कांग्रेसले सबै राजनीतिक परिवर्तनको नेतृत्व गर्यो तर समृद्धिका लागि कर्म गर्न सकेन भनेर आरोप लगाउने जो कोहिले ०४६ अघिको नेपाल र आजको नेपालको आर्थिक प्रगतिको इमानदार तुलना गरेभने प्रष्ट हुन्छ हामी उही अवस्थामा किमार्थ छैनौं दुई कदम अघि बढेका छौँ।
अब बीपीले भन्नु भएको दुई नेपालका बीचको दुरी क्रमश कम हुँदै गएको छ। नयाँ संविधानका प्रति अपनत्वको दायरा विस्तार गर्दै समाजवाद उन्मुख संविधानको लोकतान्त्रिक व्यवस्थालाई व्यवहारमा अनुवाद गरेर सो अनुरुपको ‘सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्था’ लाई इमान्दार कार्यान्वयन गरे अबको दशकमा हाम्रा गाउँ समृद्ध बन्ने छन्।
तर वर्तमान नेपालमा कम्युनिष्ट पार्टीको सरकार कम्युनिष्ट दर्शनको शासकीय मनस्थिति र लोकतान्त्रिक संविधानको धरातलीय परिस्थिति बीचको अन्तरद्वन्द्वमा छ। यो द्वन्द्वका बीच उसले शान्ति, संविधान र चुनावपछिको इतिहासका सुन्दर दिनलाई क्रमश खरानी बनाउने आशंका बढेको छ। यस्तो स्थितिमा नेपाल आजको दुई नेपाललाई दुरी घटाउन तथ्याड्कमा आधारित व्यवहारिक सफलता हासिल गर्ने संभावना सांघुरिदै गएको छ।
नेपाली कांग्रेसले एकातर्फ नेपाल भित्रको दुई नेपालको दुरीलाई क्रमश बराबरीमा ल्याउने आफ्नो पूर्व घोषित लक्ष्य कार्यान्वयनको नवीन कार्ययोजना बोक्नु छ भने अर्कोतर्फ पछिल्लो कालखण्डमा विकसित दुईवटा नेपाललाई गाँस्नु पनि छ। ती दुई नेपाल हुन् नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपाल।
नेपाली डायस्पोरा नेपाल बाहिरको अर्को नेपाल हो। आफ्नो मातृभूमिका लागि नेपाल बाहिरका नेपालीले व्यक्तिगत र संस्थागत दुवै ढंगले योगदान गर्न सक्छन्। नेपाली चाहे नेपाल भित्रका हुन् या बाहिरका सबैको साझा ध्येय नेपालको समुन्नति नै हो। भित्र रहेका नेपालीले हिंसा, अस्थिरता, अभाव, वेरोजगारी लगायतका अनेक पिडा झेलेका छन्, कहिले सानो त कहिले ठूलो आकारमा प्रकट हुने निराशामा यिनै विषयहरुको भूमिका छ।
देशमा भूकम्प, बाढी, पहिरो जाँदा बाहिरका नेपाली दुःखी नभइरहन सक्दैनन्। हांगा भएर संसारमा जहाँ जति फैलिउन्, तिनको जरा नेपालमै छ। शरीर जहाँ पुगोस् तिनको आत्मा नेपालमै छ। व्यक्तिगत रुपमा कोही जति सम्पन्न बनोस्, देश समृद्ध नबन्दासम्म उसको खुशी अधुरो नै रहन्छ। अतः नेपाल देशको समुन्नति सबैका लागि साझा ध्येय हो।
नेपाली डायस्पोराले आफ्नो कर्मभूमिका रुपमा दुनियाँको कैयन देशलाई योगदान दिएको छ। आफूमा भएको सीप र पूँजीले आफ्नो मातृभूमि सिर्गान अबका दिनमा भूमिकालाई तीव्रतर बनाउनु पर्छ। कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानले नेपालको समृद्धिमा योगदान गर्न नेपाली डायस्पोरालाई विगतमा भन्दा सहज र सुरक्षित बनाएको छ।
