गत बिहीबार रातीदेखि मनसुनी वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ।
सतुंगल, बालकुमारी, थानकोट, कलंकी, पाटन, कुलेश्वर, बल्खु लगायत क्षेत्रमा डुबानले जनजीवन अस्तव्यस्त पार्नुका साथै धेरै क्षति भएको छ।
विशेषगरी बागमती, विष्णुमती नदी, हनुमन्ते, मनहरा र अन्य खोलाको बाढीले आसपासका क्षेत्रमा ठूलो असर पारेको छ भने अन्य भागमा पनि सामान्य असर पारेको छ।
गत वर्ष पनि हनुमन्ते खोलाले भक्तपुरमा ठूलो बितण्डा मच्चाएको थियो। केही वर्ष अघिसम्म उपत्यकामा सामान्य वर्षा हुँदा जमल, पुतलीसडकतिर केहीबेर भेल बग्थ्यो। तर अन्य क्षेत्र प्रभावित भएको सुनिँदैन थियो।
भक्तपुरमा मात्रै सामान्य वर्षा हुँदा पनि गत ५ वर्षमा तीन पटक ठूलो डुबान भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थलमा रहेको मापन केन्द्रले गत शुक्रबार २४ घन्टामा काठमाडौंमा औसत ११५ मिलिमिटर पानी परेको देखाएको छ।
सिँचाइ मन्त्रालय अन्तर्गतको जल उत्पन्न प्रकोप विभागले सन् २००९ मा गरेको अध्ययनअनुसार उपत्यकमा शुक्रबार जति वर्षा भयो (एक दिनमा करिब १०० मिलिमिटर) त्यो मात्राको वर्षा उपत्यकामा प्रत्येक २-३ वर्षमा हुने देखिन्छ।
त्यस्तै अशोक कुमार पोखरेलले युनिभर्सिटी अफ नेवाडा, अमेरिकासँग मिलेर गरेको अनुसन्धानले पनि काठमाडौंमा सामान्य मनसुनमा पनि एक दिनमा १०० मिलिमिटर पानी पर्न सक्ने देखाएको छ।
जल उत्पन्न प्रकोप विभागको अध्ययनले नै उपत्यकामा प्रत्येक पचास, सय र दुई सय वर्षमा क्रमश: करिब १८०, २०० र २१५ मिलिमिटर प्रतिदिन पानी पर्न सक्ने देखाएको छ।
जुलाइ २३, २००२ मा उपत्यकामा २४ घण्टामा १७७ मिलिमिटर पानी परेको रेकर्ड देखिन्छ। त्यति बेला बल्खु खोलाले आसपास क्षेत्रमा ठूलो तहसनहस पारेको थियो।
माथि उल्लेखित तथ्यका आधारमा अहिलेको उपत्यकाको डुबान उच्च वर्षाका कारण भएको हो भन्ने आधार देखिँदैन। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार दिउँसो हल्का पानी परे पनि राती भारी वर्षा भएको हो, मुसलधारे पानी भने परेको होइन।
सामान्य पानीमा पनि किन भयो त डुबान?
