कुइरेको डायरी
भदौ २०, २०५४।
त्यो साँझ मैले 'होस्ट' परिवारसँग डिनर खाइसकेको थिएँ। घरका महिलाले भान्छाकोठामा पूजा गरेको पनि हेर्न भ्याएँ। हरेक साँझ महिलाहरूले पूजा गर्दा मलाई आनन्द लाग्थ्यो। बाटेको धूपको सुगन्ध अनि उनीहरूले घन्टी बजाएर गरेको आरती म हेरिबस्थेँ। त्यो एकदम नौलो र आश्चर्यजनक अनुभव थियो मेरो लागि। किनकि, अमेरिकातिर मैले कहिल्यै कसैले त्यसरी पूजा गरेको देखेको थिइनँ।
होस्ट परिवारसँग म काठमाडौंको चाबहिल बस्थेँ। भोलिपल्ट बिहानै उठेर म 'प्रोगाम हाउस' जान हतारिएँ। मैले बाटोमा एउटा पनि टेम्पो देखिनँ। अब मैले टयाक्सी चढ्नुपर्ने भयो। भेटेजति सबै टयाक्सी मिटरमा जान नमान्ने। झन् मजस्तो गोरो छाला भएको विदेशीसँग धेरै पैसा छ भन्ने उनीहरूको बुझाइ रहेछ।
दुई दशकपछि अहिले पनि टयाक्सी आक्कलझुक्कल मात्रै मिटरमा जान मान्छन्। अचेल त म बाठो पनि भइसकेँ। नेपाली भाषा बोलेरै 'टुरिस्टको भाउ नलिनू' भन्दै मोलमोलाइ गर्छु। श्रीमतीसँग बाहिर जाँदा टन्टै साफ। उनैले भाउ मोलतोल गर्छिन्। साँच्चै मेरी श्रीमती नेपाली हुन् है। म आधा अमेरिकी, आधा ड्यानिस।
जे होस् त्यो बिहान म हिँडेरै प्रोगाम हाउस पुगेँ। गैरीधाराको त्यो प्रोगाम हाउसमा म ६ घन्टा नेपाली भाषा सिक्थेँ।
म २२ वर्षअगाडि अमेरिकाको विस्कनसिन युनिभर्सिटिको कलेज इयर अफ नेपालको एकवर्षे अध्ययन तथा अनुसन्धानका लागि नेपाल आएको थिएँ। तर त्योभन्दा अगाडि २०५१ सालतिरै मैले कसैमार्फत् डोरबहादुर बिष्टलाई नेपालमा फोन गरेर सम्पर्क गरेको थिएँ। तर सम्पर्क गर्दा फोन उठाउने उनका छोराले डोरबहादुर बिष्ट बेपत्ता भइसकेको बताएका थिए।
१६ वर्षे ठिटो म त्यति बेला नेपालमा डोरबहादुरले बनाउँदै गरेको स्कुलमा स्वयंसेवक भएर उनलाई सघाउन चाहन्थेँ। त्यो सपना अधूरै रह्यो।
त्यसको ३ वर्षपछि मैले विस्कनसिन युनिभर्सिटीबाट थाइल्यान्ड वा नेपाल जाने अवसर पाएँ। मैले नेपालबाहेक कतै जान्नँ भनेरै आएको थिएँ। मेरा साथीहरू थाइल्यान्डका समुद्र अत्यन्त रमाइलो हुन्छ भन्दै उतै गएका थिए। म भने युरोप, अस्ट्रेलिया र अंग्रेजीभाषीको बाहुल्य भएको कुनै देश जान चाहन्नँ थिएँ। मलाई फरक भाषा, संस्कृति र फरक मान्छे देख्नु र बुझ्नु थियो।
२०५४ भदौ ४ गते नेपाल आएको क्षणले त्यो सारा सपना पूरा गरेको थियो। मेरो देश र यहाँको परिवेश, संस्कृति र जीवनशैली धेरै अलग भए पनि नेपालसँग प्रेम बस्यो। जहाज चढेर अमेरिका फर्किन लाग्दा मनमनै प्रण गरेँ- म फेरि नेपाल आउनेछु।
दस वर्षपछि मैले आफैंसँगको बाचा पूरा गरेँ। पढाइ सकेर म नेपालको स्वास्थ्य मन्त्रालयको सहकार्यमा एउटा प्रोजेक्टमा काम गर्न आएँ। बेलाबखत आफ्नो मुलुक गए पनि मैले नेपालमै लेखक, फोटोग्राफर र भिडिओग्राफरका रूपमा काम गरेको नौ वर्ष भइसक्यो।
अब त्यही दिनको घटना सुनाउँछु- पहिलोपटक नेपाल आएको १६ औं दिनको अनुभव। यी सम्झनाले ठ्याक्कै २२ औं वार्षिकोत्सव मनाउँदै छन्।
त्यो बेला काठमाडौं रात परेपछि रंगीन लाग्थ्यो मलाई। मैले रक्सी किन्ने निर्णय गरेर त्यो साँझ अझ रंगीन बनाएँ। प्रोगाम हाउस नजिकैको एउटा बारमा छिरेँ। त्यो अमेरिकामा जस्तो आलमुनियमका 'केग'मा जडित धाराबाट बियर आउने बारजस्तो बिल्कुल थिएन। काठमाडौंका साँघुरा गल्लीगल्लीमा यस्ता बार छ्याप्ती छ्याप्ती भेटिन्थे। नेपालमा भट्टी भनिँदो रहेछ।
