युवा अवस्थामा मृत्यु हुने अधिकांश युवाहरूको मृत्युको कारण सडक तथा सवारी दुर्घटना हो भन्ने तथ्यहरूले देखाएको छ।
सडक दुर्घटनाको कारणबाट धेरै मानिसहरूको ज्यान जानुको साथै अर्बौं सम्पत्तिको क्षति भएको छ भने अपांग जीवन बिताउनेहरू पनि प्रशस्त छन् र यो संख्या हरेक वर्ष वृद्धि भइरहेको छ।
यसले के देखाउँछ भने जति जति सवारी साधनको संख्यामा वृद्धि हुँदै जान्छ उति नै मानव जातिले सवारी दुर्घटनाबाट व्यापक क्षति व्यहोर्छ।
नेपालमा लामो समयदेखि सडक सुरक्षाको बारेमा बहस भइरहेको छ तर पनि सवारी दुर्घटनामा कमी आउन सकेको छैन।
केही दिनदेखि पुनः सडक सुरक्षा परिषदको चर्चा चलेको छ र परिषदको स्थापनाले सडक सवारी दुर्घटनामा कमी आउने विश्वास गरिएको छ। परिषदको गठनमा अधिकांश सदस्यहरू मन्त्रालयका प्रतिनिधिहरू हुने एकाध विज्ञहरूलाई पनि राखिने गरी प्रस्ताव गरिएको छ।
राष्ट्रियस्तरको सडक सुरक्षा परिषद् गठन गर्दैगर्दा बीमा क्षेत्रबाट कुनै प्रतिनिधिलाई परिषदमा राख्ने सम्बन्धमा कुनै ध्यान नगएको देखिएकोले यसै लेखमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।
सुरक्षा भन्ने बित्तिकै जोखिम व्यवस्थापन भन्ने बुझिन्छ। सवारी साधन आफैंमा प्राविधिक विषय हो। प्रविधिले जोखिम निम्त्याउँछ। बीमा कम्पनीहरू जोखिम व्यवस्थापनका विशेषज्ञ हुन्।
बीमाले क्षति हुनबाट रोक्दैन केबल क्षतिको बदलामा आर्थिक सहयोग मात्रै गर्न सक्दछ। यदि सही ढंगबाट जोखिम व्यवस्थापन गर्न सक्ने हो भने संभावित क्षतिलाई नै कम गर्न सकिन्छ जुन सबैको लागि लाभदायक हुन्छ।
जोखिम व्यवस्थापनमा लागेको खर्चभन्दा संभावित जोखिमले निम्त्याउने क्षति बढी हुने भएकोले जोखिम व्यवस्थापनलाई जोड दिन्छौं र आगामी दिनमा यसको व्यापक प्रयोग हुनु पर्दछ।
सडक दुर्घटनामा जोखिम व्यवस्थापन गर्ने पक्षहरू धेरै छन् ।
मुख्यतः १) सडक विभाग र बोर्ड,
२) ट्राफिक प्रहरी कार्यालय,
३) यातायात व्यवस्था विभाग,
४) बीमा समिति र बीमा कम्पनी,
५) सवारी धनी, चालक तथा यात्रु,
६) मनोविज्ञान विद, विपद व्यवस्थापन टिम, राजमार्ग सुरक्षा टिम,
७) अस्पताल जस्ता निकायहरूले जोखिम न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन्। ती निकायहरूलाई जिम्मेवार बनाउँदै हरेकको भूमिकालाई उत्तरदायी बनाउनु आवश्यक छ ।
१) सडक विभाग र सडक बोर्ड :