विगतमा सन् १९८१ मा लेले, १९९३ मा बागमती, २००२ मा बल्खु खोला र २००६ मा गौशाला क्षेत्रमा ठूलै क्षति हुने गरी बाढी आएको देखिन्छ। सन् २००२ मा बल्खु खोलाको बाढीले पुर्याएको क्षति ठूलो थियो।
पानी निकासका लागि ढल तथा नालाहरूको राम्रो प्रबन्ध नभएकोले मध्यम वर्षामा पनि काठमाडौं उपत्यकाका शहरी क्षेत्र जमल, पुतलीसडक जस्ता धेरै ठाँउमा पानी जम्छ। पानी नसोसिउञ्जेल जनजीवन अस्तव्यस्त बन्छ।
यस्ता घटना वर्षैपिच्छे बढ्दो छ। केही वर्ष अघिसम्म काठमाडौंमा डुबानको खास समस्या थिएन। तर पछिल्ला वर्षमा सामान्य वर्षा हुँदा पनि बबरमहल, बिजुलीबजार, शान्तिनगर, तीनकुने तथा ललितपुर र भक्तपुरका धेरै क्षेत्र डुबानमा पर्न थालेका छन्।
हुन त, मौसमी परिवर्तनले वर्षाको स्वरुप पनि फेरिएको छ। यसले डुबानको समस्या आउन पनि सक्छ। तर काठमाडौंको हकमा त्यो प्रमुख कारण होइन।
विभिन्न आर्थिक, सामाजिक तथा राजनैतिक कारणले यहाँ अव्यवस्थित शहरीकरण बढेको बढ्यै छ। सन् १९५० मा उपत्यकाको करिब एक प्रतिशत क्षेत्रफलमा मात्र भवन तथा अन्य पूर्वाधारहरू थिए। यो दर सन् २०१८ मा आइपुग्दा करिब २५ प्रतिशत पुगेको छ। यही अवधिमा खोलानालाले चर्चेको क्षेत्र उल्लेख्य मात्रामा घटेको छ।
काठमाडौं महानगरपालिकाभित्रको क्षेत्र मात्र हेर्ने हो भने करिब ७५ प्रतिशत जमिन भवन तथा अन्य पूर्वाधरहरूले ढाकेको छ। काठमाडौं उपत्यकाको जलग्रहण क्षेत्र (क्याचमेन्ट एरिया) करिब ६२५ वर्ग किलोमिटर छ। वार्षिक १३५० मिमी पानी पर्ने उपत्यकामा करिब ७५ प्रतिशत वर्षा मनसुनको ३-४ महिनामा हुन्छ। बढ्दो शहरीकरणका कारण वर्षाको धेरै पानी जमिनमुनि रिचार्ज हुन सकेको छैन। भेल बन्दै खोलानालामा गएर मिसिन्छ।
अर्को कारण हो, रुखहरूको विनाश। घर र सडकका नाममा काठमाडौंमा धेरै रूख-बिरुवा मासिए। आकाशबाट परेको पानीको गतिलाई रूख वा झारपातले कम गरिदिन्छन्। जसकारण जमिनमुनि जाने पानीको मात्रा बढ्छ र भेल पानीको मात्रा घट्छ।
सामान्यतया दस हजार वर्गमिटर झारपातले ढाकेको खेतीयोग्य जमिनमा भवन तथा अन्य पूर्वाधार बनाउँदा वर्षाको पानी जमिनमा बगेर आउने बहाव डेढदेखि दुई गुना बढी हुने मानिन्छ। भेल रोक्ने झारबोट नभएपछि पानी हुलुलु बगेर छोटो समयमै खोलामा पुग्छ र बहाव उच्च हुन्छ। यस्तोमा अहिले खोलाको चौडाइ पनि साघुँरो बनाइएको छ। खोलाको बहावलाई असर गर्ने गरी संरचना निर्माण हुँदा खोलामा पानीको सतह धेरै माथि पुग्छ। यही अवस्था अहिले काठमाडौंमा हुने गरेको हो।
नदी-खोलाका किनार अतिक्रमण गर्दै मानव वस्ती बस्ने क्रम बढ्दो छ। फलस्वरूप, पानी बग्ने क्षेत्र साँघुरिन गई उच्च बहाव भएका बेला आसपासका क्षेत्र डुबानमा पर्छ।
