करिब २०५१ सालतिरको कुरा हो। म एकदम बिरामी भएँ।
तल निहुँरिदा छातीको बीच हुँदै मुटुसम्म दुख्ने अनि असाध्यै पेट पोल्ने र दुख्न थाल्यो। रोग झन् झन् बढ्दै गयो।
त्यति बेला म लोक सेवा आयोगको परीक्षाको तयारीमा थिएँ। बिरामीको कारणले परीक्षामा सामेल हुन सकिनँ। निकै सिथिल भएपछि एक निजी अस्पतालमा (त्यतिबेला नर्सिङ होम भन्ने चलन थियो) चेक गराउन गएँ।
एक जना नाम चलेका कार्डियोलोजिष्टकोमा दाइले नाम लेखाएर आउनुभयो। किनकी मलाई मुटुसम्म दुखेको हुँदा मुटुको समस्या हो कि भन्ने लागेर ती कार्डियोलोजिष्टकोमा नाम लेखाइएको थियो।
एकदम नाम चलेका कार्डियोलोजिष्ट रे त्यति बेला पनि जचाँउन पन्ध्र दिन कुर्नुपर्ने रहेछ। जसोतसो पन्ध्रदिन त कुरेर चेक गराउने मौका पाएँ। ती कार्डियोलोजिष्टले जाँच गरेपछि भने ‘भोलि बिहान खाली पेटमा यही आएर इन्डोस्कोपी गराउनू।’
इन्डोस्कोपी भनेको पेटभित्र पाइप पठाएर पेटको रोग पत्ता लगाउने रहेछ।
भोलिपल्ट बिहान अर्को डाक्टरले इन्डोस्कोपी गरे। इन्डोस्कोपी गर्ने डाक्टरले ‘पेटमा घाउ छ चिल्लो पिरो र तातो खानेकुरा नखानू’ भने।
भोलिपल्ट तिनै कार्डियोलोजिष्टले वीर अस्पातालमा इकोकार्डियोग्राफी (मुटुको इको) गर्न बोलाए।
त्यति बेला इको गर्ने मेशिन महँगो पर्ने भएर होला नर्सिङ होममा बिरामी जाँच्ने सरकारी अस्पतालका उपकरण प्रयोग गर्ने चलन रहेछ।
चेक गरेको भोलिपल्ट इसिजी, ब्लड, युरिन आदि सबै जाँच गरियो। त्यतिबेला मेरो छ हजार रुपैयाँ खर्च भैसकेको थियो।
केही दिनपछि सबै रिपोर्ट आयो ती कार्डियोलोजिष्टले सबै रिपोर्ट हेरेपछि मलाई ग्यास्ट्राइटिस भएको छ भनेर फिनाल्डडिन ट्याबलेट बिहान बेलुका खाली पेटमा एक एक चक्की र थप तीन महिना बिहान एक चक्की खाली पेटमा खाने भनेर चार महिनाको लागि औषधि लेखिदिए।
त्यसपछि अर्को एक वटा औषधि दिए पेनिभोरल बिहान/बेलुका खाने भनेर।
पेनिभोरल चक्की कुन रोगको हो भन्ने केही भनेनन्। अब छ महिना पछि फलोअपको लागि आउनू भने।
त्यति बेला ममात्र बीस वर्षको थिएँ। ग्यास्ट्राइटिस त कम हुँदै गयो तर ती कार्डियोलोजिष्टले लेखिदिएको पेनिभोरल औषधि काठमाडौंका कुनै औषधि पसलमा पाइएन के काम गर्छ थाहा पनि थिएन। फेरि डाक्टरकोमा गएँ।
बाहिर बस्ने पिएले कागज लिएर गएर औषधि फेरिदिएर आए। फेरिदिएको औषधिको ब्राण्ड नाम पेन्टिड्स थियो।
अहिलेको जस्तो मोबाइल इन्टरनेट थिएन त्यति बेला डाक्टरले जे दियो त्यही खाने, जे भन्यो त्यही मान्ने।
घरमा एउटा डाक्टर नभएमा भन्ने किताब थियो। त्यो किताब निकै उपयोगी लाग्थ्यो केही भयो कि त्यही किताब पल्टाएर हेर्थे अरू उपाय पनि थिएन।
मेडिकलसम्बन्धी धेरै कुराको ज्ञान दिने खालको थियो त्यो किताब। त्यही किताबमा लेखिएको थियो प्राय: पछाडि सिन लेखिएको औषधि एन्टिबायोटिक हुनेछ।
