मानव शरीरमा देखा पर्ने जन्मजात खोटमध्ये ओठ–तालुको खुडेपन दोस्रो मुख्य खोट हो । यो गर्भ अवस्थामा बच्चा बन्ने क्रममा विभिन्न कारणवश ओठ तथा मुख बनाउने अंग ( मेडिएन न्याजल प्रोसेस र प्यालटाइन प्रोसेस अफ म्याग्जीला) मा खराबी आएका कारणले हुन्छ।
परापूर्व कालमा स्पार्टन र रोमनहरूले यस्ता खुडे बच्चाहरू भूतको प्रतीक हुन् भनि ठानी बच्चा जन्मना साथ मारिदिने गर्दथे। पछि आएर हाइरोनिमस फ्याब्रिसियस नामक वैज्ञानिकले सोह्रौं शताब्दीतिर खुडेपन कुनै भूतको प्रतिबिम्ब नभइ विभिन्न कारणवश भ्रुण अवस्थामा हुने खराबीले हुने पत्ता लागेपछि यससम्बन्धी विषयमा खोज तथा अनुसन्धानको सुरूआत भएको भेटिन्छ।
तथापी यसको उपचार चाहिँ करिब इसापूर्व ३९० तिर चीनमा सुरू भैसकेको प्रमाण भेट्न सकिन्छ। आधुनिक तरिकाले खुडेपनको उपचार चाहिँ सन् १७६४ मा फ्रेन्च दन्त चिकित्सकले सुरूआत गरेको कुरा प्रकाशित वैज्ञानिक आलेखमा उल्लेखित छ।
नेपालको सन्दर्भमा करिब सन् १९६९ मा कोसी अञ्चल अस्पतालमा यसको उपचार सुरू भएको तथ्य भेट्न सकिन्छ।
संसारमा करिब ७०० जनामध्ये १ जनामा यस किसिमको समस्या भएको पाइन्छ भने नेपालको सन्दर्भमा एक हजार जन्मजात शिशुमध्ये १.६४ जना यस किसिमको खोटले ग्रसित छन्।
यस अनुसार हाम्रो देशमा झण्डै ५० हजार जना ओठ–तालुको खुडेपनबाट ग्रसित छन्। खुडे ओठ पुरूषमा बढी र खुडे तालु महिलामा बढी भएको पाइन्छ।
खुडेपनका बिरामीमा देखिने समस्याहरू :
१. कुरूपता
२. दुध चुस्न र खाना खानमा समस्या
३. बोल्नमा समस्या
४. कान नसुन्ने समस्या
५. मनोवैज्ञानिक समस्या आदि हुन्।
खुडेपनका कारणहरू :
खुडेपन वंशाणुगत तथा वातावरणीय वा कुनै अज्ञात कारणवश हुन सक्छ। सन् २०१० देखि २०११ सम्ममा पाकिस्तानमा गरिएको एक अध्ययन अनुसार करिब १८ प्रतिशत समस्या गर्भावस्थामा धेरै ज्वरो आउने, छारे रोगको उपचारमा प्रयोग हुने सोडियम भाल्प्रोएट नामको औषधिको सेवन र वंशाणुगत गुणको कारणले हुने गरेको पाइएको छ भने ८२ प्रतिशतको कारण अज्ञात नै रहेको पाइएको छ।
अन्य कारणहरूमा गर्भावस्थामा हुने निम्न कुराहरू पर्छन्ः
-फोलिक एसिड र भिटामिन ए को कमी
- रुबेला भाइरसको संक्रमण र अक्सिजनको अभाव
- रक्सी तथा चुरोट सेवन
- एक्सरे विकिरण
( छारे रोगमा प्रयोग हुने फेनिटोइन, डण्डीफोरमा का लागि प्रयोग हुने औषधि जस्तै: रेटिनोइक एसिड र अन्य औषधिहरू : एस्पिरिन, मक्र्याप्टोप्युरिन, आदि।
तसर्थ: यस समस्याबाट बाँच्नको लागि गर्भाधान हुनुभन्दा पहिले नै आमालाई यस्ता टेराटोजेन (खुडेपन बढाउने कारणहरू) को बारेमा सचेत गराउने, गर्भाधानपछि ती औषधिको सेवनबाट बचाउने, आवश्यक पोषण तत्व तथा फोलिक एसिड नियमित रूपमा सेवन गराउन जरूरी देखिन्छ। गर्भावस्थामा पनि ३ देखि ९ हप्ता सबभन्दा संवेदनशील समय रहेको पाइन्छ।
गर्भावस्थाको दोस्रो तृतीयांश –चौथोदेखि छैठौं महिनाबीच)मा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) बाट ओठको खुडेपन भएको थाहा पाउन सकिन्छ तर तालुको खुडेपन भने पत्ता लगाउन सकिन्न।
खुडे बच्चा जन्मना साथ उसलाई दूध खुवाउन नै समस्या हुने हुँदा उसको हेरचाह तथा उपचारका लागि सम्बन्धित विज्ञहरूलाई देखाउन जरूरी हुन्छ।
बच्चाको उमेर अनुसार उपचार समय, तरिका र विज्ञहरू फरक/फरक हुने भएकाले बिरामी पक्ष यसबारे खास अवगत हुनुपर्ने देखिन्छ।
