इश्लामाबाद डायरी
पाकिस्तानमा इदको चहलपहल सुरू भइसकेको छ। इद उल अजा, बोलीचालीको बकर इद। अर्थात्, मेसो मिल्नेहरूले हज गर्न जाने इद!
पाकिस्तान सरकारले अगस्त १२ देखि १७ सम्म सार्वजनिक विदा घोषणा गरेको छ। मान्छेलाई आ-आफ्ना परिवार भेट्न घर जाने चाँजोपाँजो मिलाउन र इदका सरसामान जोरजाम गर्न चटारो छ।
गत साता पेशावर जाँदा दुम्बा (पुच्छरतिर मासुका थैला भएको एक प्रकारको भेडा) किनबेच व्यापक थियो। कोही खुला भ्यानमा राखेर त कोही हातले घिच्याउँदै यताउता गर्दै थिए।
जताततै दुम्बा देखेर सहकर्मी असद अब्बासले मतिर हेर्दै भनेका थिए– इद इज निअर!
तीन महिनाअघि मात्र यहाँ अर्को इदको धुमधाम थियो। रमादानवाला इद। तीन महिनापछि यो बकर इद।
म पाकिस्तानी मित्रहरूलाई सोध्छु, 'रमादान ठूलो कि बकर इद?'
यही प्रश्न अहिलेसम्म धेरैलाई सोधिसकेको छु। जान्ने उत्सुकता छ- तीन महिना अन्तरमा मनाइने दुई ठूला पर्वमा के फरक? दसैं र तिहारको अनुभव गाढा भएर पनि होला। हामीकहाँ दसैं सकिन नपाउँदै तिहार आउँछ। कोही दसैं रमाइलो भन्छन्, कोही तिहार।
मलाई सानो छँदा तिहारभन्दा दसैं मनपर्थ्यो। मासु खान पाइने, आमाबुबाले नयाँ लुगा किनिदिने। कसैले 'तिहारै रमाइलो' भन्यो भने रिस उठ्थ्यो।
'दुवैको आ-आफ्नै महत्त्व छ, दुवै रमाइलो,' यता इदबारे प्रायः सबैबाट पाउने जवाफ यही हो।
यस वर्ष रमादानमा पनि म इश्लामाबादमै थिएँ। मे महिनाको सुरूदेखि जुन पहिलो सातासम्म रमादान व्रतको माहोल थियो। त्यसको अन्त्यमा तीनदिने इद।
रमादानबारे पहिले पनि नसुनेको होइन। तर, यो भव्य मुश्लिम पर्वसँग मेरो पहिलो साक्षात्कार त्यही बेला भयो। सहरका विभिन्न मस्जिदबाट निस्कने अजानको स्वर, सडकछेउ रूखको छहारीमा खाली पेट सुस्ताइरहेका सुरक्षा गार्ड र साँझतिर इफ्तारका लागि खानेकुरा किन्नेको घुइँचोले मेरो मनमा रमादानको सुन्दर चित्र अंकित भएका छन्।
रमादानको एकमहिने व्रत चानचुने हुँदैन। स-साना केटाकेटीबाहेक सबै जना बिहान ३:३० नबज्दै खाइसक्छन्। त्यसपछि साँझ लगभग सात बजे वा मस्जिदमा प्रार्थना सुरू नभएसम्म मुखमा पानीधरि हाल्दैनन्। व्रत सकेपछि साँझको खाना (इफ्तार वा अफ्तार) गच्छेअनुसार भव्य!