कार्डियोलोजिष्टले केही नभनी लेखिदिएको औषधि त रुमाटिक हार्ट डिजिजको रहेछ। त्यहाँ मेरो उपचारको बारेमा मैले किन्न नपाएको औषधि र पछि ती कार्डियोलोजिष्टले फेरिदिएको औषधिको बारेमा त्यो किताबमा लेखिएको थियो रुमाटिक हार्ट डिजिज भएको व्यक्तिलाई पेन्सिलन सुई वा खाने औषधिबाट उपचार गरिन्छ। पेन्सिलिन चक्की भन्दा सुई बढी प्रभावकारी हुनेछ।
चक्कीमा पेन्सिल जी पोटासियम भन्दा भी पोटासियम राम्रो हुनेछ लेखिएको थियो। ती डाक्टरले लेखिदिएको पहिलाको पेनिभोरल पेन्सिलिन भी पोटासियम रहेछ। त्यो इन्डियाबाट पहिला पहिला आउने रहेछ पछि बजारमा पाउन छोडेछ।
कम प्रभावकारी औषधि पेन्सिलिन जी पोटासियम जुनसुकै औषधि पसलमा पनि पाइने रहेछ।
यही औषधि म बिहान/बेलुका खाना पछि एक/एक चक्की खाने गरेको थिएँ।
ती कार्डियोलोजिष्टले प्रत्येक छ महिनामा बोलाउने गर्थे। इन्डोस्कोपी बाहेक अरु सबै उपचार एउटै हुने थियो। रगत, युरिन, इसिजी, इको गर्यो छ हजार रुपैयाँ भन्दा बढी लाग्थ्यो।
इको त वीर अस्पतालमा गर्ने भएकोले इकोको खासै पैसा लाग्ने थिएन। कति खर्च गर्नु के भयो कसो भयो केही नभन्ने चेक गर्ने औषधि दिने एवं रितले तीन वर्ष बित्यो।
तीन वर्षपछि तिनै कार्डियोलोजिष्टले ‘पेन्सिलिन चक्कीले भएन बाह्र लाख युनिटको पेन्सिलिन सुई लगाउनू’ भने।
मैले यो रोगको बारेमा डाक्टर नभएमा किताबबाट थाहा पाइसकेको थिएँ।
पेन्सिलिन सुई नेपालमा इन्डियाबाट मात्र आउथ्यो। मैले ती कार्डियोलोजिष्टले भने अनुसार प्रत्येक एक्काइस दिनमा सुई लगाउँदै गएँ।
पेन्सिलिन सुई संसारमा लगाइने सुईहरूमध्ये एकदम छिटो रियाक्सन एन्टिबायोटिक सुई रहेछ। प्रत्येक चोटि स्किन टेष्ट गर्नुपर्ने।
प्रत्येक एक्काइस दिनमा यो सुई शरीरको फिलाको मासुमा लगाउनु पर्ने। पेन्सिलिन सुई अरू औषधि जस्तो सजिलै पानीमा घुलिने रहेनछ। जाडो महिनामा चिसोको कारणले अझै बढी ब्लक हुने रहेछ।
त्यो सुई लगाउन बजारमा पाइने नर्मल सुईको निडिल चौबिस/पच्चिस गेज भन्दा माथिको हुन्छ तर सुई लगाउन एक्काइस गेजको निडिल छुट्टै किन्नु पर्थ्यो। त्यो सुई लगाउँदा लगाउँदै ब्लक हुने हुँदा औषधिभित्र पठाउन कठिन हुने हुँदा मोटो निडिल प्रयोग गर्नुपर्ने रहेछ।
रुमाटिक फिभर अर्थात् रुमाटिक हार्ट डिजिज हुनको लागि पाँचदेखि पन्ध्र वर्षको उमेरमा स्टेप्पटोकोकस पायोजनिक ब्याक्टेरियाले घाँटीमा टन्सिल गराएमा हुने रहेछ।
यसको मुख्य लक्षण भनेको लगातार घाँटीमा टन्सिल आइरहने र घुँडा दुख्ने हो। तर मलाई टन्सिल आउने र घुँडा दुखेको अनुभव कहिल्यै भएको थिएन।
