पछिल्ला दशकमा वन डढेलोबारे निकै चर्चा हुने गरेको छ। अमेरिका, क्यानडा, युरोप र अष्ट्रेलियामा सुख्खा मौसममा लाग्ने डढेलोको खबर विश्वभरकै सञ्चारमाध्यमहरूमा प्रकाशित हुने गरेको छ।
हालै अमेजनको जंगलमा लागेको डढेलोको अन्तर्राष्ट्रिय चर्चा चुलिएपछि फेरि यसका वातावरणीय असर सम्बन्धी छलफल बाक्लिएको छ। सामाजिक सञ्जालमा त 'अमेजनका लागि प्रार्थना गरौं' भन्ने जस्ता ह्यासट्यागले राम्रै स्थान पाइरहेका छन्।
तत्कालिक रूपमा वातावरण र पारिस्थिकीय प्रणालीमा नकारात्मक असर गर्ने भए पनि वनविज्ञहरूले डढेलोलाई वनको पारिस्थितिकीय प्रणालीकै एक अवस्थाका रूपमा व्याख्या गर्छन्। वन तथा पारिस्थितिकीय प्रणाली व्यवस्थापनको विभिन्न चरणहरूमा नियन्त्रित डढेलोलाई नै एउटा औजारका रूपमा विश्वभर प्रयोग गर्ने प्रचलन छ। वन विज्ञानमा यसलाई 'असल नोकर र खराब मालिक' (Fire is a good servant but a bad master) भनेर पनि व्याख्या गरिन्छ।
कतिपय पारिस्थितिकीय प्रणालीको स्वस्थ विकासका लागि निश्चित समयमा डढेलो लाग्नु वा लगाउनु फाइदाजनक हुने विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि हिउँदको समयमा नयाँ घाँस उमार्न तथा संरक्षित क्षेत्रका घाँसे मैदान व्यवस्थापन गर्न आगो लगाउने गरिएको छ। र, यसका साँच्चैका फाइदा पनि छन्।
तर जलवायु परिवर्तनको प्रभावले देखिएको लामो अवधिको सुख्खा मौसम, पृथ्वीको तापक्रम वृद्धि साथै अन्य मानवसिर्जित कारणहरूले विश्वमा वन डढेलोको संख्या, प्रकृति र क्षेत्र बढ्दै गइरहेको छ। त्यसले पार्ने नकारात्मक प्रभाव सोही अनुपातमा वृद्धि भएको छ।
संसारकै जैविक विविधताको खानी मानिने अमेजन, सदाबहार चौडापाते उष्ण प्रदेशीय वर्षा वन हो। यसले अमेजन नदी जलाधार क्षेत्रको अधिकांश भूभाग ओगटेको छ। अमेजन जलाधारको झण्डै ६० लाख वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो जंगल दक्षिण अमेरिकाका ९ वटा देशमा फैलिएको छ। अमेजन जंगलको झण्डै ६० प्रतिशत भूभाग ब्राजिलमा रहे पनि पेरु र कोलम्बियामा पनि यसको उल्लेख्य फैलावट छ। यी लगायत भेनेजुयला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम र फ्रेन्च गुयानामा समेत अमेजन जंगलको केही भाग फैलिएको छ।
संसारको सबभन्दा उत्पादक वन क्षेत्रमध्येको अमेजन जैविक विविधताले पनि निकै धनी छ। यहाँ ४० हजारभन्दा धेरै प्रजातिका उष्ण प्रदेशीय वनस्पतिका साथै दसौं लाख प्रजातिका वन्यजन्तु र किराफट्याङ्ग्रा पाइन्छन्। साथै दक्षिण अमेरिकाका चार सयभन्दा धेरै 'ट्राइब'का दस लाखभन्दा बढी आदिवासीले पनि आश्रय लिइरहेका छन्।
के अमेजन पृथ्वीको फोक्सो नै हो ?