संविधानले गाँसेको अपनत्व र चौथो पुस्ता
नेपालको संविधानको भाग २ को धारा १४ ले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। प्रवासी नेपालीको लामो समय देखिको माग मात्रै यसबाट सम्बोधन भएको होइन कि यसले कर्मभूमि र मातृभूमिका बीच एकातर्फ पुलको कार्य गरेको छ। अर्कोतर्फ गैरआवासीय नेपालीको नेपाल सम्बन्धलाई संवैधानिक, मनोवैज्ञानिक र व्यवहारिक कोणबाट प्रगाढ बनाउन मार्ग प्रशस्त गरेको छ।
संविधानको सो धारा भन्छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ।’
गैरआवासीय नेपाली नागरिकता लिनु अघिको नेपाली नागरिकताका नाममा रहेको घर जग्गा सम्पतिको भविष्यलाई सरलीकरण कसरी गर्ने। तेस्रो पुस्तापछि चौथो पुस्ताको भविष्य के हुने? चौथो पुस्ताको भविष्य खोजीको अर्थ तिनको वैयक्तिक प्रगतिका सन्दर्भमा होइन, नेपाल देशसँग तिनको नागरिकतागत संवैधानिक सम्बन्धका बारेमा हो किनकी संविधानले तेस्रो पुस्तासम्मलाई मात्रै गैर आवासीय नेपाली नागरिकताको प्रबन्ध गरेको छ। संविधान समयक्रममा आवश्यकता अनुसार परिमार्जित होला नै तर चुनौतिको अर्को पाटो बारे नेपाली डायस्पोरा दुरदर्शी ढंगले गम्भीर रहन जरुरी छ। त्यो के भने आजका हामीले भोलि देख्न नपाउने तर आजै अनुमान गर्न सक्ने महत्वपूर्ण प्रश्न भनेको ‘चौथो पुस्तामा नेपाल शंवेदना’ कस्तो आकारमा हस्तान्तरण हुन सक्ला? भन्ने हो।
आज विश्वभरी फैलिएका नेपालीमध्ये संभवत नब्बे प्रतिशतभन्दा बढीको जन्म नेपालमै भएको थियो। स्वभाविक छ तिनले परदेशीदै गर्दा नेपालको धुलो, मैलो, पीडा, खुशी, पर्व, मेला, साथीसँगीको सम्झना सबैसँगै लिएर गए। ति सबैप्रति तिनका हृदयमा प्रेम छ, तर चौथो पुस्ताले त्यो प्रेमलाई त्यतिकै भावनात्मक आवेगका साथ बोक्नेछ त?
‘म जन्मेको देश’, ‘म जन्मिएको माटो’ भन्ने भावना दुनियाँको शक्तिशाली भावना मध्ये अग्रपंक्तिको भावना हो। ‘म जन्मेको माटो’ भनेर पहिलो पुस्ताले नेपालप्रति जुन भावनात्मक सम्वेदना राख्छन् चौथो पुस्ताले आफू जन्मिएको माटोका रुपमा डेनमार्क बेलायत, क्यानडा र अमेरिकालाई हृदयमा ठूलो स्थान दिनेछन् कि नेपाललाई ? आजकाले कर्मभूमि भनेका देशहरु पछिल्लो पुस्ताको कर्मभूमि मात्रै होइन जन्मभूमि समेत बनिसक्नेछ। स्वभाविक मानवीय मनोविज्ञानले उसलाई त्यहींको माटो, त्यहींको संस्कार र त्यहींको जीवनसँग एकाकार गर्दै लैजानेछ।
त्यसैले प्रश्न चौथो पुस्ताको नेपाल सम्बन्धलाई संवैधानिक प्रावधान भित्रबाट मात्रै खोजेर पुग्दैन संस्कारगत सम्बन्धको कोणबाट दुरदर्शी ढंगले दृष्टि निर्माण गर्न जरुरी छ।
नेपाल फर्किने की ‘नेपालित्व जोगाउने’?
