चीन र भारतमा वर्षेनी लगभग १५ लाख इन्जिनियर उत्पादन हुन्छ। करिब करिब नेपाल जतिकै क्षेत्रफल र जनसंख्या भएको दक्षिण कोरियामा वर्षेनी १ लाख ५० हजार नयाँ इन्जिनियर उत्पादन हुन्छ।
रोजगारीका हिसाबले चीन र कोरियामा प्राय: सबैले रोजगारी पाउन्छन् भने भारतमा लगभग ४० प्रतिशतले रोजगारी पाउँछन्।
नेपालमा वर्षेनी लगभग ५ हजार नयाँ इन्जिनियर उत्पादन हुन पनि मुश्किल छ । र, उत्पादितमा पनि ५० प्रतिशत इन्जिनियर विदेशिने डरलाग्दो तथ्यांक छ।
करिब सँगसँगै स्वतन्त्र भएका देश चीन, भारत, कोरियाको अवस्था नेपालभन्दा धेरै राम्रो हुनुको मुख्य कारण इन्जिनियरिङ विकास नै हो। प्राविधिक जनशक्तिको उत्पादन र खपतले कुनै पनि देशको विकासको अवस्था र भविष्यबारे मार्ग चित्रबारे प्रष्ट पार्छ।
उत्पादन र खपतको हिसाबले नेपालमा इन्जिनियरको संख्या अहिले पनि अत्यन्तै न्यून हुनुले देश विकास गर्न प्राविधिक जनशक्ति अझै अपुग भएको स्पष्ट हुन्छ।
इन्जिनियरिङ क्षेत्रको द्रुत विकासले केही देशले केही दशकमै अपत्यारिलो विकास गरे भने नेपालमा पनि इन्जिनियरिङ शिक्षा, उत्पादन र खपतमा जोड दिई अवस्थामा कायापलट ल्याउन सकिन्छ। त्यसनिम्ति सबभन्दा पहिला गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिने कलेज या संस्थान हुनु आवश्यक हुन्छ।
पाठ्यक्रम, पढाइ, परीक्षा प्रणाली र पास भएका नेपाली इन्जिनियरहरूको अब्बल प्रस्तुती आदि आधारमा नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय मानिए पनि प्रविधि र प्राविधिक क्षेत्रमा लगानी अझै बढाउनु पर्ने देखिन्छ।
दक्ष इन्जिनियर उत्पादन गर्ने इन्जिनियरिङ संस्थान र कलेजहरू पनि नेपालमा धेरै छन्। तर नेपालीहरूको ओरिन्टेसन मिलेको छैन। प्रविधि र प्राविधिक क्षेत्रमा लगानी नगर्ने र परनिर्भर हुने बानीले पनि समस्या देखिएको हो। साथै, कमिसनको खेल, विभिन्न प्रलोभन तथा विदेशी विश्वविद्यालयले छर्ने भ्रमका कारण नेपाली विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढ्दो छ।
यसले नेपालको इन्जिनियरिङ शिक्षामा पनि नराम्रो असर पारेको छ। वैदेशिक अध्ययनको नाममा विदेशिने विद्यार्थी २० प्रतिशतले बढेको तथ्याङ्क छ र वर्षेनी ४० अर्ब पूँजी विदेशिरहेको तीतो यथार्थ छ।
अर्को कुरा इन्जिनियरिङ पास गरिसकेपछि इन्जिनियरिङ ज्ञान, सीप र क्षमताको सदुपयोग नेपालमै गर्नुपर्नेमा विदेश पलायनको समस्या छ।
भारतका एक पूर्वराष्ट्रपतिले ‘देश विकास गर्न मलाई केही चाहिन्नँ मात्र विदेशिएका भारतीय प्रतिभा भारत फर्के पुग्छ’भने जस्तै प्रतिभा पलायन मात्र रोक्न सके पनि देश विकासमा धेरै टेवा पुग्छ।
नेपालमै केही गर्ने र विकास गर्ने भन्दा नि विदेशमा सस्तो मजदूर ( cheap labour) बन्न जान्ने चलनले दीर्घकालीन रूपमा देशलाई नै नोक्सान हुने भएकोले यहाँ इन्जिनियरिङ शिक्षाको पठनपाठन र रोजगारी नेपालमै किन भन्नेबारे प्रष्ट पार्न खोजिएको छ।
इन्जिनियरिङ शिक्षा र यसका विधा