२०५८ सालतिर गंगालाल अस्पतालमा उपचार गराउन गएँ। उपचार गराउन आउने मानिसहरू एकदम कम थिए। हस्पिटल सुनसान जस्तै भएकोले पालो कुरिरहन पर्ने थिएन । म रुमाटिक हार्ट डिजिजको चेक गराउन गएँ। भीडभाड नहुने हुँदा डाक्टरहरू फुर्सदिला भएकोले सौहार्द वातारवरणमा छलफल हुने। सरकारी अस्पताल उपचार खर्च पनि एकदम सस्तो थियो।
एक जना कार्डियोलोजिष्टले इको गर्ने बितिक्कै भने,‘सुई लगाउन बन्द गर्नुस्।तपाईंलाई केही भएको छैन। तपाईंको मुटुको भल्भमा देखिएको ब्लकेज उपचार गराउन पर्ने देखिँदैन। त्यस कारण सुई बन्द गर्नुस् र एक वर्षपछि फेरि चेक गराउन आउनुस्।’
‘केही भयो भने सुई फेरि चलाउला’, उनले भने।
मेरो खुसीको सीमा रहेन तर डर पनि लाग्यो।
खुसी यो कारणले मुटुको रोग लाग्यो भन्ने मानसिक पीडा र लगातार हुने खर्चको तनावबाट मुक्त भइयो तर डर यसकारण लाग्यो कि जसले मलाई पेन्सिलिन चक्की खानबाट सुई लगाउन सिफारिस गरेका ती नाम चलेका कार्डियोलोजिष्टको चेला सरह थिए गंगालाल हस्पिटलका कार्डियोलोजिष्टहरू।
त्यति ठूलो डाक्टरले गरेको उपचार एक्कासी बन्द गराउँदा झन पछि बल्झने हो कि भन्ने तनाव भयो।
‘म छ महिनामा आउँछु’,मैले भने।
‘ढुक्क भएर जानुस् केही हुँदैन एक वर्षपछि आउनुस्’,ती डाक्टरले भने।
ती डाक्टरले भने, तपाईंले जुन सुई प्रयोग गरिरहनु भएको छ। त्यो बढी छ। हामीले अरूलाई यो सुई बन्द गरेर पठाएका छौं।
त्यति पछि म ढुक्क भएर फर्किएँ।
एक वर्ष हुने बितिक्कै फेरि गए अर्को कार्डयोलोजिष्टले चेक गरे।
इको, इसिजी, रगत जाँच सबै चेक गरे । ती कार्डियोलोजिष्टले पनि केही भएको छैन रोग बढेको छैन उपचार गर्न पर्दैन भने।
लगातार तीन वर्षमा तीन जना कार्डियोलोजिष्टले इकोको रिपोर्टमा नर्मल लेखिदिए। अब म ढुक्क भएँ।
त्यसै क्रममा २०६८।०६९ सालतिर टिचिङ हस्पिटलका एक जना कार्डियोलोजिष्टसँग चिनजान भयो। उनले पनि बोलाएर इको गरिदिए। त्यस बेला पनि मेरो रिपोर्ट नर्मल नै आयो। आज करिब बीस वर्ष भयो मुटुको मामिलामा कुनै रोग छैन।
त्यतिबेला देखिएको ग्यास्ट्राइटिस रोग त केही समय ठिक भए पनि बेला बेलामा पेट दुख्ने पोल्ने समस्या भइराख्यो । जसको कारणले शिक्षा लगायतका दैनिक जीवनयापनका कार्य गर्नसमेत असर पुर्याउन थाल्यो। शारीरिक रूपमा काम गर्नै नसक्ने अवस्था हुन थाले। कार्यालयमा गए पनि बिरामीको कारण काम गर्नै कठिन हुन थाल्यो। ग्यास्ट्राइटिस रोगबारे डाक्टरले पनि केही नभन्ने यो औषधि खानुस् भनेर बारबार लेख्ने ठीक चाहिँ नहुने।
एकदम तनावले सोच्नै पनि नसक्ने भइसकेँ। घर परिवारमा तनाव त्यस्तै छ। काठमाडौं नाम चलेका ग्याष्ट्रोलोजिष्ट कोही बाँकी छैनन्। चेक गराएर औषधि खायो केही दिन कम हुन्छ फेरि बल्झन्छ। ग्यास्ट्राइटिस रोग त क्रोनिक भैसकेछ।
