गत साउन २२ गते अवकास हुने बेलासम्म अस्थायी चार वर्षसमेत गणना गर्दा झन्डै ३२ वर्ष जागिर खाइएछ।
हो जागिर, किनभने सेवा शब्द उचित लागेन। ३२ वर्षे जागिरले व्यक्तिगत रूपमा मलाई मनग्गे ज्ञान र अनुभव, स्वदेश र विदेश भ्रमण, अलिअलि सुखसुविधा र शानसौकत, वृत्तिविकास, झुठमुठको भए नि मानसम्मान, पेन्सन, राम्रानराम्रा अनगिन्ति पाठ अनि के मात्र दिएन। जति लिइयो त्यसको तुलनामा देश र जनतालाई केही दिइयो कि भनेर गम खाँदा उल्लेख गर्नुनै पर्ने खासै केही भेटिनँ।
कोही पनि म जस्तै जागिरेले अन्यथा दाबी गर्छ भने त्यो अतिशयुक्त हुनेछ।
कुनै भवितव्यमा परिएन भने अवकासपछि २०-२५ वर्ष सक्रिय जीवन जीउन सकिन्छ। जीउने कसरी? त्यो व्यक्तिमा भर पर्छ।
सामान्यत: सचिवबाट अवकास भएकाहरूको बाँकी जीवन यसरी कट्ने गरेको छ- कुनै राजनैतिक नियुक्तिका लागि दल र दलका नेताको तावेदारी गरेर, केही नपाएपछि टेलिभिजनको पर्दामा आएर पहिले तावेदारी गरिएका नेताहरूप्रति नै तितो पोखेर, आफूसँग केही सीप भए कतै जागिर खाएर वा निष्क्रिय भएर मृत्यु पर्खेर।
जागिरमा हुँदै अवकासपछिका लागि भनेर मैले आफ्ना लागि केही नियम बनाएको छु।
पहिलो, कुनै पनि राजनैतिक नियुक्ति नखाने।
दोस्रो, कुनै जागिर (परामर्शदाता समेतको) नखाने।
तेस्रो, निष्क्रिय पनि नरहने।
त्यसो भए के गर्ने?
मलाई लाग्छ- बिहानको समयमा व्यस्त हुन जरूरी छ। त्यसको लागि गल्फ खेल्न सुरू गरेको छु। मध्यान्हसम्म मज्जाले हरियालीमा ताजा हावा खाँदै स्वस्थ गल्फ खेल्ने। स्वस्थ रहने योजना छ। त्यसबाहेक संगीत र नृत्यको पनि अभ्यास सुरू गरेको छु।
सानोतिनो व्यवसाय गर्न कम्पनी दर्ताको प्रक्रिया सुरू गरेको छु। उद्योगी व्यवसायी मित्रहरूसँग छलफल पनि गर्दैछु।
जुन जागिरले मलाई यति धेरै दियो, अवकासपछि मैले आफूलाई व्यस्त राख्दैमा मेरो देशप्रतिको दायित्व पूरा हुन्छ त?
त्यसबारे पनि मैले केही सोचेको छु। जागिरे जीवनमा मैले जे जति ज्ञान र अनुभव हासिल गरेको छु, जे जति उचित (अनुचित समेत) कार्य गरेको, भएको देखेको छु, जे-जस्ता पाठ सिकेको छु, मैले सरोकारवालाहरू र आमनागरिकलाई बताउन उचित ठानेको छु। त्यसैले सकेसम्म नियमित लेख्ने सोच बनाएको छु।
मेरो लेखले राज्यसत्तामा भएकालाई राम्रो काम गर्न एक रतिमात्र पनि सहयोग गर्यो भने, आमनेपालीलाई देशको अवस्था, सुधारका बाटो र भविष्यबारे आशा देखाउन मद्दत गर्यो भने देशप्रतिको दायित्वको सानो अंश पूरा भएको ठान्नेछु। त्यस्तो हुन सकेनछ भने पनि मैले प्रयास गरें भनेर चित्त बुझाउनेछु।
मैले कुन विषयमा लेख्न सुरू गर्ने त?