म पनि केही ठाउँ इफ्तारको निम्ता मान्न गएँ। प्लेटमा खानेकुरा राखेर घडीमा सात बजेर तीन मिनेट जाने प्रतीक्षा गरिरहेका आँखामा भोकको अनुभूति विशेष हुन्थ्यो। हामी गैरमुश्लिमहरू पनि समयको प्रतीक्षामा आफ्नो प्लेटको खानेकुरा नदेखेजस्तो गरी गफमा भुलेका थियौं, पेटको उखरमाउलो सहेर।
मलाई गैरमुश्लिम सहकर्मीले सिकाएका थिए, 'रमादान बेला अरूका अगाडि पानीसम्म पिउँदा फरक पर्दैन, तर खानेकुरा नखानू।' मैले सल्लाह यथाशक्य पालना गरेँ। अफिसका बैठकमा पनि मुश्लिम सहकर्मीहरूका अगाडि पानी पिइनँ।
'यति लामो व्रत बस्न अप्ठ्यारो हुँदैन,' मैले सहकर्मी शाहिस्तालाई रमादानको एकदिन सोधेको थिएँ। उनको जवाफ थियो, 'हुँदैन, बरू रमाइलो पो हुन्छ। सबै जना व्रत बस्छन्। रमादानको व्रतको रमाइलो शब्दमा भन्नै सकिन्न।'
रमादानको विशिष्टता भनेकै सामूहिक व्रत हो। सबै जना सँगै भोकै बस्नै। भोकलाई आत्मसात् गर्ने।
हरेक साँझ घर-घरमा इफ्तारको विशेष भोज हुन्छ। म साँझ सात बजेतिर टहल्न निस्किँदा दर्जनौं मान्छे सडकपेटीमा सँगै बसेर इफ्तार खाने तयारी गरिरहेका भेटिन्थे। बाटो हिँडिरहेको मलाई पनि सँगै खान बोलाउँथे। म 'शुक्रिया, रमादान मुबारक' भन्दै हाँसेर टार्थें।
सार्वजनिक ठाउँमा सँगै बसेर खाने इफ्तारको रमाइलो इश्लामाबादका सुँगुरहरूले पनि गर्न पाउँछन्। इश्लामाबादको एउटा विशेषता के भने, यहाँका झाडी र जंगलहरूमा प्रशस्त जंगली सुँगुर पाइन्छन्। एकसाँझ मार्गला पहाड नजिकै टहल्न निस्किँदा एउटा सुँगुर देखेर म झसंगै भएको थिएँ। हिँड्दै जाँदा गन्नै नसकिने गरी सुँगुरहरू देखिए। कुनै कुनै ठाउँमा त दर्जनौं सुँगुरका बथान। पछि थाहा भयो सुँगुर त यहाँ सबैतिर पो रहेछन्। हाल म बसिरहेको इश्लामाबादको पूर्वी कुनाका स-साना झाडीमा पनि छाडा जंगली सुँगुर बग्रेल्ती भेटिन्छन्।
मुसलमानहरू सुँगुर खाँदैनन्। कुरानले वर्जित गरेको छ। खान त परै जाओस्, छुन पनि मन पराउँदैनन्। त्यसैले, यहाँ सुँगुरको संख्या अनियन्त्रित छ। फोहोरका कन्टेनरमा मान्छेले फालेका खानेकुराको आसमा सुँगुरहरू लुकेर बसेका हुन्छन्। मान्छेले इफ्तार भोजको मजा लिएर उठ्न पाउँदा-नपाउँदै सुँगुरको पालो आइहाल्छ। फालिएका खानेकुरा र जुठोपुरो खान सुँगुरहरूको तँछाडमछाड नै हुन्छ।
इफ्तार बेला समय टक्क रोकिएजस्तो हुन्थ्यो। कुन बेला सात बजेर तीन मिनेट जान्छ भनेर मान्छे पर्खिरहेका हुन्थे। समय आउनासाथ खान थालिहाल्थे। त्यसपछि खानेबाहेक अरू केही काम हुन्न। रमादान बेला म होटलको रेस्टुरेन्टमा पनि साँझ खाना खान आठ बजेतिर मात्र ओर्लन्थेँ, ताकि त्यहाँका कर्मचारीले पहिले राम्रोसँग खान पाऊन्।
एक सहकर्मीले पहिलोपटक पाकिस्तान आउँदाको अनुभव सुनाएका थिए। उनको जहाज ठिक्क इफ्तार बेला इश्लामाबाद विमानस्थलमा अवतरण भएछ। विमानस्थलका सबै कर्मचारी इफ्तार खाँदै रहेछन्। जहाजबाट बाहिर निस्किने 'जेटब्रिज' चलाउने मान्छे इफ्तार खाइरहेकाले आधा घन्टा जहाजभित्रै कुर्नुपरेछ।