समय उपचारको नाम सम्बन्धित डाक्टर
समय | उपचारको नाम | सम्बन्धित डाक्टर |
० देखि ३ महिना | प्रिसर्जिकल अर्थोपेडिक अप्लायन्सेज | अर्थोडन्टीस्ट, प्रोस्थोडन्टीस्ट , पेडोडन्टीस्ट |
३ महिना | ओठको प्रारम्भिक शल्यचिकित्सा | क्लेफ्ट सर्जन |
९ देखि १८ महिना | तालुको शल्यचिकित्सा | क्लेफ्ट सर्जन |
२ वर्ष | बोलीको परीक्षण | स्पीच थेरापिस्ट |
३ देखि ५ वर्ष | ओठको पुनः शल्यचिकित्सा | क्लेफ्ट सर्जन |
८ देखि ९ वर्ष | सुरूआती ‘इन्टर्भेन्सनल अर्थोडोन्टिक्स’ र ‘अल्भेओलर बोन ग्राफ्टिङ’को तयारी | अर्थोडन्टीस्ट र क्लेफ्ट सर्जन |
१० वर्ष | अल्भेओलर बोन ग्राफ्टिङ | क्लेफ्ट सर्जन |
१२ देखि १४ वर्ष | ठेट अर्थोडोन्टिक उपचार | अर्थोडन्टीस्ट |
१६ वर्ष | नाकको पुनः शल्यचिकित्सा | क्लेफ्ट सर्जन |
१७ देखि २० वर्ष | अर्थोग्न्याथिक सर्जरी | ओरल सर्जन, अर्थोडन्टीस्ट र प्रोस्थोडन्टीस्ट |
यसरी विभिन्न उमेरमा धेरै विषयका विज्ञहरूको टिमवर्कबाट मात्र यो समस्याको पूर्णरूपले समाधान हुन सक्छ।
यस किसिमको उपचार पद्धति भएता पनि हाम्रो जस्तो विकासन्मुख देशमा उपयुक्त उपचार पद्धति अझै विकास हुन सकेको छैन।
खुडे ओठ तथा तालुको सर्जिकल उपचार करिब ५० वर्षअघि देखि हुँदै आएको भएता पनि उक्त उपचारको अन्तिम रूप दिन अर्थोडन्टिक्स तथा अर्थोग्न्याथिक उपचार र स्पिच थेरापीको बारेमा सरोकारवाला पक्षहरू अझै अन्योलमा परेको जस्तो देखिन्छ जसले गर्दा बिरामीमा अझै कुरूप देखिने, स्पष्ट बोल्न नमिल्नेदेखि लिएर सामाजिक तिरस्कारका कारण मानसिक रूपमा पीडित भई सामान्य नागरिकको हैसियतले जीवन चलाउन कठिन भएको पाइन्छ।
यस किसिमको उपचारलाई स्माइल ट्रेन तथा मोडेल अस्पताल जस्ता गैरसरकारी निकायले विभिन्न ठाउँमा आनो सेन्टर खोली केही हदसम्म टेवा दिएको भएता पनि सरकारी पक्षबाट यसलाई अझ गम्भीरता पूर्वक नलिइएको अवस्था छ।
स्माइल ट्रेन अन्तर्गत पर्ने सेन्टरहरू निम्न अनुसार छन्ः
-वेस्टर्न अस्पताल एण्ड रिसर्च सेन्टर ( बाँके)
- बयोधा अस्पताल प्राइभेट लिमिटेड ( काठमाडौं)
- लुम्बिनी नर्सिङ होम (बुटवल)
- कीर्तिपुर अस्पताल ( कीर्तिपुर)
- हाम्रो हस्पिटल प्राइभेट लिमिटेड (विराटनगर)
- फिसटेल अस्पताल (पोखरा)
- कलेज अफ मेडिकल साइन्सेज (चितवन)
- बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (धरान)
- बी एन्ड बी अस्पताल ( ललितपुर) आदि पर्दछन्।
यसै सन्दर्भमा यसको रोकथाम तथा उपचारबारे सर्वसाधारण तथा अन्य सरोकारवालाहरूको यथेष्ट ध्यान पुग्न नितान्त आवश्यक देखिन्छ।
(नेपाल अर्थोडन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक सोसाइटीले ओठ तथा मुखको खुडेपन समस्यालाई मध्यविन्दु बनाई यसै सेप्टेम्बर १३ र १४ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ जसमा नेपाल लगायत भारत, थाइल्याण्ड, ताइवानलगायत विभिन्न देशका विज्ञहरूले यस रोगको रोकथाम तथा उपचारको पछिल्लो अवस्थासम्बन्धी विचार विमर्श तथा छोटो अवधिको तालिम प्रदान गर्ने छन्।)
(ओठ र तालुको खुडेपनसम्बन्धी उडिसाको केआइआइटी विश्वविद्यालय तथा थाइल्याण्डको केके विश्वविद्यालयमा विशेष तालिम प्राप्त अर्थोडन्टिस्ट डा. बासु राज पाण्डे हाल चितवन मेडिकल कलेजअन्तर्गत कलेज अफ डेन्टल साइन्सेजमा कार्यरत छन्।)