दक्षिण अमेरिकाको विस्तृत भूभागमा फैलिएको र संसारकै सबभन्दा ठूलो अविछिन्न उष्ण प्रदेशीय बर्षा वन क्षेत्र रहेकाले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा अमेजनलाई 'पृथ्वीकै फोक्सो' भनेर चित्रित गरेको पाइन्छ। अमेजनका बोटबिरुवाले प्रकाश संश्लेषण प्रक्रियामा वायुमण्डलमा उत्सर्जित कार्बन डाइअक्साइड सोसेर अक्सिजन उत्पादन गर्ने भएकाले त्यसो भनिएको पनि हुनसक्छ।
अझ कतिपय सञ्चारमाध्यम, सामाजिक सञ्जाल र प्रतिष्ठित व्यक्तित्वले समेत विश्वको कुल अक्सिजन उत्पादनको २० प्रतिशत अमेजनको जंगलबाट उत्पादन हुन्छ भन्ने कुराले पनि यसलाई पृथ्वीकै फोक्सो भन्न बल पुर्याइरहेको छ। वास्तविकता अलि फरक छ।
वैज्ञानिक तथ्यअनुसार वायुमण्डलमा भएकोमध्ये अधिकांश अक्सिजन समुद्रमा पाइने 'प्लाङ्टन' भनिने सूक्ष्म वनस्पतिले प्रकाश संश्लेषण गर्दा उत्पादन हुन्छ। वैज्ञानिकहरूका अनुसार जमिनमा रहेका बोटबिरुवाले उत्पादन गर्ने मात्रैको मध्ये पुगनपुग २० प्रतिशत अक्सिजन अमेजनबाट उत्पादन हुनसक्छ। अझै जमिनका बोटबिरुवाले दिउँसो मात्रै अक्सिजन उत्पादन गर्ने र श्वासप्रश्वासको लागि अक्सिजन नै सोस्ने भएकाले दीर्घकालमा अमेजनबाट उत्पादन हुने खुद अक्सिजनको परिमाण नगण्य हुने समेत वैज्ञानिकहरूको धारणा छ।
वायुमण्डलबाट अधिक मात्रामा कार्बन डाइअक्साइड सोसेर सञ्चित गरी कार्बन चक्र र जलवायु परिवर्तन न्यूनिकरणमा सकारात्मक प्रभाव पार्ने कारणले यसलाइ पृथ्वीको फोक्सो भन्नु उपयुक्त देखिन्छ। तै पनि अक्सिजन उत्पादनका हिसाबले अमेजनको बढाइचढाइ वैज्ञानिक तथ्यमा धेरै आधारित देखिँदैन।
के अमेजनको यसपालिको डढेलो साह्रै विनाशकारी हो ?
अमेजन जंगलको डढेलोसँग निकै पुरानो सम्बन्ध छ। आदिवासीहरूको वासस्थान र जनसंख्या वृद्धिसँगै कृषि, उद्योग र चरनक्षेत्र विस्तारका लागि जंगल विनाश र खोरिया फँडानी गरी खेती गर्ने परम्परा बढ्दो छ। बस्ती नजिकका क्षेत्रमा डढेलो प्रत्येक वर्ष दोहोरिने प्रक्रिया हो।
विगत एक दशकमा ब्राजिलको अमेजन क्षेत्रमा वर्षको पहिलो ८ महिनामा औसत ४० हजारभन्दा धेरै स्थानमा डढेलो लागेको ब्राजिलको अन्तरिक्ष अनुसन्धान संस्थाको तथ्यांकले देखाउँछ। पोहोरको तुलनामा यो वर्ष ८५ प्रतिशत बढी अर्थात् ८ महिनामा ७५ हजारभन्दा धैरै स्थानमा डढेलो लागेको छ। पूरै अमेजन क्षेत्रमा एक लाख बढी स्थानमा छ।
संख्यात्मक रुपमा ब्राजिल लगायत अमेजन जंगल क्षेत्रमा लागेको डढेलो अधिक देखिए पनि सो क्षेत्रले योभन्दा गम्भीर किसिमका डढेलो सामना गरिसकेको छ। अमेरिकी अन्तरिक्ष संस्था 'नासा'ले भर्खरै मात्रै गरेको विगत डेढ दशकको भूउपग्रहीय तथ्यांकको विश्लेषणअनुसार ब्राजिल मात्रै नभई समग्र अमेजन क्षेत्रको डढेलो औसतभन्दा खासै विनाशकारी नरहेको जनाएको छ।
त्यस्तै युरोपियन युनियनको 'कोपर्निकस एट्मोस्फेरिक मोनिटरिङ सर्भिसेज'को तथ्यांकअनुसार ब्राजिलको कार्बन डाइअक्साइड उत्सर्जन अहिलेका वर्षमा भन्दा सन् २००० दशकमा अत्यधिक थियो। ती तथ्यांकले ब्राजिल र समग्र अमेजन क्षेत्रमा अघिल्ला वर्षहरूमा पनि डढेलो धेरै र तीव्र थियो भन्ने देखाउँछ।
तसर्थ, अमेजन डढेलोको अवस्था साँच्चै नै प्रार्थना नै गर्नुपर्ने भइहालेको छैन। साथै अमेजन क्षेत्रका ब्राजिल, बोलिभिया, पेरु जस्ता देशमा डढेलोका घटना उल्लेख्य रुपमा बढे पनि कोलम्बिया र इक्वेडरको अमेजन क्षेत्रमा डढेलो गत वर्षको यही समयको तुलनामा घटेको छ।
कसरी सुरू हुन्छ वन डढेलो ?