बकर इदमा भने व्रत बस्नुपर्दैन। 'यो मिठा खानेकुरा र भेटघाटको इद हो,' सहकर्मी साथी सुलेमानले भने, 'यो इदमा प्रायः सबैले आ-आफ्नो घरमा खसी वा भेडा काट्छन्। पाँच वा सात परिवार मिलेर गाई वा गोरू काट्छन् र मासु भाग लगाउँछन्।'
सिंगै गाई एक परिवारले खाइसक्दैन, अरूसँग बाँडेर खानुपर्छ।
सुलेमानका अनुसार गाईको मासु भाग लगाउनुमा सामाजिक-सांस्कृतिक अर्थ पनि छ। आपसमा सामीप्य बढाउने र हुनेखानेले विपन्नलाई सहयोग गर्ने उद्देश्यले मासुलाई पाँच वा सात भाग लगाइन्छ। गाईको चाँजो मिलाउन नसक्नेले मासु सित्तै पाउँछन्। आफन्तहरूबीच उपहारका रूपमा मासु आदानप्रदान हुन्छ।
मैले लगभग १९ वर्षअघि पोखरा बेगनासताल नजिकै खुदीको मुहानमा बाली/बिस्ट प्रथाको अध्ययन गरेको थिएँ। त्यस क्रममा दसैंमा किसानले आफ्ना घरमा काटेका खसी-बोकाका निश्चित भाग लुगा सिउने दर्जी, फलामको औजार बनाउने विश्वकर्मा र छालाका सामान बनाउने दलितहरूलाई बाँड्ने गरेको बताएका थिए।
दसैंमा खसी-बोकाका मासु बाँड्ने चलन सांकेतिक थियो होला। तर, त्यसले किसान र कृषिमा आधारित ग्रामीण जीवनका लागि चाहिने महत्त्वपूर्ण सामान बनाउने कर्मीहरूबीचको सम्बन्ध प्रगाढ बनाउन पक्कै सहयोग गरेको थियो।
मुश्लिमहरूमा पनि इदमा मासु बाँडेर खाने चलनले सामाजिक सम्बन्ध गाढा बनाउन सहयोग गर्छ, सायद।
'यो इदमा तिम्रो के योजना छ?' सहकर्मी असदले अस्ति मलाई सोध्दै थिए।
'तिमी एउटा राम्रो गाई खोजिदेऊ, म सात जना छिमेकी खोज्छु,' मैले ठट्टा गरेँ। हामी दुवै हाँस्यौं।
'इदको विदामा तिमी के गर्छौ?' भनेर अरूले सोध्दा म रिचार्ड लीको 'इटिङ क्रिसमस इन कलाहारी' भन्ने निबन्ध सम्झन्छु। लीले कलाहारीमा काम गर्दा त्यहाँका आदिवासीसँग क्रिसमस पर्व मनाउने योजना गरेछन्। आफ्नो समूहका सबैलाई पुग्ने गरी एउटा गोरू किनेछन्। गोरू किनेपछि कलाहारीका आदिवासीका प्रतिक्रिया र क्रिसमसको दिन उनीहरूसँगै गोरू खाँदाको रमाइलो अनुभवलाई लीले गजब राम्रोसँग बयान गरेका छन्।
इश्लामाबादका मान्छे कलाहारीका 'कुङ बुसमेन' होइनन्। न त म लीजस्तो मानवशास्त्री हुँ।
धर्म, राष्ट्रियता र इतिहासको बुझाइलाई एकछिन पर राखेर हेर्ने हो भने यस क्षेत्रका संस्कृति खासै फरक छैनन्। विशिष्टताभन्दा समानता नै धेरै छन्।
पाकिस्तानको विशिष्टता भनेको सम्भवतः यहाँको दैनिक जीवनमा देखिने धार्मिकता हो। बहुसंख्यक मुश्लिम रहेको पाकिस्तान परिभाषाले मात्र 'इश्लामिक रिपब्लिक' होइन। यहाँको बोलीबचन, रहनसहन र सामाजिक सम्बन्धमा इश्लाम धर्मको प्रभाव ठूलो छ। कतिपय बेला त मान्छेको भूमिका कहाँ पुगेर सकिन्छ र भगवान (अल्लाह) को कहाँबाट सुरू हुन्छ भनेर छुट्याउन मजस्तो बाहिरको मान्छेलाई गाह्रो हुन्छ।
'अब एक घन्टामा लाहोर पुगिएला त,' म यस्तो प्रश्न जब जब गाडीचालक सहकर्मीलाई सोध्छु, उनी त्यो समयमै पुगिन्छ भन्नेमा विश्वस्त छन् भने जवाफ फर्काउँछन् 'इन्शाल्लाह!'