ग्यास्ट्राइटिस रोग के हो भन्ने कुरा बुझ्दै जाँदा कतिपय डाक्टरले ग्याष्ट्रलोजिष्टले पनि रोगको बारेमा जानकारी पनि दिन थाले। ग्यास्ट्राइटिसका अनेक रूप भएता पनि मानिसलाई क्रोनिक ग्यास्ट्राइटिस भई अल्सर र क्यान्सर गराउने भनेको होलिकोब्याक्टर पाइलोरी रहेछ। यसलाई छोटकरीमा एच पाइलोरी भनिन्छ।
एच पाइलोरी पेटमा छ वा छैन थाहा पाउन इन्डोस्कोपी गरेर पेटको इन्फेक्सन भएको स्थानको मासु निकालेर (बायोप्सी) जाँच गरिन्छ।
एच पाइलोरी पोजेटिभ देखियो भने उपचार गर्नुपर्ने देखिन्छ। यसको उपचार क्लारिथोमाइसिन र एमोक्सिलन एन्टिबायोटिक साथै कुनै एक ग्याष्ट्रो रिफ्लक्स चक्कीबाट हुने रहेछ। यी औषधि चौध दिनसम्म खाए पछि प्राय एच पाइलोरी नेगेटिभ हुने रहेछ।
क्लारिथोमाइसिन एन्टिबायोटिक अलि महँगो औषधि हो। साधरणतया यो उपचार गरेपछि पाँच वर्षसम्म एच पाइलोरी देखिँदैन तर एक पटक यही प्रक्रियाबाट मेरो उपचार गरे एक जना ग्यास्ट्रोलोजिष्टले ।
बजारमा नाम चलेको नेपाली कम्पनीको क्लारिथोमाइसिन एन्टिबायोटिक लेखे।
मैले त्यो औषधि खाने बितिक्कै फिल भयो कि मलाई यसले कम गरेको छैन। किनकी जतिसुकै पेट दुखेर वा पोलेको बेलामा एकै चक्की खाने बितिक्कै कम गराउथ्यो तर मलाई पाँच दिन भैसक्यो कम भएन।
त्यो औषधि चौध दिन खाइसके पछि एक महिनामा फेरि इन्डोस्कोपी गरियो र एच पाइलोरी चेक गरियो नेगेटिभ त देखियो तर पनि म पूरा ठीक भएको थिइनँ। एक वर्ष हुँदा पनि सन्चो भएन।
फेरी अर्को ग्याष्ट्रोलोजिष्टकोमा गएँ।
त्यहाँ जाने बितिक्कै उहाँले पुरानो कागज हेरेर यो नेपाली कम्पनीको रहेछ यसले ठीक हुँदैन। एच पाइलोरी तपाईंको पेटबाट गएको छैन म फेरि इन्डोस्कोपी गर्छु भनेँ।
त्यस बेला इन्डोस्कोपी गर्ने वितिक्कै इसेमीपराजोल औषधि लेखिदिए।
पेटमा सबैतिर एकदम घाउ छ बायोप्सीको रिपोर्ट आए पछि अरु औषधि दिन्छु अहिलेलाई यही औषधि खानुस् भने।
पाँच दिनपछि बायोप्सीको रिपोर्ट हेर्दा अत्यधिक एच पाइलोरी भन्ने लेखेको देखेँ।
उपचार गर्दा गर्दा म पनि अलि अलि रिपोर्टको बारे जानकार भैसकेको थिएँ।
डाक्टरलाई कहिले रिपोर्ट देखाउनु भनेर आत्तिएँ किनकी क्यान्सर पो भैसक्यो कि भन्ने डर लाग्यो।
रिपोर्ट देखाएपछि डाक्टरले भने ‘यो नेपाली औषधिले काम गरेन म इन्डियन राम्रो कम्पनीको औषधि दिन्छु यसले एच पाइलोरी जान्छ।’ इन्डियन औषधि सुरू गरेको भोलिपल्टदेखि नै मलाई आराम महशुस हुन थाल्यो।
यो ग्यास्ट्राइटिस रोगले पनि साह्रै सतायो के गर्ने कसो गर्ने दैनिक जीवन नै कष्टपूर्ण बनाउन थाल्यो। डाक्टरलाई सोध्यो यो रोग नै यस्तै हो। सबैको एउटै कुरा उपचार गर्ने बस्ने र तरिका पनि एउटै ।
एक पटक तत्कालीन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग भारतको लागि औपचारिक भ्रमणमा जाने अवसर मिल्यो त्यही बेला मेरो ग्यास्ट्राइटिस रोग पनि जचाउने विचार गरे र पहिल्यै मेदान्त हस्पिटल, गुडगाँउमा डा. गुर्दास चौधरी, ग्याष्ट्रोलोजिष्टलाई नाम लेखाएँ।