काठमाडौंमा नमिचिएको नदी र खोला नै छैन भन्दा हुन्छ। धेरै जसो खोला नालीमा रुपान्तरण गरिएका छन्। उदाहरण, टुकुचा खोला। यसको त रूपरेखा नै हराउन लागि सक्यो। अरू कतिपय सानातिना खोलाखोल्सीहरूको नामनिसानै मेटिएको छ। सामाखुसी र गोंगबु क्षेत्रमा विष्णुमतीको अवस्था हेर्दा हुन्छ। घरको जगमुनिबाट समेत पानी बगेको देखिन्छ।
आजभन्दा १५ वर्षअघि खोला बगर भएका ठाउँमा अहिले बस्ती बसिसकेको छ। विष्णुमतीकै बगरमा बनेका धेरै घर भुइँचालो बेला पनि भत्किएका थिए। बगरमा बनेका घरमा भुइँचालोको जोखिम उच्च हुन्छ। बबरमहल, शान्तिनगर, बल्खु, मनहरा खोला, हनुमन्ते खोला वरिपरि बर्सेनि डुबानमा पर्नु यसको उदाहरण हो।
राज्यका निकायहरूले पनि नदी अतिक्रमण गरेका छन्। कोरिडर बनाउने नाममा बागमती लगायत नदीमा पानीसम्म पुग्न बनाइएका सिँढीहरू भत्काइएको छ। ठाडा पर्खाल लगाएर नदीलाई नाला बनाइएको छ। कोरिडरको नाममा उच्च बहाव हुँदा त्यसले ओगट्ने जलाधर क्षेत्र नै मिचिएको छ। जहिलेदेखि यसरी कोरिडर सडक बनाउन थालियो, त्यही बेलादेखि नै बागमती, धोबीखोला र विष्णुमती आसपासमा डुबान जोखिम बढेको हो।
अन्य खोलामा पनि यस्तै समस्या देखिएको छ। जल उत्पन्न प्रकोप विभागको अध्ययनले ५० वर्षमा आउन सक्ने बाढी सहज रुपमा बग्न मनहरा, बागमती, धोबीखोला, विष्णुमती, गोदावरी, हनुमन्ते र बल्खुको क्रमश: करिब ४२-१३० मिटर, ५१-२०५ मिटर, ३१ मिटर, २८-८३ मिटर, १३-५१ मिटर, ७८ मिटर र ५० मिटर खुला बहाव (चौडाइ) हुनुपर्ने भनेको छ।
बिडम्वना, सरकारकै अर्को निकायले यो अध्ययनको धज्जी उडाउँदै ती नदीनालालाई १०-३० मिटरभन्दा पनि कममा खुम्चाए। यी नदीमा पुल, दाँया बाँया सडक जस्ता संरचना बनाउँदा सय वर्षमा एकचोटि आउनसक्ने सबभन्दा ठूलो बाढी अनुमान गरेर त्यहीअनुसार डिजाइन गरिनु पर्ने हो। तर जथाभावी ठेकेदारका भरमा वा जलविज्ञान (हाइड्रोलोजी ) लाई बेवास्ता गरी बनाएको देखिन्छ।
यी कोरिडरहरू प्रायः नदीका पुराना पुलमुनिबाट जान्छन्। यसले पुलमुनिबाट पानी बग्ने क्षेत्र घटेको छ। पुलको माथिल्लो भागमा बर्सेनि डुबान हुन्छ। जस्तो, बिजुलीबजार, अनामनगर क्षेत्र।
सिंहदरबार नजिकैको धोबीखोलाको पुलमुनि ठूलो पर्खाल लगाएर नदी क्षेत्र र पुलमुनि पानी बग्ने क्षेत्र हदैसम्म साँघुरो पारेर नयाँ बाटो बनाइएको छ। सामान्य वर्षामा पनि माथिल्लो क्षेत्र अनामनगरमा डुबान हुन्छ।
यो समस्या कोरिडर निर्माण गरेका सबै क्षेत्रतिर छ। ठूलो वर्षामा कोरिडर वारिपारिका सबै क्षेत्र डुबानमा हुने निश्चित छ।
डुबानको अर्को कारण हो, नदीहरूमा बनेका नयाँ पुल। नदीनालामा आउनसक्ने उच्च बहाव वास्तै नगरी बनेका होचा तथा छोटा पुलका कारण आसपासको क्षेत्रमा डुबानको उच्च जोखिम छ।