चौथो पुस्ताको ‘नेपाली भविष्य’ प्रति गम्भीर चिन्ता गरिरहँदा समाधानको सहज उत्तर कसैले भन्न सक्छ ‘उसो भए सबै नेपाल फर्क।’ एकताका ‘नजाउ छोडी यो देश आमालाई रुवाएर’ भन्ने गितमा राष्ट्रवादको अनुभूति हुन्थ्यो। भावनाको दृष्टिले त्यो गलत थिएन तर आजको खुला विश्वमा सबै देशका नागरिक विश्वभरी फैलिएर सिप, ज्ञान र विज्ञानमा प्रगति गरिरहेका बेला, व्यक्ति, समुदाय र सिंगो राष्ट्रकै उन्नतिमा हातेमालो गर्ने उच्च क्षमता विस्तार गरिरहेका बेला नेपाल देशमात्रै ‘मेची-महाकाली’ को सिमानाभित्र बन्द समाज बनाएर बस्न सक्दैन।
वाध्यताको आँशु पिएर कसैले पनि कहिलैपनि देश छाड्नु नपरोस्, त्यस्तो नेपाल हामीले निर्माण गर्नु छ तर त्यस्तो स्वर्णीम नेपाल निर्माण गर्न आजको पुस्ताले दोब्बर मेहनत गर्नैपर्छ। यही देशभित्र होस् या देश बाहिर गएर होस् ज्ञान, सीप र समृद्धिका लागि संघर्ष गर्नैपर्छ। त्यसैले आजकै मितिमा अब कोहि पनि बाहिर नजाउ भन्न सकिने अवस्था बनेको छैन न त बाहिर रहेका सबै घर फर्क भन्ने स्थिति बनेको छ।
‘देशमा शान्ति स्थापना भएको छ। अब सबै नेपाल फर्कनोस्’ भनेर कुनैपनि नेतृत्वले भाषणमा भन्नलाई भन्नुको मजा आफ्नो ठाउँमा छ तर बाहिरकालाई फर्क भन्ने भन्दा बाहिर नगएकालाई स्वदेशमै अनेक विकल्पका साथ सहज जीवन दिने प्रयत्न गर्नु आजको नेपालको प्राथमिकताको विषय बन्नुपर्छ। कांग्रेसको नेतृत्वमा शान्ति स्थापना, संविधान निर्माण र तिन तहको चुनाव सम्पन्न भएको छ।
चुनावमा पराजित भयो होला तर नेपाली कांग्रेस शान्ति देखि चुनावसम्मको गुरुत्तर दायित्व निर्वाह गर्ने राष्ट्रिय परिक्षामा सानदार ढंगले उत्तिर्ण भयो। परीक्षा अब कम्युनिष्ट पार्टीको शुरु भएको छ। शान्तिलाई दिगो शान्तिमा रुपान्तरण गर्ने, संघीयताका बाँकी कार्यभार पूरा गर्ने, संविधानप्रति अपनत्वको दायरा विस्तार गर्ने र समृद्धिका लागि दुरगामी भिजनका साथ कार्य गर्ने। तर कम्युनिष्ट पार्टी यो परिक्षामा पास हुने भन्दा सैद्धान्तिक अन्र्तविरोध एवं शासकीय योग्यताको अभावका कारण नराम्रोसँग असफल हुने संकेत झ्याङ्गिएका छन्। नयाँ ढंगको हिंसात्मक विद्रोहका घटना देखिन थालेका छन् यस्तो अवस्था रहिरहे देशबाट बाहिरिनेको संख्या घट्ने होइन बढ्न सक्छ।
अतः डायस्पोराको नेतृत्वले...