यस्ता भट्टीहरू प्रायः भुइँतलामा, घामै नछिर्ने अँध्यारो कोठामा खोलिँदा रहेछन्। पाँच फिटभन्दा बढी उचाइ भएको मजस्तालाई भट्टी छिर्दा ड्वाङ्ग टाउको ठोक्किने डर उत्तिकै।
मैले गैरीधाराको त्यो भट्टीमा एक बोतल 'लोकल ठर्रा' किनेँ। सुरूमा साहुजीले एउटा थोत्रो जर्किनबाट रक्सी निकालेर एक लिटरको बोतलमा खन्याए। त्यसपछि त्यो रक्सीलाई 'स्यानमिगल बियर' को खाली बोतलमा खन्याएर दिए। मैले शुद्धता नाप्न रक्सीमा आगो लगाएर हेरेँ। रक्सीमा आगो बलेन। शुद्ध रक्सी आगोमा हर्वारहर्वारती बल्छ। यसो गरिरहँदा साहुजीले मुख ठुस्स पारे। उनी नमज्जैले रिसाए र केही समस्या छ र' भन्दै झर्किए।
म 'छैन छैन' भन्दै भट्टीबाट बहिर निस्केँ। म त दंग थिएँ, झन्डै एक बोतल रक्सीको ३० रुपैयाँ मात्र पर्यो। त्यो बेलाको ५० सेन्ट नि हैन!
रक्सी छचल्किएर नपोखियोस् भनी साहुजीले बोतलको मुखमा पत्रिका मुठो बनाएर कोचिदिएर कालो पोलिथिन झोलाभित्र राखिदिएका थिए। मैले बोतलको टाउको मात्र देखिने गरी रक्सी झोलाभित्र भिरेर हिँडे। हिँड्दाहिँड्दै बोतलको मुखमा कोचिएको पत्रिका भिजेर बाहिर निस्केछ। रक्सी छचल्किएर मेरो घाँटी नराम्ररी भिज्यो। मैले हतपत झोलाबाट बोतल निकालेर हातमै बोकेर हिँडे।
म ठ्याक्कै जँड्याहाजस्तो देखिएको थिएँ। रक्सीको बासनाले त्यसमा लालमोहर लगाइदिएको थियो।
शरीरबाट आइरहेको रक्सीको ह्वारह्वार बासनाले मलाई लाज पनि लाग्यो। मैले धेरै ट्याक्सी खोजेँ, पाइनँ। म भौतारिदैँ हिँडिरहेँ। पछाडि-पछाडि दुई जना केटाले मलाई पछ्याइरहेका थिए।
मेरो ध्यान उनीहरूतिर आकर्षित गर्न चाहन्थे होला, त्यसैले 'हेलो खैरै! हाउ आर यू' भन्दै जिस्क्याउँदै थिए। काठमाडौंमा गोरो छाला भएका हामीजस्ता विदेशीलाई यहाँका रैथानेले खैरै, कुइरे वा अम्रिकन भन्छन्। अचेल पनि बाटामा हिँड्दा मान्छेहरू मेरी श्रीमतीलाई 'यो कुइरे कुन देशको हो' भनेर सोध्छन्? उनी प्रायः 'डेनमार्कको हो' भन्छिन्। अमेरिका भन्दा मान्छेहरू अझ बढी उत्साहित भएर 'अमेरिका कहाँ भनेर सोध्छन्'। डेनमार्क भनेपछि थप प्रश्नमा 'फुलस्टप' नै लाग्छ। हामी बस्ने ललितपुरको बागडोलमा पनि धेरै विदेशी छन्। त्यसैले हामीले हाम्रो टोलको नामै 'कुइरेपुर' राखिदिएका छौं।
साँच्चै म ती अपरिचित दुई जना केटाहरूको लहलहैमा एउटा नयाँ भट्टी गएँ। पाँच फिट अग्लो र आठ फिट चौडा क्षेत्र भएको त्यति सानो भट्टी मैले कहिल्यै देखेको थिइनँ। भएका सबै भाग साना-साना टेबलले ओगटेका। आठ-नौ जना मान्छे पनि अटिनअटी कोच्चिएर बसेका। मलाई भट्टीभन्दा जेलजस्तो लागिरहेको थियो।
सिलिङमा हामीले 'जिरो वाट' को भन्ने एउटा चिममात्रै झुन्डिएको। एकले अर्काको अनुहार चिन्नै मुश्किल बत्तीको उज्यालोमा म निस्सासिएको थिएँ। तर त्यहाँ भएका सबै मान्छे हँसिला देखिन्थे। नेपालीहरू जत्तिका हँसिला मान्छे मैले संसारमा कतै भेटेको छैन।
मेरा भर्खरै परिचित दुई नयाँ साथी र म भित्तामा टाँसिएर बसेका थियौं। एकैछिनमा एकजना बूढा-बूढा साहुजी रक्सी राखिएको पुरानो जर्किन बोकेर हामीतिर आए। त्यतिखेर रक्सी राख्ने भाँडा भनेकै प्ल्यास्टिकका जर्किन देखेँ मैले। कतै कतै भने तामा, पित्तल र माटोकै भाँडाहरूमा पनि राख्ने गरेको देखेको छु।
साहुजीले मलाई 'हेलो' भनेर 'ऐला खानी' भनेर सोधे?