टेकु, बल्खु, थापाथली, शंखमुल, बिजुलीबजार लगायत स्थानका खोला-नदीमा बनेका पुलको लम्बाइ सय मिटरभन्दा बढी छ र पुलमुनिको बाटोबाट ट्रक राम्रोसँग चल्ने गरीको अग्लो छ। तर पछि बनेका पुल जस्तै युएन पार्क, च्यासल पुल र धोबीखोलाकै नयाँ पुल हेर्ने हो भने पुरानाको तुलनामा आधा पनि छैनन्। प्रत्येक वर्ष सामान्य वर्षामा हुने नदीको बहावले पुल छोएको देखिन्छ। नयाँ पुलहरूले वास्तवमा जलद्वार (सुलुइस गेट) को काम गरिरहेका छन् र ठूलो पानी पर्दा यसको माथिल्लो क्षेत्र जलमग्न हुन्छ।
धोबीखोलामा बनाएका कतिपय पुलको 'लेभल' त उच्च बहाव हुँदा हुने सतहभन्दा कम छ। जस्तै मदन भण्डारी मेमोरियल कलेज नजिकैको पुल। यहाँ प्रत्येक वर्ष मनसुनमा पानीले पुल छोएको हुन्छ र माथिल्लो क्षेत्रमा डुबान हुन्छ। त्यस्तै, हनुमन्ते खोलामा अरनिको राजमार्गमा बनेको पुलको (राधेराधे आश्रमतिर) र सिद्धी अस्पताल नजिकको पुलको माथिल्लो भाग पनि डुबानमा पर्छ। यी लगायत अन्य ठाउँका पुल छोटा र होचा भएकाले वर्षाको पानी सहज तरिकाले बग्न सक्दैन र डुबानमा परेको प्रष्ट देखिन्छ।
ती पुलमा उच्च बहावको सतह र पुलको सतहबीच हुनुपर्ने जति दुरी कायम छैन। डिजाइन गर्दा जलबिज्ञान (हाइड्रोलोजी) बेवास्ता गरिएको वा गलत विधि अपनाइएको हुन सक्छ। अझ कम खर्च होस् भनेर पनि छोटो र होचो बनाइएको हुन सक्छ। कतिपय ठाउँमा स्थानीय वा नदी अतिक्रमण गर्नेहरूले लामो पुल बनाउन अवरोध गरेको पनि सुनिन्छ।
नयाँ पुलहरू छोटा र होचा बनाइनुका धेरै कारण हुन सक्छन्। जे भए पनि ती पुलले ठूलो विपद निम्ताउँदै छन् भन्नेमा दुविधा छैन।
यसमा हामीले एकपटक त सोच्नैपर्छ- पहिलेपहिले पैसा धेरै भएर अग्ला र लामा पुल बनाइएका हुन् त?
होइन, निर्माण गर्दा राम्रोसँग अध्ययन गरिएको हो।
त्यसैले ती पुलले ठूलो वर्षा हुँदा पनि बहाव अवरोध गरेको पाइँदैन।
अव्यवस्थित बसोबासका कारण उचित ढल निकासको प्रबन्ध नगरिँदा पनि सानोतिनो वर्षामै धेरै ठाउँमा डुबान बढ्दो छ। काठमाडौंमा पहिले थुप्रै राजकुलोहरू, प्राकृतिक खोल्सा र कुला (प्राकृतिक निकास) थिए। तिलगंगामा पानीको एउटा प्राकृतिक निकास थियो, त्यसलाई पूरै मासेर घर-बाटो बनाइयो। भक्तपुर, भाटभाटेनी अगाडिको बाटो नै पुरानो राजकुलो हो भनिन्छ, जहाँबाट पानी निकास हुन्थ्यो।
बस्ती विकास गर्न घडेरी बनाउने नाममा सानातिना जल निकास पुर्ने काम विगत १०-१५ वर्षदेखि उच्च गतिमा भइरहेको छ। पानीको बहाव अवरोध हुने गरी बाटा र पर्खाल बनाउने काम उत्तिकै देखिन्छ। यस्ता गतिविधिले पनि डुबान जोखिम बढाएको हो।
