बिरामले च्यापेर बाँचेका, मरेका अनि आधा बाँचेका अथवा अलिकति बाँचेका मान्छे मैले देख्या छु। जसलाई जीवनमा फेरि उठ्ने सम्भावना छैन र निको हुने सम्भावना पनि छैन भने त्यस्ता व्यक्तिले स्वेच्छाले मर्न पाउनु पर्छ।
अल्जाइमर भएको मान्छेबारे धेरैलाई थाहा छ। उनीहरूले दिसापिसाब नै थाहा पाउँदैन। अल्जाइमर भएको मान्छेले त अझै संकल्प गर्न पनि सक्दैन।
सबैजना कृतिनिधि बिष्ट हुँदैनन्। सबैजना डिपी भण्डारी पनि हुँदैनन्। कृतिनिधि बिष्टका लागि महिनाको ३० हजार रुपैयाँ तलब दिएर नर्स नै राख्दिएका थिए अरे। डिपी भण्डारीका लागि पनि मान्छे राखिएको छ रे। भण्डारीको परिवारले पनि निकै मिहिनेत गरेका छन् भन्ने सुनेको छु। अल्जाइमर भएपछि अथवा अर्को अवस्थामा एउटा निश्चित उमेर भएपछि अब बाँच्दैन, औषधी पनि लाग्दैन भने मर्न पाउनु पर्छ भन्ने मेरो भनाइ हो।
स्वीट्जरल्यान्डमा इच्छा मरण सजिलो छ भन्ने सुनेको छु। मैले थाहा पाएअनुसार अन्य देशका समेत कति मान्छे स्वीट्जरल्यान्ड गएर इच्छा मृत्यु गर्छन्।
बाहिर यस्तो व्यवस्था पहिला नै छ भने नेपालमा किन कानुन नबनाउने?
मर्छु भनेर धेरै मान्छेले भन्दैनन् किनकी मान्छेको जीवनप्रतिको तृष्णा कहिल्यै नटुंगिदो रहेछ।
मसँग हिँड्न सक्ने मान्छेको मात्रै भेट हुन्छ तर थला परेका, ओच्छ्यानमा लडेका मान्छेसँग भेट हुँदैन। उनीहरूको कुरा मैले सुन्न पाएको छैन। तर मलाई लाग्छ के लाग्छ भने अब बाँचेर काम छैन, मेरो जिउले केही काम गर्न सक्दैन, खाएको पच्दैन, आँखाले देख्दैन, सिगान आएको थाहा पाउँदैन, चिप्रा आएको थाहा पाउँदैन भने त्यस्ता मानिसले स्वेच्छिक मृत्युवरण गर्न पाउनु पर्छ।
दिसापिसाब आएको थाहा नपाउने भएर अथवा थाहा पाए पनि त्यसको व्यवस्थापन गर्न नसक्दा बाँच्नु त नर्कै पर्नु हो नि! कथामा हुन्छ नि नर्क त्यहीजस्तो लाग्छ मलाई त्यस्तो जीवन।
दिसापिसाबमा मुछिएर बाँचेको कृत्रिम बचाइभन्दा स्वेच्छाले मर्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो।
अब शरीर पुनर्जिवित हुँदैन, पलाएर आउँदैन भनेपछि त मर्न पाउनु पर्यो नि! मलाई पार्किन्सन भयो जसले गर्दा हात काम्न थाल्यो, दाह्री काट्नलाई त्यो भाँडो समात्न सकिनँ, नङ काट्न नेलकटर समातिएन, हातले कलम समातेन। म त्यत्तिकै निराश भएको थिएँ।
डाक्टर राजु पौडेलकहाँ पार्किन्सनको औषधी गर्न गएँ। उहाँले औषधी दिनुभयो, सबैथोक गर्नुभयो। उहाँले भन्नुभयो-अमर गुरूङलाई पनि मैले औषधी गरेको हो। अनि यो पार्किन्सन निको हुँदैन। औषधी खाएपछि बढ्न भने रोकिन्छ।
म अहिले पनि पार्किन्सनको औषधि खाइरहन्छु। बिहान, दिउँसो र बेलुका खानुपर्छ।
औषधीले मेरो जिउ पलायो, मेरो हात पनि पलायो। ९१ वर्षको उमेरमा म अहिले आफैंले दाह्री काट्न थालेको छु। नङ आफैं काट्छु, आफैंले लेख्न थालेको छु।
त्यसैले मैले म पलाएँ भनेर लेखें। सबैको यस्तो हुँदैन। फेरि पलाएको जाती हो तर पलाए पनि एकदिन त टुंगिन्छ नै।
मेरोजस्तो मान्छेको स्वैच्छिक मरण जरूरी छैन। मेरो मामाको बुहारीको खाना नै निल्न कठिन हुने हुने रोग लाग्यो। त्यस्तो रोगको आयु पाँच वर्ष हुने रहेछ, पछि बित्नुभयो।
त्यसैले यस्तो अवस्थामा स्वैच्छिक मरणको अनुमति पाउनु पर्छ। कानुनले निषेध गर्न हुँदैन, प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो हेराइ हो। सिद्धान्तत: कानुनले स्वैच्छिक मरणलाई रोक्न हुँदैन।
स्वैच्छिक मरणका लागि उमेर होइन, जिउको अवस्था हेरेर हुन्छ।
अब अहिले सत्यमोहन दाइ (सत्यमोहन जोशी)लाई जरूरी छैन। सय वर्ष भइसक्नुभयो हेर्नुस,कस्तो हुनुहुन्छ। गौरीशंकरलाल दासलाई जरूरी छैन। मदनमणि दीक्षित ९८ वर्ष लाग्नुभयो, उहाँलाई पनि जरूरी छैन। तर अब अरू जो इन्तु न चिन्तु भएर अथवा ओच्छ्यान परेर बसेका छन् त्यस्ताका लागि चाहिएको छ।
यो अवस्थामा हुने, त्यो अवस्थामा नहुने भनेर कानुन बनाउन पर्छ। जिउँदो मान्छे आत्महत्या गरेको पनि पाप लाग्छ। ऊ मरेन भने थुनिन्छ। त्यसैले आत्मसमर्पणको अवस्थामा स्वैच्छिक मृत्यवरण गर्न पाउनपर्छ भन्ने मेरो भनाई हो। मैले यही कुरा संसदको महिला तथा सामाजिक समितिमा समेत राखेको छु।