सरकारी जागिरमा हुँदा मेरो विवेकले देखेका र क्षमताले भ्याएका धेरै राम्रा काम गरें भन्ने लाग्छ। तर ती कामबारे म लेख्ने छैन। भोलि प्रसंगवस् कतिपय लेखमा ती विषय आए भने फरक कुरा। नत्र ती कामको बेलिबिस्तार लगाउनु भनेको आफ्नो डम्फु बजाउनु हो। म त्यसो नगर्न सचेत छु।
मैले जति काम गरें, ती सबै विगत हुन्। विगत कोट्टयाएर वर्तमान सच्चिन सक्दैन। वर्तमान सच्च्याउन वर्तमान कै कुरा लेख्नुपर्छ। भविष्यको लागि तय गरिएको गन्तव्यमा पुग्न वर्तमानलाई नै ठीक गर्नुपर्छ।
म वर्तमानकै विषयमा लेख्नेछु। अगाडिय जाने बाटोबारे लेख्नेछु।
मुलुकको अवस्था गम्भीर छ। आमजनता दुःखमा छन्। सेवाप्रवाह र विकास निर्माणको गति निरासाजनक छ। भविष्यलाई लिएर संशय छ।
प्रधानमन्त्रीसँग एक्लै कुरा गर्दा प्रधानमन्त्रीको पनि बुझाइ भिन्न पाइँदैन। समग्रमा सुधारको खाँचोको अनुभूति प्रधानमन्त्रीमा छ। त्यो अनुभूति गहिरो नै छ।
प्रधानमन्त्रीले सार्वजनिक रूपमा ती चिन्ता व्यक्त गरेर पनि चल्दैन। त्यसैले प्रधानमन्त्रीले आममानिसको मनोवल बढाउने गरी नै बोल्नुपर्छ। उहाँले त्यसरी नै बोलिरहनु भएको पनि छ।
हाम्रा समस्या र चुनौती भने धेरै छन्। व्यापार युद्धको प्रभाव अमेरिका र चीनमा मात्र सीमित छैन। यो विश्व अर्थतन्त्रमा देखा पर्न सुरू भइसकेको छ। अझ घनिभूत हुँदै जानेछ। ब्रेक्जिटको कुप्रभावको सामना गर्न बेलायत र युरोपियन यूनियलाई फलामको च्युरा सावित हुँदैछ।
विश्व अर्थतन्त्रमा आएको मन्दीबारे रुचिर शर्माले अगष्ट १७ को न्यूयोर्क टाइम्समा जानकारीमूलक लेख लेखेका छन्। उनकाअनुसार विश्व अर्थतन्त्रले चारवटा प्रतिकुल परिस्थिति(हेडविन्डस्)को सामना गरिरहेको छ- व्यापारको वि–भूमण्डलीकरण (डिग्लोब्लाइजेशन), श्रमशक्तिमा आएको ह्रास (डिपपुलेशन अफ वर्कफोर्स), उत्पादकत्व (प्रोडक्टिभिटी) मा कमी र ऋणको बोझ (डेट बर्डन)।
यी चार प्रतिकुलताले नेपालको अर्थतन्त्रमा के अर्थ राख्छन्? नेपाल विश्व आर्थिक मन्दीको चपेटामा पर्छ कि पर्दैन? नेपालमा अहिले दाबी गरिएको ७ प्रतिशतको वृद्धिदर दीगो हो कि कृत्रिम (आर्टि्फिसियल) हो? सरकारले भनेजस्तो चालू आर्थिक वर्ष ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य र प्रधानमन्त्रीले दाबी गरेको छिट्टै हाँसिल गरिने ११ प्रतिशतको वृद्धि यथार्थ धरातलमा (ग्राउन्ड रियालिटी)मा आधारित छ कि ठट्टा हो? विश्लेषण जरूरी छ।