विज्ञानमा व्यवहार या व्यापार जोडिएपछि प्रविधि बन्छ। हाम्रो दैनिक जीवन व्यवहार दिनानुदिन प्रविधिमय बन्दै गैरहेको छ। हामी दैनिकजसो मोबाइलमा कुरा गर्छौं।
कोशौ टाढासम्म भिडियो च्याट गर्छौं। कम्प्युटर या ल्यापटप चलाउँछौं, इन्टरनेटमार्फत् समाचार या सूचना हेर्छौं, गेम खेल्छौं। फेसबुक, ट्वीटर अकाउन्ट प्रयोग गर्छौं। भाइबर, इमो, युट्युब आदि सबैको प्यारो बनेको छ।
यो सबै सूचना र प्रविधिको विकासका कारण संभव भएको हो। सूचना प्रविधिको औपचारिक पढाइलाई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ वा कम्प्युटर इन्जिनियरिङ भनिन्छ । विशेष गरी हार्डवेयरसम्बन्धी अध्ययनलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सफ्टवेयरसम्बन्धी अध्ययनलाई कम्प्युटर इन्जिनियरिङ भनिन्छ ।
बिजुलीको विकासपछि औद्योकीकरण र यान्त्रीकीकरण बढ्यो। बिजुलीको विकासले वस्तु र सेवाको उत्पादन, रूपान्तरण र वितरणमा निकै ठूलो विकास भयो। बिजुलीसम्बन्धी इन्जिनियरिङलाई इलेक्ट्रिकल इन्जिनियरिङ भनिन्छ।
नेपालमा ८३ हजार मेगावाट बिजुली पानीबाट मात्र उत्पादन गर्ने क्षमता रहेबाट र अहिलेसम्म ज्यादै थोरैमात्र उत्पादन भएबाट इलेक्ट्रिकल इन्जिनियरिङको महत्व झन् झन् बढ्दो छ
हामी गगनचुम्बी भवनदेखि समुद्रमा पुलसम्मका समाचारले रोमान्चित हुन्छौं। सिभिल इन्जिनियरिङ र आर्किटेक्चर डिजाइनबाट यस्ता संरचना सम्भव भएका हुन्।
नेपालमा सिभिल इन्जिनियरिङ र बी आर्क (Architecture)निकै लोकप्रिय छ। नेपालमा प्राय: जसो अभिभावक आफ्नो छोराछोरीलाई सिभिल इन्जिनियरिङ पढाउन चाहन्छन्।
यस्तै मेकानिकल , बायो मेडिकल , इन्डस्ट्रियल , हाइड्रोपावर, कृषि आदि इन्जिनियरिङ पनि नेपालका लागि अति आवश्यक इन्जिनियरिङ शिक्षा हुन्।
नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था
इन्जिनियरिङ शिक्षाको लागि नेपाल आत्मनिर्भर छ। अहिले नेपालमा ६ वटा विश्वविद्यालय अन्तरगत ५१ वटा कलेजमा वर्षेनी लगभग ९ हजार ५०० इन्जिनियरिङ सीट छ। तर आधी जति मात्र सीट भरिन्छ। त्रिभुवन विश्वविद्यालय अन्तरगतको आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना हुन र पास हुन सबभन्दा प्रतिस्पर्धी र गाह्रो मानिन्छ। त्यसैले त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ शिक्षा अब्बल मानिन्छ।
इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम र पूर्वाधार, शिक्षकहरूको योग्यता, क्षमता र योगदान, ल्यावहरूको व्यवस्था र विद्यार्थीले पढिसकेपछि कार्यक्षेत्रको प्रस्तुती आदि मापदण्डले यसो मानिएको हो।
नेपालमा लगभग ३० हजार इन्जिनियर दर्ता छन्। जसमा लगभग ११ हजार सिभिल, ४ हजार इलेक्ट्रोनिक्स र ३ हजार कम्प्युटर इन्जिनियर छन्।
देश विकासको अवस्था एवं पुनर्निर्माण र नवनिर्माणको लागि नेपालमा पुरानोदेखि आधुनिक इन्जिनियरिङको पठनपाठन अति आवश्यक देखिन्छ ।
नेपालमै इन्जिनियरिङ शिक्षा किन ?