उनले सुरूमै अनुहार हेरेर भने ‘तपाईं बिरामी भएको ग्यास्ट्राइटिसको कारणले हैन फ्याटी लिभरको कारणले हो।’
डाक्टरले सोझै फ्याटी लिभर छ भन्दा अचम्मित भएँ। यतिका वर्षसम्म ग्यास्ट्राइटिस रोगबाट पीडित औषधि खाँदाखाँदा पेटमा मेडिकल स्टोर भएको शरीर झट्ट हो नै भन्ने विश्वास गरिहाल्न सकिनँ।
डाक्टरले भने अनुसार फ्याटी लिभर, इन्डोस्कोपी गरेर आन्द्राको बायोप्सी लगायत आवश्यक चेक गर्नुपर्ने सबै चेक गराएँ।
डाक्टरले भने अनुसारकै फ्याटी लिभर मात्र देखियो। रिपोर्ट हेरेर डा. चौधरीले भने "आपका लिभर परमानेन्टिली ड्यामेज नई हुआ"। डा. चौधरीले तीन महिनाको लागि अडिमिशन चक्की लगायत अर्को दुई वटा नर्मल औषधि लेखिदिएर भने "इस दवाई सेवन करेन के वाद आप नर्मल हो जाएगा" ।
हुन पनि त्यो औषधि सुरू गरे बिहान बिहान एक घण्टा हिँड्न पनि थालेँ।
औषधि खाएको पन्ध्र दिनमा शरीर एकदम हलुका हुन थाल्यो म एकदम दुब्लाउँदै गएँ।
तीन महिनामा त मेरो तौल सात किलो घटेछ।
म डाक्टरले भने अनुसार नै सामान्य भए र आजको दिनसम्म अर्थात् करिब सात वर्ष भयो ग्यास्ट्राइटिसको खासै समस्या छैन।
म साधारण जिन्दगी जिउन सक्ने भएको छु।
आज पनि चिनेजानेका बिरामीलाई फ्याटी लिभरको औषधि नेपालका डाक्टरहरूले लेखेको देखेको छु तर अडिमिशनन चक्की नलेखी फरक किसिमको औषधि दिएको देखेको छु किन यो औषधि लेखिँदैन मलाई जानकारी त छैन तर अडिमिशनन औषधि भारतकै मेडिकलहरूमा पनि निकै अभाव हुने रहेछ।
किनकी यो महँगो पनि रहेछ र एक औषधि पसलले भन्थे ‘यो लामो समयसम्म सेवन गर्ने बिरामी पनि हुने रहेछन्।’
केही समय अगाडि मेरो श्रीमतीलाई पाठेघर समस्या भएर उपचार गराउनको लागि दिल्ली गएको थिएँ।
चेकअप गरेकै दिन ती गाइनोको डाक्टरले डक्सिसाइक्लिन सात दिनको लागि बिहान बेलुका खान लेखिदिइन्। साथमा डाक्टरले ल्याक्टिक एसिड पनि छुट्टै लेखिदिएको थियो ।
ल्याक्टिक एसिड बाहिर हिँड्ने डुल्ने बेलामा एन्टिबायोटिकको कारणले डायरिया नहोस् भन्नको लागि दिने गरिँदो रहेछ तर डक्सिसाक्लिन एन्टिबायोटिक किन्दा नै ल्याक्टिक एसिड मिक्स भएर आउने रहेछ र छुट्टै किन्न आवश्यक नपर्ने रहेछ। त्यो एन्टिबायोटिकको कभर देखेरै अचम्म लाग्यो।
नेपालमा त्यही कम्पनीको औषधिमा त्यस किसिमको कभर देखेको थिइनँ। नेपाल र भारतमा एकदम चलेको ग्याष्ट्रोरिफ्लक्स चक्की रेविपराजोल पनि किनेँ त्यसको कभर पनि फरक छ।
प्यारासिटामोल किनेँ त्यो पनि फरक छ। नेपालमा प्यारासिटामोल पाँच सय एमजीमा पाउँछ तर भारतमा छ सय पचास एमजीको विक्री हुन थालेछ। कुनै पनि औषधि लगायतका सामानहरु कुनैपनि देशमा निर्यात गर्दा बाहिरको कार्टुन वा बक्समा एक्सपोर्ट क्वाइलिटी वा एक्सपोर्ट टू नेपाल वा अन्य देश लेखेको देखेको थिएँ तर औषधिको कभर नै फरक हुने गरी कम्पनीबाट विक्री गरेको देखेको थिइनँ।