१. डायस्पोराको अनेक तह र विचारको नेतृत्वले डायस्पोराको आकार आगामी दशकमा बढ्न सक्ने संभावना मध्यनजर राख्दै वृहत्तर नेपाली सहकार्यलाई गति दिन जरुरी छ। कांग्रेस निकट नेपाली जनसम्पर्क समिति होस् या अरु दल आवद्ध संस्था या गैरआवासीय नेपाली संघको साझा मञ्च होस् या हजारौँको संख्यामा रहेका अनेकन नेपाली संस्था हुन् तिनका बीच ‘कर्मभूमिमा नेपालीको हित र जन्मभूमिको समृद्धिमा सहभागिता’ साझा संकल्प र साझा गन्तव्य बन्नुपर्छ।
२. हिंसा, अविकास र वेरोजगारी मूलतः तीन कारण हुन् जसले लाखौं युवालाई देश बाहिर धकेल्यो। व्यवहारिक शिक्षा, सुरक्षित रोजगारी र तुलनात्मक सहज जीवन यी तीन कारण हुन् बाहीरी दुनियाँको जसले लाखौं युवालाई आकर्षित गर्यो। नेपालमा यिनै तीन आकर्षणको अभिवृद्धिले मात्रै युवालाई देशभित्रै भविष्य खोज्ने बनाउन सकिन्छ। यो लक्ष्य हासिल गर्न देशले डायस्पोरासँग र डायस्पोराले देशसँग अझै वृहत स्तरमा सहकार्य गर्न जरुरी छ।
३. नेपाली डायस्पोरा विश्वव्यापी भइरहँदा नेपाली संस्कार, संस्कृति, पर्व, पन, मन र नेपालीको भावनात्मक सम्वेदनापनि विश्वव्यापी रुपमा फैलिनुपर्छ। हाम्रो भाषा, संस्कृतिको जुन विविधता छ, त्यो परदेशको माटोमा डायस्पोराको पछिल्लो पुस्तामा भरिरहँदा उसमा देशका प्रतिको आकर्षण र भोक निरन्तर जागृत रहन्छ। घर, गाडी, उच्च शिक्षा, आकर्षक पेशा व्यवसाय र राम्रै बैंक व्यालेन्स डायस्पोराको पछिल्लो पुस्ताले राम्रैसँग जोहो गर्लान् तर तिनमा ‘नेपालित्व’ जागृत भएन भने आमाबाबुका लागि ती आत्मा नभएका शरीर जस्तै बन्नेछन्। डायस्पोराका लाखौं नेपाली घर भित्र आँशुले छोप्न नसकिने यस्तो पीडा आगामी दशकमा झ्याङ्गिन नदिन डायस्पोराको अगुवाको साझा पहलकदमीले गति लिन जरुरी छ।
४. डायस्पोराको पछिल्लो पुस्तालाई नेपाली संस्कृतिपछि नेपालको समृद्धिले पछिसम्म गाँसेर राख्न सक्छ। ऊ आफ्नो पहिचान अरु समृद्ध देशको युवाका सामु सगरमाथा, बुद्ध र बीर गोरखालीको देश भनेर दिन त चाहन्छ नै तर खान लगाउन नपुगिरहेको वेरोजगारीको पीडा र गरिबी भरिएको देशको हुँ भनेर परिचय दिन चाहँदैन। बरु त्यो परिचय लुकाएर मनोवैज्ञानिक रुपमा सहानुभूतिको पात्र हुने परिस्थिति रोक्न चाहन्छ। त्यसैले नेपाल देशको समृद्धि नेपालमा बस्नेका लागि त चाहिएको छ नै डायस्पोराले पनि आफ्नो इज्जत र हैसियत अभिवृद्धिका लागि समृद्ध नेपाल जरुरी छ। डायस्पोराको पछिल्लो पुस्तालाई उसका पूर्वजको देशप्रति गौरव लाग्ने इतिहास र संस्कृतिसँगै समृद्धि पनि हुनेछ। डायस्पोराको हरेक तहको आजको सचेत पंक्तिले नेपालको समृद्धिसँग गाँसिने आफ्नो पहिचानको उचाइलाई पक्कै विश्लेषण गरेको हुनुपर्छ।
