अंक तीन मेरो लक्की नम्बर हो। संयोगवश मेरो जीवनमा गुरूहरू पनि तीनै जना हुनुभयो। मेरी आमा प्राणदेवी प्रधान, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीतकार जयदेव।
मेरी आमा तुलाधर र बुबा प्रधान। आमाबुबाको प्रेम विवाहमा जात बाधा बन्यो। आमा असनमा बस्नुभयो भने बुबा बाङ्गेमुढामा। मेरो बाल्यकालको धेरै समय यी दुई ठाउँमा बाँडियो।
जिजुबाजेकै पालादेखि हाम्रो घरमा शास्त्रीय संगीतको प्रभाव परेको थियो। त्यो बेला दरबारमा उस्तादहरूद्वारा शास्त्रीय संगीतको तालिम दिइन्थ्यो। मेरी आमाले पनि दरबारमा तालिम लिने अवसर पाउनुभएको थियो।
हार्मोनियम र तबला घरमै थियो। मैले पहिलो स्पर्श गरेका बाजा यिनै हुन्। आमा तबला बजाइराख्नु हुन्थ्यो। स्वर, मात्रा, त्रिताल, गठ आदिबारे जानकारी आमाबाटै पाएँ। उहाँले रेडियो नेपालमा समेत गीत र भजनहरू गाउनुभएको थियो। गाउन र बजाउन जेजति सिकेँ त्यसमा आमाको भूमिका मुख्य छ।
सबै आमाहरू जीवन बाँच्न सिकाउने पहिलो गुरू हुन्। मैले भने आमासँग संगीत पनि सिक्न पाएँ। अझ रोचक कुरा, आमाको संगीतमा केही भजनहरू गाउने मौका समेत पाएँ। आमासँगै गाउने अवसर पाउनु मेरो जीवनकै सुखद अनुभव हो।
जीवनमा आमाको साथ, सहयोग र प्रेरणाको भूमिका अहम् हुन्छ। संगीतमै समर्पित मेरो जीवनमा आमाको स्नेहसँगै गुरू-चेलाको सम्बन्ध पनि रह्यो। आमासँग मैले जे सिकेँ, सबै अनौपचारिक रुपमै सिकेँ। डराएर होइन, रमाइ-रमाइ सिकेँ। आमा र म मिलेर सँगसँगै गाउने-बजाउने ती दिन सम्झँदा आज पनि रमाइलो लाग्छ।
हाम्रो घरमा नायिका भुवन चन्दका बुबा उस्ताद भैरवबहादुर थापा आइराख्नुहुन्थ्यो। घरमा संगीतको माहोल जम्थ्यो। मेरो सिकाइमा यस्तो माहोलको गहिरो असर पर्यो।
यस्तै पृष्ठभूमिमा २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएँ। खासमा हरेक आइतबार हुने स्वर परीक्षा कस्तो हुन्छ भनेर हेर्न गएको थिएँ। तर त्यहाँ परीक्षा दिन लागेका एक जनाको सूर लागिरहेको थिएन। त्यो देखेपछि म त्योभन्दा राम्रो गाउन सक्छु भन्ने लाग्यो। अनि मैले नाम लेखाएँ।
आज सम्झँदा रमाइलो लाग्छ, मैले स्वर परीक्षामा भारतीय गायक तलत महमुदको ‘जिन्दगी देनेवाले सुन’ बोलको गीत गाएको थिएँ।
आमा जीवित रहुन्जेल मेरा गीतको पहिलो स्रोता बनेर सुझाव दिइरहनुभयो। कमीकमजोरी औंल्याउँदै मेरो हरेक सफलतामा रमाइरहनुभयो। आज गायकका रुपमा मेरो जे-जति पहिचान छ, त्यो आमाकै देन हो। जे जति काम गर्न सकेको छु, त्यो आमाकै प्रेरणा हो। जे जति असल गुण लिएर बाँचेको छु, त्यो आमाकै शिक्षाको परिणाम हो।