उदेक लाग्दो के छ भने, सडक विभाग जस्तो प्राविधिक रुपमा सक्षम कार्यालयले पनि केही वर्ष अगाडि अस्थायी क्रसिङका रुपमा धोबीखोलामा सामान्य अध्ययन पनि नगरी केही ह्युम पाइप राखेर एउटा संरचना बनायो। यसले गर्दा बिजुली बजार क्षेत्रमा डुबान भएको थियो। पछि स्थानीयको जोडबलले उक्त संरचना भत्काइयो।
यो एउटा प्रतिनिधि उदाहरण मात्र हो, नदीमाथि हामीले गरेको खेलवाडको।
डुबानको समस्यामा नीतिगत त्रुटि पनि देखिन्छ।
हामीकहाँ अहिलेसम्म भूउपयोग नीति कार्यन्वयनमा आएको छैन। यसको अभावमा नदी-खोलाको जलाधार क्षेत्रमै धमाधम बस्ती बसेका छन्।
सहरी विकास मन्त्रालयले खोलाको मापदण्ड तोकेको छ तर छेउमै नक्सा पास गरेर धेरै घर बनिरहेका छन्। यसमा स्थानीय निकाय जिम्मेवार देखिन्छ। जनसंख्या वृद्धि तथा सहरी क्षेत्रमा अधिक बसाइँसराइले गर्दा जोखिम क्षेत्रसमेत अतिक्रमण गरी आधिकारिकरुपमै बस्ती विस्तार हुँदै छ।
सर्वसाधारणलाई पनि 'एउटा घर जहाँ भए पनि बनाउन पाए हुन्थ्यो' भन्ने महत्वाकांक्षा छ। भवनसंहिता र सरकारी मापदण्ड बेवास्ता भइरहेको छ जुन दुर्भाग्यपूर्ण हो। घर बनाउनु हुँदैन भनेको ठाउँमा बनाउने र विपद आएपछि पनि नचेत्ने परिपाटी विकास भएको छ।
नगरपालिकाको हकमा केही कानुन जस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५, नगर विकास ऐन २०४५, भवन ऐन २०५५ लगायत बनिसकेको भए पनि लागू हुन सकेको छैन। सरकारी निकायले नै यी ऐन पालाना गरेका छैनन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणका एक उच्च अधिकारीका अनुसार नापी नक्सा (क्याडस्ट्रल)का आधारमा नदी-खोलाको जलाधार क्षेत्र (फ्लड प्लेन) तोकिएको छ। जबकी संसारमा कहीँ पनि यस्तो हुँदैन। नदी-खोलामा कुनै संरचना बनाउँदा कम्तीमा पनि सय वर्षमा (स्थानअनुसार मानक हेरेर धेरै-थोरै हुन सक्छ) आउन सक्ने ठूलो पानी बहावलाई आधार मानिनुपर्छ। संरचनाको माथिल्लो क्षेत्रमा पानीको सतह कहाँसम्म आउनसक्छ भन्ने अनिवार्य अध्ययन गर्नुपर्ने हुन्छ।
काठमाडौं उपत्यकाको अव्यवस्थित बसोबास, नदीनाला अतिक्रमण, संरचना निर्माणमा जलबिज्ञान बेवास्ता गरिनु, फोहोरका भेल पानीमा मिसिनु, प्राकृतिक जलनिकास बिनाश हुनु लगायत कारणले यहाँ डुबान समस्या बढ्दो छ। यो समस्या हाम्रै कारणले उब्जिएको हो।
अब फेरि पनि सन् २००२ को जस्तो एक दिनमा १७७ मिलिमिटर पानी काठमाडौंमा पर्यो भने ठूलो क्षति हुने निश्चित छ। अहिलेदेखि नै समस्या हल गर्न पहल गरेनौं भने वर्षामा उपत्यकाका अधिकांश क्षेत्र बस्न लायक हुने छैन। लामो समय डुबान भयो भने अरू प्रकोपको जोखिम बढ्छ।
(इञ्जिननियरिङमा विद्यावारिधि गरेका शर्मा क्यानडामा कार्यरत छन्)