नेपाली सबै नेपालमै बाँच्नुपर्छ र नेपालमै मर्नुपर्छ जरुरी छैन। जहाँ भए पनि जहाँ रहे पनि नेपालका लागि बाँच्नुपर्छ, नेपालका लागि गर्नु पर्छ। प्रश्न ‘नेपालमा बाच्ने’ की ‘नेपालका लागि बाँच्ने’ भन्ने हो।
अबको अध्याय ‘व्रेन गेन’ को
डायस्पोरा कुनै वित्तिय संस्था होइन देशले सिधासिधी आर्थिक लगानीको विषयमा मात्रै छलफल गर्नका लागि। नेपाली डायस्पोरामा प्रसिद्ध वैज्ञानिक, प्राध्यापक, चिकित्सक, निती निर्माता, इञ्जिनियर, साहित्यकार, कलाकार, उद्योगपति, खेलाडी अनेक छन्। मरेको मानिसको मुटु जिउँदो मानिसमा ट्रान्सप्लान्ट गर्ने पद्धतिको पहिलो प्रयोग अष्ट्रेलियाको अस्पतालमा भयो। चिकित्सक न अष्ट्रेलियन थिए न अमेरिकी। नेपाली आमाका छोरा डा. कुमुद धितालले त्यो इतिहास रचे। मंगलग्रहमा पानीको अस्तित्व पत्ता लगायो मानिसले, नासाका वैज्ञानिकको त्यो टिममा नेपाली वैज्ञानिक लुजेन्द्र ओझा पनि थिए। यी प्रतिनिधि पात्र हुन्। अन्य अनेक प्रगतिको उचाईमा नेपाली मस्तिष्कहरु क्रियाशील छन्।
संसारमा ‘कृतिम वौद्धिकता’ उपयोग चर्चा चलिरहेका बेला नेपाल देशले संसारमा जहाँ रहेका हुन्, नेपाली वौद्धिकको वौद्धिक लगानी नेपालको नवनिर्माणका लागि खोज्न जरुरी छ। तर सँगैमा कसैको विवाहमा जान निम्तो कार्ड चाहिए झैं आफ्नो देशमा वौद्धिक लगानी गर्न देशले निम्तो कार्ड पठाउनुपर्छ भनेर प्रतिक्षा गर्नु हुन्न डायस्पोराका सृजनशील मस्तिष्कहरुले।
हाम्रो तितो वास्तविकता ‘व्रेन ड्रेन’ को रह्यो। हिंसा या अस्थिरताले होस् या अवसरको कमीले हाम्रो ठूलो वौद्धिक सम्पत्ति बाहिरिएको छ। देशमा उचित वातावरण नहुँदा बाहिरिएको वौद्धिक सम्पत्ति अब शान्ति र संविधानपछि तुलनात्मक सहज वातावरण भएको बेला वौद्धिक ढंगले फर्कंनु पर्छ। ‘वौद्धिक ढंगले फर्कनु पर्छ’ भन्नुको अर्थ शारीरिक भौतिक रुपमै भन्ने होइन, कतिपय त्यसरी पनि फर्कनु भएको छ, कयौं फर्कने मनस्थितिमा छन् ती सबै व्यक्तित्वलाई स्वागत छ।
तर भौतिक रुपमा नफर्किदा पनि संसारको पल्लो कुनाबाट देशमा वौद्धिक लगानी गर्न जे सकिन्छ आजको मितिमा त्यसमा तीब्रता जरुरी छ। डायस्पोराका ‘कुशल कालिगढी मस्तिष्क’ हरु शान्ति र संविधानको नेपालमा वौद्धिक लगानी गर्न अझै वातावरण बनेको छैन भनेर देशसँग निरपेक्ष बस्न अब पक्कै सक्दैनन्।
दलहरुको पुनर्निर्माण र देशको निर्माण निरन्तर अन्तरसम्बन्धित हुन्छ तर सांगठनिक योग्यता र शासकीय योग्यताका बीच कैयन पृथकता हुन्छन्। पूर्वी टिमोर इन्डोनेशियाबाट स्वतन्त्र भएपछि स्वतन्त्रता आन्दोलनका नेता सनाना गुजमाओले शुरुमा सत्तामा जान अस्वीकार गर्दै भने- ‘म सँग संघर्ष गर्ने क्षमता थियो मैले गरें तर ध्वंश गर्नु र निर्माण गर्नु फरक कुरा हो। निर्माण गर्न कुशल कालिगढी मस्तिष्क चाहिन्छ त्यो म सँग छैन, पूर्वी टिमोरको भिडमा त्यो खोज्नुपर्छ ।’