मैले 'हुन्छ' भनेर टाउको हल्लाएको देखेपछि उनले शिशाको गिलासमा आधा गिलास ऐला खन्याए। काठमाडौंका खास रैथाने नेवारहरूले रक्सीलाई 'ऐला' भन्छन्।
त्यसपछि उनले मेरो लागि राखेको रक्सीमा पानी मिसाउन खोजे। मैले 'पर्दैन-पर्दैन, यसै खान्छु' भनेँ। साहुजी मलाई हेर्दै फिस्स हाँसे। उनले सायद पत्याएनन्। मनमनै सोचे होलान्, 'यस्तो लोकल ठर्रा कसरी खान सक्छ यो गोराले?'
उनले ऐलासँगै काँक्रो पनि काटेर दिए। नुन, खुर्सानी र टिम्मुर पिसेको मसलासहित। काँक्रो प्रायः रक्सीसँग सित्तैमा पाइने 'स्न्याक' नै हो।
मैले पानी नमिसिएको ऐला गिलासबाट स्वाट्ट पारेँ। कोलाहलको माहोल शान्त भयो। भट्टीका सबै मान्छे मलाई हेरेर छक्क परे। रक्सी त्यति कडा थिएन। सायद कलेजका दिनमा अमेरिकन बारमा खाने बानी परेको तालिमले पनि हो कि?
तर त्यो रक्सी ठ्याक्कै हामीले खाने गरेको टकिलाजस्तो चाहिँ थियो।
मैले काँक्रोका केही टुक्रा खाएँ, बोक्रा छुट्ट्याएँ। भट्टीका मान्छे झन् अचम्म परे। उनीहरू मैले थप एक गिलास ऐला खाओस् भन्ने चाहन्थे। तर मलाई प्रोगाम हाउस फर्किनु थियो। म आफूले खाएको ऐलाको पैसा तिरेर बाहिर निस्किन खोजेँ। मसँग भट्टी आएकामध्ये एक जनाले बाटो छेक्यो।
मैले आफूले खाएको मात्र तिरेको देखेर ऊ निकै रिसाएको थियो। ऊ चाहन्थ्यो, म उनीहरू दुवैले खाएको पैसा पनि तिरूँ। म 'नाइँ' भनेर भट्टीबाट जसोतसो निस्केँ। ट्याक्सी खोज्दै हिँड्दै गर्दा म अलि पर पुगिसकेको थिएँ। 'भट्टीको साथी' पछाडिबाट बेस्सरी साइकल कुदाउँदै मेरो नजिकै आएर नराम्ररी झपारेर हुइँकियो। मैले उसको नेपाली राम्ररी बुझिनँ। तर उसको अनुहारले बताउँथ्यो, ऊ बेजोड रिसाएको थियो।
झन्डै ८ बजेतिर म प्रोगाम हाउस पुगेँ। ब्रायन र टरेसी मलाई डिनरका लागि कुरिरहेका थिए। हामी नजिकैको एउटा रेस्टुरेन्ट गयौं। हामी सबैले 'थाई करी' मगायौं। करी धेरै पिरो थियो। पिरो खप्न नसकेर ब्रायन टेबुलमा राखिएका न्यापकिन चपाउन थाले। टरेसी र मैले बियर मगायौं। वेटरले स्यानमिगलकै बोतल ल्याएर टेबुलमा तेर्स्याए। म बोतल देखेर मुसुमुसु हाँसिरहे।
डिनर खाइसकेपछि हामी सबै आफ्नो होस्ट हाउसतिर लाग्यौं। गैरीधाराबाट हिँड्दै चाबहिल पुग्नु थियो। काठमाडौंमा साँझ परेपछि भुस्याहा कुकुरहरू बेस्सरी भुक्थे। मैले हात र जिन्सको पकेटमा केही ढुंगा बोकेँ। एक-दुई पटक बाटोमा हानेजस्तो गरी ढुंगा हुर्याएपछि कुकुरहरू आफैं तर्सिने रहेछन्। जबजब कुकुर भुक्थे, म खुट्टा बजार्दै बाटोमा ढुंगा हान्दै तिनीहरूलाई तर्साउँदै हिँड्थेँ।
त्यो सुनसान बाटोमा कतिखेर घर पुगेँ मैले पत्तो पाइनँ।
तस्बिरहरूः Brian Sokol
ट्विटरः @DaddyYak