२०१० सालतिरको कुरा हो। एकरात सपनामा एउटा मन्दिर देखेँ। मन्दिरमा उस्ताद गणेशलाल श्रेष्ठ तबला बजाइरहनुभएको थियो। बिहान ब्युँझनेबित्तिकै आमालाई सपनाबारे सुनाएँ। आमाले भन्नुभयो, 'अब उहाँसँगै संगीत सिक्न जाऊ।'
उहाँलाई मैले रेडियो नेपालमा देखिरहन्थेँ। दुवै आँखा देख्न नसके पनि वाद्यवादनमा उहाँको क्षमता अद्भूत थियो। उनै गणेशलाल मेरो सपनामा आउनु मेरो लागि अनौठो कुरा थियो।
आमाको आज्ञाअनुसार म गणेशलाल गुरूकहाँ जान थालेँ। पाटन घर भए पनि उहाँ असन, बालकुमारी बस्नु हुन्थ्यो। बिहान सातै बजे उहाँको कोठामा पुग्न थालेँ। सात बजेदेखि नौबजेसम्म 'सारेगम'को आरोह, अवरोह अभ्यास गर्न लगाउनु हुन्थ्यो। नियमित अभ्यासले मेरो स्वर खुल्दै आयो।
तबला बजाउन त अलिअलि घरमै सिकिसकेको थिएँ । गुरूकहाँ जान थालेपछि नियमित बजाउनै पर्ने भयो।
त्यस बेलाका गुरू-चेलाबीच कुराकानी गर्ने चलन खासै थिएन। म त उमेरले पनि सानै थिएँ। उहाँ जसोजसो भन्नुहुन्थ्यो, म त्यसै गर्थें। शनिबार चाहिँ दिउँसो बोलाउनु हुन्थ्यो। अनि आफू सितार समातेर भन्नुहुन्थ्यो, 'ल अब तबला बजाऊ।'
सूर, ताल र राग अभ्यास गर्दै उहाँसँग मैले १५ महिना बिताएँ।
त्यस बेला गुरूलाई मासिक पारिश्रमिक दिने चलन बसिसकेको थिएन। संगीत सिकेवापत मैले उहाँलाई असन, बालकुमारीबाट सिंहदरबारसम्म लैजानुपर्थ्यो। असनबाट हात समातेर म टुँडिखेलको बीचबाट भद्रकाली हुँदै सिंहदरबारतिर लम्केको हिजैजस्तो लाग्छ।
समयले दशकौंको दुरी पार गरिसकेको छ। यसबीचमा धेरै कुरा फेरिए। टुँडिखेल फराकिलो चउर थियो। अहिले रंगशाला भएको ठाउँसम्मै खाली देखिन्थ्यो। सिंहदरबार जाने बाटोमा सात-आठ फिट अग्ला बोट थिए, जहाँ राता फूल फूल्थे। यी सम्झना भर्खरैका हुन् जस्तो लाग्छ।
गुरूलाई पुर्याउन मात्रै होइन, फर्किँदा लिन समेत रेडियो नेपाल पुग्थेँ म। साताको दुई-तीन पटकसम्म उहाँलाई ल्याउने-पुर्याउने काम गर्न थालेपछि उहाँको माया पनि बढ्दै गयो।
उहाँ अक्सर भन्नुहुन्थ्यो, ‘चिच्याएर नगाउनू, मेलोडी घट्छ।’ तर अचेलका हाम्रा भाइबहिनीहरू चिच्याइ-चिच्याइ गाएको सुन्छु।
गणेश गुरूसँगको संगतकै नतिजा हो, ममा नियमित रियाज गर्ने बानी बस्यो। साधकका लागि रियाज अनिवार्य हुन्छ। मेरो अनुभवमा नियमित रियाज प्राकृतिक अकुपञ्चर विधिको उपचारसरह हो।
आज ८३ वर्ष पूरा भइसकेको उमेरमा पनि दश-बाह्र वटा गीत गाउन सक्छु भन्ने आत्मविश्वास छ ममा। यसको आधार मेरो अनुशासित जीवनशैली नै हो। गुरू गणेशलाललाई यसको श्रेय जान्छ।
गुरूसँग संगीत सिक्ने रहर बाँकी नै थियो । तर बुबाको कपडा पसलमा समय दिनुपर्यो । मैले उहाँसँग कक्षा लिन छोड्नु पर्यो। उहाँकोमा जान छोड्नुअघि उहाँलाई गुरू दक्षिणा स्वरुप एउटा कोट उपहार दिएको थिएँ।