नेपाल नयाँ संविधानका साथ नविन राज्य संरचनामा प्रविष्ट भएको यो कालखण्डमा विश्वभरको वौद्धिक लगानीका लागि मार्ग प्रशस्त गर्ने नविन मनोविज्ञानमा प्रवेश गर्नुपर्छ। ‘सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस’ भन्दै आएको र गर्दै आएको कांग्रेसले अब डायस्पोराको वौद्धिकतासँग मेची महाकाली भित्रको नेपाल र बाहिरको नेपाललाई नेपालको समग्र समृद्धिका लागि जोड्नु छ। प्रश्न जब शान्ति, लोकतन्त्र र समृद्धिको आउँछ तब हामी विर्सन्छौँ कि हामी प्रतिपक्षी दल हौँ।
डायस्पोराको नोटसँगै भोट चल्नुपर्छ
नेपाली डायस्पोराको नेपाल सम्बन्धलाई घनिष्ट राख्ने एक महत्वपूर्ण सूत्र बन्नेछ मतदानको अधिकार। यद्यपि बाहिरको नागरिकता नलिएकाहरुले मात्रै यो अधिकार उपभोग गर्न पाउँछन् तर यसले ‘दुई नेपाल’ को दुरी कम गर्न मात्रै होइन नेपाल देशसँगको अपनत्व र जिम्मेवारीबोधलाई सार्थक ढंगले गाँस्नेछ।
मतदानको अधिकार प्राविधिक प्रश्न कम स्वामित्व वोधको मनोवैज्ञानिक विषय बढी हो। कोरियाको वन र कतारको रियाल चल्ने, जापानी ऐन र बेलायती पौण्ड चल्ने, अमेरिका र क्यानडाको डलर चल्ने तर तिनै नोट पठाउने देशका नेपालीको भोट किन नचल्ने? प्रश्न यही कोणबाट उठ्न जरुरी छ। सम्मानीत सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई नेपालको निर्वाचनमा मतदान गर्ने प्रबन्ध मिलाउन नेपाल सरकारका नाममा आदेश जारी गरिसकेको छ। कार्यान्वयनका लागि देशभित्र र बाहिर दुवै ठाउँबाट दबाब बढाउन जरुरी छ।
नेपालमा डायस्पोराको लगानी
विशेष गरी जलविद्युत, स्वास्थ्य क्षेत्र, हवाई उड्डयन, बैंक, होटल व्यवसाय र पर्यटनमा डायस्पोराका नेपालीले लगानी गरेका छन्। धेरै गैरआवासीय नेपालीले व्यक्तिगत स्तरमा समेत लगानी गर्ने गरेका कारण लगानी कति भित्रिएको छ भन्ने ठ्याक्कै आंकडा छैन। तर आर्थिक पत्रकार समाजले सन् २०१४ मा गरेको एक अध्ययन अनुसार गैरआवासीय नेपालीले ६७ वटा प्रतिष्ठानमा गरेको लगानी जोड्दा करीब २९ अर्बको लगानी पाइएको थियो। एनआरएनको मुख्य लगानीमा सानीमा हाइड्रो, उपेन्द्र महतोको मेडिसिटी अस्पताल संचालनमा छन् भने शेष घलेको शेराटन होटल निर्माणाधीन छ। सन् ०१४ पछिको आधा दशकमा यो लगानीको आकार खर्ब कटेको छ। लगानीको अनुकूल वातावरण बढ्दै जाँदा अझै बढ्दै जाने लगानीले आगामी दशकमा नेपालको समृद्धिमा ठूलो योगदान पुग्ने देखिन्छ। गरिब देशको धनी एनआरएन होइन, समृद्ध देशको सफल एनआरएनको पहिचान डायस्पोराका सबैका लागि जीवनको सबैभन्दा ठूलो आत्मसन्तोष बन्नेछ ।
रेमिटेन्स: ठोस लगानीको खोजी