नेपालजस्तो गरीब र कमजोर अर्थतन्त्र भएको देशमा उच्च आर्थिक वृद्धिका लागि केही आधारभूत परिस्थितिको आवश्यकता पर्छ। उ म्यानुफ्याक्चरिङ इन्ड्रस्टिज स्थापना हुनुपर्छ। पूर्वाधारको विकासमा उच्च लगानी चाहिन्छ। सेवामूलक क्षेत्र (सर्भिस सेक्टर) गुणस्तरीय र गुणात्माक विस्तार हुनु पर्दछ। निर्यातले आयातलाई सन्तुलन गर्नु पर्दछ। यी परिस्थिति विद्यमान भएको अवस्थामा मात्र दीगो आर्थिक वृद्धिदर हासिल हुन्छ। अधिकतम् रोजगारीको सिर्जना हुनसक्छ।
म्यानुफ्याक्चरिङ, पूर्वाधार र सेवामूलक क्षेत्रको विस्तारका लागि वैदेशिक पुँजी अपरिहार्य छ। दुर्भाग्य, नेपालमा विद्यमान परिस्थिति त्यसको विपरीत छ। विगत लामो समयदेखि खासै ठूलो उत्पादनमूलक उद्योग खुल्न सकेको छैन। वैदेशिक लगानी शून्यझैं छ । पूर्वाधार विकास सुस्त छ।
अचम्म त तब हुन्छ जब विदेशीको स्वामित्वमा रहेका उद्योग र जलविद्युतमा नेपालका बैंकहरूले लगानी गर्छन्, अर्थ मन्त्रालय र राष्ट्र बैंक निरपेक्ष बस्छ, सरकार ताली बजाउँछ।
सेवामूलक क्षेत्रको देशको ठूलो व्यवसाय एनसेलको जाबो एउटा करको समस्या पनि समाधान गर्न नसकेर (वा नचाहेर) विश्वसामू मुलुकलाई मजाक बनाइदिएको छ।
६६ प्रतिशत जनता कृषिमा निर्भर छन्। कृषिको गार्हस्थ उत्पादनमा ३० प्रतिशत जतिको हिस्सा छ। कृषिमा आधारित प्रतिशत घटाउँदै लानु पर्नेछ। गार्हस्थ उत्पादनमा कृषिको योगदान बढाउदै लैजानु पर्नेछ। कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण हुन सकेको छैन। देशमा उखु किसानले वर्षौंदेखि उखुको भुक्तानी पाएका छैनन्। तरकारी खेती गर्ने किसानले आफ्नो उत्पादनको बजार पाउँदैन। दुग्ध किसानले दुधले सडक पखाल्ने परिस्थिति छ। खाद्यान्नमा परनिर्भरता बढ्दो छ।
जापान, जर्मनी र बेलायतजस्तै चीन पनि डिपपुलेशनको मारमा पर्न थालिसकेको छ। उत्पादनशील जनसंख्याको मात्रा घट्न थालेको छ।
नेपालले त आफ्नो युवाशक्तिलाई खाडी, मलेसिया र कोरिया पठाउने नीति नै अंगिकार गरेको छ। सरकार आफैंले डिपपुलेशनको परिस्थिति सिर्जना गरेको छ। वैदेशिक लगानीको सम्भावना र अवसर भएको भए पनि अहिले जारी डिपपुलेशनले ठूलो चुनौती खडा गर्थ्यो।
एकातिर देशमा उच्च आर्थिक वृद्धिको लागि आवश्यक आधारभूत परिस्थिति प्रतिकूल रहेको अवस्था छ भने अर्कोतिर रुचिर शर्माले इंगित गरेको चार खाले ‘हेडविन्ड’को प्रभावमा नेपाल पनि छँदैछ। सरकार उच्च आर्थिक वृद्धिको लागि आवश्यक आधारभूत परिस्थितिलाई सुधार गर्नेतर्फ गम्भीर देखिँदैन। शर्माले इंगित गरेको चार ‘हेडविन्ड’ बारे सरकार बेखबर छ।
दीगो आर्थिक वृद्धिका लागि हाम्रा आन्तरिक कारण पनि बलिया छैनन्।