दुर्घटनाको मुख्य कारण नै अव्यवस्थित सडक हो। वैज्ञानिक ढंगबाट सडकको डिजाइन गर्ने, सडक फराकिला र बलियो बनाउने, मोड, उकालो ओरालोमा संकेत चिन्ह राख्ने, छेउमा बार लगाउने, सडक छेउमा बत्तीको व्यवस्था गर्ने, सडकको स्तर र क्षमता अनुसारका सवारी साधन चल्नु पर्ने गरी संकेत राख्ने र सम्बन्धित निकायमा जानकारी दिने काम सडक विभाग र भत्किनु अघि नियमित मर्मत संभार गर्ने काम सडक बोर्डको हो।
नयाँ सडक निर्माणको लागि लाग्ने आवश्यक खर्चको अनुमान गर्ने र मन्त्रालयमा पेश गर्नु विभागको दायित्व हो भने सो अनुसार बजेट व्यवस्था गर्ने काम सरकारको हो।
२) यातायात व्यवस्था विभागः
देशैभरिका सवारी साधानको नियमन गर्ने, सवारी साधानको प्राविधिक पक्ष जाँचेर सवारी दर्ता गर्ने तथा सवारी चालक लाइसेन्स दिने शक्तिशाली निकाय भएकोले विभागको दायित्व निकै महत्वपूर्ण छ।
सवारी साधानको नियमित चेकजाँच गर्ने तथा पुराना, बिग्रिएका सवारी साधनलाई हटाउने, यातायातको साधनको माग बमोजिमको आपूर्ति गर्ने, दूरी अनुसार चालकको संख्या भए/नभएको अनुगमन गर्ने, रूटलाई व्यवस्थित गर्ने, दक्ष मानिसलाई मात्रै सवारी चालक लाइसेन्स दिने, सवारी चालकलाई गल्ती बमोजिमको सजाय गर्न आवश्यक नियम बनाउनका लागि विभाग उत्तरदायी हुनु पर्दछ।
सवारी साधन प्रशस्त छन् तर यात्रुहरूको माग बमोजिम आपूर्ति हुन सकेको छैन जसले गर्दा सार्वजनिक यातायातको अवस्था दयनीय हुन पुगेको छ। यातायात क्षेत्रमा काम गर्ने लाखौं कर्मचारी तथा मजदूरहरूको जीविकोपार्जनको र जागिरको व्यवस्थापन राम्रोसँग नहुन्जेलसम्म मानवीय कारणबाट हुने दुर्घटनामा कमी आउने संभावना कमै देखिन्छ।
३) ट्राफिक प्रहरी कार्यालयः
सडकमा दौडिरहेका सवारी साधन, रोकिएका साधन, त्यहाँभित्रको चालक र यात्रुको रेखदेख, अनुगमन, मार्ग निर्देशन गर्ने आधिकार ट्राफिक प्रहरीसँग छ।
सवारी साधनको गति, चालकको व्यवहार, यात्रुको संख्या, सावरीको क्षमता भन्दा बढीको यात्रु र मालसमान भए नभएको र मादक पदार्थ सेवन गरे नगरेको, लाइसेन्स भए नभएको अनुगमन हुँदै आएको छ। थप हेर्नुपर्ने विषयहरू पनि छन् जस्तो किः तेस्रो पक्ष बीमा गरेको कागजात सवारी साधनमा हुनुपर्ने, सवारी चलाउन योग्य हो भन्ने प्रमाण हुनुपर्ने, सार्वजनिक साधनमा चढेका लामो दूरीका यात्रुहरूको नाम, ठेगानासहितको सूची हुनुपर्ने, सिटभन्दा बढी यात्रु राख्दा अनुमति लिनुपर्ने, बत्ती, ब्रेक, हर्न, टायर जस्ता अत्यावश्यक कुराहरू सही सलामत हुनुपर्ने।
यसको लागि मौजूदा ट्राफिक प्रहरीको संख्या थप्नु आवश्यक छ, उनीहरूलाई नयाँ प्रविधि सिकाउने र चलाउने व्यवस्था गर्नु आवश्यक छ र सवारी र सवारी चालकको डाटाबेस तुरुन्त हेर्न सक्ने अवसर र कारबाही गर्ने पाउने अधिकार हुनु पर्दछ।