विदेशिएका नेपालीले पठाएको रेमिटेन्सले नेपाल देशको अर्थतन्त्रलाई अनेकौं प्रतिकूलता चिरेर जोगाउँदै आएको छ। दशक लामो हिंसा, भूकम्प र नाकावन्दी नेपाल देशले यस बीचमा थुप्रै जटिलता पार गर्यो। रेमिटेन्स पठाएर देशलाई ढल्न नदिन योगदान गर्ने प्रत्येक पवित्र हात सलामका हकदार हुन्। तर रेमिटेन्सको पछिल्तीर गहिरो पिडा लुकेको तथ्यको साक्षी सिंगो देश छ।
जीवनको ठूलो सपना पूरा गर्न कयौं साना सपनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर प्राङ्गणको धुलोसँगै छाडी राखेर लाखौं युवाले देश छाडेका छन्। कमाएर पठाएका छन् तर कयौं काठको बाकसमा भरिएर फर्किएका पनि छन्। विभिन्न देशका अस्पतालमा रोजगारीमा गएका युवा घाइते स्थितिमा उपचारत छन्। सयौं युवा अनेक मुद्दामा त्यहाँका जेलमा छन्। दर्जन बढीले मृत्युदण्डको सजाय फैसला सुनेर विदाईको दिन गिन्ती गरिहेका छन्। रेमिटेन्सका पछि दर्दनाक पीडा लुकेको छ।
आर्थिक सुखको छानो जरुर जोडिएको छ तर पारिवारिक जीवनको खुशी कयौंको वैदेशिक रोजगारीकै कारण भत्किएको छ। रेमिटेन्स लामो समयसम्म हामीलाई जोगाउने आधार बन्न सक्दैन। तर अबको एक दशक रेमिटेन्सको सृजनशील उपयोगको रणनीति अख्तियार गर्नुको तत्कालै अर्को विकल्प छैन। रेमिटेन्स पठाउनेकै नाममा सेयर हुने गरी कम्तीमा दशदेखि पन्ध्र प्रतिशत रकम फरक–फरक साना जलविद्युत परियोजनामा लगानी गराउने अभियानमा देश प्रवेश गर्नुपर्छ।
व्यक्तिलाई उत्प्रेरणा भरेर, राज्यले व्यवस्थित र पारदर्शी परियोजना निर्माण गरे मुलुकको राजनैतिक मालिक बनिसकेका नागरिक क्रमश आर्थिक मालिक समेत बन्नेछन्। बाबुको पालो पछि छोरा विदेशिने रेमिटेन्सको ‘रिले दौड’ को क्रम अबको दशकमा यसले न्यून भएर जानेछ भने हाइड्रोबाट प्राप्त हुने बोनसको जगमा गाउँमा लाखौं उद्यमी आगामी दशकमा विस्तारित हुनेछन्। हिंजो हिंसा र अस्थिरताको कालखण्डमा रेमिटेन्सलाई ग्रामीण विद्युततर्फ मोड्न उत्प्रेरित गर्न सकिने वातावरण थिएन आज तुलनात्मक रुपले निकै सहज परिस्थिति बनेको समयमा देशको ध्यान यसतर्फ जानैपर्छ।
धर्तीकै सुन्दर देशका लागि
डायस्पोरामा रहेका प्रत्येक नेपाली नेपाल देशको अवैतनिक राजदूत हुन्। व्यक्तिको व्यवहार, शैली र भूमिकासँग उसको व्यक्तिगत मात्रै होइन नेपाल देशकै छवि गाँसिएको हुन्छ। व्यक्तिलाई हेरेर बाहिरी दुनियाले हाम्रो देशका बारेमा धारणा बनाइरहेको हुन्छ। भौतिक रुपले समृद्ध बन्न हामी पछि परेका हौला तर प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक कोणबाट नेपाल धर्तीकै सुन्दर देश हो। विश्वव्यापी रुपमा फैलिरहेको नेपाली डायस्पोराले यसमा गौरव गर्नुपर्छ। तर त्यो गौरवले मात्रै देश बन्दैन, थप यो सोच्नुपर्छ देशले मलाई नेपाली पहिचान दिएको छ तर मैले चाहीं देशलाई के दिएँ?
twitter:@bishwaprakash77