वास्तवमा मलाई इन्शाल्लाहको अर्थ बुझ्न केही समय लाग्यो। सुरू सुरूमा यो भनाइमा अन्तर्निहित सम्भावनाको मात्रा र निश्चितताको मात्रा खुट्याउनै सकिनँ। जस्तो सांस्कृतिक परिवेशमा म हुर्कें, त्यसको आधारमा भन्नुपर्दा भगवानको साथ चाहिने अरू सबै सम्भावना समाप्त भएपछि हो। यहाँका मान्छेका लागि भगवानको साथ पहिलो कुरा हो।
अब बुझेको छु, इन्शाल्लाह भनेको निश्चित नै हो। निश्चित कुरा सम्भव हुन पनि भगवानको साथ भने चाहिन्छ!
अर्थात्, अब एक घन्टामा लाहोर अवश्य पुगिन्छ, तर यसमा भगवानको साथ चाहिन्छ।
यो त भयो बोलिचालीको कुरा। पाकिस्तानको अर्को स्वाभाविक विशेषता नमाज प्रार्थना हो।
नमाज खासमा मेरो लागि नौलो थिएन। नेपालमा पनि मुसलमानहरूले विभिन्न समयमा नमाज पढेको देखेकै हो। यद्यपि, जुन व्यापकतासाथ सबै उमेर र पेसाका मान्छेले घर, अफिस र सार्वजनिक स्थानमा आफ्ना भगवानको प्रार्थना गर्छन्, त्यो मेरा लागि विशिष्ट अनुभव हो।
केही साताअघि लाहोर सहर पुग्दा नमाजको भव्य दृश्य देखेँ। शुक्रबारको त्यो दिन मध्याह्न सडकको फुटपाथमा सयौं मान्छे सामूहिक नमाज पढिरहेका थिए। आ-आफ्नो काममा हिँडिरहेका ती मान्छे, जो समयमै मस्जिद वा घर-अफिससम्म पुग्न सकेनन्, बाटैमा नमाज पढिरहेका थिए। युवा, वृद्ध सबै।
अन्य धर्मभन्दा फरक इश्लाममा मान्छेको दैनिक जीवनमाथि धर्मको प्रभाव किन र कसरी यस्तो गाढा भयो?
यसका ऐतिहासिक, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विभिन्न कारण होलान्। अनुमान गर्न सक्छु। ती कारण व्याख्या गर्न सक्दिनँ।
एकदिन नर्वेको बर्गेन विश्वविद्यालयमा अतिथि वक्ताका रूपमा आएका मानवशास्त्रका घघडान प्राध्यापक र त्यही विश्वविद्यालयको मानवशास्त्र विभागका संस्थापक फ्रेदरिक बार्थले हामीलाई भनेका थिए- मानवशास्त्र भनेको 'हेर्ने र छक्क पर्ने' काम हो। हेर्नलाई चाहिने संयम र छक्क पर्न चाहिने सीप राम्ररी विकास गर, अनि आफ्नो डिग्री लिएर घर जाऊ!
म मानवशास्त्रको विद्यार्थी मात्र भएँ, अभ्यासकर्ता हुन सकिनँ।
आफ्नोभन्दा पृथक सामाजिक-सांस्कृतिक सन्दर्भमा पुग्दा भने प्राध्यापक बार्थले भनेका कुरा सम्झिहाल्छु। पाकिस्तान मेरा लागि नयाँ ठाउँ हो। मैले राम्रोसँग हेर्न र छक्क पर्न सिक्नुछ।
म अहिले नयाँ भएकाले कार्यालय र विभिन्न भेटघाटमा मान्छेहरू सोधिरहन्छन्, 'कस्तो लागिरहेको छ त पाकिस्तान?'
मेरो सहज जवाफ हुन्छ, 'हेर्दैछु र छक्क पर्दैछु।'
सबै तस्बिरः सञ्जीव पोखरेल