ट्राफिक प्रहरीको सुरक्षाको लागि सिसिटिभी सबै ट्राफिक पोष्ट र वरीपरी हुनु आवश्यक छ।
४) बीमा समिति र बीमा कम्पनी :
मुलुकमा हाल ३० लाख सानाठूला सवारी साधानहरू छन् भनिन्छ, ती साधानको बीमा अनिवार्य हुनु पर्दछ ताकी तिनको कारणले कसैको मृत्यु भएको अवस्थामा पीडित पक्षले आर्थिक रूपमा क्षतिपूर्ति पाउन सकुन्।
बीमा समितिले बीमाको लागि नीति बनाई नेपाल सरकारलाई दिन सक्दछ र कार्यान्वयनका लागि मातहतका सबै बीमा कम्पनीलाई निर्देशन दिन सक्दछ। बीमा कम्पनीहरूले क्षति भए पछि दाबी भुक्तानी गर्ने मात्रै होइन क्षति कम होस् भन्नाकानिम्ति जोखिम व्यवस्थापनका काम पनि गर्नु पर्दछ।
सडक सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टेलिभिजन, रेडियोबाट कार्यक्रमहरू संचालन गर्ने, छोटो छोटो समयमा राजमार्गहरूको अवस्थाको बारेमा जानकारी दिने, सवारी चालक र यात्रुहरूलाई जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, होर्डिङ बोर्ड लगायतका सामग्रीबाट प्रचार प्रसारका काम गर्ने र बीमा शिक्षालाई व्यापक बनाउने काम गर्न सक्दछ।
वर्षभरि कुनै दुर्घटना नहुने सवारी साधान र चालकको बीमा नविकरण गर्दा विशेष छुटको व्यवस्था समेत गर्नु उपयुक्त हुन्छ। गाडीले तय गरेको दूरीको आधारमा बीमा शुल्क लिने, रात्री र दिवा सेवाको, बढी जोखिमयुक्त स्थान र सुगम स्थानमा चलाउने गाडीको फरकफरक प्रिमियम तोकेमा पनि दुर्घटना कम हुन सक्दछ। मोटरको दुर्घटनालाई कम गर्नका लागि मोटर बीमा विज्ञहरूको सुझावलाई महत्वकासाथ लिनु आवश्यक हुन्छ।
५) सवारी धनी, चालक तथा यात्रुः
सवारी दुर्घटना भएमा सवारी धनीको पनि क्षति हुन्छ तर सवारी धनीले जोखिम व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको भन्ने गुनासो सुनिँदै आएको छ।
हुनत नेपालका यात्रुवाहक र मालवाहक सवारी धनीहरू यातायात समितिको सदस्य भइसकेपछि सम्पूर्ण जोखिम समितिलाई हस्तान्तरण गर्ने र उनीहरूकै योजनामा चल्ने गरेको देखिन्छ जुन ठीक होइन।
असल चालक नियुक्ति गर्ने, समय समयमा आफ्नो साधनको मर्मत संभार गर्ने, बाटोको राम्रोसँग जानकारी नराखी वा उपयुक्त बाटो नभएको अवस्थामा नयाँ स्थानमा सवारी नलैजाने, चालकलाई दबाब दिएर सवारी चलाउन नलगाउने, मालवाहक सवारी वा यात्रु वाहक सवारीमा क्षमता भन्दा बढी नराख्ने लगायतको जिम्मेवारी सवारी धनीको हो र यसको नियमन गर्ने काम पुनः यातायात कार्यालयको हो।