नेपालमा इन्जिनियरिङ शिक्षा शुल्क न्यून र गुणस्तरीय मानिन्छ।
अहिले सरकारी कोटा पनि धेरै भएकोले झन् सजिलो भएको छ। बहुविश्वविद्यालयको व्यवस्थाले शुल्कमा प्रतिस्पर्धा छ। त्यस्तै सरकारी स्कूल पढेका र पिछडिएका वर्गलाई विशेष व्यवस्था पनि छ।
नेपालमा स्नातक तह इन्जिनियरिङ अध्ययन गर्न पूरा ४ वर्षको लागि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा नियमिततर्फ रु. ४० हजार, पूर्ण शुल्कियमा रु. २ लाख ७० हजार, निजी कलेजहरूमा रु. ८ देखि १० लाख, काठमाडौं विश्वविद्यालयमा रु. ७ लाख शुल्क लाग्दछ।
त्यसैगरी, पोखरा विश्वविद्यालयको आंगिकमा रु. ३ लाख र निजीमा रु. १० लाख, पूर्वान्चल विश्वविद्यालयमा खुलामा रु. १ लाख २५ हजार तथा एफ टी एफ सी मा रु. ५ लाख, निजीमा रु. १० लाख शुल्क लाग्छ।
यसैगरी, मध्यपश्चिमान्चल विश्वविद्यालयमा नियमितमा रु. ३९ हजार र पूर्णमा रु. ४ लाख ३९ हजार, सुदूर पश्चिमान्चल विश्वविद्यालयमा नियमिततर्फ रु. ५५ हजार र फुल पेतर्फ रु. २ लाख ७४ हजार शुल्क लाग्दछ। विदेशमा जस्तो पछि अनेक नाम र बहानामा शुल्क या खर्च बढ्ने संभावना रहन्न।
पाठ्यक्रम, प्रयोगात्मक ज्ञान, शिक्षकको व्यवस्था, ज्ञान र लगाव आदि हिसाबले नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय मानिन्छ। नेपालबाट इन्जिनियरिङ गरेका विद्यार्थीले विश्वको जुनसुकै ठाउँमा पनि राम्रो प्रस्तुती प्रदर्शन गरेको इतिहास छ। चाहे एकेडेमिक होस् या फिल्ड वर्कमा होस्।
अमेरिका, युरोपका प्रसिद्ध विश्वविद्यालयहरूमा नेपाली इन्जिनियरहरूले नै राम्रो नतिजा निकालिरहेको देखिन्छ।
भारत या अन्य देशमा जस्तै नक्कली र स्थानीय तल्लो स्तरको विश्वविद्यालयमा पढेर समय बर्बाद होला कि भन्ने चिन्ता कमसेकम नेपाली इन्जिनियरिङ कलेजमा पढेपछि हुन्न।
नयाँ नयाँ कोर्ष र रिभ्युको व्यवस्था
अहिलेको जमाना पहिला जस्तो छैन, फेरिएको छ। अमेरिका, युरोपमा विकसित प्रविधि यहाँ पनि तुरुन्तै आउँछ। त्यहाँको ज्ञान, अन्वेषणका कुरा नेपालमा पनि तुरुन्तै अभ्यासमा आउँछ।
प्रविधिकै विकासका कारण विकसित देशको इन्जिनियरिङको नयाँ नयाँ कोर्ष अविकसित देशमा पनि आइहाल्छ। अहिले कति कामको आउट सोर्सिङ हुन्छ भने कति काम विदेशबाट आएकाले गरिरहेका हुन्छन्। नेपालमै बसेर नेपालकै कलेजमा विश्वको नयाँ नयाँ कोर्ष पढ्न सकिन्छ।
त्यस्तै नेपाली इन्जिनियरिङ कलेजमा कोर्षहरूको रिभ्यु पनि हुन्छ समय समयमा। टियुमा प्रत्येक चार चार वर्षको साइकलमा पाठ्यक्रम संशोधन गरिन्छ। त्यसैले नविनतम् ज्ञान र प्रविधिसँग साक्षात्कार नेपाली इन्जिनियरिङ कलेजमा गर्न सकिन्छ।
पूर्णकालीन शिक्षक र शिक्षक आदानप्रदानको व्यवस्था
नेपाली इन्जिनियरिङ कलेजको अर्को विशेषता भनेको अत्यन्त समर्पित पूर्णकालीन शिक्षकको व्यवस्था र उपत्यकाभित्र र बाहिरका अन्तर कलेज शिक्षक आदानप्रदान हो।