भूकम्प र नाकाबन्दीको कारण त्यो वर्ष हाम्रो आर्थिक वृद्धि ऋणात्मक रह्यो। त्यसपछिका वर्षहरूमा मुलुकको आर्थिक वृद्धिदर राम्रो देखिएको छ। तर यो दीगो छैन।
पछिल्ला वर्ष पुनर्निर्माणको कामले गाउँमा पैसा पुग्यो। निर्माण सामग्रीको माग बढ्यो। मनसुन पनि अनुकूल रह्यो। रेमिट्यान्सले सेवामूलक र उपभोग्य वस्तुको माग बढाएर आन्तरिक व्यापारलाई चलायमान बनायो। आर्थिक वृद्धिदर राम्रो भयो।
यो आर्थिक वर्षबाट पुनर्निर्माणको काममा कमी आउँदै जानेछ। मनसुन खासै अनुकूल देखिएको छैन। पछिल्ला आर्थिक वर्षहरूको वृद्धिदर कमजोर धरातलमा हासिल भएको निष्कर्ष निकाल्न त्यति धेरै ठूलो अर्थविद् हुन पर्दैन।
भारतकी अर्थमन्त्री निर्मला सीतारमण केही दिनअगाडि मात्र आफ्नो देशको अर्थतन्त्र अप्ठेरो परिस्थितिमा रहेको आमजनतालाई जानकारी गराइन्। त्यसलाई सामना गर्नका लागि चालिने कदम सविस्तार वर्णन गरिन्। सबैको सहयोगको लागि आग्रह गरिन्। आउँदो दिनका लागि देश र जनतालाई तयार रहन भनिन्।
हाम्रो देशमा भने कमजोर धरातलमा प्राप्त आर्थिक वृद्धिदरको गीत गाएर सरकार थाकेको छैन। अर्थतन्त्रलाई चलायमान र दीगो बनाउने बलिया कदम सरकारले चालेको छैन। म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज र पूर्वाधारमा वैदेशिक लगानी भित्र्याउने वातावरण बनाउनेतर्फ लागेको देखिँदैन। आन्तरिक पुँजीको वुद्धिमत्तापूर्ण प्रयोगमा लागेको पनि देखिँदैन। विकास खर्च गर्ने क्षमता ह्रासोन्मुख छ। सुधारको बाटो पहिल्याउन सकेको देखिँदैन।
कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नेतर्फ चासो देखिँदैन। देशको श्रमशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने काममात्र सरकारको प्राथिमिकतामा परेको देखिन्छ। अब पनि सरकारले अर्को बाटो नपहिल्याउने हो भने अर्थतन्त्र दुर्घटनामा पर्ने जोखिम छ।
देशको अवस्था आफ्नो अध्ययन, अनुभव र ‘अल्पज्ञान’को आधारमा देशले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्यले उहाँ प्रधानमन्त्री हुनासाथ प्रयास गरें। मैले दुई पटक प्रधानमन्त्री भेट्ने समय पाएँ। एकचोटि २०७५ साउनमा ३० मिनेट र अर्कोचोटि २०७६ जेठमा पनि ३० मिनेट।
मैले टिपोट गरेर लगेको विषय दुबै चोटी एक तिहाइमात्र सुनाउन पाएँ। दुबै भेटघाट पूर्ण रूपमा छलफल गर्न यथोचित समयको साथ एक दुई दिनमा नै बोलाउने आश्वासनका साथ टुंगियो। त्यो यथोचित समय कहिल्यै आएन।
प्रधानमन्त्रीलाई सविस्तार सुनाउन नपाएको कुरा कुनै दिन लेख्नेछु।