डढेलो प्राकृतिक र मानवसिर्जित दुवै कारणले हुन सक्छ। सुख्खा तथा गर्मी महिनामा वन क्षेत्रमा पर्ने चट्याङका कारण अक्सर प्राकृतिक डढेलो सुरू हुन्छ। त्यस्तै वन क्षेत्रमा ज्वालामुखी विस्फोटका घटनाबाट पनि डढेलो लाग्न सक्छ।
तर अधिकांश डढेलो मानवीय कारणले सुरू हुन्छन्। खोरिया फँडानी तथा कृषियोग्य भूमी बनाउने क्रममा वा वन व्यवस्थापनका लागि लगाइएको आगो मुख्य कारण हुन्। सुख्खा वन क्षेत्रमा प्राकृतिक कारणले डढेलो लाग्न सक्ने भए पनि अमेजन जस्ता ओसिला बर्षा वनमा मानव सिर्जित कारण नै बढी हुन्छ।
अमेजनमा वन विनाश र डढेलो
सन् १९७५ देखि २०१० को बीचमा अमेजन क्षेत्रको कुल वन मध्ये करिब १५ प्रतिशत विनाश भएको विभिन्न अध्ययनले देखाएका छन्। सन् १९९० दशकमा वन विनाशको गति अति तीव्र भए पनि २००५ पछि विभिन्न संरक्षण नीति, अमेजन संरक्षित क्षेत्र विस्तार र कडा कानुनी व्यवस्थाले ब्राजिलको अमेजन क्षेत्रमा विनाश दर उल्लेख्य घटेको छ।
वन विनाश दर र डढेलोको सोझो सम्बन्ध रहेको अध्ययनले देखाएका छन्। विनाश दर बढेका वर्षमा डढेलो मात्रा पनि बढेको पाइएको छ। यसले अमेजन क्षेत्रमा मानव सिर्जित कारणबाट अधिकांश डढेलो हुने अवस्था रहेको भन्न सकिन्छ।
हालै ब्राजिलमा भएको राजनैतिक परिवर्तनका कारण पनि अमेजन क्षेत्रमा वन विनाश र डढेलो मात्रा बढेको वैज्ञानिक तथा वातावरणविद्हरूको आरोप छ। ब्राजिलको राष्ट्रपति निर्वाचित भएपछि जैर बोल्सनारोले अमेजन जंगललाई कृषि, खानी तथा अन्य औद्योगिक प्रयोजनमा लगाउने र वन विनाशप्रति उदार नीति लिएपछि विनाश दर बढेको विभिन्न अध्ययन तथा भूउपग्रहीय तस्वीरहरूले देखाएका छन्। धेरैले राष्ट्रपति बोल्सनारोको यो नीति नै डढेलो बढ्नुको कारण भन्दै आएका पनि छन्।
अमेजन वातावरणीय अनुसन्धान संस्थाका अनुसार जानाजान गरिएको विनाशले डढेलो बढेको छ। पछिल्लो वर्षको जुलाइको तुलनामा यो वर्ष जुलाइमा ब्राजिलको अमेजनमा विनाश २५० प्रतिशतभन्दा धेरै बढेको छ।
अमेजन डढेलोको असर
अमेजन डढेलोको तत्कालिक असरका रूपमा फैलिएको धुँवा र योसँग मिसिएका हानिकारक ग्यासको उत्सर्जन हो। यो अमेजन क्षेत्रको हजारौं किलोमिटर वरपरसम्म फैलिएको छ। त्यसैगरी अमेजन क्षेत्रको जैविक विविधता नोक्सानीमा डढेलोले नकारात्मक प्रभाव पार्ने नै छ। जैविक विविधता पुनरुत्पादन हुन नपाउँदै पटकपटक डढेलो लागिरह्यो भने निश्चित भूगोलमा सीमित भएका निश्चित प्रजातिका वनस्पति तथा जीवजन्तु लोप हुने सम्भावना रहन्छ।
सुख्खा क्षेत्रमा पाइने वनका प्रजाति डढेलो सहन गर्न सक्ने क्षमताका हुन्छन्। अमेजन जस्ता ओसिला वनका बोटबिरुवाले सहन नसक्ने हुँदा त्यस्ता प्रजाति विनाश हुने सम्भावना अधिक हुन्छ।
योसँगै बोटबिरुवामा लामो समयदेखि सञ्चय भएर बसेको कार्बन जल्दा सयौं मेगाटन कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र अन्य हरितगृह ग्यास वायुमण्डलमा उत्सर्जित भएका छन्। यसले वायुमण्डलमा हरितगृह ग्यास बढाइ पृथ्वीको तापमान बढाउन र जलवायु परिवर्तनको कारक बन्नमा योगदान गर्नेछ।
त्यस्तै, दीर्घकालमा यदि डढेलोले नोक्सान गरेको क्षेत्रमा वन पुनरुत्पादन हुन नसकी कृषि, खानी जस्ता अरू नै भूउपयोगमा परिणत भएमा त्यसको झन् बहुआयामिक नकारात्मक असर हुनेछ। डढेलोले मासिएको क्षेत्रमा वन पुनरुत्पादन भए दीर्घकालमा डढेलोको असर न्यूनिकरण गर्दै जानेछ।
अमेजन क्षेत्रमा लागेको डढेलो विश्व समुदायका लागि चिन्ताको विषय हो। तर पनि मूल चिन्ताको विषय, डढेलो र अन्य मानवीय कारणले वन क्षेत्र भूउपयोगमा परिवर्तन हुने क्रम कसरी रोक्ने भन्नेतर्फ हुनुपर्छ।
(लेखक मिलन ढुंगाना वन तथा वातावरण मन्त्रालयमा सहायक अनुसन्धान अधिकृत छन्)
ट्विटरः @mildmilan