आमा र गणेशलाल गुरूपछि संगीतबारे मलाई ज्ञान दिने मान्छे भारतीय संगीतकार जयदेव हुन्।
बाल्यकालदेखि नै हिन्दी सिनेमाका गीतको प्रभावमा हुर्केको मैले कल्पना पनि गरेको थिइनँ, जयदेवको संगीतमा गीत गाउने अवसर मिल्नेछ।
अवसर २०२३ सालमा रिलिज भएको ‘माइतीघर’ सिनेमाले जुराइदियो। निजी लगानीमा बन्न लागेको पहिलो सिनेमा थियो ‘माइतीघर’। बिएस थापाको निर्देशनको यो सिनेमामा अधिकांश कलाकार र प्राविधिक भारतीय थिए। यही सिनेमाका लागि पार्श्व गायक खोज्न संगीतकार जयदेव काठमाडौं आइपुगेका थिए। उनी न्युरोडको पारस होटलमा बसेका थिए।
मैले उनको अगाडि हिन्दी सिनेमा 'दोस्ती'को चार वटा गीत गाइदिएँ। जयदेवले मेरो स्वर मन पराए।
त्यस बेला अमेरिकन लाइब्रेरीमा काम सुरू गरिसकेको थिएँ। एक महिना विदा मागेर उत्साही हुँदै गीत रेकर्ड गर्न बम्बई गएँ। 'माइतीघर'मा मैले गाएको गीत हो, 'नमान लाज यस्तरी' । यसमा मेरो र उषा मंगेशकरको युगल गायन छ।
'माइतीघर'को गीत रेकर्डका लागि जाँदा मोहम्मद रफी, लता मंगेशकर, मुकेश, गीता दत्त, मनोहरी सिंह, जगजित सिंह, चित्रा सिंहजस्ता कलाकार देखियो र भेटियो। बम्बईको संगीत संसारलाई अझ नजिकबाट हेर्न, बुझ्ने हुटहुटी झनै बढ्न थाल्यो। अफिसबाट एक वर्षको बेतलबी बिदा लिएरै बम्बई पुगेँ।
जयदेवले मलाई बम्बईको सिनेमा र संगीतको काम कसरी हुन्छ भन्ने बुझाउन धेरै सहयोग गरे। मान्छे भेटाउने सँगै संगीत सिकाउनेसम्मको काम गरेर माया देखाए।
उनले मलाई सुगम संगीत र पार्श्व गायनका लागि चाहिने 'टेक्निक'हरू सिकाउँथे। जयदेव बलिउड संगीतमा तीन वटा राष्ट्रिय अवार्ड जित्ने पहिलो संगीतकार हुन्। उनीजस्ता हस्तीसँग छोटै समय भए पनि संगीत सिक्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु।
हाम्रो पालामा मनोरञ्जनको मुख्य माध्यम थियो गीत-संगीत। तर सहजै सिक्न पाइने ठाउँ हुन्थेन। संस्थागत रुपमा पढ्ने सिक्ने ठाउँ झनै कम थियो। त्यस्तो माहोलमा गुरूको भूमिका अझ बढी थियो भन्ने लाग्छ।
आजको पुस्ताले त प्रविधिलाई नै गुरू थापेर पनि सिक्न सक्ने भएको छ। अवसर पनि बढी छ। गुरू-चेला बीचको दुरी घटेर साथीसरह भएको छ। यी सबैलाई सकारात्मक परिवर्तन मान्छु। गुरूसँग सिक्न लामो समय बिताउनु पर्दैन। कति सिक्ने, व्यवहारमा कति उतार्ने त्यो हाम्रो इच्छाशक्ति र अनुशासनमा भर पर्छ।
गुरू पूर्णिमा आफ्ना गुरूहरूलाई सम्झिने महत्वपूर्ण अवसर हो। तर म त हरदिन मेरा गुरूलाई सम्झन्छु। देवीदेवता, पितृलाई जल चढाइसकेपछि रियाज गर्ने बेला मेरा तीनै जना गुरूलाई श्रद्धासाथ याद गर्छु। यो क्रम विदेशतिर गएका बेला पनि टुट्दैन।
(सेतोपाटीका प्रभाकर गौतमसँगको कुराकानीमा आधारित)