निजी सवारी धनीहरूले पनि आफ्नो सवारीको सुरक्षामा पर्याप्त ध्यान नदिएको पाइन्छ। साथै, यात्रुहरूमा सचेतनाको अभाव देखिन्छ जसले गर्दा छतमा चढ्ने, उभिने, कोचाकोच गरी गन्तव्यमा जाने काम पनि भइरेको छ।
वर्षायामाका बेला, राति, थोत्रा गाडीहरूमा, मापसे गर्ने चालकले चलाएको गाडीमा नचढेर पनि व्यक्तिगत रूपमा आफ्नो ज्यान बचाउन सकिन्छ।
६) मनोविज्ञानविद, विपद व्यवस्थापन टिम र राजमार्ग सुरक्षा टिमः
सवारी दुर्घटनामा चालकको मुख्य भूमिका हुने भएकोले चालकलाई समय समयमा परामर्श आवश्यक हुन्छ। विशेष गरी दुर्घटनामा कसरी बच्न सकिन्छ भन्ने विषयमा।
सरकारी निकाय, सार्वजनिक संस्थान, निजी संस्थानहरूले पनि चालक तथा निजी चालकसँग मनोविज्ञानविदसँग भेटघाट गराउनु आवश्यक छ। विशेष गरी सवारी दुर्घटना राजमार्ग र सहरी क्षेत्रमा हुने गर्दछ।
दुर्गम पहाडी, हिमाली राजमार्गहरू पनि हाल दुर्घटना बढी हुने स्थान भएका छन्। ती क्षेत्रमा विपद व्यवस्थापन टिम र राजमार्ग सुरक्षा टिम गठन गर्नु आवश्यक छ।
विपद व्यवस्थापन टिमको गठन गर्ने तालिम दिने, सामग्रीहरू वितरण गर्ने काम हुनु पर्दछ ताकि तुरुन्तै उद्धार गरी प्राथमिक उपाचार गर्न सकियोस् र अस्पतालमा लैजान सकियोस्।
राजमार्गलाई सुरक्षित गर्नका लागि त्यहाँको दैनिक खतरा र जोखिम जन्य अवस्था र वातावरणलाई नियमित रूपमा अवलोकन गर्नु आवश्यक हुन्छ। पर्याप्त मात्रामा पौडीबाजहरू तयार गर्ने, हिमाल चढ्ने तालिम दिने र पर्याप्त मात्रामा सामग्री उपलब्ध गराउने, क्रेन, डोजर जस्ता उद्धार सामग्री र चालक स्ट्यान्डबाई बस्ने काम हुनु पर्दछ, कुनै घटना भइहाले तुरुन्तै उद्धार गर्न सक्ने मानिसहरूको डफ्फा तयार गर्नु आवश्यक छ।
साथै,कम्तीमा २०/ २० मिटरको दूरीको फरकमा राजमार्ग सुरक्षा टीम बनाउनु आवश्यक छ।
७) अस्पतालः
राजमार्गमा अस्पतालको कमीका कारण घाइतेको ज्यान अकालमा जाने गरेको छ। राजमार्गमा डाक्टर, नर्स, औषधि, उपचार केन्द्र, एम्बुलेन्सको व्यवस्था हुनु आवश्यक छ अन्यथा घाइते बाटैमा मर्न सक्दछ। तत्काल उद्धारका लागि हेलिकप्टर सेवाको समेत व्यवस्था हुनु आवश्यक छ। राजमार्ग अस्पताल भनेको दुर्घटना पश्चातको क्षति न्यूनीकरणको लागि आवश्यक छ र यसको लागि सडक सुरक्षा परिषदले नै संचालन गर्नु आवश्यक छ।
सडक दुर्घटना राष्ट्रिय समस्या भएकोले राज्यका सबै अंगहरूको उत्तिकै उत्तरदायित्व हुन्छ नै । तथापी, यसलाई न्यूनीकरणको क्षेत्रमा सक्रिय सबै सरोकारवालालाई सडक सुरक्षा परिषदमा सहभागी गराउन सकियो भने अवश्यनै दुर्घटना न्यूनीकरणमा सहयोग मिल्नेछ।