पूँजी पलायन रोक्न
अध्ययनको नाममा विद्यार्थी विदेशिनाले देशको पूँजी विदेशिन्छ। यसले देशको रोजगारी र अर्थतन्त्रमा नकारात्मक असर पर्छ। अहिले भारतसँग नेपालको व्यापार घाटा निकै डरलाग्दो छ।
१०० रुपैयाँ कारोबारमा नेपालले भारतलाई ४ रुपैयाँको सामान बेच्दै गर्दा भारतसँग ९६ रुपैयाँको सामान किन्ने गर्छौं। यसैले हामी जहिले गरिबको गरिब। ५० डिग्री तापक्रममा काम गर्न ५० लाख युवा विदेशिए नि गरिब हुनुको कारण पूँजी पलायन हो। त्यसैले नेपालमै अध्ययन गर्ने गराउने बानी बसाल्नु पर्छ।
सूचना चुहावट र निगरानी रोक्न
प्रविधि अहिले उत्पादन, रूपान्तरण र वितरण बढाउने काम मात्र सीमित छैन। अहिले प्रविधिको प्रयोगले सूचना चोर्ने र अरूलाई निगरानीमा राख्ने सम्मको काम भइसक्यो। अहिलेको चीन- अमेरिका व्यापार युद्ध वा हुवावे वा ५ जि प्रकरण पनि यसैको नयाँ कडी हो। अहिले कृत्रिम बुद्धिमताको प्रयोग गरी स्वचलित करण, यन्त्र सिकाइ, यन्त्र दृष्टि , प्राकृतिक भाषा प्रणाली, प्याटर्न पहिचान , रोबोटिक्स आदिको विकासको कारण अब प्रविधिको ज्ञान नहुनु आँखा नहुनु जस्तै भैसकेको छ।
अब देशमै यस्ता अत्याधुनिक प्रविधि विकास नगर्ने हो भने देशका गोप्य सूचना चोरी हुन सक्ने र संवेदनशील क्षेत्र समेत थाहा नपाई निगरानीमा खतरा हुने संभावना हुन्छ।
एजुकेसनल हब र अनुसन्धान केन्द्र बनाउन
स्वदेशमै पढ्ने बानी बसाले नेपाललाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धानको केन्द्र बनाउन टेवा पुग्छ।
स्थानीय र ग्लोबल क्यारियरको लागि
नेपालको इन्जिनियरिङ शिक्षा नेपालको माटो सुहाउँदो पनि छ र विदेशमा काम गर्न सक्ने दक्ष बनाउने खालको पनि छ। त्यसैले नेपालको इन्जिनियरिङ शिक्षा स्थानीय र ग्लोबल क्यारियरको लागि उपयुक्त छ।
फेक र लोकल स्तरहीन विश्वविद्यालयको चंगुलमा नफस्ने
भारत लगायतका देशम नक्कली विश्वविद्यालय र कलेजको बिगबिगी छ। कतिपय केसमा फेक र लोकल स्तरहीन विश्वविद्यालयको चंगुलमा फस्न सक्ने संभावना पनि छ।
समयको बचत लगायतको फाइदा
स्वदेशमै पढ्नाले समयको बचत हुने र होम सिकलगायत अनावश्यक तनाव र अनेक समस्याबाट मुक्त भइन्छ।
देशको समग्र विकासको लागि देशमा प्रविधिको विकास हुन जरूरी छ।
प्रविधि विकास गर्न देशमै इन्जिनियरिङ शिक्षा र रोजगारीको व्यवस्था हुनु आवश्यक छ। शिक्षाको नाममा विद्यार्थी विदेशिनु भनेको पुँजी पलायन हुनु हो भने युवा विदेशिनुको अर्थ हाम्रो सबभन्दा उर्जाशील श्रमशक्ति बाहिरिनु हो। इन्जिनियरिङ शिक्षा र रोजगारी नेपालमै व्यवस्थित गर्न सकेमात्र देशको द्रुत विकास सम्भव छ।
(लेखक काठमाडौं इन्जिनियरिङ कलेजका एसोसियट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुन्)