जस्तो ग्याष्ट्राइटिक्सको लागि डाक्टरले औषधि लेख्दा रेविपराजोल वा पेन्टापराजोलको साथमा डम्परडन पनि लेख्छन्। डम्परडनले ग्याष्ट्राइटिक्स भएको बेला वाकवाकी नहोस् भन्नको लागि दिने गरिन्छ। त्यो औषधि नेपालका औषधि पसलमा छुट्टाछुट्टै खरिद गर्नुपर्ने हुन्छ तर भारतमा एकै चक्कीमा मिक्स भएर आउँछ।
छालाको संक्रमणमा उपचार गर्नको लागि मुपुरोसिन नामक एक एन्टिबायोटिक बजारमा पाइन्छ। यसको पाउडर र जेल लगायत विभिन्न स्वरूपमा पाइए पनि जेल नै बढी प्रचलनमा रहेको पाइन्छ । नेपालको बजारमा पाँच ग्रामको ट्युबमा जेलको रूपमा पाइन्छ। यो एन्टबायोटिकले ब्याक्टेरियाहरूलाई बृद्धि गर्न रोक्ने हुँदा घाउहरू छिटो निको बनाउन यसको प्रयोग गरिन्छ।
केही समय अगाडि औषधी पसलबाट नेपाली कम्पनीको यो औषधि किनेको थिएँ। औषधिको भित्र र बाहिर पाँच ग्राम लेखिएको छ तर सानो घाउमा औषधि लगाउँदा दुई पटक पनि पुगेन ट्युबबाट औषधिसँगै हावासमेत निस्केर आयो। घाउ निको भएन। निको नभएपछि इन्डियन औषधि किन्न एउटा दुइटा पसलमा गएर सोधेँ। एउटा हस्पिटलको फार्मेसीमा पाउने रहेछ। त्यो औषधिको बाहिर पनि पाँच ग्राम नै लेखिएको थियो। ग्रामको ट्युबमा किनिएको इन्डियन औषधिको मात्रा हेरे पछि थाहा पाएँ नेपाली औषधि त दुई ग्राम पनि रहेनछ। इन्डियन औषधिको प्रभाव लगाउने बितिक्कै देखिहाल्यो।
किन यस्तो भयो हामी उपभोक्ता किन यसरी ठगिन्छौं? औषधिको गुणस्तरमा कमी हुनुको पीडा त छँदैछ तर पनि मात्रासमेत कम गराउने प्रवृत्ति देखियो।
माथि उल्लेख गरिएका मेरो रोगसँग सम्बन्धित उदाहारण मात्र हुन्।
विगतको तुलनामा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा विभिन्न अस्पतालहरूले दिइरहेका छन्। क्यान्सरको अपरेसन र उपचार, ओपन हार्ट सर्जरी, मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण जस्ता जटिल प्रकृतिका उपचारसमेत नेपालमै हुने गरेका छन्।
डाक्टरले सही उपचार हो होइन भनी आफूखुसी गुणस्तरहीन औषधि सिफारिस गर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने हुन्छ। आफूले उपचार गर्न नसकेको अवस्थामा अन्यत्र सिफारिससमेत गर्नुपर्ने हुन्छ।
माथिका कारणहरूबाट नेपालमा उत्पादित औषधि र विदेशबाट आयातित औषधिहरूको गुणस्तरको कारणबाट बिरामीलाई रोग निको हुनुभन्दा झन् बढी पीडित भएको देखिन्छ। बिरामीलाई कुन रोगको कुन उपचार र कुन औषधि गुणस्तरयुक्त छ भन्ने कुरामा सबै उपभोक्ताहरूलाई जानकारी नहुने हुँदा सरोकारवाला निकायहरू नै बढी संवेदनशील हुनुपर्ने देखिन्छ ।